त्रिकोणात्मक श्रृङ्खलामा नेपालको पहिलो हार, नेदरल्यान्ड्स तीन विकेटले विजयी
त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय (टी२०आई) मा नेपालले पहिलो हार व्यहोरेको छ। नेपालले दिएको २०७ रनको विशाल लक्ष्य नेदरल्यान्ड्सले तीन बल बाँकी छँदा पूरा गरेको छ।
लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका ब्याट्सम्यानलाई नेपालका बलरले कुनै पनि समय दबाबमा राख्न सकेनन्। नेदरल्यान्ड्सलाई जितसम्म पुर्याउन बास डी लिडेले सर्वाधिक ८१ रन बनाए। उनले ४२ बलमा सात चौका र पाँच छक्का प्रहार गरे। त्यस्तै, बेन कुपरले पनि ५५ रन बनाए। कप्तान बेन कुपरले १५ बलमा ३१ रन बनाए।
नेदरल्यान्ड्सको पहिलो विकेट दोस्रो ओभरमा झरेको थियो। सन्दीप लामिछानेले नेपालका लागि पहिलो विकेट लिएका थिए। पहिलो ओभरको दाेस्रो बलमा नै सोमपाल कामीले विकेट लिए पनि थर्ड अम्पाएरले ‘नो बल’ दिएका थिए।
पहिलो विकेट झरेपछि पनि नेदरल्यान्ड्सले आक्रामक ब्याटिङ जारी राख्यो। बेन कुपर र टोबियास भिसीले दोस्रो विकेटका लागि २४ बलमा नै ५१ रन जोडेका थिए। भिसीलाई पनि सन्दीप लामिछानेले नै विकेटकिपर विनोद भण्डारीबाट स्टम्पिङ गराएका थिए।
त्यसपछि बेन कुपर र बास डी लिडेले पनि ६८ रनको पार्टनरशिप गरेका थिए। अर्धशतक बनाएका कुपरलाई पनि सन्दीप लामिछानेले नै पेभेलियनको बाटो देखाएका थिए। लगत्तै आर्यन दत्तको विकेट कुशल मल्लले लिएका थिए। तर, लिडेले नट आउट रहँदै नेदरल्यान्ड्सलाई जिताए।
नेदरल्यान्ड्सविरुद्ध नेपाली बलर निकै महँगा साबित भए। सन्दीप लामिछानेले चार विकेट लिए पनि ४ ओभरमा ४८ रन दिएका थिए। त्यसबाहेक करण केसी, अविनाश बोहोरा र कुशल मल्लले १/१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ६ विकेट क्षतिमा २०६ रन बनाएको थियो। नेपालले टी२० आईमा दोस्रो पटक २०० भन्दा माथि रन बनाएको हो। यसअघि सागमा भुटानविरुद्ध नेपालले २३६ रन बनाएको थियो। उक्त खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले १०७ रनको शतकीय पारी खेलेका थिए।
आज नेपालका लागि ओपनिङमा आएका कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए। उनले ४६ बलमा आठ चौका र एक छक्का प्रहार गरे। उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतकीय पारी खेले। उनले ३० बलमा पाँच छक्का र तीन चौकाको मद्दतमा ६० रन बनाए।
कुशल भुर्तेलले डेब्युयता लगातार तीन खेलमा अर्धशतक बनाइसकेका छन्। टी२०आईमा लगातार तीन अर्धशतक ३४औँ पटक बनेको हो। वेस्ट इन्डिजका क्रिस गेल र न्युजिल्यान्डका ब्रान्डन म्याकमिलनले लगातार चार पटक अर्धशतक बनाएका छन्। भारतीय कप्तान विराट कोहोलीले भने सबैभन्दा बढी तीनपटकसम्म लगातार तीन वटा अर्धशतक बनाएका छन्।
आज नेपालका लागि सोमपाल कामीले २१, ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रन बनाए। यसअघिका दुई खेलमा गतिलो प्रदर्शन गरेका ओपनर आसिफ सेख भने खाता नखोली बाहिरिए।