'घरेलु क्रिकेटमा बहुदिवसीय प्रतियोगिता नखेलाई टेस्टसम्म पुगिँदैन'
साढे दुई दशकअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेसँगै चर्चामा आउन थालेको नेपालको क्रिकेटले पछिल्लो एक दशकमा थुप्रै उपलब्धि हासिल गरेको छ। टी–२० विश्वकपमा प्रतिस्पर्धादेखि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को मान्यता पछिल्ला उदाहरण हुन्। अबको नेपालको लक्ष्य ओडीआई मान्यता जोगाउनेसँगै टेस्टतर्फको यात्रा हो। यसका लागि अब नेपालले के गर्नुपर्छ? कसरी अगाडि बढ्नुपर्छ? यिनै विषयमा केन्द्रित भएर नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेसँग ‘सग्लो समाज’का लागि कनकमणि दीक्षितले लिएको अन्तर्वार्ता:
अन्य खेलको तुलनामा क्रिकेटको स्तर राम्रो छ, यसप्रति आकर्षण धेरै छ। हामी यहाँसम्म कसरी पुग्यौं?
मदन मेमोरियल ट्रफी सञ्चालन भएसँगै नेपालमा औपचारिक रूपमा क्रिकेट भित्रियो। त्यतिबेला हामी सोखले खेल्थ्यौं। विशेषगरी भारतबाट पढेर आएका र बोर्डिङ स्कूलमा पढ्नेहरू क्रिकेट खेल्थे। विष्णु ट्रफी भनेर लिग र मदन मेमोरियल ट्रफी भनेर नकआउट प्रतियोगिता खेल्थ्यौं।
आश्चर्यको कुरा, हाम्रो टाेली यस्तो बलियो भयो कि यू-१९ मा भारत, बाङ्लादेश, साउथ अफ्रिका, न्यूजिल्यान्डलाई हरायौं। भारतको यू-१९ को टाेलीलाई यहाँ बोलायौं। सुरेश रैना लगायतका खेलाडी आएका थिए।
काठमाडौंमा क्रिकेटको आफ्नो स्वरूप थियो। नेपाल क्रिकेट संघको मातहत खेल्थ्यौं। तराईमा बेग्लै थियो। भारत, पाकिस्तान र बाङ्लादेशमा क्रिकेटको आकर्षण भएकाले तराईका शहरहरू वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्जमा त्यसको प्रभाव थियो। तराईका शहरमा फाइदा के थियो भने, त्यहाँका खेलाडी उता गएर भारतीय खेलाडीसँग खेल्थे। र, भारतीय टीमलाई पनि बोलाउँथ्यौं। साउथ वेस्टर्न रेल-वे, मोतीहारीका टाेली आउँथे।
यसरी २० वर्षजति खेल्यौं। त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेटलाई पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्यो। पहिलो पटक आठ वटा अञ्चलका टाेलीले भाग लिएका थिए।
त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा के भइरहेको छ भनेर बुझ्न थाल्यौं। त्यतिबेला जयकुमार नाथ शाह अध्यक्ष हुनुहुन्थ्यो। उहाँले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा गएर बुझ्नुभयो। मैले एसियन क्रिकेट काउन्सिल (एससीसी)मा गएर बुझें। त्यो परिवारमा समावेश हुनका लागि एसीसीको सदस्यता लिनुपर्ने जरुरी छ भन्ने थाहा पायौं। सन् १९९० मा एससीसीको सदस्यता पायौं। त्यसपछि जयकुमार नाथ शाहजीले आईसीसीमा गएर 'एफिलिएट' सदस्यता लिनुभयो। र, १९९६ मा गएर 'एसोसिएट' सदस्य भयौं।
त्यसपछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लियौं। त्यसको दुई वर्षपछि काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्यौं। एसिया क्षेत्रको दोस्रो एसीसी ट्रफी थियो, त्यो। बाङ्लादेश टेस्ट खेल्ने देश भइसकेकाे थिएन त्यसैले खेल्न आएको थियो। सन् १९९८ देखि २०११ सम्म १५-२० वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्यौं, उमेर समूह र सिनियरको गरेर।
अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनु नै नेपाली दर्शकमा उत्साह जाग्ने कारण हो त?
