केन्जिङ कति दूर ?
लाइहालें माया दूरदराजमा
आँखाको त हो यो कसुर !
आमा नि मेरी, गल्छीको बाटो
केन्जिङ छ कति दूर !
एकछिन एउटा नयाँ गीतबारे कुरा गरौँ।
काठमाडौँकी केटी रसुवा, केन्जिङको केटासँग प्रेम गर्छे। केटा गाउँ गएको हुन्छ। भुइँचालो गएर हो वा पहिरोले बाटो थुनेर हो वा हिउँपहिरोले दुःख दिएर पो हो कि केटा भनेको समयमा काठमाडौँ फर्कंदैन।
दूरदराजमा फोनको भर हुँदैन। त्यसैले काठमाडौँमा रहेकी प्रिया छटपटिन्छे। केन्जिङ पुग्न आतुर हुन्छे, तर केन्जिङ कति टाढा छ, उसलाई थाहा छैन। प्रेमीलाई सोधूँ त उसको अत्तोपत्तो छैन। त्यसैले आमालाई सोध्छे- केन्जिङ कति दूर?
कथा मीठो भइहाल्यो। प्रेम र अस्थायी वियोग अभिव्यक्त गर्ने शब्द उत्ताउला छैनन्, सौम्य छन्। त्यसैले ती सुन्दर भइहाल्ने भए। यो गीतको राग पहाडे छ जुन लोकभाकामा आधारित छ। यसले पहाडको निश्छल स्वभाव झल्काउँछ। त्यसैले पनि यो गीत मीठो हुने नै भयो।
कतिपय कमजोर लोकभाका अति प्रचारित, आधुनिक, त्यसमाथि फिल्मी भाकाको संसर्गमा आउँदा बिटुलिन पुग्छन्। तर, यसको भाका हेर्दा लाग्छ, साँच्चै प्रभावशाली लोकलयलाई आधुनिक भाकाले बिगार्न सक्दैन। उल्टो, उसले आफैँ बदलिने प्रेरणा प्राप्त गर्छ।
…
कोरोनाले अत्याएका बेला मन बहलाउने एउटा बाटो थियो- संगीत। मलाई मन पर्ने आसामे स्रष्टा भूपिन हजारिकाका गीतहरू सुनेँ। उनका गीतमध्ये सबैभन्दा मन परेको गीतमा उनी ब्रह्मपुत्र र गंगासँग रिसाएका छन्। ब्रह्मपुत्रको उनको गीतले मलाई अर्का आसामे स्रष्टा पापोनले सिर्जना गरेको आसामी र हिन्दी भाषाको सुन्दर गीत 'नमामि ब्रह्मपुत्र' तिर डोहोर्यायो, जसलाई भारतका धेरै राम्रा गायकले गाएका छन्। तीमध्ये एक हुन्- हर्षदीप कौर।
हर्षदीपले एउटा हिमाचली लोकगीत पनि गाएकी रहिछन्- 'माय नि मेरिए सिम्ले दि राहे चम्बा कितनि क दूर' बोलको। यही क्रममा थाहा पाएँ, यो गीत मोहित चौहान लगायतका भारतका धेरै उम्दा गायकले पनि गाइसकेका रहेछन्। लोकगायक शरण दासले यसलाई मौलिक स्वरूपमा मौलिक बाजाका साथ गाएका रहेछन्। हिमाचलका पुस्तौं पुस्ताका लोकसर्जकले यो गीतको शब्दलाई मिहिन तरिकाले कुँदेका रहेछन्, मीठो भाकामा ढालेका रहेछन्।
भएको के रहेछ भने, भूपेन हजारिका पढ्नका लागि अमेरिका गएका रहेछन्। त्यतिबेला त्यहाँ 'ओल्ड म्यान रिभर' भन्ने गीत खुब चलेको रहेछ। यो गीत काला जातिका मानिसहरूमाथि क्रूर शोषण गर्नेहरूका विरोधमा लेखिएको थियो। त्यस्तो शोषण भइरहेको देखेको नदेख्यै गर्ने शासनप्रणालीलाई दोषी देखाउन लेखिएको। तर, यो गीत लेख्नेले यसको दोष मिसिसिपी नदीलाई लगाइदिए। नदीलाई कुटेझैं गरेर सत्तालाई तर्साए।
तीर अर्कैतिर हानेर अर्कातिर बसेको शत्रुलाई मार हान्ने गरीको सिर्जनशीलता !
