चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्त गरेकी छन्। उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहेका झापाका कुमार चुडाल र उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश रहेका म्याग्दीका नहकुल सुवेदीलाई राष्ट्रपति भण्डारीले सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन्।
प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा रिक्त दुई पदमा राष्ट्रपतिले न्यायाधीश नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति निकालेर राष्ट्रपतिले दुई न्यायाधीश नियुक्त गरेको जानकारी गराएका हुन्।
२८ फागुनमा न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदीलाई नियुक्तिको सिफारिश गरेको थियो। उक्त सिफारिशविरूद्ध सुवेदीको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई ३० चैतमा सर्वोच्चले खारेज गरेको थियो। त्यसपछि ३ वैशाखमा संसदीय सुनुवाइ समितिले दुवै जनालाई सर्वसम्मत रूपमा सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन गरेको थियो।