हो, किनकि हामी धेरै खेल जित्यौं पनि। आफ्नो टाेलीले जित्दा नेपालीमा उत्साह बढ्यो। त्यतिबेला फूटबलमा मात्रै दर्शक हुन्थे। मान्छे पैसा तिरेर फूटबल हेर्न जान्थे। क्रिकेटमा त कोही पनि आउँदैनथे। हामीले कुनै शुल्क लगाएनौं। आउनुस् र हेर्नुस् भन्यौं। आफ्नो टाेलीले जित्ने बितिक्कै क्रिकेट बुझे पनि नबुझे पनि दर्शक त्यसै उत्साहित भइहाल्छन्।
म अध्यक्ष भएपछि महिला टाेली पनि बनायौं। सन् २००४ तिर त महिला टाेलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पठायौं। पहिलो सहभागितामै एसिया कपको फाइनलमा पुग्यौं।
आश्चर्यको कुरा, हाम्रो टाेली यस्तो बलियो भयो कि यू-१९ मा भारत, बाङ्लादेश, साउथ अफ्रिका, न्यूजिल्यान्डलाई हरायौं। भारतको यू-१९ टाेलीलाई यहाँ बोलायौं। सुरेश रैना लगायत खेलाडी आएका थिए। त्यो बेला भारत र पाकिस्तानका खेलाडी पनि नेपाल आएका थिए। त्यहीबेला विश्वकप भारतमा सकिएको थियो। त्यसले पनि उत्साह थप्यो र क्रिकेट स्थापित भयो।
उमेर समूहमा ती देशलाई हराउन कसरी सम्भव भयो?
हामीले क्रिकेटकाे स्वरूप निर्धारण गरेका थियौं। जिल्ला, क्षेत्र र राष्ट्रिय प्रतियोगिता हुन्थे। जसमा यू-१५, यू-१७ र यू-१९ का प्रतियोगिता पनि हुन्थे। म अध्यक्ष भएपछि महिला टाेली पनि बनायौं। सन् २००४ तिर त महिला टाेलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पठायौं। पहिलो सहभागितामै एसिया कपको फाइनलमा पुग्यौं। फाइनलमा बाङ्लादेशसँग हार्यौं। त्यसले आकर्षण बढ्यो। त्यसपछि सरकार पनि क्रिकेटतिर आकर्षित भयो। हामीलाई मूलपानीको जग्गा दियो। अहिले क्रिकेट मैदान बनेको छ।
अब हामीले जाने बाटो कुन हो?
क्रिकेटको आधारभूत संरचना बनिसक्यो। हामीसँग खेलाडी छन्, खेल मैदान छ, प्रशिक्षक छन्, दर्शक छन् र प्रायाेजक पनि छन्। सरसर्ती हेर्दा त्रिवि, मूलपानीमा राम्रै क्रिकेट मैदान छन्। भैरहवा, नेपालगन्ज, वीरगन्ज, विराटनगर र पोखरामा मैदान छन्। त्यतिबेला एउटा क्षेत्रमा एउटा मैदान बनाउने लक्ष्य थियो। केही नहुँदा त यस्तो छ, सबै भयो भने त लयमा आइहाल्छ।
हाम्रो पालामा त पाँच वर्षे कार्यतालिका थियो। त्यति नसके पनि दुई-तीन वर्षको त कार्यतालिका बनाउनुपर्यो। कम्तीमा एक वर्षमा कुन प्रतियोगिता, कहाँ हुँदै छ भन्ने त हुनुपर्यो। खेलाडीहरू त्यसका लागि तयारी गर्छन्।
पछिल्लो चार-पाँच वर्षमा एकेडेमी खुलेका छन्। जसले गर्दा यू-१५ टोलीमा राम्रा र नयाँ खेलाडी आइरहेका छन्। अहिले ९-१० वर्षको उमेरमै क्रिकेट खेल्न थालेका छन्। यसले एक किसिमको आधार बनिरहेको छ।
अब क्यानले कार्यतालिका बनाउनुपर्छ। अहिले १५-२० दिनअघि प्रतियोगिताको घोषणा गर्यो, उनै खेलाडीलाई जम्मा गर्यो र खेलायो। यसरी भएन र हुँदैन पनि। कम्तीमा वार्षिक कार्यतालिका बनाउनुपर्यो।
हाम्रो पालामा त पाँच वर्षे कार्यतालिका थियो। त्यति नसके पनि दुई-तीन वर्षको त कार्यतालिका बनाउनुपर्यो। कम्तीमा एक वर्षमा कुन प्रतियोगिता, कहाँ हुँदै छ भन्ने त हुनुपर्यो। खेलाडीहरू त्यसका लागि तयारी गर्छन्।
कसरी यहाँसम्म पुग्यौं भन्दा हामीसँग त्यो स्वरूप थियो। जस्तो, आजको दिनमा राष्ट्रिय टाेलीमा झापाका पनि छन्, बैतडीका पनि छन्। पोखरा, भैरहवा र काठमाडौंका पनि छन्। किनकि त्यो छनोट प्रक्रिया नै त्यस्तो थियो। हरेक जिल्ला–जिल्लाबाट छनोट भएर आउँथे।
अहिले पनि क्यानले स्थानीय, जिल्ला र प्रदेशबाटै खेलाडी ल्याउनुपर्ने होइन?