ओल्ड म्यान रिभर
द्याट ओल्ड म्यान रिभर
ही डाेन्ट से नथिङ
बट ही मस्ट नो समथिङ
कज ही जस्ट किप्स रोलिङ
ही किप्स अन रोलिङ अलोङ
(भावः काला जातिमाथि भइरहेको अतिशय शोषणबारेमा नदीलाई थाहा हुनैपर्छ, तर ऊ एक शब्द बोल्दैन। बगिरहन्छ मात्र।)
भारत आएपछि भूपेनलाई लाग्यो- आसामको ब्रह्मपुत्र नदी किनारमा पनि सबै कुरा ठीकठाक चलेको छैन, गडबड छ। त्यसैले उनले मिसिसिपीका ठाउँमा ब्रह्मपुत्र नदीलाई लक्षित गरेर आसामे भाषामा गीत लेखे। आसामे भाषामा ब्रह्मपुत्र नदीलाई लुइत भनिन्छ।
विस्तिर्णो पारोरे
अखंख्य जन रे
हाहाकार खुनीउँ
निखब्दे निरवे
बूढा लुइत तुमी
बूढा लुइत बुआँ क्यों ?
(भावः असंख्य मानिस यत्रो हाहाकार गरिरहेछन्। ब्रह्मपुत्र तिमी भने चूपचाप बगिरहन्छौ किन ?)
(आसामी भाषामा 'स' उच्चारण हुँदैन। त्यसका ठाउँमा 'ख' उच्चारण हुन्छ। जस्तै, असंख्य होइन अखंख्य, सुन्यौ होइन खुनिउ, निशब्दे होइन निखब्दे।)
यो अत्युत्तम सिर्जनाको स्वाद हिन्दीभाषीलाई पनि सुनाउन यसको हिन्दी रूप पनि आयो।
विस्तार है अपार
प्रजा दोनों पार
करे हाहाकार
निःशब्द सदा
ओ गंगा तुम
ओ गंगा बहती हो क्यों ?
यो गीत भारतका धेरै भाषामा गाइएको छ। दार्जीलिङको आन्दोलनका बेला गंगा अथवा ब्रह्मपुत्रका ठाउँमा टिस्टा नदी राखेर नेपाली भाषामा खुबै गाइएको थियो।
समाज बदल्ने उद्देश्य लिएको, तर नारा नउराल्ने यस्तो राम्रो सिर्जनालाई भूपिनले भारत भित्र्याएर भारतको शोषणविरोधी आन्दोलन र सिर्जनशीलता दुबैलाई गुन लगाएका छन्।
एक ठाउँका सर्जकले सिर्जना गरेका राम्रा कलाकृतिको स्वाद अर्को ठाउँका मानिसलाई चखाउने उन्नत परम्परा सिर्जना जगत्मा चलिआएको छ। कोरोनाकालमा मैले निकै पटक सुनेको, मैले माथि बताएको ब्रह्मपुत्र र गंगाबारेको गीत पनि त यस्तै उन्नत परम्पराको उपज थियो।
अनि मैले पनि सोचेँ, हिमाचलका मानिसको यो सुन्दर सिर्जना नेपाली संगीतप्रेमीसामु ल्याउँदा राम्रै पो हुन्छ कि !
यो गीतलाई नेपाली परिवेशमा ढाल्न हिमाचलको चम्बा भन्ने ठाउँलाई नेपाली परिवेशमा बदल्नुपर्थ्यो। कुन ठाउँ रोजौँ भन्ने क्रममा मैले काठमाडौँमा प्रचलित गीत 'सिलु' सम्झिएँ। यस गीतमा काठमाडौँको उत्तर रसुवा जिल्लामा पर्ने सिलु अर्थात् गोसाइँकुण्ड नुहाउन पतिपत्नी सँगै जानु हुँदैन, त्यसो गर्यो भने दशा लाग्छ भन्ने जान्दाजान्दै पनि सिलु गएका एक जोडीको कथा छ, जसको वियोग त्यसै कारणले भएको थियो।
मलाई लाग्यो, काठमाडौँ र रसुवा अनि वैवाहिक जीवनको सम्बन्ध पहिल्यैदेखि छ। केन्जिङ त्यही सिलु अर्थात् गोसाइँकुण्डको उत्तरपूर्वमा पर्छ। त्यसैले मैले चम्बालाई केन्जिङमा बदलें। प्रेमीलाई भेट्न आतुर प्रेमिकाको घर र चम्बाको बीचमा पर्ने सिम्ले भन्ने ठाउँको नेपाली रूप खोज्दा काठमाडौंबाट केन्जिङ जाने बाटोमा पर्ने ठाउँ ककनी र गल्छी फेला परे।
चम्बाका मानिस र नेपालका तामाङ जातिका महिला–पुरुषले लगाउने टोपी एकै खालका त छैनन्, तर उस्तै उस्तै भने छन्। त्यसैले यो गीतको रूपान्तर गर्दा केही न केही समानता कायम रहोस् भनेर पनि मैले तामाङको बसोबास रहेको ठाउँ छान्नुपर्थ्यो।
