भारतमा थपिए साढे ३ लाख संक्रमित, २७ सयको मृत्यु
भारतमा पछिल्लो २४ घन्टामा साढे ३ लाख कोरोना संक्रमित थपिएका छन् भने २ हजार ७६१ जनाको मृत्यु भएको छ।
कोरोनाको दोस्रो लहर चलेसँगै संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ। गत चार दिनमा लगातार ३ लाखभन्दा बढी संक्रमित थपिँदै आएका छन्। पछिल्लो २४ घन्टामा थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट २ हजार ७६१ जनाको मृत्यु भएको छ। गत तीन दिनमा मात्रै ७ हजार ५ सय जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ९२ हजार ३१० पुगेको छ।
भारतमा दैनिक पुष्टि भइरहेका संक्रमितको संख्या संसारका अरू देशको तुलनामा सबैभन्दा बढी छ। ब्राजिलमा ७० हजार र अमेरिकामा ५१ हजार संक्रमित थपिएका छन्। भारतमा भने साढे ३ लाख संक्रमित थपिएका छन्।
भारतको छिमेकका देशमा पनि कोरोना नियन्त्रणमै रहेको छ। पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ६१९, पाकिस्तानमा ५ हजार ८७०, बाङ्लादेशमा ३ हजार ६२९ र श्रीलंकामा ९६९ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या पनि २६ लाख ८१ हजार ३७८ पुगेको छ। सक्रिय संक्रमित बढेसँगै गम्भीर बिरामी पनि बढेका छन्। दिल्ली, मुम्बई लगायतका ठूला शहरमा नयाँ बिरामीले भर्ना हुन समेत पाइरहेका छैनन्।