जलथलमा कसरी जोगाउने दुर्लभ वन सुपारी रामगुवा?
वन सुपारी नै भनिए पनि क्यारिओटा उरेन्स र झापाको जलथलमा पाइएको हर्सफिल्डिया किंगी अर्थात् रामगुवाको साइनो नजिकको पनि छैन। यी दुई प्रजाति धान र अम्बा जति नै फरक छन्।
झापाको जलथलस्थित पाथीभरा कालिका सामुदायिक वन समूहका अध्यक्ष चिरञ्जीवी पौडेलले कुनै फलबारे जानकारी दिने क्रममा दाना सुपारीजस्तै देखिने र धेरै खाँदा अलि मत्मत्याउने बताएका थिए। यति भन्दै गर्दा उक्त वनस्पति सुपारी र नरिवल वर्गकै भएको र वन सुपारी नामले चिनिने क्यारिओटा उरेन्स हो भन्ने अनुमान गरिसकेको थिएँ।
क्यारिओटा उरेन्स नरिवल, सुपारीजस्तै बोट हुने वनस्पति हो। सन् २०१४ मा प्रकाशित नेपालको वन स्रोत सर्वेक्षण प्रतिवेदनमा यसलाई वन सुपारी भनिएको छ।
पौडेलले भने उक्त सामुदायिक वनमा भएका बोट गाउँघरमा पाइने नरिवल, सुपारीभन्दा भिन्न भएको बताए। यसको रूख साल, हर्रो, बर्रो आदिको जस्तो हुने विवरण सुनाउँदा मेरो अनुमान मिलेन। म भदौ २०७६ मा उनीसँगै उक्त वनस्पति हेर्न गएँ।
जंगलको मध्यभागमा एउटा रूख भेटियो। तर, फूल तथा फल लागेको थिएन। नचिनिएको वनस्पतिको फूल र फल नभेटेसम्म त्यसको वैज्ञानिक नाम पत्ता लगाउन सकिँदैन। त्यसको फूल र फल संकलन गर्न पाँच पटकसम्म त्यहाँ पुगें। अनि बल्ल नमूना जुटाएँ।
फरक प्रकारको वन सुपारी
जलथलमा भेटिएको वन सुपारीको रूख करीब १८ मिटर अग्लो छ। फेदको गोलाइ चार फिटसम्म छ। संकलित फूल तथा फलका नमूना अध्ययन गर्दा उक्त वनस्पति माइरिस्टिकेसी परिवार अन्तर्गतको हर्सफिल्डिया किंगी भन्ने पत्ता लाग्यो। ‘फ्लोरा अफ नेपाल’, तेस्रो खण्ड (सन् २०१३) मा यसबारे मार्क एफ. वाट्सन र कमल मादेनले लेखेका छन्।
यसको काण्ड सुरिलो हुन्छ। हाँगाहरू टुप्पातिर मात्र हुन्छन्। हाँगा लामालामा र जमीनसँंग समानान्तर हुन्छन्। बोक्रा काट्दा रगतजस्तो रातो रस निस्कन्छ। यसका पात चौडा, लाम्चा, बाक्ला र चिल्ला तथा झलक्क हेर्दा चिउरीका जस्ता देखिन्छन्। फूल सानो हुन्छ। फल हर्रोको जस्तो, तर केही ठूलो र चार इन्चसम्म लामो हुन्छ। पाकेपछि दुई फग्लेँटा भई सुपारीको दानाजस्तै फल निस्कँदो रहेछ।
बिउको बाहिरी र भित्री बनावट हेर्दा सुपारीजस्तै छ। तर, सुपारीजस्तो गोलो नभई केही लाम्चो हुन्छ। दानाको रूपरंग र बनावट भने सुपारीको जस्तै देखिन्छ। काँचो फल खाँदा काँचो सुपारीले जस्तै मत्याउने हुनाले यसको नाम वन सुपारी रहन गएको रहेछ।
बिउको बाहिरी र भित्री बनावट हेर्दा सुपारीजस्तै छ। तर, सुपारीजस्तो गोलो नभई केही लाम्चो हुन्छ। दानाको रूपरंग र बनावट भने सुपारीको जस्तै देखिन्छ।
नाम मिले पनि अन्य ठाउँमा वन सुपारी भनिने र सुपारीको बोटजस्तै देखिने माथि उल्लेख गरिएको क्यारिओटा युरेन्ससँग यसको साइनो नजिकको पनि छैन। यी दुई प्रजाति धान र अम्बा जति नै फरक छन्।
यो वनस्पति पूर्वी नेपाल, भारत, बर्मा, चाइना, लाओस हुँदै थाइल्यान्डसम्म मिश्रित प्रजाति भएको उष्ण प्रदेशीय वनमा प्राकृतिक रूपमा पाइन्छ। भारतमा बाङ्लादेशसँग जोडिएको भूभाग हुँदै सिक्किम, दार्जीलिङबाट पूर्वोत्तर राज्यहरूमा पाइन्छ। ‘फ्लोरा अफ नेपाल’ तेस्रो खण्ड (पृष्ठ १९) मा पूर्वी नेपालमा पाइने जानकारी छ।
उक्त पुस्तकमा बेलायतस्थित ब्रिटिश म्यूजियममा नेपालबाट लगिएका यसका दुई वटा नमूना भएको उल्लेख छ। ती नमूना बेलायतका जेडिए स्टेन्टनले संकलन गरेको जनाइएको छ। तर, कुन ठाउँबाट संकलन गरिएको उल्लेख छैन।
