के पृथ्वीनारायण शाह इसाईप्रति द्वेष राख्थे?
किताबमा महेशराज पन्तले कुरा नचपाई स्पष्टसँग आफ्ना धारणा राखेका छन्। यसो गर्दैगर्दा उनी अन्य बौद्धिकप्रति निर्मम बनेका सन्दर्भ अनेक छन्।
१. विश्वविद्यालयबाहिरबाट ज्ञान उत्पादन गर्ने कार्यमा संलग्न गैरसरकारी संस्था मार्टिन चौतारीले प्राज्ञिक कार्यमा संलग्न अर्को गैरसरकारी संस्था संशोधन–मण्डलमा आबद्ध ऐतिहासिक महेशराज पन्तको किताब ‘नेपाली इतिहासको परिवेशः केही ऐतिहासिक र मसीजीवी’ हालसालै प्रकाशन गरेको छ। किताबमा केही नेपाली मसीजीवी र नेपाली इतिहास लेखनमा काम गरेका अग्रणी ऐतिहासिकहरूको लेखकीय जीवनबारे चर्चा गरिएको छ।
किताबमा जम्मा २५ अध्याय छन्। अध्याय ९ मा छापिएको ‘लेवीलाई लाञ्छना ?’ र अध्याय २५ को ‘नेपालमा पुराविद्याको खोजी’ शीर्षकको लेखबाहेक हरेक अध्यायमा एकजना मसीजीवी वा ऐतिहासिकलाई केन्द्रमा राखी उसको लेखन जीवनबारे संक्षेपमा आलोचना गरिएको छ।
किताबमा रामचन्द्र पन्त अमात्य, कवि मौलाराम, अमृतानन्द बाँडा, भगवान्लाल इन्द्रजी, हरप्रसाद शास्त्री, सेसिल बेन्डल, सिल्विं लेवी, पर्सिभल ल्यान्डन, हेमराज पण्डित, बाबुराम आचार्य, जूजेप्पे तुच्चि, अम्बिकाप्रसाद उपाध्याय, सूर्यविक्रम ज्ञवाली, जयचन्द्र विद्यालंकर, जगन्नाथ गुरागाञी, योगी नरहरिनाथ आदिको लेखन जीवनका विभिन्न पक्षको विवेचना गरिएका छन्।
२. नेपाली इतिहासबारे नेपालभित्र र बाहिरबाट थुप्रै लेखिएका छन्। नेपाली इतिहास लेखन परम्पराबारे चाहिँ असाध्यै कम लेखिएको छ। यस्तो अभावलाई पन्तको यो किताबले थोरै भए पनि पूरा गरेको छ। यसले इतिहासका शोधार्थी र जिज्ञासुलाई इतिहास तथा इतिहास लेखन परम्परा सम्बन्धी थुप्रै अनुद्घाटित वा अल्पउद्घाटित सन्दर्भबारे जानकारी गराउँदै हिस्टोरियोग्राफीतिर चासो राख्न प्रेरित गर्छ।
यो किताबले पन्त स्वयं आबद्ध भएको संस्था संशोधन–मण्डल र यसका संस्थापक नयराज पन्तको ‘स्कूल अफ थट’बारे एकसरो जानकारी दिन्छ। इतिहासका अमुक घटना र इतिहास लेखन परम्परासँग जोडिएका विद्वान्हरूलाई संशोधन–मण्डलले कसरी हेर्दो रहेछ भन्ने कुराको छनक पनि किताबबाट मिल्छ।
३. पन्तको किताब अर्को दृष्टिले पनि महत्त्वपूर्ण छ। यसले पन्त स्वयं आबद्ध भएको संस्था संशोधन–मण्डल र यसका संस्थापक नयराज पन्तको ‘स्कूल अफ थट’बारे एकसरो जानकारी दिन्छ। इतिहासका अमुक घटना र इतिहास लेखन परम्परासँग जोडिएका विद्वान्हरूलाई संशोधन–मण्डलले कसरी हेर्दो रहेछ भन्ने कुराको छनक पनि किताबबाट मिल्छ।
४. महेशराजले पिता नयराजबाट नेपाली इतिहासबारे बाल्यकालदेखि नै सुन्दै आए। किशोरवय शुरू नहुँदै पिताबाटै इतिहास अध्ययन र लेखनसम्बन्धी प्रशिक्षण लिन थाले। त्यसयता यही विधामा निरन्तर लागेकाले यस किताबमा उनले गरेको विवेचना प्रौढ छ। उनी इतिहास–संशोधक पनि भएकाले उनका अन्य किताबमा झैं यसमा पनि तथ्यगत त्रुटि र द्विअर्थी सन्दर्भ फेला पार्न लर्तरो पाण्डित्यले भ्याउँदैन। किताबमा प्रयोग भएका थुप्रै सन्दर्भ–सामग्री इतिहासका अधिकांश शोधार्थीका लागि नूतन र अगम्य छन्। इतिहास र इतिहास लेखनसँग सम्बन्धित कतिपय पात्रको व्याख्या गर्ने क्रममा चाहिँ पन्तले केही महत्त्वपूर्ण सन्दर्भलाई बेवास्ता गरेर आग्रह दर्शाएका छन्। यसलाई यो किताबको विशेषता र सीमा दुवै मान्न सकिन्छ।
५. पृथ्वीनारायण शाहबारे चर्चा गर्ने क्रममा पन्तले एक ठाउँमा लेखेका छन्, ‘आफ्नो जन्मजात प्रतिभाले उनले तात्कालिक राजनीतिलाई हृदयङ्गम गरेका थिए (पृ. ५)।’ शास्त्रको अध्ययनबाट पृथ्वीनारायणको राजनीतिक सुझबुझ पैदा भएको थिएन भनी उल्लेख गर्ने क्रममा किताबमा उनको जन्मजात प्रतिभाबारे चर्चा गरिएको छ।
चराचर जगत्को सिर्जना कसरी भयो भन्ने कुराको भेउ नपाएको मानिसले मात्रै ‘यो ईश्वरको रचना हो’ भनी आफ्नो विद्वत्ताको सीमा झल्काउँछ। प्रौढ ऐतिहासिक हुनुकाे नाताले पन्तले पृथ्वीनारायणको राजनीतिक सुझबुझको राजनीतिक, सामाजिक र मनोवैज्ञानिक पक्षबारे चर्चा गरी निष्कर्ष निकाल्न सक्नुपर्थ्यो। यस्तै खालको प्रयत्न लुड्विग स्टिलरले ‘द रोल अफ फियर इन द युनिफिकेसन अफ नेपाल' (सन् १९७४) शीर्षकको लेखमा गरेको सन्दर्भ उल्लेख गर्नु यहाँ सान्दर्भिक हुन्छ।