पहिले गीत भनेको कानले सुन्ने, आवाज थियो। आजभोलि सुन्ने आवाजभन्दा बढी हेर्ने कुरा भएको छ। त्यसैले यसलाई दृश्यांकन गर्न सजिलो होस् भनेर पनि मैले केन्जिङ रोजें।
यसरी ठाउँ निर्धारण भइसकेपछि हिमाचली गीतले नेपाली शब्द र परिवेश पायो।
कथा, कविता वा निबन्धको अनुवाद भएको भए यत्ति गरिसक्दा रूपान्तरको काम सकिन्थ्यो। यो त गीत थियो। रूपान्तरित शब्द नगाएसम्म त्यसको रूपान्तर पूर्ण हुँदैनथ्यो। त्यसमा गाजाबाजा नबजेसम्म अंग पुगेको गीत हुँदैनथ्यो।
यस कामका लागि मैले भारतको रवीन्द्र भारती विश्वविद्यालयमा संगीत पढेर नेपाली संगीत जगत्मा काम गर्दै गरेका चिनजानका जोडी प्रमोद प्रसाईं र लाबोनी चक्रवर्ती प्रसाईंसँग कुराकानी गरें। उनीहरू यो काम गर्न सहर्ष तयार भए। लाबोनीले आफ्नो मीठो स्वरमा यो गीत गाइन्। नगेन्द्रविक्रम राईले बाँसुरी र सचिन सिंहले गिटार बजाए। संगीत संयोजन गर्ने, वाद्यवादक जुटाउने र अडियो तथा भिडिओ सम्पादन लगायतका काम प्रमोदले गरे।
गल्छीदेखि केन्जिङसम्मका दृश्य माइहिमालडटकमका सुशील मैनालीले प्रदान गरे। यस गीतको भिडियोमा राखिएका गल्छीदेखि लाङसिसासम्मका दृश्य वसन्तमा खिचिएका हुन्। गीतका शब्दका प्रेम वियोगको भावसँग यिनले वैषम्य सिर्जना गरेका छन्। असमान भावको संयोजन पनि मेल खाने हुन्छ भन्ने कुरा यसमा राम्रोसँग देखिएको छ।
यसरी कोरोनाले घरभित्र कोचेका वेलाको निराशा हटाउने उपायको खोजीका क्रममा शुरू भएको हुटहुटीले गर्दा हामीभन्दा पश्चिम पहाडका मानिसले लामो समय लगाएर कुँदेका शब्द र भाका भएको गीतको स्वाद नेपाल भित्रियो। यो गीतमा अब थोरै काम गर्न बाँकी छः सुन्ने/हेर्ने, मन पर्याे भने यसबारे अरूलाई बताइदिने अनि यसको लिंक शेयर गर्ने जुन काम श्राेता–दर्शकले मात्र गर्न सक्छन्।
गीतको पूर्ण पाठ-
आमा नि मेरी
(हिमाचली गीत 'माय नि मेरिय'को नेपाली रूपान्तर)
हो हो हो हो
हा हा
आमा नि मेरी
गल्छीको बाटो, केन्जिङ छ कति दूर ? हाय
केन्जिङ छ कति दूर
आमा नि मेरी
गल्छीको बाटो, केन्जिङ छ कति दूर ? हाय
केन्जिङ छ कति दूर ?
गल्छी नबस्ने, धुन्चे नि नबस्ने
भार्खु नबस्ने, स्याब्रु नि नबस्ने
केन्जिङ जाने जरुर, हाय
केन्जिङ जाने जरुर
हे मेरी आमा
ककनीको बाटो, केन्जिङ छ कति दूर ?
लाइहालें माया दूरदराजमा
लाइयां मोहब्बतां दूर दराज्ये
आँखाको त हो नि कसुर
आमा नि मेरी
स्याब्रुको बाटो, केन्जिङ छ कति दूर ?
हो … उडी जा न कौवा, लैजा न खबर
उडी जा न कौवा, लैजा न खबर
प्यारालाई भेट्न आतुर
माय नि मेरिए
ककनी दी राहे केन्जिङ कितनी क दूर ?
बेम्बो नबस्ने, चाङदाम नि नबस्ने
बेम्बो नबस्ने, चाङदाम नि नबस्ने
केन्जिङ जाने जरुर, हाय
केन्जिङ जाने जरुर
ककनी नबस्ने, धुन्चे नि नबस्ने
हो… ककनी नबस्ने, धुन्चे नि नबस्ने
केन्जिङ जाने जरुर, हाय
केन्जिङ जाने जरुर
माय नि मेरिय
बेंसी दी राहे केन्जिङ कितनि क दूर ? हाय
केन्जिङ कितनि क दूर ?
केन्जिङ छ कति दूर ?