गोर्खाल्यान्डको व्यथा
आम मानिस गाँस, बास र कपासको आधारभूत आवश्यकताभन्दा ज्यादा सपना देख्दैन ।
तिनको त्यही सपनामा परिवर्तन र क्रान्तिको लेप लगाएर नेताहरू आन्दोलन र जुलूस गर्छन्, शासन चलाउँछन् । समग्रमा प्रयोगको वस्तु बनाउँछन् ।
पछिल्लो राजनीतिको यही यथार्थलाई नेपालीभाषी भारतीय लेखक छुदेन काविमोले आख्यान फातसुङ मार्फत प्रस्तुत गरेका छन् । लेप्चा भाषाको शब्द ‘फातसुङ’ को अर्थ हुन्छ, माटोको कथा । यो आख्यानले कुनै बेला राजनीतिक स्वार्थको मैदान बनेको एउटा भूगोलको मार्मिक कथा लिपिबद्ध गरेको छ ।
नेपालीभाषीको बाहुल्य रहेको पश्चिम बङ्गाल, भारतको दार्जीलिङमा पहिचान सहितको गोर्खाल्यान्डको माग गर्दै सन् १९८६ मा आन्दोलन भयो । गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का तत्कालीन अध्यक्ष सुवास घिसिङले थालेको आन्दोलनमा पूरै दार्जीलिङवासी उत्रिएका थिए ।
त्यही परिवेशलाई आख्यानले १९ वटा परिच्छेदमा पस्केको छ । आम मानिसलाई नेताले कसरी सपनाको खेती गरेर प्रयोग र शोषणको औजार बनाउँछ भन्ने नै फातसुङ को भावभूमि हो । स्वार्थपूर्तिको भर्याङ बनेर आम मानिस र तिनका सपना दुवै शहीद भएर जाने प्रदूषित राजनीतिको साझा अनुहारलाई लेखकले उजागर गरेका छन् ।
आख्यानमा केही अबोध बाल पात्रहरू छन्, जो आन्दोलन के हो भन्ने नबुझी जुलूस र प्रदर्शनमा सहभागी हुन्छन् । कक्षाकोठामा साथीहरूसँग बालसुलभ झगडा गर्ने उनीहरू गोर्खाल्यान्ड माग गर्ने आन्दोलनमा होमिन्छन् । आन्दोलनका नेतृत्वकर्ता घिसिङको पोस्टर गाउँभरमा टाँस्न हिंडेको बालक नासिमले सोध्छ, “सूर्य दा, यो आन्दोलन चैं किन भा’को ?”
“किन भा‘को किन ! लैन्डका (गोर्खाल्याण्डका) लागि । यै हप्ता जुलूस छ । बुझिस् ?”
