कोभिड-१९ : गत वर्षको ‘पिक’मा अहिल्यै पुगिसक्यो
नेपालमा कोभिड–१९ को दोस्रो लहरमा दैनिक संक्रमण दर गत वर्षको उच्चतम संक्रमणभन्दा बढी भइसकेको छ।
नेपालमा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित ५ कात्तिक २०७७ मा देखिएका थिए, पाँच हजार ७४३ जना। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रूपमा जारी गर्ने ‘स्टेटस रिपोर्ट’का अनुसार उक्त दिन २० हजार ११८ जनामा कोरोना भाइरसको संक्रमण परीक्षण गरिएकोमा २८.५४ प्रतिशतमा ‘पोजेटिभ’ देखिएको थियो। सोही दिन देशभर कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो।
दोस्रो ठूलो संक्रमितको संख्या त्यसको दुई साताअघि २४ असोजमा देखिएको थियो, पाँच हजार ८ जनामा। १९ हजार ३२० जनामा परीक्षण हुँदा करीब २६ प्रतिशतमा कोरोना ‘पोजेटिभ’ देखियो।
गत ७ कात्तिकमा १६ हजार ८२३ जनामा परीक्षण गर्दा चार हजार ४९९ जनामा पोजेटिभ देखिएको थियो जुन २६.७४ प्रतिशत हो।
गत वर्ष संक्रमण उच्च बिन्दुमा देखिएका यी तीन दिनमा कोरोना संक्रमणको दर भने २६ देखि साढे २८ प्रतिशतको बीचमा मात्रै थियो। अहिले तीव्र गतिमा फैलिइरहेको कोरोना संक्रमणको दोस्रो लहरको संक्रमण दर सबैभन्दा माथि पुगिसकेको छ।
पछिल्लो एक सातादेखि नै संक्रमण दर निरन्तर बढ्दै आएको छ। जस्तो, ५ वैशाखमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा, ६ वैशाखमा १७ प्रतिशतमा, ७ वैशाखमा २० प्रतिशतमा, ८ वैशाखमा २४ प्रतिशतमा, ९ वैशाखमा २३ प्रतिशतमा र १० वैशाखमा २६ प्रतिशतमा पोजेटिभ देखिएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार, आइतबार देशभर १० हजार ७८ जनामा कोरोना परीक्षण गरिएकोमा तीन हजार १२२ जनामा पोजेटिभ देखियो, जुन करीब ३१ प्रतिशत हो। त्यस्तै ११ वैशाखमा आठ हजार ६६८ जनामा परीक्षण गर्दा त्यसको ३०.२१ प्रतिशतमा अर्थात् दुई हजार ६१९ जनामा कोरोना पोजेटिभ देखियो।
यस्तो उच्च संक्रमण दर पछिल्लो दुई दिनमा बढेको हो। पछिल्लो एक सातादेखि नै संक्रमण दर निरन्तर बढ्दै आएको छ। जस्तो, ५ वैशाखमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा, ६ वैशाखमा १७ प्रतिशतमा, ७ वैशाखमा २० प्रतिशतमा, ८ वैशाखमा २४ प्रतिशतमा, ९ वैशाखमा २३ प्रतिशतमा र १० वैशाखमा २६ प्रतिशतमा पोजेटिभ देखिएको थियो।
१२ वैशाखमा सबैभन्दा बढी काठमाडौंमा एक हजार १३२ जनामा संक्रमण देखियो, जुन आजको जम्मा संक्रमणको एकतिहाइभन्दा बढी हो।
काठमाडौंसहित देशभरका ९ जिल्लामा अस्पतालमा उपचाररत संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको छ। ती जिल्लाहरूमा बाँके (२३४९ जना), ललितपुर (१३१५ जना), रुपन्देही (१३१३ जना), पर्सा (६४३ जना), भक्तपुर (६१३ जना), कास्की (६१३ जना), मोरङ (५६१ जना) र दाङ (५५७ जना) छन्।
दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरू १३ वटा छन्। माथिका ९ सहित कैलाली (४३४ जना), चितवन (३९६ जना), सुर्खेत (३७३ जना) र बर्दिया (२७९ जना) मा दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित छन्।
काठमाडौं उपत्यकाका १३ वटा अस्पतालमा ५५४ जना संक्रमित उपचाररत छन्। जसमा ८२ जना आईसीयूमा छन् भने ४० जना भेन्टिलेटरमा छन्। स्वास्थ्य मन्त्रालयको आइतबार दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार देशभर २५२ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन्।
देशभर आईसीयू बेड संख्या एक हजार १९० रहेकोमा सबैभन्दा बढी बागमतीमा ५५६ वटा छन् भने कोभिड–१९ लक्षित भेन्टिलेटरको संख्या देशभर ५२० वटा रहेकोमा सबैभन्दा बढी २५५ वटा बागमती प्रदेशका अस्पतालहरूमा छन्।