लैनचौरमा हरित उद्यान निर्माण गर्दै एनसेल
काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित मैदानमा एनसेल आजियाटा लिमिटेडले हरित उद्यान निर्माण गर्न लागेको छ।
व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्न उद्देश्यले हरित उद्यान निर्माण गर्न थालिएको एनसेलले जनाएको छ। लैनचौर मैदानमा अहिले निर्माण कार्य चलिरहेको छ।
यसमा उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जीमखाना र बालबालिकाका लागि खेल्ने स्थानको व्यवस्था गरिने एनसेलले जनाएको छ। हाल ५४ हजार ९२१ वर्गफिट क्षेत्रफल रहेको यो मैदानमा परम्परागत ढुङ्गेधारा, उद्यानमा आउनेहरूका लागि पार्किङ, शौचालय र सोलार बत्तीको पनि व्यवस्था गरिने भएको छ।
एनसेलले वडा कार्यालयसँगको समन्वयमा हरित उद्यान निर्माण गर्न थालेको हो। यसका लागि वडा कार्यालय र एनसेलबीच समझदारी भएको थियो। महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार निर्माण भइरहेको एनसेलले जनाएको छ।
व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत हरित उद्यान निर्माण भइरहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले बताए। यसले शहरलाई स्वच्छ र सफा राख्नका साथै पर्यावरण जोगाउन पनि सहयोग पुग्ने उनको भनाइ छ।
एनसेलले विभिन्न सामाजिक पहलअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोग लगायत विभिन्न कार्यक्रम गर्दै आएको छ। अहिलेसम्म विभिन्न क्षेत्रमा रू.१ अर्ब २७ करोडभन्दा बढी सहयोग गरिसकेको जनाएको छ।