भारतबाट कोरोनाविरुद्धको थप खोप नआउँदा दोस्रो मात्रा सबैले पाउने अवस्था छ कि छैन?
भारतबाट सम्झौता अनुसारको खोप नआउँदा अभाव हुने संशयबीच सरकारले दोस्रो चरणको खोप अभियान शुरू गर्दा प्रश्न उठेको छ, सबैले दोस्रो डोज पाउलान्?
७ वैशाखदेखि सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान शुरू गरेको छ। १४ माघदेखि १० फागुनका बीचमा खोपको पहिलो मात्रा लगाएका ४ लाख २९ हजार ७०५ जनालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, कूटनीतिज्ञ तथा कूटनीतिक नियोगका कर्मचारी, पत्रकार लगायत दोस्रो चरणको खोप अभियानमा सहभागी भइरहँदा प्रश्न उठेको छ, के सबैले खोपको दोस्रो मात्रा पाउलान्?
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी खोपको पहिलो मात्रा लगाउने सबैले दोस्रो मात्रा पाउनेमा ढुक्क हुन आग्रह गर्छन्। उनले हिमालखबरसँग भने, “सरकारले कहाँबाट कसरी ल्याउँछ, सबै प्रक्रिया बताइरहन जरुरी छैन, तर उहाँहरूले खोप पाउनुहुन्छ।”
जसरी खोप आउला कि नआउला भन्दाभन्दै पहिलो चरणको खोप अभियान शुरू भयो, आशंकाकै बीचमा दोस्रो चरण शुरू भएको छ। त्यसरी नै खोपको दोस्रो मात्रा पनि सबैले पाउने मन्त्री त्रिपाठीको दाबी छ।
१२ लाख डोज खोप मौज्दात
चीन र भारतबाट भित्रिएका खोप बाँकी रहे पनि ती फरक–फरक कम्पनीका भएकाले धमाधम ठूलो जनसंख्यालाई खोप लगाउन प्राविधिक रूपमा मिल्दैन। खोपको पहिलो मात्रा जुन कम्पनीको लगाइएको हो, दोस्रो मात्रा पनि त्यही कम्पनीको लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन्।
भारत र चीनबाट गरी हालसम्म कोरोनाविरुद्धको ३१ लाख ४८ हजार डोज खोप भित्रिएको देखिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, मंगलबारसम्म १९ लाख ३८ हजार ६७९ जनाले खोप लगाइसकेका छन्। यो आँकडाले करीब १२ लाख डोज खोप अझै बाँकी रहेको देखाउँछ।
विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी ‘कोभ्याक्स’ सुविधामार्फत प्राप्त ३ लाख ४८ हजार डोज, भारतले अनुदानमा उपलब्ध गराएको १० लाख र नेपालले भारतबाटै खरीद गरेको १० लाख गरी जम्मा २३ लाख ४८ हजार कोभिशिल्ड खोप नेपाल भित्रिएको छ। त्यसमध्ये चार लाख ३० हजारलाई खोपको पहिलो र दोस्रो मात्रा दिन लागिएको हो।
चीनले पनि नेपाललाई आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ। चीनले दिएको खोप सिनोफार्म कम्पनीको हो। यो खोप चीन सरकारको छात्रवृत्तिमा पढ्ने विद्यार्थी, चीनमा पढ्न जान लागेका विद्यार्थी, हिमालय पार व्यापारमा संलग्न व्यापारीहरू र ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूलाई दिइएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम बताउँछन्।
चीन र भारतबाट भित्रिएका खोप बाँकी रहे पनि ती फरक–फरक कम्पनीका भएकाले धमाधम ठूलो जनसंख्यालाई खोप लगाउन प्राविधिक रूपमा मिल्दैन। खोपको पहिलो मात्रा जुन कम्पनीको लगाइएको हो, दोस्रो मात्रा पनि त्यही कम्पनीको लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन्। अधिकारी भन्छन्, “खोपको पहिलो मात्रा कोभिशिल्डको लगाएको छ भने दोस्रो मात्रा सिनोफार्म कम्पनीको लगाउन मिल्दैन।”
किन आएन भारतको खोप?
विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्यूट अफ इन्डियासँग नेपालले २० लाख डोज खोप खरीदका लागि ८० प्रतिशत रकम भुक्तानी गरिसकेको छ। त्यसमध्ये १० लाख खोप मात्र आएको छ।
भारतमा दोस्रो लहरको संक्रमण अत्यधिक बढेपछि भारतीय परराष्ट्र मन्त्रालयले खोप निर्यातमा रोक लगाएपछि आफूहरूले खोप पठाउन नसकेको सिरम इन्स्टिच्यूटले नेपाल सरकारलाई जानकारी गराएको छ।
भारतमा मंगलबारसम्म कोरोनाबाट १ करोड ५६ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। जसमध्ये १ लाख ८२ हजारको ज्यान गइसकेको छ। दैनिक ठूलो संख्यामा संक्रमित थपिँदै जाँदा त्यहाँ सक्रिय संक्रमितको संख्या २१ लाख ५६ हजार हाराहारी पुगेको छ।
सिरम इन्स्टिच्यूट अफ इन्डियासँग नेपालले २० लाख डोज खोप खरीदका लागि ८० प्रतिशत रकम भुक्तानी गरिसकेको छ। त्यसमध्ये १० लाख खोप मात्र आएको छ। भारतमा दोस्रो लहरको संक्रमण अत्यधिक बढेसँगै भारतीय परराष्ट्र मन्त्रालयले खोप निर्यातमा रोक लगाएपछि आफूहरूले खोप पठाउन नसकेको सिरम इन्स्टिच्यूटले नेपाल सरकारलाई जानकारी गराएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयको वेबसाइट अनुसार, १६ जनवरी २०२० यता भारतमा १२ करोड ७१ लाखभन्दा बढी डोज खोप लगाइएको छ।
भारतमा दैनिक ३० लाख जनालाई खोप दिने गरिएको छ। तर, यो संख्या कति अपर्याप्त छ भन्ने कुरा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको एउटा पत्र हेरे पुग्छ। सिंहले लेखेका छन्, ‘दैनिक २५/३० लाख जनाले खोप पाइरहेका छन् भन्नुभन्दा पनि महत्त्वपूर्ण कुरा कति प्रतिशत भारतीयले खोप पाइरहेका छन् भन्ने हो।’
डा. सिंह सम्बद्ध भारतीय राष्ट्रिय कंग्रेसले देशमै खोप अपुग भइरहेको अवस्थामा अन्य मुलुकमा निर्यात गरेको भन्दै मोदी सरकारको आलोचना गर्दै आएको छ।
मोदीले १८ वर्षमाथिका सबैलाई १ मेदेखि खोप उपलब्ध गराउने घोषणा गरेका छन्। विश्वको ६० प्रतिशत खोप उत्पादन गर्दै आएको देशका लागि पनि यो लक्ष्य पूरा गर्न सहज छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारी मोदी सरकारको नयाँ घोषणा भारतबाट खोपको पर्खाइमा रहेका देशहरूका लागि सुखद नभएको बताउँछन्। ९० देशलाई अनुदानमा खोप उपलब्ध गराएको भारतले आफ्नै नागरिकका लागि अपुग भएपछि खोप निर्यातमा अस्थायी रोक लगाएको छ। तर, नेपाललाई भारतले अन्य देशभन्दा फरक रूपमा लिनुपर्ने जानकारहरू बताउँछन्।
‘नेपाललाई खोप दिनु भारतको पनि हितमा’
नेपाललाई थप खोप दिँदा १८ वर्षमाथिका सबै भारतीयलाई खोप लगाउने मोदी सरकारको महत्त्वाकांक्षी योजनामा टेवा नै पुग्ने जनस्वास्थ्यविद्हरू बताउँछन्।
सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनी नेपाललाई खोप दिँदा अप्रत्यक्ष रूपमा भारतलाई नै फाइदा हुने बताउँछन्। “खुला सिमानाका कारण दुवै देशका नागरिकहरू सजिलै आउजाउ गर्छन्। त्यसैले सबै भारतीयलाई खोप दिए पनि नेपालीले खोप लगाएको छैन भने त्यहाँ संक्रमण नरोकिन सक्छ।”
"भारतमा संक्रमित बढेसँगै नेपालमा पनि बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्दो ट्रेन्ड देखिएको छ। त्यसकारण नेपालमा धेरैभन्दा धेरैले खोप पाउनु भनेको भारतका लागि पनि हितकर हो।” - डा. शेरबहादुर पुन
नेपालबाट रोजगारी, अध्ययन आदिका लागि मात्रै होइन, उपचारका लागि पनि ठूलो संख्याका नेपालीहरू भारत पुग्छन्। नेपालीहरू कोरोनाबाट सुरक्षित हुँदा भारत पनि लाभान्वित हुने डा. मरासिनी बताउँछन्।
चीन सरकारले आफ्नो देशमा प्रवेश अनुमति लिन चिनियाँ कम्पनीकै खोप अनिवार्य गर्यो। त्यसपछि सिनोफार्मको खोप लगाउन भारतीय व्यापारीहरू नेपाल आए। संख्या जति भए पनि यसले सकारात्मक सन्देश दियो।
कोभिड–१९ को उपचारमा संलग्न डा. शेरबहादुर पुन भारतमा संक्रमित बढेसँगै नेपालमा पनि बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्दो ट्रेन्ड देखिएको बताउँछन्। “त्यसकारण नेपालमा धेरैभन्दा धेरैले खोप पाउनु भनेको भारतका लागि पनि हितकर हो,” उनी भन्छन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली खोप ल्याउन भारतसँग औपचारिक र अनौपचारिक रूपमा पहल भइरहेको बताउँछन्। ज्ञवाली भन्छन्, “हामीलाई कुनै न कुनै रूपमा सहयोग गर्छौं भनेका छन्, खोपको अभाव हुन नदिन नेपाल सरकार प्रतिबद्ध छ।”