पृथ्वी संरक्षणमा राजदूतका ‘साना पहल’
काठमाडौंको बाँसबारीस्थित अस्ट्रेलियाली दूतावास परिसरको हरियालीपूर्ण वातावरणको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै राजदूत फेलिसिटी भोल्कले विश्व पृथ्वी दिवसका अवसरमा बिहीबार वातावरण संरक्षणप्रति ध्यानाकर्षण गराइन्।
“पृथ्वीको हेरचाह गर्ने, हाम्रो दूतावासभित्रको बगैंचाका प्रमुख माली, रत्नजस्ता सेवकप्रति म आभारी छु,” भोल्क ट्वीटरमा लेख्छिन्, “हाम्रो दूतावास ठूल्ठूला रूख–बिरुवाले घेरिएको छ। यस्ता रूख रोप्ने विगतका मेरा अग्रज र उदार संरक्षणकर्ताको भिजनको सराहना गर्न चाहन्छु।”
दूतावासमा जडित सोलार प्यानल, फोहोर व्यवस्थापन र रिसाइक्लिङका लागि राखिएका निला, पहेँला र हरिया डब्बा, सामुदायिक पोखरीको पुनरुत्थानमा दूतावासले गर्दै आएको सहयोग आदिबारे भोल्कले स्टाटस लेखेकी थिइन्।
बेलायती राजदूत निकोला पोलिटले वातावरणको दिगो विकासका लागि आफ्ना उपाय साझा गर्न भन्दै भोल्कलाई ट्वीटरमा 'अर्थ डे च्यालेन्ज' दिएकी थिइन्। च्यालेन्ज स्वीकार गर्दै भोल्कले नेपालमा वर्षको ३ सय दिन झलमल्ल घाम लाग्ने भएकाले आफूहरूले दूतावासमा तातो पानीका लागि सोलार प्यानल जडान गरेको भन्दै त्यसको तस्वीर पोस्ट गरेकी थिइन्।
निकोलाले पनि बेलायती दूतावासले किनेको नयाँ विद्युतीय गाडीको तस्वीर राखेर काठमाडौंजस्तो छोटो दूरीको ठाउँमा विद्युतीय सवारी साधन उपयुक्त हुने बताएकी थिइन्। उनले रिसाइक्लिङ र जलवायु परिवर्तनबारे आफ्ना विचार राख्दै भिडियोसमेत ट्वीट गरेकी थिइन्।
“पृथ्वी दिवसका दिन गरिएका ट्वीटपछि मलाई उल्लेख्य प्रतिक्रिया आए,” निकोलाले शुक्रबार लेखेकी छन्, “भान्साको फोहोरबाट अझै धेरै मल बनाउने मेरो लक्ष्यबारे यहाँ सेयर गरौं कि भन्ने लाग्यो। हाम्रो करेसाबारी गज्जबको छ। भान्साको फोहोरलाई मल बनाएर हामी बारीमा हाल्छौं। यसको मात्रा अझै बढाउने योजना छ।”
निकोलाले काठमाडौंस्थित अमेरिकी राजदूतलाई पनि (वातावरणको) दिगो संरक्षणका लागि उनले आत्मसात् गर्दै आएका सूत्रबारे बताउन आग्रह गरेकी थिइन्। त्यसको जवाफमा अमेरिकी राजदूत र्यान्डी बेरीले एकचोटि मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकको प्रयोग कम गरेको र आवश्यक नपरेका बेला बत्ती निभाउने जस्ता साना पहल गर्दै आएको उल्लेख गरेका थिए।
“म मेरो परिवारलाई पृथ्वीको राम्रो स्याहारकर्ता बन्नुपर्छ भनेर सिकाउन मनपराउँछु,” बेरी लेख्छन्, “साना प्रयत्नहरूले नै एकमुष्ट रूपमा ठूलो प्रभाव सिर्जना गर्छन्।” बेरीले आफ्ना राष्ट्रपति जो बाइडनले बिहीबार र शुक्रबार आयोजना गरेको ‘क्लाइमेट समिट’ बारे पनि ट्वीट गरेका थिए। भर्चुअल रूपमा जारी उक्त सम्मेलनमा विश्वका ४० देशका राष्ट्र प्रमुखले भाग लिने जनाइएको छ।
सो सम्मेलनमा नेपाललाई निम्तो नआएको विषयमा यहाँ चर्चा भएको थियो।
नेपालमा रहेका विभिन्न देशका राजदूतहरूले भने विश्व पृथ्वी दिवसका अवसरमा वातावरण स्वच्छ राख्न आफूहरूले गर्दै आएको पहलबारे सामाजिक सञ्जालमा विवरण राखे। उनीहरूले विद्युतीय गाडीको प्रयोग, फोहोर व्यवस्थापन, रिसाइक्लिङ, प्लास्टिक प्रयोगमा कटौती, सौर्य ऊर्जाको प्रयोगमा जोड दिएको उल्लेख गरेका छन्।