पृथ्वीनारायण शाहबारे चर्चा गर्ने क्रममा पन्तले एक ठाउँमा लेखेका छन्, ‘आफ्नो जन्मजात प्रतिभाले उनले तात्कालिक राजनीतिलाई हृदयङ्गम गरेका थिए।’ चराचर जगत्को सिर्जना कसरी भयो भन्ने कुराको भेउ नपाएको मानिसले मात्रै ‘यो ईश्वरको रचना हो’ भनी आफ्नो विद्वत्ताको सीमा झल्काउँछ।
६. किताबको अर्को एउटा सन्दर्भमा पन्तले लेखेका छन्, ‘मरहट्ठा राज्यविस्तार जस्तै गोरखाली राज्यविस्तार पनि हिन्दू पुनरुत्थानको प्रेरणाबाट अनुप्राणित थियो भन्ने कुरा ... जयचन्द्र विद्यालंकरले लेखेका छन्। उनका भनाइमा गोरखाली राज्यविस्तारलाई हिन्दू पुनरुत्थानको प्रेरणाबाट अनुप्राणित छ भन्नेमा हरप्रसाद (शास्त्री) पहिला हुन्। यो देख्दा इतिहासमा हरप्रसादको गहिरो पैठ भएको स्पष्ट हुन्छ (पृ. ५२)।’
पृथ्वीनारायणको नेतृत्वमा शुरू भएको राज्यविस्तार अभियान हिन्दू पुनरुत्थानको प्रेरणाबाट अनुप्राणित थियो भन्ने भारतीय ऐतिहासिकद्वयको निष्कर्षमा पन्तले पनि सहमति जनाएका छन्। यसको व्याख्या चाहिँ गरेका छैनन्।
पृथ्वीनारायणले लिएको राजनीतिक अग्रसरतामा हिन्दूत्वप्रतिको रुझानका संकेत नपाइने होइनन्। उनले सल्यानकोटदेवी, मनकामनादेवी, इन्द्रायणी, भैरवी लगायत हिन्दू आराध्यदेवीका आशीर्वादबाट आफ्नो विजय अभियान सफल भएको थियो भनी ठानेका थिए भन्ने कुराको संकेत ‘दिव्योपदेश’ कहलिएको उनको अन्तिम उपदेशमा पनि पाइन्छन्। त्यसमा उनले नेपाललाई ‘यो असली हिन्दुस्थाना हो’ पनि भनेका छन्।
हिन्दू धर्मप्रति गहिरो आस्था राखेकै कारण पृथ्वीनारायणको विजय अभियान हिन्दू पुनरुत्थानको प्रेरणाबाट प्रभावित थियो भन्ने निष्कर्ष निकाल्नु चाहिँ हतारो हुन्छ।
बरु पृथ्वीनारायणका समकालीन सेन राजाहरू आफूलाई हिन्दूपति भनी चिनाउँदा गौरव महसूस गर्थे। काठमाडौं उपत्यकाका मल्ल राजाहरू पनि धर्मको मामिलामा पृथ्वीनारायणजस्तै थिए। यस भेगको सांस्कृतिक विरासतका रूपमा उनले हिन्दू धर्मप्रति रुझानलाई ग्रहण गरेका थिए।
हिन्दू धर्मप्रति गहिरो आस्था राखेकै कारण पृथ्वीनारायणको विजय अभियान हिन्दू पुनरुत्थानको प्रेरणाबाट प्रभावित थियो भन्ने निष्कर्ष निकाल्नु चाहिँ हतारो हुन्छ। बरु पृथ्वीनारायणका समकालीन सेन राजाहरू आफूलाई हिन्दूपति भनी चिनाउँदा गौरव महसूस गर्थे।
काठमाडौंबाट इसाई पादरीहरूलाई उनीहरूका स्थानीय अनुयायीसँगै देश निकाला गर्ने पृथ्वीनारायणको कदम पनि धार्मिक–सांस्कृतिक कारणबाट नभई राजनीतिक लाभ–हानिको गणनाबाट अभिप्रेरित थियो। बरु राज्य विस्तार अभियान थाल्नुअघि गोरखाको राजा छँदा उनले इसाई पादरीहरूसँग रहेको चिकित्सा सम्बन्धी ज्ञानबाट लाभान्वित हुन ‘गोरखामा एकजना पादरी राखिपाऊँ’ भनी त्यस बखत काठमाडौंमा रहेका एक पादरीलाई चिठी लेखेका थिए।
पृथ्वीनारायणले राज्य विस्तार अभियान शुरू गर्दैगर्दा भारतमा मुगल शासकहरूको सामर्थ्य क्षय भइरहेको थियो। त्यस अवस्थाको लाभ उठाउँदै मरहट्ठाहरूले आफ्नो सामर्थ्य फैलाइरहेका थिए। दिल्ली सर गरी उनीहरू आफ्नो राजधानी पुणेलाई भारतीय राज्यसत्ताको केन्द्र बनाउने ताकमा थिए। मरहट्ठाहरू मुसलमानहरूबाट सिर्जित चुनौती सामना गर्दै र उनीहरूलाई विभिन्न युद्धमोर्चामा पराजित गर्दै आएका थिए। यसले गर्दा हिन्दूहरूमाझ मरहट्ठाहरू ‘मुसलमान आक्रान्ता’विरोधी हिन्दूशक्तिका रूपमा प्रतिष्ठित भइरहेका थिए। त्यस अर्थमा मरहट्ठाहरूको राज्यविस्तार हिन्दूत्वबाट उत्प्रेरित थियो।
तर, पृथ्वीनारायण शाहको समयमा नेपालको परिवेश फरक थियो। मल्लकालमा बंगालका शासक समसुद्दीनले काठमाडौंमा हमला गरी पशुपतिनाथको मूर्ति तीन टुक्रा पारिदिएको सन्दर्भ बिर्सिने हो भने नेपालमा मुसलमान राज्य स्थापना हुन त परै जाओस्, उनीहरूबाट ठूलो हमला पनि कहिल्यै भएको छैन। त्यसैले नेपालको आममनोविज्ञान भारतको जस्तो ‘विधर्मी’हरूप्रति द्वेषपूर्ण थिएन।
राज्य विस्तार अभियान शुरू गर्नुअघि पृथ्वीनारायणले उत्तर भारतमा त्यस बखत विस्तार भइरहेको इस्ट इन्डिया कम्पनीका गतिविधिलाई नियालेका थिए। समय बित्दै जाँदा पृथ्वीनारायणलाई भोलिका दिनमा कम्पनी सरकारले नेपाल कब्जा गर्ने अग्रसरता लिनेछ भन्ने यकिन भयो। यो कुरा अन्तिम उपदेशमा उनले ‘दषिनको समुन्द्रको बादशाह सित घाहा ता राषनु. तर त्यो महाचतुर छ... एक दिन त्यो बल आउन्या छ’ भनेबाट पनि सिद्ध हुन्छ।
