त्रिकोणात्मक टी२०आई : नेदरल्यान्ड्स र नेपाल फाइनलमा, मलेसिया बाहिरियो
कीर्तिपुरमा जारी त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको फाइनलमा शनिबार नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ। नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बुधबार ‘टाई’ भएपछि नेदरल्यान्ड्ससँगै नेपाल पनि अन्तिम खेलअघि नै फाइनलमा पुगेको हो।
वर्षाको कारण छोट्याइएको खेलमा ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले चार विकेट गुमाएर ९१ रन मात्र बनाएपछि खेल बराबरी भएको हो। अन्तिम ओभरमा मलेसियालाई ७ रन आवश्यक थियो। नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले दुई वटा वाइड गरे पनि ६ रन दिएर एउटा विकेट लिएपछि खेल बराबरीमा सकिएको हो।
मलेसियाका लागि ओपनर सयेद अजिजले सर्वाधिक ३० रन बनाए। मलेसियाले पहिलो विकेटका लागि ६.४ ओभरमा ५७ रनको साझेदारी गरेको थियो। तर, राम्रो शुरूवातलाई जितसम्म डोर्याउन सकेन।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले वर्षाले अवरुद्ध खेलमा १३ ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि बेन कुपरले नट आउट ५४ रन बनाएका थिए।
खेलको शुरूवातमा मलेसियाले नेदरल्यान्ड्सलाई दबाबमा राखेको थियो। नेदरल्यान्ड्सले २२ रनमा तीन विकेट गुमाएको थियो। तर, चाैथाे विकेटका लागि पिटर सेलार र बेन कुपरबीच ६६ रनको साझेदारी भएपछि टीम सम्हालिएको थियो।
दुई पटक वर्षाले अवरुद्ध खेलमा पुनः लक्ष्य निर्धारण गरिएपछि मलेसियाले १० ओभरमा ९२ रन बनाउनुपर्ने थियो। तर, अन्तिम ओभरमा रन बनाउन नसक्दा मलेसिया पराजित भयो।
बराबरीपछि नेदरल्यान्ड्सको पाँच अंक भएको छ भने मलेसियाले एक अंक पायो। अब बिहीबार नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको नतीजाले फाइनल यात्रामा कुनै फरक पर्नेछैन। नेपालले तीन खेलमा चार अंक बटुलेको छ।