जहाँ बालबालिका भारतीय राष्ट्रगान गाउँछन्
कैलाली जिल्लाको हौसलपुर यस्तो गाउँ हो, जहाँका बालबालिका भारतको राष्ट्रगान गाउँछन्। अधबैंसेहरू भारतमा मजदूरी गर्छन्। दैनिक आवश्यकताका वस्तु भारतबाटै ल्याउनुपर्छ। न विद्यालय छ, न स्वास्थ्य चौकी। उनीहरूलाई आफ्नै देश बिरानो छ।
कैलारी गाउँपालिका वडा नं. ७, हौसलपुर गाउँका २८ घरधुरीमा करीब २०० जनाको बसोबास छ। तर, नेपाली बोल्न जान्ने एक जना मात्र छिन्। त्यसैले गाउँमा कोही नेपाली भाषी पुगिहाले राजेशनी चौधरी (२३) लाई नै खोज्नुपर्छ।
मोहना नदीपारिको यो बस्ती भारतीय गाउँ बेलापरसुवासँगै जोडिएको छ। यहाँ विद्यालय, स्वास्थ्यचौकी लगायत कुनै पनि सरकारी कार्यालय छैनन्। स्वास्थ्योपचार र दैनिक किनमेलका लागि एक किलोमिटर परको भारतीय बजार बेलापरसुवा जानुपर्छ।
स्थानीय अधिकांश कामका लागि भारतमा निर्भर रहँदै आएका थिए। मजदूरीका लागि पनि भारततिरै जान्छन्। बालबालिका पढ्नका लागि पनि उतैका विद्यालय जान्छन्। उनीहरू हिन्दी भाषाकाे पाठ्यक्रम नै पढ्छन्।
यहाँबाट भारत पढ्न जाने विद्यार्थीको संख्या १०० भन्दा बढी छ। कक्षा ३ सम्म भारतको बेलापरसुवामै पढ्छन्। तर, त्यहाँभन्दा माथि पढ्न २५ किलोमिटर टाढा लखिनपुरको विद्यालय जानुपर्छ। केही विद्यार्थी उतै बसेर पढ्छन् भने, केही विद्यालयको बसमा आउने जाने गर्छन्।
घर र विद्यालयमा हिन्दी भाषा चल्छ। त्यसैले यहाँका स्थानीय मातृभाषा कठरिया थारू र हिन्दी भाषा बोल्छन्। नेपाली भाषा जान्दैनन्। भारतमा पढ्ने बालबालिका मातृभाषाभन्दा हिन्दी बोल्न सहज मान्छन्।
नेपाली भाषा बुझ्ने राजेशनी भने यो गाउँमा जन्मिएकी होइनन्। उनी चार वर्षअघि बिहे गरेर हौसलपुर गाउँ आएकी हुन्। टीकापुर बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गर्दा उनले जागुराम कठरियासँग भागी विवाह गरेकी हुन्।
उनका श्रीमान् भारततिरै मजदूरी गर्छन्। उनले सीमापारिको विद्यालयमा ३ कक्षासम्म मात्र पढेका छन्। उनी पनि नेपाली भाषा जान्दैनन्। राजेशनी भन्छिन्, “गाउँमा आउँदा शुरूमा एकदमै अचम्म लाग्थ्यो, नेपालमा छु जस्तो नै लाग्दैनथ्यो। कोही पनि नेपाली बुझ्दैनन्।”
हौसलपुर गाउँ कैलारी गाउँपालिकाको कार्यालय हसुलियाबाट १० किलोमिटरको दूरीमा छ। वडा कार्यालय पनि १० किलोमिटर उत्तर वसन्तमा पर्छ। हसुलिया र वसन्त मोहना नदीपारि पर्ने हुनाले स्थानीय त्यता सहजै पुग्दैनन्।
पाँच वर्षअघिसम्म कोही पनि सरकारी अधिकारी हौसलपुर पुगेका थिएनन्। वडा नं ७ का अध्यक्ष कमलप्रसाद चौधरीका अनुसार, तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाल २०७३ सालमा पहिलो पटक यहाँ पुगेका थिए।
जिल्लाकै बिरानो गाउँ भन्ने थाहा पाएपछि आफू त्यतिबेला हौसलपुरबारे बुझ्न गएको रिजाल सम्झन्छन्। त्यहाँका जनताले उनीसँग झोलुङ्गे पुल, खानेपानी, बिजुली र बाटोको माग गरेका थिए। उनी भन्छन्, “म त्यहाँ पुग्दा बच्चाहरू भारतीय राष्ट्रगान गाइरहेका थिए। उनीहरूलाई नेपालको राष्ट्रगान आउँदैनथ्यो। नेपाली त बुझ्दै बुझ्दैनथे।”