अंग्रेजहरूप्रतिको पृथ्वीनारायणको यस्तो धारणामा हिन्दू श्रेष्ठता वा ‘विधर्मी’ इसाईहरूप्रतिको द्वेषभन्दा राजनीतिक सतर्कता बढी झल्किन्छ। त्यसैले उनले शुरू गरेको राज्यविस्तार राजनीतिक पुनरुत्थानको चाहबाट प्रेरित थियो भनी मान्नु उपयुक्त हुन्छ।
नेपालमा बौद्धिक जागरण ल्याउन संस्कृत विद्याको पुनरुत्थान आवश्यक छ भन्ने संशोधन–मण्डलको दर्शनमा भारतीय स्वतन्त्रता संग्रामताका भारतीयहरूमाझ फस्टाएको ‘विधर्मी’ (अंग्रेज/इसाई र मुसलमान) विरोधी भारतीय राष्ट्रवादको प्रभाव पनि मिसिएको छ। त्यही प्रभावका कारण भावुकतावश हरप्रसाद र जयचन्द्रको धारणासँग पन्तको धारणा मिल्न गएको हो।
भारतका हिन्दू पुनरुत्थानवादीहरूप्रति पन्तमा सद्भाव छ भन्ने कुराको संकेत यही किताबको अध्याय २० मा पनि पाइन्छ। त्यहाँ उनले लेखेका छन्, ‘रजस्वला भइसकेपछि मात्र गरिने विवाह, विधवा विवाह र छुवाछूत नबार्ने जस्ता विषयमा सुधारवादीहरूले समर्थन गरेकाले ती विषयमा धर्मशास्त्रानुसार विचार गर्न (बनारसमा वि.सं. १९८५ मा ब्राह्मण) सम्मेलन आयोजना गरिएको थियो।’ त्यसलगत्तै प्रकाशन हुन थालेको संस्कृत मासिक पत्रिका ‘ब्राह्मणसम्मेलन’ मा पछि गएर सम्पादक बनेका नेपाली नागरिक जयन्नाथ गुरागाञीको तारिफ गर्दै उनले लेखेका छन्, ‘प्राचीन परम्पराका दिग्गज भारतीय विद्वान्हरूले चलाइआएको पत्रिकाको सम्पादकमा एकजना नेपाली यसरी आफ्नो विद्याबलद्वारा उभिनुलाई राष्ट्रगौरवको दृष्टिले कम आँक्न मिल्दैन (पृ. १७२–७९)।’
समय बित्दै जाँदा पृथ्वीनारायणलाई भोलिका दिनमा कम्पनी सरकारले नेपाल कब्जा गर्ने अग्रसरता लिनेछ भन्ने यकिन भयो। अंग्रेजहरूप्रतिको पृथ्वीनारायणको यस्तो धारणामा हिन्दू श्रेष्ठता वा ‘विधर्मी’ इसाईहरूप्रतिको द्वेषभन्दा राजनीतिक सतर्कता बढी झल्किन्छ।
किताबको अर्को सन्दर्भमा पन्तले ‘गोभक्षक म्लेच्छ डेभिड अक्टरलोनीको छोरासँग आफ्नो छोराको मीत लगाउन गोरक्षक अमरसिंहलाई अप्ठेरो लागेन’ भनेको सन्दर्भले पनि यही कुरा सिद्ध गर्छ (पृ. २३)। ‘बङ्गाली पुनर्जागर्तिको एउटा खम्बा मानिएका ईश्वरचन्द्र (वन्द्योपाध्याय) प्राचीन परम्पराको विरुद्ध गई विधवा विवाहको पक्षमा उभिन पुगेको कुरा भारतीय लौकिक इतिहासको एउटा चाखलाग्दो पक्ष हो’ (पृ. ४५) र ‘यूरोपमा प्राचीन विद्याको परिशीलनबाट ‘पुनर्जागर्ति’ भएको थियो भने बङ्गालमा चाहिँ प्राचीन विद्याको यथाशक्य उछित्तो काढ्ने कामले पुनर्जागर्ति नाउँ पाएको तथ्य विद्यासम्बन्धी इतिहासको एउटा चाखलाग्दो पक्ष हो’ भनी किताबका अन्य सन्दर्भमा पन्तले लेखेका प्रसंगले पनि यही कुरालाई बल पुर्याउँछ (पृ. ४४)।
पङ्क्तिकारसँगको एक भेटमा पन्तले आफ्नो पहिरन बिर्सने बङ्गाली र आफ्नो भाषालाई भन्दा अंग्रेजीलाई बढी जोड दिने दक्षिण भारतीयहरूको तुलनामा मरहट्ठाहरूको पाण्डित्य बढी मौलिक र माथिल्लो स्तरको रहेको बताएका थिए। अर्को भेटमा महाराष्ट्रको पुणेस्थित ‘भन्डारकर ओरियन्टल रिसर्च इन्स्टिच्यूट’लाई उनले भारत अध्ययनमा संलग्न अग्रणी संस्था ठहर्याएका थिए। त्यस संस्थाबाट ‘क्रिटिकल एडिसन अफ महाभारत’ जस्तो प्राज्ञिक दृष्टिले गहन ग्रन्थको सम्पादन र प्रकाशन भएको छ। यी कुराले बौद्धिक र राजनीतिक दुवै हिसाबले पन्तमा मरहट्ठाहरूप्रति सद्भाव रहेको झल्काउँछ।
मरहट्ठाहरूप्रतिको पन्तको झुकाव संशोधन–मण्डलको नामकरणको पृष्ठभूमि नियाल्दा पनि स्पष्ट हुन्छ। महाराष्ट्रतिर संशोधन शब्दको अर्थ खोजबिन वा अनुसन्धान हुन्छ। सन् १९१० मै पुणेमा विश्वनाथ काशीनाथ राजवाडे र खंडेराव चिंनामण मेहेंदलेले ‘भारतीय इतिहास संशोधक मण्डल’ स्थापना गरेका थिए। त्यसबाट पनि प्रेरणा लिएर नयराजले नेपालमा संशोधन–मण्डल स्थापना गरेका थिए। मरहट्ठाहरूप्रतिको अतिशय भावुकताका कारण पन्तले भारतीय इतिहासकारद्वयको निष्कर्षलाई सर्लक्कै सकारेकोजस्तो देखिन्छ।
७. शहीद शुक्रराज शास्त्री सम्बन्धी अध्यायमा पन्तले राणाशासकमा श्रद्धाभक्ति देखाउने शुक्रराज शहादतपट्टि अघि बढेका थिएनन् (पृ. १२२) भनी लेखेका छन्। यसरी उनले शुक्रराजलाई शहीद मान्न अस्वीकार गरेका छन्।
