मलेसियाविरुद्ध नेपालको जित, दर्शक रंगशालाबाहिर (तस्वीरहरू)
त्रिकोणात्मक टी२० आई श्रृङ्खलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ।
नेपालले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले १९.१ ओभरमा अलआउट हुँदा १४८ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले ३/३ विकेट लिए। कमलसिंह ऐरीले आज डेब्यु गरेका हुन्।
मलेसियाका लागि अमिउद्दीन राम्लीले १८ बलमा ४१ रन बनाए। उनले पाँच छक्का र एक चौका प्रहार गरेका थिए।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले शुरूदेखि नै आक्रामक खेलेको थियो। नेपालका लागि सातौँ क्रममा ब्याटिङमा आएका करण केसीले १३ बलमा ४५ रन बनाए। उनले सात चौका प्रहार गरेका थिए।
यस्तै, आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१ र दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाए। ऐरीले १७ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका थिए। कप्तान मल्लले चार र आसिफ सेखले तीन छक्का प्रहार गरेका थिए।
कोभिड १९ संक्रमण रोक्न सरकारले दर्शक नराख्न निर्देशन दिएपछि क्यानले रंगशाला खाली राखेको छ। तर, रंगशालाबाहिर पर्खाल र रूखका हाँगामा बसेर पनि दर्शकले नेपालको खेल हेरेका थिए।