हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध
हुम्ला सदरमुकाम सिमकोटमा लामो समयपछि वैशाखमा पनि हिमपात भएको छ। आज बिहानदेखि परेको हिउँले सिमकोट सेताम्य बनेको छ।
बिहान २ बजेदेखि हिउँ पर्न थालेको हो। बाक्लो हिमपातले सिमकोटको तापक्रम माइनस १० डिग्रीमा झरेको छ। उत्तरी क्षेत्रका बस्तीको जनजीवन प्रभावित भएको छ।
नाम्खा गाउँपालिकाका अधिकांश बस्तीका बासिन्दा घरबाहिर निस्कन सकेका छैनन्। नाम्खाको लिमी, चाला, मुचु लगायतका बस्तीमा आवतजावत नै बन्द भएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए। लिमी र चालामा २ फुट हिउँ जमेको छ।
एकाएक वैशाखमा हिउँ परेपछि लिमी गाउँका चौरी जंगलमै रोकिएका छन्। वैशाख लागेसँगै घरपालुवा जनावरलाई जंगलमा छोड्ने गरिन्छ। अचानक हिउँ परेपछि घर ल्याउन नसकिएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।
हिमपातले हुम्लाको हवाई सेवा पनि अवरुद्ध भएको छ। बाक्लो तुवाँलो लागेपछि दुई दिनदेखि नै हवाइ उडान प्रभावित भएको सिमकोट विमानस्थलले जनाएको छ।