राणाहरूको चाकरी गर्ने शुक्रराज शहीद कहलिन योग्य छैनन् भन्ने उनको मत छ। शुक्रराजद्वारा लिखित ‘नेपालभाषा–भाषा व्याकरण (वि.सं. १९८५)’मा चन्द्रशमशेरलाई ‘सबै प्रजाहरूको उपकार गर्ने’ र ‘देशहितौष’ भनिएको, शुक्रराजकै अर्को किताब ‘स्वर्गको दरबार' (वि.सं. १९८६) भीमशमशेरलाई अर्पण गरिएको, अर्को किताब ‘संस्कृतप्रदीप' (वि.सं. १९९०) मा ‘श्री ३ महाराज जुद्धशमशेर जंगबहादुर राणाको सदा जय जय जय’ भनी लेखिएको, शुक्रराजले हिन्दीमा गरेको उल्थासहितको ‘ब्रह्मसूत्रशाङ्करभाष्य' (वि.सं. १९९३) को पूर्वार्द्धमा जुद्धशमशेरकै जयगान गरिएको आदि सन्दर्भका आधारमा पन्तले यस्तो धारणा राखेका हुन्।
शुक्रराज प्रखर राणाविरोधी थिएनन् भन्ने कुरा साँचो हो। आर्यसमाजी हुनुको नाताले उनको मुख्य ध्येय धर्म र संस्कृतिमा सुधार ल्याउनु थियो। आर्यसमाजीहरूले जातपात, छुवाछूत, मूर्तिपूजा आदि नमान्ने र विधवा विवाहलाई मान्यता दिने गरेकाले नेपालका पुरातनपन्थी हिन्दूहरूले आर्यसमाजीहरूलाई शत्रुवत् व्यवहार गर्थे।
शुक्रराज प्रखर राणाविरोधी थिएनन् भन्ने कुरा साँचो हो। आर्यसमाजी हुनुको नाताले उनको मुख्य ध्येय धर्म र संस्कृतिमा सुधार ल्याउनु थियो। आर्यसमाजीहरूले जातपात, छुवाछूत, मूर्तिपूजा आदि नमान्ने र विधवा विवाहलाई मान्यता दिने गरेकाले नेपालका पुरातनपन्थी हिन्दूहरूले आर्यसमाजीहरूलाई शत्रुवत् व्यवहार गर्थे। यो कुरा चन्द्रशमशेरकै अघिल्तिर शास्त्रार्थ हुँदा आर्यसमाजमा लागेका शुक्रराजका पिता माधवलाल जोशीलाई हिन्दू पुरातनपन्थीहरूले रक्ताम्य हुनेगरी कुटपिट गरेको र माधवलालको समर्थन गर्ने एकजना शिख आर्यसमाजीलाई नेपालबाट निकालिएको सन्दर्भले पनि देखाउँछ।
पिताको प्रेरणाबाट शुक्रराज पनि आर्यसमाजी भए। उनले भारतको सिकन्दराबादस्थित आर्यसमाजी महाविद्यालयबाट उच्च शिक्षा लिए। राणाहरूकै अनुकूल भई उनीहरूलाई आर्यसमाजले निर्दिष्ट गरे बमोजिम समाज सुधारका दिशामा प्रवृत्त गराउन नेपाल फर्की उनले गतिविधि थाले। त्यसै क्रममा उनी माथि उल्लिखित किताबमा त्यतिबेलाका राणा प्रधानमन्त्रीहरूको जयगान गाउन पुगे।
समयक्रममा शुक्रराजलाई बिस्तारै राजनीतिको चस्का पस्दै गयो, जुन कुरा पन्तले पनि किताबमा स्विकारेका छन्। उनले भारत गएको बेला त्यहाँ जारी स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धी र सुवासचन्द्र बोससँग भेटे। त्यसको केही समयपछि आफ्नै अध्यक्षतामा नेपालमा नागरिक अधिकार समिति खोले। समितिले काठमाडौंको इन्द्रचोकमा गरेको सभामा देशको राजनीतिक अवस्थाप्रति असन्तुष्टि पनि व्यक्त भयो। कार्यक्रमपश्चात् पक्राउ परेका शुक्रराजलाई तीन वर्षको काराबास सजाय सुनाइयो।
उनी काराबासमै छँदा नेपाल प्रजापरिषद्ले राणाशाहीविरुद्ध पर्चा छर्ने लगायत गतिविधि गर्यो। त्यही मुद्दामा पक्राउ परेकामध्ये तीन जनालाई मृत्युदण्डको सजाय सुनाइँदा प्रजा परिषद्सँग कुनै साइनो नरहेका शुक्रराजलाई पनि त्यही घानमा मुछेर मृत्युदण्ड दिइयो।
शुक्रराजलाई मृत्युदण्ड दिन राणाशाहीलाई प्रेरित गर्ने एउटा कारण आर्यसमाजमा उनको आबद्धता पनि हुनसक्छ। आर्यसमाजको विचारधाराप्रति असहमत पुरातनपन्थीहरूले छुवाछूत र जातपात नमान्ने शुक्रराजलाई नछोड्न राणा शासकहरूको कान फुकेनन् होला भन्न सकिँदैन।
जेल पर्नुअघि शुक्रराजमा राणाविरोधी राजनीतिक चेत विकसित भइरहेको थियो। जेलमा छँदा राणाशाहीप्रतिको उनको असहिष्णुता बढ्दै गयो। जेलमा सजाय काटिरहेका प्रचण्ड गोरखाका सदस्य खड्गमान सिंहले शुक्रराजलाई ‘ब्रह्मसूत्रशाङ्करभाष्य’मा जुद्धशमशेरजस्ता अत्याचारीको जयजयकार किन गर्नुभएको भनी असन्तुष्टि जनाउँदा उनले ‘त्यति प्रशंसा नगरेको भए किताब छाप्नै पाइन्नथ्यो’ भनेका थिए। जेलबाट निस्किए त्यो गल्ती सच्याउने वचन उनले दिएका थिए, जुन कुरा खड्गमान सिंहले आफ्नो किताब ‘जेलमा बीस वर्ष’मा उल्लेख गरेका छन् (पृ. १३१)।
शुक्रराजलाई मृत्युदण्ड दिन राणाशाहीलाई प्रेरित गर्ने एउटा कारण आर्यसमाजमा उनको आबद्धता पनि हुनसक्छ। आर्यसमाजको विचारधाराप्रति असहमत पुरातनपन्थीहरूले छुवाछूत र जातपात नमान्ने शुक्रराजलाई नछोड्न राणा शासकहरूको कान फुकेनन् होला भन्न सकिँदैन।
वि.सं. १९९७ मा राणाविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्दा नेपाल प्रजा परिषद्का सदस्यहरूका साथै महावीर इन्स्टिच्यूटका शिक्षक, नागरिक अधिकार समितिका सदस्य आदिलाई पनि पक्राउ गरिएको थियो। यस अर्थमा समितिका अध्यक्ष हुनुको नाताले जेलमा सजाय काटिरहेका शुक्रराजलाई मृत्युदण्ड दिइएको हो भन्न सकिन्छ।
