सोनिशले ठम्याउन थाले आफू पुरिएको ठाउँ
भूकम्प गएको २२ घण्टापछि चार महीनाका सोनिश अवाललाई सकुशल उद्धार गरिएको थियो। उनी आफ्नै चारतले घरमा पुरिएका थिए। साेनिस अहिले ६ वर्षका भए। तर, उनको परिवारले अझै घर ठड्याउन सकेको छैन।
हरियो बिर्को टम्म कस्सिएको प्लास्टिकको बट्टामा मोबाइल अड्याएर सोनिश अवाल नेपाली विषयको अनलाइन कक्षा लिइरहेका थिए। पेन्सिल, कलर र क्रेयन राखिएको बट्टाभन्दा सोनिसको मोबाइल अग्लो देखिन्थ्यो। उनी प्रफुल्ल मुद्रामा कक्षा लिइरहेका थिए। उनलाई दिदी सोनियाले सहयोग गरिरहेकी थिइन्।
२०७२ सालको भूकम्पमा भक्तपुरस्थित आफ्नै घरको भग्नावशेषमा पुरिएर २२ घण्टापछि सकुशल उद्धार गरिएका बालक हुन्, सोनिश। त्यतिबेला उनी चार महीनाका थिए। अहिले कक्षा १ मा पढ्छन्। “ऊ चञ्चले र जिज्ञासु छ, हाम्रो नयाँ घर कहिले बनाउने भनेर सोधिरहन्छ,” सोनिशकी आमा रश्मिला भन्छिन्, “टोलका साथीहरूसँग खेल्न र टीभी हेर्न मन पराउँछ।”
भाडामा लिइएको एउटा कोठामा सोनिस बा–आमासँग बस्छन्। आमा रश्मिला कोठामै लुगा सिउँछिन्। नयाँ घरबारे सोनिशले सोध्ने प्रश्नको जवाफ उनीसँग छैन।
सोनिशका बुबा श्याम ट्रक चलाउँछन्। कोरोनाभाइरस महामारी र बन्दाबन्दीपछि उनको आम्दानी घटेको छ।
१२ वैशाख २०७२ बिहान ११ः५६ बजे भुँइचालो गएका बेला रश्मिला किनमेल गर्न बजार गएकी थिइन्। भुइँ हल्लिन थालेपछि उनी घरतिर दौडिइन्।
यता, सोनिया चार महीनाको भाइ बोकेर कोठाबाट बाहिर निस्किन खोज्दै थिइन्। दराज ढलेर उनीहरू दुवैलाई थिच्यो। त्यहीँमाथि सिंगै घर गर्ल्यामगुर्लुम्म ढल्यो। दिदी–भाइ नै भग्नावशेषमा पुरिए।
उद्धार थालिएको चार घण्टापछि सोनिया अचेत अवस्थामा भेटिइन्। उनलाई तुरुन्तै अस्पताल लगियो। तर, सोनिश भेटिएनन्। नेपाली सेनाका उद्धारकर्ताले पनि माया मारिसकेका थिए।
भूकम्प आउँदा सोनिसका बुवा श्याम जडीबुटीमा ट्रक चलाइरहेका थिए। एक्कासि गाडी अनियन्त्रित भयो। उनी अलमलमा परे। भूकम्प आएको भन्ने थाहा पाएपछि गाडी भक्तपुरतिरै फर्काए। बाटोमा घर ढलेको, सडक फाटेको देखे। उनको होश उड्यो।
श्याम जब घर भएको ठाउँ पुगे, त्यहाँ उनले आफ्नो चारतले घर ढलेर एकै थुप्रो भएको देखे। त्यही थुप्रोभित्र उनका नाबालक छोरा पुरिएका थिए। छोरीलाई अस्पताल लगिसकिएको थियो। उनी अस्पतालतिरै दौडिए। सोनिया अचेत थिइन्। भावविह्वल अवस्थामा छटपटाइरहेकी रश्मिलालाई उनले थुमथुम्याउन सकेनन्।
भोलिपल्ट बिहान रश्मिलाले भग्नावशेषबाट श्वास फेरेजस्तो आवाज सुनिन्। पछि भग्नावशेषबाट रुँदै गरेको जस्तो मसिनो आवाज पनि आयो। श्यामले शुरूमा कुकुर होला भन्ठाने। तर, आवाज अझै प्रष्ट भएपछि सोनिश रोएको पक्का भयो।
