विदेश उड्न भारतीय नागरिकको काठमाडौं ट्रान्जिट
कोरोनाभाइरस संक्रमणको कारण देखाउँदै साउदी अरब, हङकङसहितका देशले भारतबाट हुने सीधा उडान रोकेपछि भारतीय नागरिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर ती देश गइरहेका छन्। भारतीय नागरिकहरूले खाडी मुलुकसहितका देश जान काठमाडौंको बाटो प्रयोग गर्दा दिल्ली–काठमाडौं हवाई उडानमा यात्रुको चाप ह्वात्तै बढेको छ। यसले हवाई भाडा पनि बढाएको छ।
अध्यागमन विभागका अनुसार, दुई महीना अगाडिका तुलनामा अहिले दुई गुणाभन्दा धेरै भारतीय नागरिकले काठमाडौं विमानस्थलको बाटो प्रयोग गरिरहेका छन्। अप्रिल १ देखि १८ सम्म भारतबाट ८ हजार ७२९ जना भारतीय त्रिभुवन विमानस्थल भित्रिए। अघिल्लो महीना मार्चभरिमा ७ हजार ६५८ जना भारतीय नागरिक त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए। जबकि, फेब्रुअरीमा जम्मा ४ हजार ७६३ जना भारतीय मात्रै त्रिभुवन विमानस्थलमा आएका थिए।
अध्यागमन विभागका अनुसार, दुई महीना अगाडिका तुलनामा अहिले दुई गुणाभन्दा धेरै भारतीय नागरिकले काठमाडौं विमानस्थलको बाटो प्रयोग गरिरहेका छन्। अप्रिल १ देखि १८ सम्म भारतबाट ८ हजार ७२९ जना भारतीय त्रिभुवन विमानस्थल भित्रिए।
नेपाल र भारत सरकारबीच सम्पन्न एयर बबल एग्रिमेन्टअनुसार दुई देशबीच दैनिक एक–एक वटा उडान भइरहेको छ। काठमाडौंबाट नेपाल एअरलाइन्स र दिल्लीबाट एअर इन्डियाले उडान गरिरहेका छन्। भारतीय नागरिकले खाडी मुलुक जान त्रिभुवन विमानस्थललाई बाटो बनाउँदा दिल्लीबाट काठमाडौं आउने उडानको शुल्क ह्वात्तै बढेको छ। दिल्ली–काठमाडौं एकतर्फी उडानकै भाडा रू.४० हजार नाघेको छ। नेपाल एअरलाइन्सका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेल महँगो दरमा हवाई टिकट बिक्री भइरहेको बताउँछन्।
“भारतीय यात्रुको चाप बढेका कारण अहिले सस्तोमा टिकट बिक्री गर्नुपर्ने अवस्था छैन, भनेको मूल्यमा बिक्री भइरहेको छ,” उनले भने।
कोभिड–१९ को कारण देखाउँदै ३ फेब्रुअरीदेखि साउदी अरबले भारतसहितका देशबाट हुने सीधा उडान रोकेको थियो। भारतसहितका विभिन्न २० देशमा १४ दिन अगाडिसम्म यात्रा गरेका यात्रुलाई साउदी अरबले रोक्दै आएको छ। जसका कारण, भारतबाट नेपाल आएर दुई साता क्वारेन्टिनमा बसेर साउदी अरब जाने भारतीय नागरिकको संख्या बढेको हो। साउदी अरबका निर्माण, होटल लगायत क्षेत्रमा लाखौं भारतीय कार्यरत छन्। अप्रिल १–१८ मा ५ हजार २५० भारतीय नागरिक त्रिभुवन विमानस्थल हुँदै बाहिरिएका थिए। मार्च महीनाभरिमा ५ हजार १९२ जना विमानस्थलबाट बाहिरिएका थिए।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले नेपालस्थित भारतीय दूतावासको सहमतिपत्र (नो अब्जेक्सन लेटर) का आधारमा भारतीय नागरिकहरूलाई तेस्रो मुलुकमा उडान अनुमति दिँदै आएको थियो। तर, मंगलबारबाट यस्तो अनुमति नचाहिने निर्णय गरिएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील वैद्यले बताए।
भारतीय दूतावासको अनुरोधमा अध्यागमन विभागले हवाई मार्ग हुँदै नेपाल आएका भारतीय नागरिकलाई तेस्रो मुलुक जान नो अब्जेक्सन लेटर नचाहिने निर्णय गरेको हो। नो अब्जेक्सन लेटर लिन भारतीय नागरिकको भारतीय दूतावासमा चाप बढेपछि दूतावासले यस्तो सहमतिपत्रबिना नै तेस्रो मुलुकमा जान अनुमति दिन नेपाल सरकारलाई अनुरोध गरेको थियो। यद्यपि, स्थलमार्ग हुँदै आएका भारतीय नागरिकले तेस्रो मुलुक जान त्रिभुवन विमानस्थलमा नो अब्जेक्सन लेटर देखाउनुपर्छ।
भारतीय नागरिकले खाडी मुलुक जान त्रिभुवन विमानस्थललाई बाटो बनाउँदा दिल्लीबाट काठमाडौं आउने उडानको शुल्क ह्वात्तै बढेको छ। दिल्ली–काठमाडौं एकतर्फी उडानकै भाडा रू.४० हजार नाघेको छ।
साउदी अरब लगायतका देश जान भारतीय नागरिकहरू दुई साता काठमाडौंमा क्वारेन्टिन बस्दा काठमाडौंका सस्ता होटलहरूको व्यवसाय बढेको छ। नेपाल होटल संघका महासचिव साजन शाक्यका अनुसार, भारतीय नागरिकका कारण कैयौं बजेट होटलहरू भरिभराउ छन् भने कतिपय दुईतारे र तीनतारे होटलमा पनि पर्यटक थपिएका छन्।
“पर्यटक नभएर एक वर्षदेखि रित्ता होटललाई भारतीय नागरिकका कारण केही राहत भएको छ,” उनले भने। नेपाल र भारतका विभिन्न ट्राभल एजेन्सीहरूले भारतीय नागरिकलाई नेपाल भित्र्याउन मद्दत गर्छन्।
भारतमा यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले मुम्बई र बैंग्लुरुबाट पनि उडानको पहल गरिरहेको निगमका प्रबन्ध निर्देशक पौडेलले बताए। उनले भने, “भारतस्थित नेपाली दूतावासको माध्यमबाट त्यस्तो उडान अनुमति लिन पहल गरिरहेका छौं, तर अनुमति पाइने–नपाइने निश्चित छैन।”
तर, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा विस्तार भइरहेको र दिल्लीमा बन्दाबन्दी लागू भइसकेका कारण अहिले भइरहेको उडान नै कटौती हुनसक्ने सम्भावना देख्छन्। “महामारीका कारण स्थिति बिग्रिँदै गएको छ, अहिले भइरहेका दैनिक दुई वटा उडान नै कटौती गर्ने विषयमा यसअघिको सहमति पुनरावलोकन हुनसक्छ,” उनले भने।