यति हुँदाहुँदै उनलाई १९९७ मा मृत्युदण्ड पाएका अन्य तीन शहीदजस्तो प्रखर राणाविरोधी ठान्नु वा शहीद नै नठान्नु चाहिँ त्रुटिपूर्ण हुन्छ। उनलाई धार्मिक र सांस्कृतिक सुधारप्रति बढी प्रतिबद्ध शहीद मान्नु उपयुक्त हुन्छ।
८. शुक्रराजलाई जेल हाल्नुको कारणबारे चर्चा गर्ने क्रममा पन्तले लेखेका छन्, ‘गीताविषयक व्याख्यान गरेको अभियोगमा शुक्रराज शास्त्रीलाई तीन वर्षको जेल सजाय दिइएको (थियो)।’ शुक्रराज जेलमा छँदा जेलमा रहेका धर्मरत्न यमीले ‘तँ ज्यापूले गीताको व्याख्या गर्ने ! बडे बडे नम्बरी पण्डितले गर्न नसक्ने ब्रह्मसूत्र उल्था गर्ने !’ भनेका थिए। त्यसैका आधारमा पन्तजस्तै अन्य थुप्रैले गीताबारे प्रवचन दिएकैले शुक्रराजलाई पक्राउ गरिएको भन्दै आएका छन्। त्यसभन्दा अझ अगाडि बढेर जातीय आन्दोलनका कतिपय पक्षधरले राणाकालमा नेवारहरूलाई हिन्दू धर्मका ग्रन्थ पढ्न र त्यसको व्याख्या गर्न प्रतिबन्ध लगाइएको थियो, त्यही काम गरेकैले नेवार समुदायका शुक्रराज मारिएका हुन् पनि भनेका छन्।
नेवार समुदायका शुक्रराजले हिन्दू धर्मग्रन्थको व्याख्या गर्नु त्यतिबेला अवैधानिक थियो वा त्यो कुरा राणाशाहीलाई मन परेको थिएन भने ‘ब्रह्मसूत्रशाङ्करभाष्य’मा शुक्रराजले जुद्धशमशेरको तस्वीर छापी जयगान गर्दा उनी किन पक्राउ परेनन्? उल्टो जुद्धशमशेरबाट कम्पनी रूपियाँ १५०० बकस किन पाए?
यदि शुक्रराजले गीताबारे प्रवचन दिएकै कारण मृत्युदण्ड पाएका हुन् भने उनलाई 'मार्टर' (चलनचल्तीमा शहीद शब्दको अंग्रेजी पर्याय) मान्न पन्तलाई केको आपत्ति? किनकि किताबमा ‘मार्टर’ शब्दको मूल अर्थ केलाउने क्रममा पन्तले ‘धर्मका लागि ज्यान सजाय भोग्नेलाई मार्टर शब्दले बुझाउँछ’ भनेका छन् (पृ. ११५)।
९. किताबमा पन्तले कुरा नचपाई स्पष्टसँग आफ्ना धारणा राखेका छन्। यसो गर्दैगर्दा उनी अन्य बौद्धिकप्रति निर्मम बनेका सन्दर्भ अनेक छन्। संस्कृत भाषामा ‘विद्वान्’ शब्दको पर्यायवाची ‘दोषज्ञ’ अर्थात् ‘दोष देख्ने’ पनि हो। विद्वत् कर्ममा संलग्न व्यक्ति र उनीहरूका रचनामा दोष खोज्नु र उनीहरूविरुद्ध आक्रामक शैलीमा जाइलाग्नु पन्तको स्वभाव हो, जुन उनले संशोधन–मण्डलबाट ग्रहण गरेका हुन्।
सूर्यविक्रम ज्ञवालीको आलोचना गर्ने क्रममा ‘(उनको) प्रतिष्ठाको कारण विद्याभन्दा बढी चाकरी थियो’ भनी लेखेका छन् (पृ. १४८)। बालकृष्ण समबारे चर्चा गर्दा ‘बालकृष्णको चरितको एक पाटो लोकोत्तर भए पनि अर्को पाटो मौकापरस्ती हो’ भनी लेखेका छन् (पृ. १६६)। कूटनीतिज्ञ तथा लेखक यदुनाथ खनाललाई पाण्डित्य र कूटनीतिमा होइन अपितु ‘गरीबको छोरा भई जन्मेर धनीको बाबु हुने दौडमा लागेकाहरूमध्ये ... अग्रगण्य ... मान्नुपर्छ’ भनेका छन् (पृ. १८३)। ‘गद्दीमा बसेको मान्छेको अनुकूल हुनु, आफ्नो विद्याबलको उपयोग गरी शासकको विचार अनुसार काम गर्नु नै उनको लक्ष्य थियो’ भनी खनालमाथि पन्त खनिएका छन् (पृ. १८६)।
विद्वत् कर्ममा संलग्न व्यक्ति र उनीहरूका रचनामा दोष खोज्नु र उनीहरूविरुद्ध आक्रामक शैलीमा जाइलाग्नु पन्तको स्वभाव हो, जुन उनले संशोधन–मण्डलबाट ग्रहण गरेका हुन्। सूर्यविक्रम ज्ञवालीको आलोचना गर्ने क्रममा ‘(उनको) प्रतिष्ठाको कारण विद्याभन्दा बढी चाकरी थियो’ भनी लेखेका छन्। बालकृष्ण समबारे चर्चा गर्दा ‘बालकृष्णको चरितको एक पाटो लोकोत्तर भए पनि अर्को पाटो मौकापरस्ती हो’ भनी लेखेका छन्।
लेखनमा प्रायः आक्रामक बन्ने उनी केही विद्वान्प्रति चाहिँ अपेक्षाकृत नरम छन्। आफ्नो स्वभाव विपरीत उनले त्यस्ता व्यक्तिका लेखनमा भएका कमजोरी हार्दिकतापूर्वक औंल्याउने गरेका छन्। यसलाई अनुसन्धाताका रूपमा पन्तको सीमा मान्नुपर्छ।
आफैंले आफूमाथि लादेको यस्तो सीमाबाट उनी यस किताबमा पनि बाँधिएका छन्। हेमराज पण्डितको मूल्यांकन गर्ने क्रममा किताबको अध्याय १२ मा उनले लेखेका छन्, ‘हेमराजको डायरी ठाउँठाउँमा संस्कृतमा पनि लेखिएको छ। तर, उनका प्रकाशित कृतिको जस्तो प्राञ्जल भाषा त्यहाँ नभएकाले उनलाई संस्कृत लेख्नु त्यति सहज थिएन, श्रमसाध्य थियो कि जस्तो लाग्छ (पृ. १०६)।’
