किन उपयोगविहीन बनिरहेका छन् शैक्षिक तालिम?
सरकारी तथा गैरसरकारी संस्थाले वर्षाैंदेखि देशभरका शिक्षकलाई दिँदै आएका तालिमहरू व्यावहारिक हुन नसक्दा उपयोगविहीन बनिरहेका छन्।
काठमाडौं विश्वविद्यालयले एक दशकअघि दैनिक तीन घन्टे सन्ध्याकालीन तालिम सञ्चालन गरेको थियो। बालकुमारीस्थित भवनमा बेलुकी सञ्चालन भएको तालिमको शीर्षक थियो, ‘प्राथमिक तहमा सिर्जनशीलता’ र सहजकर्ता थिए बेलायती प्राध्यापक।
विश्वविद्यालयमा २५ वर्ष अध्यापन गराएका ती प्राध्यापकले सिर्जनशीलताबारे सीमित संख्यामा उपस्थित विभिन्न जिल्लाका शिक्षकका आँखा खोलेका थिए। पूर्वप्राथमिक विद्यालय र प्राथमिक विद्यालय तहको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सिर्जनशीलताको महत्त्वबारे जानकारी गराएका थिए। साथै, नेपाली, गणित, अंग्रेजी, विज्ञान र सामाजिक विषयका कतिपय पाठहरूबीचको अन्तर्सम्बन्ध र ती पाठ पढाउँदा सिर्जनशीलतामार्फत कसरी रुचिकर बनाउने भन्ने विषयमा सहजीकरण गरेका थिए।
धेरै समय र अर्थ खर्च गरेर सञ्चालन गरिने यस्ता कतिपय तालिमको उपयोगिता आसलाग्दो छैन। सोचे अनुरूप प्रतिफल पाउन सकिएको देखिँदैन।
झन् पछिल्लो समय त काठमाडौं विश्वविद्यालयसँगै अन्य शैक्षिक संस्थाहरूले पनि छोटो र लामो अवधिको तालिम सञ्चालन गर्दैै आएका छन्। विषयगत रूपमा सञ्चालन गरिने यस्ता तालिमको उपयोगिता बढ्दै गएको पनि छ। यसको प्रभावकारिताले हुनुपर्छ, अहिले त अन्य केही निजी शैक्षिक संस्थाहरूले यस्ता तालिम सञ्चालन गर्न थालेका छन्।
यो क्रम काठमाडौं बाहिर पनि चलेको छ। कतिपय स्थापित शैक्षिक संस्थाहरूले निःशुल्क त, कतिपयले सशुल्क तालिम सञ्चालन गरिरहेका छन्। विशेषगरी निजीभन्दा पनि सरकारले विभिन्न दातृ संस्थाको सहयोगमा सामुदायिक विद्यालयका शिक्षकलाई लामो तथा छोटो अवधिको तालिम लगायत पुनर्ताजगी दिन थालेको वर्षाैं भयो। धेरै समय र अर्थ खर्च गरेर सञ्चालन गरिने यस्ता कतिपय तालिमको उपयोगिता आसलाग्दो छैन। सोचे अनुरूप प्रतिफल पाउन सकिएको देखिँदैन।
कतिपय निजी शैक्षिक संस्थाहरूले आयोजना गर्दै आएका यस्ता तालिममा विदेशी सहजकर्ताहरूले प्रयोग गर्ने अंग्रेजी भाषाका कारण पनि सहभागीको बुझाइ अधकल्चो हुने गरेको छ। हुन पनि तालिम भन्ने बितिक्कै कुन भाषामा सहजीकरण गर्दा सहभागीहरूले बुझ्छन् भन्ने महत्त्वपूर्ण हुन्छ। अधिकांश सामुदायिक विद्यालयका शिक्षकले लिँदै आएका कतिपय तालिम भाषाकै कारण पनि ‘तालिमका लागि तालिम’ हुन पुगेका छन्।
शिक्षकहरूलाई शैक्षिक सामग्रीसहितको शिक्षण सिकाइबारे तालिम दिइन्छ, तर शैक्षिक सामग्री निर्माण गर्दा चाहिने आवश्यक सामग्री जुटाउन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले सहयोग गर्दैन। जसले गर्दा तालिमप्राप्त शिक्षकहरू निरुत्साहित हुन्छन्।
अर्कातिर, तालिमको सदुपयोग पनि हुनसकेको छैन। निजीको तुलनामा सामुदायिक विद्यालयका बहुसंख्यक शिक्षक तालिमप्राप्त हुन्छन्। उनीहरूमध्ये अधिकांशले तालिमबाट प्राप्त सीपको विभिन्न कारणले सदुपयोग गर्नसकेका छैनन्। जसले गर्दा पनि तालिमको उपयोगिता र प्रभावकारितामा प्रश्नचिह्न खडा हुने गरेको छ बेलाबेला।
यसो हुनुको कारण, शिक्षकहरूलाई शैक्षिक सामग्रीसहितको शिक्षण सिकाइबारे तालिम दिइन्छ, तर शैक्षिक सामग्री निर्माण गर्दा चाहिने आवश्यक सामग्री जुटाउन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले सहयोग गर्दैनन्। जसले गर्दा तालिमप्राप्त शिक्षकहरू निरुत्साहित हुन्छन्।