स्टेन्टन जलथल जंगल पुगेका थिएनन्। तसर्थ, जलथलभन्दा बाहिरबाट संकलन गरिएका हुन्। झापा र इलामतिरका स्थानीयसँग कुरा गर्दा, यो वनस्पति चुरेको फेदीको खोल्साखोल्सीमा पाइने बताए।
स्थानीय नाम रामगुवा
झापास्थित मेचे र राजवंशी समुदायले हर्सफिल्डिया किंगीसँग मिल्दोजुल्दो विषयको किंवदन्ती बताउँछन्। त्रेतायुगमा भगवान् रामले १४ वर्ष वनबास रहँदा वन सुपारी खाएका थिए। यसकारण, मेचे र राजवंशी समुदाय यसलाई रामगुवा भन्दा रहेछन्। आसामतिर यसलाई रामतामुल भनिँदो रहेछ। यसको बिउ धेरै खाँदा पखाला लागेर पेट सफा हुन्छ भन्ने विश्वास गरिन्छ।
त्रेतायुगमा भगवान् रामले १४ वर्ष वनबास रहँदा वन सुपारी खाएका थिए। यसकारण, मेचे र राजवंशी समुदाय यसलाई रामगुवा भन्दा रहेछन्। आसामतिर रामतामुल भनिँदो रहेछ।
रामगुवाको पाक्ने बेलाको र पाकेका फलभित्रका बिउ खाने गरिन्छ। उहिले झापातिर सुपारीको सट्टा रामगुवा खाने प्रचलन थियो रे। मेचे समुदायका एकाध बूढापाकाले जंगलबाट रामगुवा ल्याएर सुपारी जसरी खाने गरेको स्मरण गर्छन्। जलथल जंगलमा रूखहरू घटेका कारण हिजोआज यसको फल बिरलै भेटिन्छ।
बरु, इलाममा यसको बिउबाट खाद्य पदार्थ बनाइँदो रहेछ। फलबाट जाम र अचार बनाइन्छ भन्ने अमल घिमिरे र अरूहरूले सन् २०१० मा ‘कोरियन जर्नल अफ प्लान्ट ट्याक्सोनोमी’मा प्रकाशित एक लेखमा उल्लेख गरेका छन्। त्यसैगरी यसको रातो चोपलाई सुकाएर खाए घाँटी दुखेको निको हुने ‘वेल्थअफ इन्डिया’ पुस्तकमा उल्लेख छ।
दुर्लभ बन्यो रामगुवा
दर्जनाैं व्यक्तिसँगको सहयोगमा जलथलमा यसका आधा दर्जन जति रूख पत्ता लागे। जहाँ भेटियो त्यहाँ प्रायः एउटै रूख थियो। नेपालको सन्दर्भमा रामगुवा दुर्लभ वनस्पति हो। यसको संख्या घट्नुमा केही प्राकृतिक र केही मानवीय कारण हुन सक्छन्।
यो वनस्पतिको भाले र पोथी रूख छुट्टाछुट्टै हुन्छन्। वनस्पतिशास्त्रमा यस्ता प्रकृतिको वनस्पतिलाई डायोसियस् भनिन्छ। यसैले भाले रूख र पोथी रूखबाट ज्यादै टाढा भयो भने भाले फूलको रजकण पोथी फूलसम्म पुग्न सम्भव हुँदैन। यसैले, पोथी फूल परागसेचन (गर्भधान) नभई ओइलाएर झर्छ।
यसको फूलको आकार आधा सेन्टिमिटरजति मात्र हुन्छ। यसकारण, यसका प्रजनन अंग कति सूक्ष्म होलान् भनेर अनुमान गर्न सकिन्छ। यो वनस्पतिको परागसेचन मौरी वा यस्तै कीरा प्रजातिले मात्र गराउँछ। पछिल्लो समय संसारभरि नै माहुरी र कीराको संख्या चिन्ताजनक रूपमा नै घट्दै गएको छ।
बिउहरूको प्रसारणमा धनेश र हलेसोजस्ता ठूला फल खाने चराको महत्त्वपूर्ण भूमिका हुन्छ। तराईका वनमा यस्ता चराको संख्या घट्नुले पनि रामगुवाको प्राकृतिक प्रसारणमा कमी आएको हुनसक्छ।
यसको प्राकृतिक वासस्थानमा मानव क्रियाकलापले पारेको असर नजर अन्दाज गर्न सकिँदैन। पछिल्लो सात दशकमा तराईको वन विनाश र खण्डीकरणले गर्दा जैविक विविधतामा प्रतिकूल असर परेको छ। वनको प्रजाति सम्मिश्रण नै परिवर्तन भएको छ। र, प्रजाति मिश्रित वन अहिले सालको अति प्रभुत्व भएको एकल प्रजातीय बनेको छ। यी प्रक्रियाले यो वनस्पतिलाई पनि पक्कै असर परेको छ। तर, यस्तो असरबारे अध्ययन भएको छैन।
तराईमा यो वनस्पति जलथलभन्दा अन्यत्र अभिलेख गरिएको छैन। जलथल जंगलमा यो संकटापन्न अवस्थामा छ। सर्वप्रथम, जलथल जंगल उपभोग गर्नेले थाहा पाउनुपर्छ कि यसका एकाध रूख मात्र काटिए पनि यो वनस्पति सदाका लागि मासिन सक्छ। यसको संरक्षण गर्न र जैविक विविधताले सम्पन्न समग्र जलथल वनको यथोचित व्यवस्थापन गर्न यहाँका सामुदायिक वन र डिभिजन वन कार्यालयले विशेष चासो दिनुपर्छ।
(लेखक 'फरेस्ट एक्सन नेपाल'को जलथल जैविक विविधता अध्ययनमा संलग्न छन्।)