पन्तको यस भनाइबाट संस्कृतमा शुद्धसँग लेख्न हेमराजले अरू व्यक्तिको सहयोग लिनुपर्थ्यो कि जस्तो पनि देखिन्छ। लेखनका क्रममा आफूलाई गाह्रो हुने विषयमा मार्गदर्शक वा सहयोगीबाट सहयोग लिएर कसैले लेखेको छ भने त्यस्ता लेखकलाई पन्तले अन्यत्र छापिएका केही लेखमा ‘खेताला लगाई लेख्ने’ अथवा ‘सोधी सोधी शोध गर्ने’ व्यक्तिको उपमा दिएका छन्। तर, हेमराजको त्यस्तै प्रतीत हुने कर्मप्रति पन्त अपेक्षाकृत नरम बनेका छन्। यो लेखक स्वयंले आत्ममूल्यांकन गर्नुपर्ने विषय हो।
१०. समीक्षित किताबका लेखकबारे यति चर्चा गरिसकेपछि प्रकाशकबारे पनि केही टिप्पणी गर्नु उपयुक्त हुन्छ। कुनै किताबप्रति धारणा बनाउनु छ भने त्यसले समेटेका कुरा मात्र हेरेर पुग्दैन, यसले छुटाएका कुरा पनि नियाल्नुपर्ने हुन्छ।
किताबमा छापिएका अध्याय कसरी चयन गरिए भन्नेबारे किताबको ‘वाङ्मुख’मा पन्तले लेखेका छन्, ‘वि.सं. २०७३ बर्खाको कुरा हो। मैले राजधानी दैनिकमा पपन्ध्र दिनमा लेख छाप्न थालेको साढे चार वर्षजति भइसकेको थियो। राजधानीमा छापिएका लेखमध्ये केही मार्टिन चौतारीबाट पुस्तकाकारमा छपाउन पाए हुन्थ्यो भनी एक दिन कुरैकुरामा श्रीयोगेश राजले भनेकामा मैले नाइँनास्ति गरिनँ र कुरा अगाडि बढ्दै गयो। अनि मैले त्यस वेलासम्म छापिएका सबै लेखको फाइल इमेलद्वारा पठाइदिएँ। त्यसबाट २५ ओटा लेख चौतारीबाट छनोट भई प्रकाशित हुने ठहर भयो (पृ. झ)।’
यसबाट लेखहरूको चयन मार्टिन चौतारीले गरेको हो र यसमा पन्तको कुनै संलग्नता छैन भन्ने देखिन्छ।
११. किताबको अध्याय ९ मा छापिएको ‘लेवीमा लाञ्छना ?’ शीर्षकको लेख किताबको मूल विषयसँग त्यति मेल खाने खालको छैन। यो सिल्विं लेवीको किताबबारे लेखक सौरभले लेखेको सामग्रीको आलोचना गर्दै पन्तले राजधानी दैनिकमा लेखेको लेख हो। ‘सिल्विं लेवी र नेपालका इतिहासको खोजी’ शीर्षकमा लेवीबारे छुट्टै अध्याय हुँदाहुँदै सौरभको आलोचना गरिएको लेख पनि किताबमा समेटिनुले सौरभप्रति प्रकाशन संस्थाको पूर्वाग्रह झल्काएको छ। यस किताबमा रहेको यस्तो प्रकृतिको यो एउटा मात्र अध्याय हो।
१२. मार्टिन चौतारी मूलतः विदेशी अनुदानमा आश्रित गैरसरकारी संस्था हो। इतिहासदेखि समाजविज्ञानसम्मका विषय सम्बन्धी लेखरचना र ग्रन्थ प्रकाशन हुँदै आएका त्यस्ता संस्थाबाट उत्पादन हुने ज्ञानको प्रकृति भिन्न रहँदै आएको छ।
त्यस्ता संस्थाबाट उत्पादित ज्ञानमा दाता वा शक्तिराष्ट्रका रणनीतिक प्रयोजन पनि अन्तरनिहित भएका हुन्छन् भन्ने बुझाइ छ। यस्तो बुझाइबारे गौरव केसी र प्रणव खरेलको एउटा लेखमा पनि चर्चा गरिएको छ, जसमा ‘वास्तविकता के पनि हो भने, कतिपय मानवशास्त्री र समाजशास्त्री शक्तिकेन्द्र (सबैखाले) का निकट पनि छन्’ भन्दै तिनीहरूमा ‘यथार्थलाई सूक्ष्म ढंगले विश्लेषण गर्नेभन्दा पनि पश्चिमा सैद्धान्तिक अवधारणामा पराश्रित रहने प्रवृत्ति व्याप्त छ’ भनिएको छ।
नेपाली इतिहास लेखन परम्परामा विदेशी दातामाथि आश्रित गैरसरकारी संस्थामा आबद्ध व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहे तापनि पन्तको यस किताब त्यसबारे सर्वथा मौन छ। पूर्वाग्रही भएर पन्तले यस विषयमा कलम नचलाएकाले किताबमा यो विषय समेटिन नपाएको चाहिँ होइन।
२०६२/६३ सालको दोस्रो जनआन्दोलनपछि बौद्धिक गतिविधिमा वैदेशिक सहयोग बढेसँगै गैरसरकारी संस्थाहरूबाट उत्पादित ज्ञान हस्तक्षेपकारी बन्यो। त्यस्तो ज्ञानबाट पछिल्लो समय नेपालको इतिहास, राजनीति, समाज र संस्कृतिको मूलधारे संकथन निर्माण हुन पुगेको छ।
नेपाली इतिहास लेखन परम्परामा विदेशी दातामाथि आश्रित गैरसरकारी संस्थामा आबद्ध व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहे तापनि पन्तको यस किताब त्यसबारे सर्वथा मौन छ। पूर्वाग्रही भएर पन्तले यस विषयमा कलम नचलाएकाले किताबमा यो विषय समेटिन नपाएको चाहिँ होइन। यस्ता विषयमा पन्तका केही लेख राजधानी दैनिकमा छापिएका छन्।
विदेशी दातामुखी गैरसरकारी संस्था खोलेर इतिहास लेखनमा लाग्ने मसीजीवीहरूमध्ये महेशचन्द्र रेग्मी अग्रणी मानिन्छन्। रेग्मीबारे पन्तको ‘महेशचन्द्र रेग्मी र एनजीओ प्रवृत्तिको प्रादुर्भाव’ शीर्षकको लेख २०७३ सालमै राजधानी दैनिकमा छापिएको थियो। यो लेख किताबमा राखेको भए नेपाली इतिहास लेखन परम्पराको अर्को महत्त्वपूर्ण पाटो पनि समेटिने थियो।