यसरी चिन्दै नचिनेको मान्छेको पोस्टर टाँसेर, बुझ्दै नबुझेको आन्दोलनबाट नासिम, नोर्देन जस्ता बालकहरूको राजनीतिक यात्रा शुरु हुन्छ । पढाइबाट छुटकारा, साथीसँगकोे सान्निध्यता, बन्दूक खेलाउने लोभ र शिक्षकको आदेश नै उनीहरूको राजनीतिक यात्राको कडी बन्न पुग्छ ।
पहिचान, भाषा र अलग राज्यका नाममा भएको आन्दोलनले नोर्देनलाई अपाङ्ग, बेपत्ता र नासिमलाई अन्ततः खोला किनारमा गिट्टी कुट्ने नियतिमा पुर्याउँछ । आन्दोलन र अधिकारको नारा जपेर नेताहरूले सोझासीधा व्यक्तिको त्यागलाई आफ्नो प्रगतिका लागि प्रयोग गरेको सत्यता थाहा पाउँदा समेत नेताकै भजन गाइरहने कार्यकर्ताको प्रवृत्ति हाम्रो समाजको पनि विशेषता हो ।
आम आँखामा गोर्खाल्यान्ड प्राप्तिको सपना बीजारोपण गरिदिएर नेताको प्रयोगमा तुहिएको ‘पहिचान’ को आन्दोलनले सर्वसाधारणलाई भने ‘नो म्यान’ नै बनाइरहन्छ ।
पुस्तकमा एक वृद्ध पात्र भन्छन्, “पेट नहुने जनावर मात्रै राजनीतिमा इमानदार बन्न सक्छ ।” यस मार्फत आख्यानले नैतिकता, इमानदारी, जवाफदेही, जिम्मेवारी जस्ता सबै कुरालाई तिलाञ्जलि दिएर स्वार्थ र भोगसँग मात्र मलतब राख्ने आम नेताको प्रवृत्तिमा प्रहार गरेको छ । राजनीति पूँजीवादको दलदलमा फसेको संकेत गरिएको छ ।
लेखकले बालसखा रिपदेनको मृत्यु भएको सूचनासँगै ‘नोस्टाल्जिक’ भावमा आख्यानको रफ्तार बढाएका छन् । समाजको विशेषता जस्तै जुनसुकै अभियान र आन्दोलनमा पनि सोझासाझा शिकार बन्ने र टाठाबाठाले दाउपेच खेल्ने र आफ्नो अनुकूलतालाई प्राथमिकता दिने परिस्थिति देखा पर्छ ।
‘फातसुङ’ मा रचेला जस्ता अबोध किशोरीले मृत्युवरण गर्नुपरेको छ, राजु सर छुट्टीमा मात्रै सिक्किमबाट दार्जीलिङको आन्दोलनमा भाग लिन आएका छन् । अर्कातिर, सर्वसाधारणको अबोधपन र आशावादिता हुरुक्क पार्ने खालको हुन्छ । ‘सरकार हामी जस्तो अनपढ ता छैन होला नि ? केही न केही ता हुन्छै होला नि, है ?’ जस्ता संवाद गाउँलेहरूको त्यही सरलताको दृष्टान्त हो ।
फातसुङ तिनै वृद्ध आमाहरूको कथा हो, जो संविधानको धारा र पानी आउने धाराबीचको फरक बुझ्दैनन् । दिनचर्या खुशीसाथ बिताइरहेका रामप्रसादहरूको कथा हो, जो लहडमा राजनीतिमा हाम फालेर मनमा डरैडर पाल्न बाध्य हुन्छन् ।
आख्यानमा प्रयोग भएका ठेट बोलीचालीका शब्दहरूले अर्गानिक स्वाद त दिएकै छन्, पात्र र तिनको चरित्रलाई हामीले चिने/देखेकै जस्तो सजीव र विश्वसनीय बनाएका छन् । आख्यानमा वर्णन गरिएको कालिम्पोङ लगायत दार्जीलिङको भौगोलिक विवरणले ‘माटोको कथा’ भित्र सुगन्ध थपिदिएको छ । यद्यपि कतिपय ठाउँमा अमिल्दा वाक्यसंगतिले पाठकलाई खल्लो पार्न सक्छ ।
पत्रकारिता पेशामा समेत क्रियाशील लेखक छुदेनले गोर्खाल्यान्ड आन्दोलनका नाममा पछिल्लो समय भइरहेका चलखेल र प्रयोगबारे समाचारहरू लेखे । त्यस क्रममा धम्कीहरू पनि भोगे । तिनै चुनौतीबाट खारिंदै र दर्जनौं आन्दोलनकारीसँग अन्तरंग कुराकानीपछि उनले फातसुङ लेखेका हुन् । त्यसकै कारण होला, आख्यान दृश्यात्मक छ ।
फातसुङ
विधा : आख्यान
लेखक : छुदेन काविमो
प्रकाशक : फाइनप्रिन्ट बुक्स
पृष्ठ : १५०
मूल्य : रु.३००