तीन लाख नाघे कोरोना संक्रमित, थप २८ को मृत्यु
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या तीन लाख नाघेको छ। पछिल्लो २४ घण्टामा तीन हजार १२२ जना थपिएसँगै संक्रमितकाे संख्या तीन लाख नाघेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १० हजार ७८ स्वाब परीक्षण गर्दा तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै अहिलेसम्म संक्रमितको संख्या तीन लाख ११९ पुगेको छ।
देशभर ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ र ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको हो। जसअनुसार पछिल्लो २४ घण्टामा झन्डै तीन जनाको स्वाब परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको छ।
त्यस्तै, कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ। उनीहरूमध्ये १६ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार १६४ पुगेको छ।
कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गए पनि निको हुने दर भने बढ्न सकेको छैन। पछिल्लो २४ घण्टामा ४५० जना निको भएका छन्।