१३. महेशचन्द्र रेग्मी सम्बन्धी लेखमा समेटिएका विषय हेरेपछि समीक्षित किताबमा यो लेख किन राखिएनछ भन्ने कुराको छनक मिल्छ। वैदेशिक दातामुखी गैरसरकारी संस्थामा आबद्ध रहेर इतिहास लेखनमा संलग्न रेग्मीलाई त्यस्तैखालका गैरसरकारी संस्थामा आबद्ध बौद्धिकहरूले आदर्श मान्ने गरेका छन्।
‘महेशचन्द्र रेग्मी र एनजीओ प्रवृत्तिको प्रादुर्भाव’ शीर्षकको लेखमा रेग्मी र उनले प्रतिनिधित्व गर्ने प्रवृत्तिको तिखो आलोचना गरिएको छ। इतिहास लेखन लगायत बौद्धिक कर्म महेशचन्द्रले एनजीओको प्रभावमा नेपालमा पहिलोपटक भित्र्याएका थिए भनी चर्चा गर्दै त्यसमा अंग्रेजीमा लेख्नेहरूमध्ये प्रायः सबैले विदेशीको आर्थिक प्रोत्साहनमा विशुद्ध विदेशीका लागि लेखिरहेका छन् भनिएको छ।
पन्तको लेखमा अमेरिकी लेखक लिओ ई. रोजसँगको रेग्मीको सम्बन्धबारे चर्चा गर्ने क्रममा भनिएको छ, ‘जागिर खोसिएपछि बेरोजगार भएका महेशचन्द्र रेग्मीको सम्पर्क क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर लिओ ई. रोजसँग भयो। वि.सं. २०१७ मा लिओ ई. रोजमार्फत क्यालिफोर्निया विश्वविद्यालयबाट अन्वेषणवृत्ति पाई नेपालको तात्कालिक भूमिव्यवस्थामा अन्वेषण गर्न महेशचन्द्र रेग्मी लागे।
वि.सं. २०१९ मा चीन र भारतको लडाइँ भइसकेपछि वि.सं. २०२१ देखि ‘हिमालयन बोर्डर कन्ट्रिज प्रोजेक्ट’ ल्याएका लिओ ई. रोजसँग महेशचन्द्र रेग्मी आबद्ध हुन पुगे। सुखीम (आजभोलिको भाषामा सिक्किम), भारतका उत्तर–पूर्वी राज्य भोटाङ (आजभोलिको भाषामा भूटान) र नेपालको विषयमा अन्वेषण गर्न भनी खडा गरिएको त्यस प्रोजेक्टलाई अमेरिकी रक्षाविभागबाट पैसा आउँथ्यो।
त्यस प्रोजेक्ट अन्तर्गत महेशचन्द्र रेग्मीले नेपालको वर्तमान भूमिव्यवस्थाको इतिहास खोतल्न पुगे। भारत सरकारले विरोध गरेपछि वि.सं. २०२६ मा त्यो प्रोजेक्ट बन्द भयो। त्यो प्रोजेक्ट अमेरिकी सरकारको जासूसी संस्था सीआईएको पैसामा चलेको भन्ने हल्ला पनि चल्यो ... अमेरिकी रक्षाविभागको पैसाले चलोस् कि सीआईएको पैसाले चलोस्, संघराज्य भारतको उत्तरी सिमानामा रहेका राज्य र हिमालयको काखमा रहेका स्वतन्त्र राज्यको चियोचर्चो वैदुष्यको आवरणमा गर्नका लागि नै त्यो प्रोजेक्ट खडा भएको थियो भनी भन्न नसकिने होइन।’
लेखमा रेग्मीले एकातर्फ ‘जहाँसम्म रिसर्च सेन्टरको कुरा छ, (यो) कसैको अनुदानमा चलेको छैन। म बौद्धिक–वेश्यावृत्तिमा पर्न चाहन्नँ’ भनेको र अर्कोतर्फ अमेरिकी सरकारको पैसा लिएर अनुसन्धान गरेको परस्परविरोधी सन्दर्भबारे उल्लेख गर्दै भनिएको छ, ‘कतैबाट अन्वेषणवृत्ति पाई काम गर्दैमा त्यो बौद्धिक वेश्यावृत्ति हुन्छ भन्न विचारकहरू सक्दैनन्।’
रेग्मीको विद्वत्कर्मबारे लेखमा पन्तको निष्कर्ष यस्तो छ, ‘‘शासकको होइन कि, ‘नेपाली जनताको इतिहास लेख्ने प्रथम व्यक्ति’ र ‘जनताका ऐतिहासिक’ इत्यादि विशेषण महेशचन्द्र रेग्मीको नाउँमा जोडिने गरेको छ। जनजातिहरूबारे विस्तृत विवरण संकलन गर्ने प्रभुहरूको योजना अनुरूप नै उनी त्यतातिर एकोहोरिएका हुन् कि भन्ने जस्तो मलाई लाग्छ। जे भए पनि, उनको पालादेखि एनजीओ प्रवृत्तिको प्रादुर्भाव भएको हो भन्ने कुरामा चाहिँ शंका छैन।"
१४. वि.सं. २०६९ मा राजधानी दैनिकमै पन्तको ‘विद्वत् एनजीओको शल्यक्रिया’ शीर्षकको अर्को लेख छापिएको थियो। पन्तको किताबको अन्तिम अध्यायमा ‘नेपालमा पुराविद्याको खोजी’ शीर्षकको लेख समावेश भएको देख्दा ‘विद्वत् एनजीओको शल्यक्रिया’लाई पनि किताबमा समेट्न व्यवहारतः नमिल्ने देखिँदैन। यो लेख किताबमा समावेश नहुनुको कारण बुझ्न पनि त्यति अप्ठेरो छैन।
मार्टिन चौतारीजस्ता विद्वत् गैरसरकारी संस्थाहरूबारे लेखमा भनिएको छ, ‘स्वेच्छा, निजी स्रोत र दातृसंस्थाबाट जुटेको धनबाट एनजीओ चल्ने परिभाषा भए पनि नेपालमा ठ्याम्मै भनेजस्तो विदेशी पैसाबाटै एनजीओ चलेका छन् भन्दा अत्युक्ति हुँदैन। यी संस्था सामाजिक सेवा परिषद्मा दर्ता हुन्छन् तापनि यिनीहरूको क्रियाकलाप, खास गरी आर्थिक, त्यति स्पष्ट छैन।’
एक पटक हामी सबैले आफैंलाई प्रश्न गर्नुपर्ने भएको छ– हामी पनि आलोचना, आलोचक र फरक विचार राख्नेहरूप्रति अनुदार त छैनौं? ‘बौद्धिकहरू आलोचक बन्नुपर्छ’ भनेर बताइरहँदा ‘हामी र हाम्राहरूको आलोचना चाहिँ गर्न पाइँदैन’ भन्ने मान्यता हामीले कतै संस्थागत गरिरहेका त छैनौं?
