भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० लाख नजिक, दिल्लीमा एक साता बन्दाबन्दी घोषणा
कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको नयाँ लहरबाट भारत नराम्रो गरी प्रभावित भएको छ। भारतमा दैनिक ठूलो संख्यामा नयाँ संक्रमित थपिँदै जाँदा सक्रिय संक्रमितको संख्या २० लाख नजिक पुगेको छ। कोरोनाभाइरस संक्रमितहरूको विश्वव्यापी आँकडा अद्यावधिक गर्दै आएको वर्ल्डोमिटरका अनुसार, त्यहाँ सोमबार अपराह्न साढे २ बजेसम्म सक्रिय संक्रमितको संख्या १९ लाख २९ हजार नाघेको छ।
यस्तै, हालसम्म भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या डेढ करोड नाघेको छ। कुल संक्रमितमध्ये एक करोड २९ लाख ५३ हजार ८०० को हाराहारीमा संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणबाट एक लाख ७८ हजार ७९३ जनाको मृत्यु भइसकेको छ।
भारतमा केही दिनयता दैनिक रूपमा दुई लाखभन्दा बढी नयाँ संक्रमित थपिँदै आएका छन्। आइतबार मात्र त्यहाँ २ लाख ६१ हजार ५०० जनामा संक्रमण पुष्टि भएको थियो।
दिल्लीमा बन्दाबन्दी
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएर स्थिति नियन्त्रणबाहिर जाने देखिएपछि दिल्लीमा सोमबार रातिदेखि लागू हुनेगरी एक साता बन्दाबन्दी (लकडाउन) घोषणा गरिएको छ। दिल्ली सरकारले १९ अप्रिल राति १० बजेदेखि २६ अप्रिल बिहान ५ बजेसम्म विभिन्न मापदण्ड तोकेर बन्दाबन्दी जारी गरेको हो।
सरकारी कार्यालयहरूमा ५० प्रतिशत मात्र कर्मचारी आएर काम गर्ने, निजी कार्यालयहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाउने, मेट्रो तथा बस सेवा सञ्चालनमा रहे पनि क्षमताभन्दा आधा संख्याका यात्रु मात्र चढाउने जस्ता मापदण्ड बनाइएको छ।
बन्दाबन्दी घोषणा गर्नुअघि दिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइँदै आएको थियो भने हरेक सप्ताहान्तमा बन्दाबन्दी गरिएको थियो। त्यति गर्दा पनि संक्रमण घट्नुसाटो बढ्दै गएपछि राज्य सरकारले साताव्यापी बन्दाबन्दी घोषणा गरेको हो।
नयाँ लहरमा दिल्लीमा संक्रमण उल्लेख्य बढेसँगै स्वास्थ्य पूर्वाधारले धान्न नसक्ने चिन्ता सरकारी तहबाटै प्रकट हुन थालेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमणको अर्को लहर शुरू भएपछि दैनिक २५ हजार नयाँ संक्रमित थपिने गरेको र यस्तै संख्या जारी रहे राज्यको स्वास्थ्य प्रणाली नै धरमराउने बताएका छन्। अवस्था बिग्रिँदै गएपछि केजरीवालले केन्द्र सरकारसँग सहयोगको अपील गरेका छन्।
उनले भनेका छन्, "दिल्लीमा संक्रमणको चौथो लहर आएको छ। तेस्रो लहरमा दैनिक आठ हजारमा संक्रमण देखिने गरेको थियो। अहिलेको चौथो लहरमा दैनिक २५ हजार संक्रमित थपिइरहँदा हाम्रो स्वास्थ्य संरचनालाई धान्न तनावपूर्ण भइरहेको छ। यो आफ्नो सीमामा पुगेको छ। यसपछि पनि कठोर कदम उठाइएन भने स्वास्थ्य प्रणाली नै धरमराउनेछ।’’
दिल्लीमा कोरोनाभाइरसको संक्रमण दर ३० प्रतिशतसम्म पुगेको छ। यसको अर्थ, परीक्षण गराउने हरेक तेस्रो व्यक्तिमा संक्रमण देखिएको बीबीसी हिन्दीले जनाएको छ।