मलेसियाविरुद्ध नेपालको प्रभावशाली जित
त्रिकोणात्मक टी२०आई शृङ्खला अन्तर्गत नेपालले मलेसियालाई नौ विकेटले पराजित गरेको छ। कुशल भुर्तेलले दाेस्रो खेलमा पनि अर्धशतक बनाएका छन्।
नेपालले आज बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली खेल प्रदर्शन गरेको छ। मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको छ। नेपालका लागि आसिफ सेखले मात्र आफ्नो विकेट गुमाए। उनले २९ बलमा ४२ रन बनाउँदा एक छक्का र चार चौका प्रहार गरे।
लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यानले आक्रामक शुरूआत गरेका थिए। ओपनर कुशल भुर्तेलले पहिलो बलमा नै मलेसियाली बलर पवनदीप सिंहलाई छक्का प्रहार गरेका थिए।
मलेसियाविरुद्ध कुशलले आउट नभई ४१ बलमा ६१ रन बनाए। उनले पाँच छक्का र तीन चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरी ६ रनमा नटआउट रहे। कुशलले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ४६ बलमा ६२ रन र आसिफले ३८ बलमा नटआउट ५४ रन बनाएका थिए। दुवै जनाले यही शृङ्खलाबाट टी२०आईमा डेब्यु गरेका थिए।
नेपालका लागि शृङ्खलाको दोस्रो खेलमा पनि आसिफ र कुशलले शतकीय साझेदारी गरे। उनीहरूले पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए। उनीहरूको जोडीले शृङ्खलाको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ११६ रनको साझेदारी गरेकाे थियाे।
यसअघि टस हारेर ब्याटिङ थालेको मलेसियाका कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर खेल्न सकेनन्। नेपाली बलरले दोस्रो ओभरदेखि विकेट लिँदा मलेसिया दबाबमा आएको थियो। मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।
मलेसियाका ओपनर सायेद अजिजले सबैभन्दा बढी २७ रन बटुल्न २४ बल खेले। त्यस्तै, शफिक शरिफले १५ र शर्भिन मुनिन्डेले २० रन बटुले। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। उनले दोस्रो ओभरको चौथो बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए। त्यसैगरी सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सहाब आलम र कुशल मल्लले १/१ विकेट लिएका थिए।
नेपालका लागि आज सात जनाले बलिङ गरेका थिए। बलरका रूपमा खेलेका अविनाश बोहोराले एक ओभर मात्र बलिङ गरे। एक ओभर नै बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले २३औँ टी२० मा विकेटको खाता खोले।
आज आरिफ सेखको ठाउँमा खेलेका कुशल मल्लको पनि टी२० मा पहिलो विकेट हो। उनले छैटौं खेलमा विकेट लिएका हुन्।