त्यस्ता संस्थामा वर्तमान राजनीति र लौकिक स्थिति सम्बन्धी नै बढी खोजी हुने हुनाले ती संस्थाबाट छापिने सामाग्री नेपालको वर्तमान अवस्था बुझ्न खोज्ने विदेशीहरूका लागि बढी काम लाग्ने खालका छन् भनी लेखमा भनिएको छ। त्यस्ता सामग्रीको प्रयोजन इस्ट इन्डिया कम्पनीका तात्कालीन जागिरे कर्कप्याट्रिक र ह्यामिल्टनका रचनाहरूको प्रयोजनसरह छ भनी लेखमा भनिएको छ।
‘नेपालका गैरसरकारी, स्वतन्त्र विद्वत् संस्थाहरूको अन्वेषण र प्रकाशन खासगरी सत्री अर्थात् विद्वान्का रूपमा हिँडेका राजकाजी मान्छेहरूलाई काम लाग्ने खालको छ’ भनी पन्तले लेखेका छन्। संस्कृत ग्रन्थहरूमा सत्रीलाई जासूसको समानार्थी मानिएको छ।
त्यस्तै, २०७१ सालमा राजधानी दैनिकमै पन्तले लेखेको ‘कमलप्रकाश मल्लको साहित्यदेखि संस्कृतिसम्म’ शीर्षकको लेख छापिएको थियो, जसमा कमलप्रकाशको आलोचना गरिएको छ। कमलप्रकाशप्रति मार्टिन चौतारीले सद्भाव राख्छ भन्ने कुरा नेपाली बौद्धिकहरू सम्बन्धी उनको लेखको अनुवाद चौतारीले आफ्नो प्रकाशनमार्फत पुनर्मुद्रण गराएबाट पनि सिद्ध हुन्छ। कमलप्रकाशप्रतिको हार्दिकताका कारण समीक्षित किताबमा उनको आलोचना गरिएको लेख समावेश नगरिएको हो कि जस्तो देखिन्छ। जब कि मल्ल नेपालका अग्रणी ऐतिहासिकमध्येमा पर्छन्। उनी सम्बन्धी लेख पनि समेटिएको भए पन्तको किताबले विषयगत विविधता अझ बढी पाउने थियो।
‘आफू’ वा ‘आफ्ना’हरूको आलोचना गरिएका लेखहरू छानीछानी किताबमा नपारिएका यी सन्दर्भले केही गम्भीर प्रश्न उब्जाएका छन्। गैरसरकारी संस्थामा आबद्ध बौद्धिक र नागरिक समाजले राजनीतिक सत्ता र त्यसका खेलाडीहरूलाई जस्तो खालका आरोप लगाइरहेका छन्, ती आरोपबाट ती संस्था र त्यसमा आबद्ध बौद्धिकहरू चाहिँ कति मुक्त छन् त भनी विमर्श गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यस्तो विमर्शलाई सघाउने रचनामा बेलायती इतिहासकार पल जोन्सनको ‘इन्टलेक्चुअल्स (सन् १९८८) किताब पनि पर्छ भन्ने सन्दर्भ यहाँ उल्लेख गर्नु प्रासंगिक हुन्छ।
एक पटक हामी सबैले आफैंलाई प्रश्न गर्नुपर्ने भएको छ– हामी पनि आलोचना, आलोचक र फरक विचार राख्नेहरूप्रति अनुदार त छैनौं? ‘बौद्धिकहरू आलोचक बन्नुपर्छ’ भनेर बताइरहँदा ‘हामी र हाम्राहरूको आलोचना चाहिँ गर्न पाइँदैन’ भन्ने मान्यता हामीले कतै संस्थागत गरिरहेका त छैनौं?
१५. माथि गरिएका चर्चाले मार्टिन चौतारीजस्ता विद्वत् संस्थासँग पन्तको वैचारिक विमति प्रशस्तै छ भन्ने देखाएको छ। यति हुँदाहुँदै पनि चौतारीले पन्तको किताब छाप्ने अभिरुचि किन देखायो त? यसबारे पनि संक्षेपमा चर्चा गर्नु वाञ्छनीय हुन्छ।
किताबको ‘वाङ्मुख’ अनुसार किताब प्रकाशनको अग्रसरता योगेश राजले लिएका हुन्। पन्तको किताब प्रकाशन सम्बन्धी काम शुरू हुँदै गर्दा मार्टिन चौतारीको नेतृत्वमा योगेश राज थिए। योगेश राज मार्टिन चौतारीको नेतृत्वमा छँदा त्यहाँबाट हुने प्रकाशनमा विविधता आएका थिए। उनकै अग्रसरतामा नेपाली इतिहास र संस्कृति सम्बन्धी केही गहन ग्रन्थ चौतारीबाट छापिए। त्यस्ता ग्रन्थमा योगेश राज स्वयंको ‘सन्ध्या–संरचना: हिन्दूनेवारहरूको मृत्युचेतना (वि.सं. २०७०)’ दिवाकर आचार्यको ‘नीपजन र नेपाल: एउटा छोटो आद्य–इतिहास (वि.सं. २०७४)’, महेशराज पन्तको समीक्षित किताब आदि पर्छन्।
योगेश राजकै अग्रसरतामा मार्टिन चौतारीबाट छापिने जर्नल ‘स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी’मा ‘नोट्स फ्रम द आर्काइभ’ शीर्षकमा सामग्री छापिन थाले। चौतारीबाट हुने प्रकाशनलाई विविधता दिने उनको हुटहुटीका कारण पन्तसँग कैयौं मतभेद हुँदाहुँदै पनि उनको किताब छाप्न मार्टिन चौतारी अग्रसर भएको हो जस्तो देखिन्छ।
पुस्तक: नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी लेखक: महेशराज पन्त प्रकाशक : मार्टिन चौतारी, काठमाडौं पृष्ठ: २६० मूल्य: रू. ३९९