दशक अघिको ‘युद्धभूमि’ रोल्पामा पर्यटकको चहलपहल
पर्यटन गन्तव्य शुभारम्भसँगै रोल्पाको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक, युद्ध र पर्या–पर्यटनको राम्रो सम्भावना बोकेको उक्त स्थानमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको हो ।
बिदाका दिन जलजला घुम्न जानेको संख्यामा आएको वृद्धिसँगै यसको प्रचारप्रसारले समेत व्यापकता पाइरहेको छ । जलजलामा बढेको आन्तरिक पर्यटकको चहलपहलले होटल व्यवसायमा सकारात्मक प्रभाव देखिन थालेको रोल्पा उद्योग वाणिज्य संघ सदस्य सागर डाँगीले बताए ।
बिदाको समय आफू पनि जलजला जाने गरेको डाँगीको भनाइ छ । ‘‘जलजलामा रहेको पर्यटकीय सम्भावनालाई प्रचारप्रसार गर्नसके बाह्य पर्यटक समेत तान्न सकिन्छ’’, डाँगीले भने ।
सेतो, रातो, गुलाबी र सेतो गुलाबी मिश्रित रङमा फुल्ने लालीगुराँसको सौन्दर्यले पर्यटकलाई लोभ्याउने गर्दछ । डाँफे, मुनाल, कालिज जस्ता पक्षी र विश्वको दुर्लभ वन्यजन्तु रेडपण्डा (रातो हाब्रे) समेत सो स्थानमा देख्न सकिन्छ । घोरल, मृग, बँदेल, भालु जस्ता जंगली जनावरसमेत अवलोकन गर्न सकिने यस ठाउँ निकै मनमोहक छ ।
भामा गुफा अवलोकन गर्न लायक अर्को स्थान हो । जलजलालाई परिवर्तनको प्रतीक मान्दै दश वर्ष लामो सशस्त्र युद्ध सञ्चालन भएको थियो । सशस्त्र युद्धमा मारिएकाको स्मरणमा जलजलाको धरमपानीमा स्मारक बनाइएको छ । युद्ध पर्यटन प्रवद्र्धनका लागि भन्दै ‘गोरिल्ला टे«ल’को रूपमा समेत सो स्थानलाई विकास गर्न खोजिएको छ ।
युद्धकालदेखि नै सो स्थानको संरक्षण गरिँदै आएकामा हालै सरकारले समेत सो क्षेत्रलाई संरक्षण क्षेत्रको रूपमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । वैशाख, आसार र श्रावण पूर्णिमाका दिन बराहको पूजा गर्ने गरिन्छ । बाह्रभाइ बराहमध्ये कैलु बराहको यहाँ पूजा गरिन्छ । बाह्रबहिनी बजुहरूको समेत सो स्थानमा पूजा गर्ने चलन छ ।
रुकुम, दाङ, सल्यान, प्यूठान, बाँके, बागलुङलगायत देशका विभिन्न स्थान र भारतबाटसमेत यहाँ पूजा गर्न आउने गर्दछन् । सो मन्दिरमा दया रोका मगरले मूल पूजारीको काम गर्दै आएका छन् । मूल र सहायक पूजारी सबै मगर जातिका रहेको सो मन्दिरमा भेडाको वलि दिने चलन छ । सन्तान नहुनेले भाकल गरे सन्तान प्राप्त हुने जनविश्वास छ ।
छोराछोरी नभएका भाकल गर्न यहाँ आउने गर्दछन् । हालै ट्रेकको रूपमा काठमाडौंबाट आएका ३३ जनाको समूहले जलजलाको यात्रा गरेर फर्किएको छ । प्रचारप्रसारका लागि सो समूहले जलजला यात्रा गरेको थियो । रोल्पा नगरपालिका–१० धवाङको पेवासम्म गाडीमा यात्रा गरेको सो टोली त्यहाँबाट ६ घण्टाको पैदलयात्रापछि जलजला पुगेको थियो ।
नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० का लागि एक सय पर्यटन गन्तव्यअन्तर्गत जलजलालाई समेत सूचीकृत गरेको छ । समुद्र सतहबाट तीन हजार १९३ मिटर उचाइमा रहेको सो स्थानको नजिकको बस्ती थवाङ हो । सदरमुकाम लिवाङबाट घर्तीगाउँ हुँदै थवाङसम्म गाडी यात्रापछि तीन घण्टाको पैदलयात्रा गर्नुपर्दछ ।
जिल्लाको व्यापारिक केन्द्र सुलिचौरबाट फुलिवन हुँदै थवाङसम्म साना गाडीको यात्रामार्फत पनि त्यहाँ पुग्ने गरिन्छ । पर्यटकको सुविधाका लागि थवाङमा घरवास (होम स्टे) समेत सञ्चालन गरिएको छ । पूजाआजाको बेला अत्यधिक पर्यटक भित्रिने तथा अन्य समयमा समेत आउने जाने क्रम भइरहने स्थानीयवासी मौसम रोकाले बताए ।
सूचना केन्द्र नभएका कारण दैनिक कति पर्यटक आउँछन् अभिलेखीकरण छैन रोकाले भने । पर्यटन व्यवसायीले प्याकेजमा पर्यटक भित्र्याउने कार्यको थालनी गरेको रोकाले जानकारी दिए । जलजला नजिकसम्म सडक पुर्याउने कार्यको थालनी भएकाले पर्यटकलाई सहजता हुने रोकाले बताए ।
सो स्थानको व्यापक प्रचारप्रसार गर्ने भन्दै रोल्पा नगरपालिकाले समेत साहित्य मेलाको आयोजना गरेको छ । वैशाख १५ देखि तीन दिनसम्म चल्ने उक्त साहित्य मेलालाई गुराँस साहित्य मेला नाम दिइएको रोल्पा नगरपालिकाले जनाएको छ । जलजलाको बहुरंगी गुराँसलाई प्रतीक मान्दै यस्तो मेला आयोजना गरिएको नगर प्रमुख पूर्ण केसीले भनाइ छ ।