भूकम्पको ६ वर्षपछि उठ्यो धरहरा (तस्वीरहरू)
२०७२ सालमा भूकम्पले भत्किएको ६ वर्षपछि काठमाडौंको सुनधारामा नयाँ धरहरा ठडिएको छ। नवनिर्मित धरहराको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन्।
अहिले नयाँ र प्रतीकका रूपमा सानो बनाइएको समेत गरेर दुइटा धरहरा ठडिएका छन्। आजभन्दा १९५ वर्षअघि पनि दुइटा धरहरा थिए। तर, एउटा धरहरा १८९० को भूकम्पमा भत्किएको थियो। त्यतिबेला धरहरालाई 'मिनार' भनिन्थ्यो।
धरहराको ऐतिहासिक महत्त्व पनि छ। यसले १९७ वर्ष लामो इतिहास बोकेको छ।
आज हामीले ‘नेपालको धरहरा’ अथवा भीमसेनस्तम्भ भनेर चिनेको, देखेको स्मारक मुख्तियार भीमसेन थापाले ‘मिनार’ भनेर बनाएको दोस्रो संरचना हो। वि.सं. १८८१ मा उनले ‘राष्ट्रिय स्वतन्त्रता, अखण्डता, गोर्खाली स्वाभिमान, उन्नति, प्रगति र अंग्रेजले वार्षिक भारू दुई लाख दिएर अधीनमा पार्न खोजेको तराईको भूभाग फिर्ता लिएको प्रतीक’का रूपमा अहिलेको धरहराको दक्षिण-पश्चिमपट्टि रहेको भीमसेन निवास (जनरलवाग) परिसरमा निर्माण गरेको मुगल शैलीको ११ तले पहिलो मिनार नौ वर्षपछि १८९० को भूकम्पमा परेको थियो।
इतिहासकार पुरुषोत्तमशमशेर राणाको संकलनमा रहेको ठाडो चर्केको चित्र सम्भवतः भूकम्पपछिको त्यही ‘मिनार’को थियो वा बनाउनासाथ चर्केकाले भत्काएर फेरि बनाउनुअघिको पनि हुनसक्छ। तर, त्यो ‘मिनार’ भूकम्पपछि पुनर्निर्माण नभएर इतिहासको अँध्यारोमा हरायो।
रानी ललितत्रिपुरासुन्दरीले पनि त्यस्तै ‘मिनार’को इच्छा गरेपछि भीमसेनले १८८२ मा बनाइदिएको दोस्रो ‘मिनार’ चाहिं अहिलेको धरहरा हो। १८९० को भूकम्पमा सबुत रहेको यो ‘मिनार’लाई त्यसको १०० वर्षपछि १९९० सालमा आएको महाभूकम्पले भत्काइदिएकाले राणा प्रधानमन्त्री जुद्धशमशेरले नौ तलामा सीमित गरी बरन्डा निकालेर पुनर्निर्माण गराएका हुन्। (हिमाल खबरपत्रिका २० फागुन २०६९ अंकबाट)
६ वर्षअघि भूकम्पले धरहरा भत्किएपछि लेखक कमल दीक्षितले उहिलेका दुइटा धरहराबारे हिमालमा लेखेका थिए। १८९० मा गएको भूकम्पमा गजुर मात्रै भत्किएको थियो। त्यस्तै, १९९० मा गएको भूकम्पमा भत्किएको धरहरा दुई वर्षमै पुनःनिर्माण गरिएको थियो।
त्यही दोस्रो धरहरा १२ वैशाख २०७२ को भूकम्पमा भत्किएको थियो। नयाँ बनाइएको धरहरा २२ तले र ७९ मिटर अग्लो छ।