“टोलछिमेकका हामी सबैजना उद्धारमा जुटेका थियौं,” श्याम (३९) सम्झन्छन्, “हरेक पटक भग्नावशेषबाट लाश मात्रै बाहिर निकालिरहेका थियौं। भूकम्प गएको त्यत्तिका घण्टा भइसकेकाले हामीलाई सोनिशको आश थिएन।” बच्चा रोएको सुनेपछि भने उनीहरूले सेनालाई गुहारे।
सोनिशको आवाज बाहिरबाटै सुनिन्थ्यो। तर, निकाल्न सहज थिएन। सेनाले सतर्कतापूर्वक खोजी शुरू गर्यो। रश्मिला भन्छिन्, “सोनिश थुप्रोभित्र छ भन्ने थाहा पाएर पनि केही गर्न नसक्ने निरीह हालतमा थियौं। म पूरै आत्तिएकी थिएँ।” जब सेनाले उनलाई बाहिर निकाले, रश्मिलाले आफ्नो बच्चा धुलाम्मे देखिन्।
सोनिशलाई बाहिर निकालेपछि सैनिक दीपक राई लगायतले स्नेहपूर्वक उचाल्दै गरेको तस्वीर त्यो बेला राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियामा छाएको थियो। उक्त तस्वीर अमूल थापाले खिचेका थिए।
सोनिशको तेब्रे तिघ्रामा त्यतिबेला कोतारिएको दाग अहिले पनि छ। त्यो दागले उनको जादूमय पुनर्जीवन सम्झाउँछ। गएको साता सोनिशको अनलाइन परीक्षा सकिएको दिन रश्मिलाले उनलाई ६ वर्षअघि भत्किएको घरतिर डुलाउन लगेकी थिइन्। त्यहाँ अहिले खाली मैदान मात्रै छ।
दाजुभाइबीच पैतृक सम्पत्ति बाँडफाँड गर्दा श्यामको भागमा जुन जग्गा परेको थियो, त्यसलाई नगरपालिकाले सडक विस्तारका क्रममा अधिग्रहण गर्यो। अवाल परिवार अब एकतले घर बनाएर भाडा तिर्ने पैसा बचत गर्ने योजनामा छ।
उद्धार गर्दाताका सोनिशलाई उचाल्दै गरेका सैनिकको तस्वीर खिचेका अमूल थापा बेलाबेला उनलाई भेट्न जान्छन्। भूकम्पमा परेर बाँचेकाहरूलाई राज्यले गरेको बेवास्ता देखेर आफूलाई दिक्क लाग्ने उनी बताउँछन्।
“सोनिशको उद्धारपछि अवाल परिवारको व्यापक चर्चा भयो, प्रधानमन्त्री समेत उनीहरूलाई भेट्न आए। तर, उनीहरू अहिले पनि जहीँको त्यहीँ छन्। त्यो टोलका सबैले घर बनाइसके, उनीहरूले भने बनाउन सकेका छैनन्,” अमूल भन्छन्।
सोनिश र सोनियाको पढाइ खर्च नेपाली सेनाले व्यहोरिरहेको छ। दुवैको उच्च शिक्षासम्मको अध्ययनका लागि सेनाले छात्रवृत्ति मिलाइदिएको छ। प्रारम्भिक शिक्षा सकाएपछि सोनिश सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा पढ्नेछन्।
गत अक्टोबरमा छैटाैं जन्मदिन मनाएका सोनिश भूकम्पपछिका आफ्ना तस्वीर हेर्दै हुर्किरहेका छन्। आफूबारे लेखिएको पत्रिकाको एउटा टुक्रा देखाउँदै सोनिस भविष्यमा सैनिक बन्ने बताउँछन्।
घर ढलेको ठाउँमा जाँदा रश्मिला अक्सर सोनिशलाई एउटा प्रश्न सोध्छिन्, “तिमी कहाँ पुरिएका थियौ?” धेरै पटक सुनेको भएर होला, सोनिस हत्तपत्त जमीनमा आधा गाडिएको ढोकातर्फ औल्याउँदै भन्छन्, “ठ्याक्कै यहीँ, यहीँमुनि पुरिएको थिएँ।”
रश्मिला मुस्काउँछिन्।