यसरी तान्न शुरू भयो सेतो मत्स्येन्द्रनाथको रथ (तस्वीरहरू)
वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा ७ वैशाखबाट तान्न शुरू गरिएको छ। स्वास्थ्य मापदण्ड पालन गरेर रथ तान्ने भनिए पनि सहभागी सबैले मास्क लगाएका थिएनन्। सहभागीबीच भौतिक दूरी पनि कायम थिएन।
रथयात्राका लागि दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि तीनधारा पाठशालाबाट रथ तान्न शुरू गरिन्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै रथलाई पुनः मच्छेन्द्रबहालमा लगेर समापन गरिन्छ। सेतो मत्स्येन्द्रनाथको जात्रा तीन दिन चल्छ।
वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मत्स्येन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद् लगायत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी रथयात्रा गर्ने निर्णय भएको थियो। जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको थियो। काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था पनि मिलाइएको थियो।
तर, रथ तान्दा भौतिक दूरी कायम राखिएको छैन। स्वास्थ्य मापदण्ड पालन गराउन एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ। यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ। अब बुधबार छुट्टै समूहले रथ तान्नेछ।