पाँच वर्षअघिसम्म कोही पनि सरकारी अधिकारी हौसलपुर पुगेका थिएनन्। वडा नं ७ का अध्यक्ष कमलप्रसाद चौधरीका अनुसार, तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाल २०७३ सालमा पहिलो पटक यहाँ पुगेका थिए।
वडाध्यक्ष चौधरीका अनुसार, २०७५ सालमा बस्ती योजना माग अनुगमनका लागि गाउँपालिकाको टोली त्यहाँ पुगेको थियो। स्थानीयको माग अनुसार गाउँपालिकाले विशेष अनुदान कार्यक्रम अन्तर्गत मोहना नदीमा आवतजावत सहज बनाउन डुंगा सञ्चालनका लागि बजेट विनियोजन गरेको छ।
तर, भाषाको समस्याले ब्यांकबाट रकम पाउन उपभोक्ता समितिलाई ठूलो समस्या भएको स्थानीय श्याम चौधरी बताउँछन्। उनी गाउँको भलमन्सा (थारू समुदायको गाउँको मुखिया) पनि हुन्। “भाषा नजान्दा पालिकाबाट पाएको सुविधा लिन पनि गाह्रो भयो। ब्यांकमा हामीले बोलेको बुझ्दैनन्, हामी नेपाली भाषा बुझ्दैनौँ। पैसा निकासा गर्दाको सकस सम्झेर अहिले गाउँमा उपभोक्ता समितिमा बस्न कोही तयार हुँदैनन्,” श्यामले हिन्दीमै भने।
आफूहरूले मोहना तरेर पारि आफ्नै देशतिर जाने काम खासै नपर्ने उनी बताउँछन्। उनी भन्छन्, “वर्षामा जान सकिँदैन, अरू बेला जाने काम नै पर्दैन।” गाउँमा झैझगडा हुँदा भलमन्साले नै मिलाउने गर्छन्।
आफूहरूले लालपुर्जा पनि नपाएको श्याम बताउँछन्। उनी भन्छन्, “करीब २०० मिटरको दूरीमा रहेको भारतीय बजार यहाँ बस्नेहरूको सुखदुःखको साथी हो। वर्षाका पाँच महीना मोहना नदी तरेर पारि नेपालतिर जान सकिँदैन। उपचार, शिक्षा, रोजगारी र किनमेल सबै भारतमै निर्भर हुनुपर्छ।”
गाउँ मोहना नदीको कटानमा परेको छ। आधाभन्दा बढी जग्गा कटानमा परिसकेको छ। मोहनामा तटबन्ध बनाउने र झोलुङ्गे पुल हाल्ने योजना पार्न पहल गरिरहेको वडाध्यक्ष चौधरी बताउँछन्।
पछिल्लो समय गाउँलाई आफ्नै देशसँग जोड्न ठूलो प्रयास गरिरहेको चौधरी बताउँछन्। नेपाली सिक्न गाउँपालिकासँग कक्षा सञ्चालनको माग गरेको उनी बताउँछन्। अहिले एक जना शिक्षकले दिनको दुई घण्टा कक्षा सञ्चालन गरिरहेको वडाध्यक्ष चौधरी बताउँछन्। उनी भन्छन्, “सरकारी कामकाजका लागि नेपाली भाषा महत्त्वपूर्ण हुन्छ। भाषा बोल्न र बुझ्न सक्ने भएपछि यहाँका जनताले आफ्ना समस्या सम्बन्धित ठाउँमा भन्न सक्छन्।”
अब छिटै गाउँमै आधारभूत विद्यालय सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए। त्यस्तै, एक जना महिला स्वास्थ्य स्वयंसेविका राख्ने पनि गाउँपालिकाको योजना छ। स्वास्थ्य स्वयंसेविका नहुँदा यहाँका बालबालिकाले अहिलेसम्म खोप समेत पाएका छैनन्।
गाउँ मोहना नदीको कटानमा परेको छ। आधाभन्दा बढी जग्गा कटानमा परिसकेको छ। मोहनामा तटबन्ध बनाउने र झोलुङ्गे पुल हाल्ने योजना पार्न पहल गरिरहेको वडाध्यक्ष चौधरी बताउँछन्।
हौसलपुरमा गएको असोजमा मात्र बिजुली पुगेको हो। गाउँपालिका, प्रदेश सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बिजुली लगिएको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी बताउँछन्।
स्थानीय सरकार गठनपछि हौसलपुरमा क्रमिक रूपमा विकास हुन थालेको छ। राज्यबाट प्राप्त हुने सेवासुविधा पाउन थालेको स्थानीय बताउँछन्। तर, मोहना नदीमा पुल नबनेसम्म उक्त गाउँ दुर्गम नै रहने वडाध्यक्ष चौधरी बताउँछन्।