सिकाइको तह जुनसुकै होस्, विद्यार्थीलाई पढाउँदा शिक्षकको सिर्जनशीलता तथा अतिरिक्त मिहिनेत चाहिन्छ भन्ने कुरा पेशाप्रति समर्पित शिक्षकले महसूस गर्दै आएको धेरै भयो। यस्ता शिक्षकले तालिमबाट प्राप्त गरेका ज्ञान र अनुभव अरूलाई पनि साटासाट गर्दै आएका छन्। सिर्जनशील बन्न प्रेरित गर्दै आएका छन्। विभिन्न अवरोध हुँदाहुँदै पनि केही तालिमप्राप्त शिक्षक तथा सहजकर्ताहरूले प्रारम्भिक बालविकासको अवधारणालाई शिक्षण सिकाइमार्फत जनसमक्ष पुर्याइरहेका पनि छन्।
शैक्षिक सामग्रीबिना निष्क्रिय शिक्षण गरिँदा एकातिर स–साना बालबालिका शैक्षिक सामग्रीसहित खेल्दै सिक्ने अधिकारबाट वञ्चित हुन पुगेका छन् भने, अर्कोतिर, अधिकांश अभिभावकको रोजाइमा मन्टेसरी पर्न थालेका छन्।
त्यसो त तालिमप्राप्त शिक्षकको एकल प्रयासले मात्र पनि सम्भव हुँदैन। यसका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले पनि होस्टेमा हैंसे गर्न जरुरी छ।
एउटा उदाहरणका रूपमा बालविकास केन्द्रलाई लिन सकिन्छ। केन्द्र सञ्चालनका लागि सरकारले प्रारम्भिक बालविकास सम्बन्धी तालिम सञ्चालन गरेको वर्षौं भयो। यस्ता तालिमले बर्सेनि सयौंको संख्यामा शिक्षक तथा सहजकर्ताहरू उत्पादन भइरहेका पनि छन्।
तालिम अवधिमा सर्वसुलभ रूपमा उपलब्ध कच्चा पदार्थबाट शैक्षिक सामग्री बनाउन सिकाइन्छ। तर, सामुदायिक विद्यालय मातहत सञ्चालन गरिने यस्ता केन्द्रहरूमा शैक्षिक सामग्री उपलब्ध हुँदैन। जसले गर्दा तालिमप्राप्त बहुसंख्यक शिक्षक तथा सहजकर्ताहरूले शैक्षिक सामग्री प्रयोग गरेको देखिँदैन। उनीहरू शैक्षिक सामग्रीबिना निष्क्रिय शिक्षण गर्न बाध्य छन्।
यसको प्रभाव आर्थिक रूपले कमजोर परिवारका बालबालिकामा परेको छ। एकातिर स–साना बालबालिका शैक्षिक सामग्रीसहित खेल्दै सिक्ने अधिकारबाट वञ्चित हुन पुगेका छन् भने, अर्कोतिर, अधिकांश अभिभावकको रोजाइमा मन्टेसरी पर्न थालेका छन्। यो आकर्षणलाई देखेर कतिपय स्थापित निजी विद्यालयले पनि प्रारम्भिक बालविकासको अवधारण अनुरूप शिक्षण सिकाइ गर्न थालिसकेका छन्।
अहिलेको शिक्षा प्रणालीका कारण शिक्षा जीवन र जगत्सँग टाढिँदै गएको देखिन्छ। यसैको दुष्परिणाम शिक्षित युवा शक्तिमा पलायनवादी सोचको विकास भइरहेको छ।
यस्तै स–साना बालबालिकाको शिक्षण प्रारम्भिक बालविकासको अवधारणा अनुरूप हुनुपर्छ भने पनि व्यवहारमा त्यस्तो देखिँदैन। अझ प्राथमिक तथा माथिल्लो तहको शिक्षण सिकाइ पट्यारलाग्दो छ। जुनसुकै तहका विद्यार्थीलाई पनि औपचारिक शिक्षा रमाइलो र रुचिकर ढंगबाट शिक्षण सिकाइ गरिनुपर्छ भन्ने विश्वव्यापी मान्यता रहिआएको छ।
विद्यार्थीले पाउने शिक्षा जीवन र जगत्सँग जोडिनुपर्छ भन्ने विश्वव्यापी मान्यता छ, तर नेपालमा भने उल्टो भइरहेको छ। अहिलेको शिक्षा प्रणालीका कारण शिक्षा जीवन र जगत्सँग टाढिँदै गएको देखिन्छ। यसैको दुष्परिणाम शिक्षित युवा शक्तिमा पलायनवादी सोचको विकास भइरहेको छ। यी र यस्ता कुरालाई मध्यनजर गरी तालिमप्रदायक शैक्षिक संघसंस्थाहरूले अबका दिनमा प्रारम्भिक बालविकासको अवधारणालाई मात्रै होइन, माथिल्लो कक्षाको शिक्षण सिकाइलाई जीवन र जगत्सँग जोडिने विषयवस्तु समावेश गरी तालिम सञ्चालन गर्न जरुरी छ।
योसँगै तालिमका उपयोगिता र प्रभावकारिताबारे पनि तालिमप्रदायक संस्थाहरूले अनुगमन गर्न जरुरी छ। किनभने, तालिमप्राप्त शिक्षकहरूले तालिमको सदुपयोग नगर्दा शैक्षिक संस्थाहरू शिक्षित बेरोजगार जन्माउने प्रारम्भिक थलो बन्दै गएका छन्। यसमा शिक्षक पनि जिम्मेवार बन्नु जरूरी छ, किनकि शिक्षालाई उत्पादनमूलक बनाउने पहिलो दायित्व शिक्षककै हो।