त्यस्तो भइरहेको छैन। पहिलो कुरा, अहिले सात वटा प्रदेश छन्। खेलाडीहरूले पहिले जिल्लामा खेल्छन्, त्यसबाट जिल्लामा टाेलीमा छनोट हुन्छन्। त्यसपछि प्रदेशमा आउँछन्। अनि प्रदेशबाट राष्ट्रिय टोलीमा छनोट हुन्छन्। अहिले यो प्रक्रिया भइरहेको छैन।
अहिले पनि ‘ग्रासरुट लेभल’को क्रिकेट त भइरहेको छ, तर जस्तो हुनुपर्ने हो त्यस्तो छैन। जस्तो, अहिले मेयर कप भनौं। त्यो १५-२० दिनअघि थाहा हुन्छ। अहिले खेलिरहेका खेलाडी जम्मा गर्यो, अनि खेलाइन्छ। त्यस्तो प्रतियोगिताले गर्दा नयाँ खेलाडीले खेल्ने अवसर पाइरहेको छैन।
दोस्रो, क्यानले प्रायाेजक पाइरहेको छैन। अहिले राष्ट्रिय टाेलीको प्रायाेजक छैन। जब कि सन् २००२ मा हामीसँग प्रायाेजक थियो।
यस्तो किन भयो होला? कि आर्थिक गतिविधि राम्रो नभएर हो?
मलाई थाहा छैन। अहिले सीमितता त छ। तर, पहिले एक करोड दिन्थे भने अहिले २५ लाख त दिनुपर्ने हो।
अहिले क्रिकेटको स्वरूप कस्तो हुनुपर्थ्याे?
मैले देखेको अहिले पनि ‘ग्रासरुट लेभल’को क्रिकेट त भइरहेको छ, तर जस्तो हुनुपर्ने हो त्यस्तो छैन। जस्तो, अहिले मेयर कप भनौं। त्यो १५-२० दिनअघि थाहा हुन्छ। अहिले खेलिरहेका खेलाडी जम्मा गर्यो, अनि खेलाइन्छ। त्यस्तो प्रतियोगिताले गर्दा नयाँ खेलाडीले खेल्ने अवसर पाइरहेको छैन।
‘ग्रासरुट लेभल’मा जिल्लास्तरीय प्रतियोगिता हुनुपर्यो। जस्तो, यू-१५, यू-१७ र यू-१९ प्रतियोगिता। त्यसपछि प्रदेशमा हुनुपर्यो। प्रदेश टाेली बन्नुपर्यो। त्यो टाेलीले राष्ट्रियस्तरमा खेल्नुपर्यो।
राष्ट्रिय खेलकुद परिषद्को पनि ठूलो भूमिका छ नि। किनभने, जति पनि आर्थिक सहयोग र भौतिक पूर्वाधारको कुरा आउँछ नि, त्यो खेलकुद परिषद्मार्फत मात्रै हुन्छ।
दुर्भाग्य, अहिले हाम्रो सिनियर टाेलीको आकर्षण पनि टी-२० मा भयो। धेरै प्रतियोगिता टी-२० कै भए। टेस्टमा जाने हो भने त दुई दिन, तीन दिन वा पाँच दिनको खेल खेल्नुपर्यो। ठीक छ, जिल्ला र प्रदेशमा त्यो गर्न सकिएन भने पनि राष्ट्रियस्तरमा ७ वटा टाेली बनाएर तिनीहरूबीच २ वा ४ दिनको खेल त गराउन सकिन्छ।
हामीसँग खेलाडी छन्, दर्शक छन्, सबै थोक छ। टेस्ट क्रिकेटका लागि पालो कुरेर बसेका छौं। यो स्तरमा त पहिले नै पुग्नुपर्ने होइन?
कुनै पनि व्यवसाय वा संस्था निरन्तर माथि उक्लिनुपर्छ र त्यसलाई कायम पनि गरिराख्नुपर्छ। एकचोटि अलिकति तलमाथि गर्ने बितिक्कै गाह्रो हुँदो रहेछ।
मेरो विचारमा, अहिले क्यानले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। सरकारले भौतिक पूर्वाधारमा सहयोग गर्नुपर्छ। खेलाडीहरूले राम्राे प्रदर्शन गर्नुपर्छ। पारस खड्का, सन्दीप लामिछाने त फेरि जन्मिँदैनन्। दर्शकको समर्थन छँदै छ, प्रायाेजकले पनि सहयाेग गरिदियो, राम्राे टाेली भएर गयो भने टेस्ट खेल्ने देशमा नेपाल पनि पक्कै हुन्छ।
यसमा राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी हुँदैन?
राष्ट्रिय खेलकुद परिषद्को ठूलो भूमिका छ नि। किनभने, जति पनि आर्थिक सहयोग र भौतिक पूर्वाधारको कुरा आउँछ नि, त्यो खेलकुद परिषद्मार्फत मात्रै हुन्छ। राजनीतिक रूपमा त्यो महत्त्वपूर्ण छ।
(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०) बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रसारण भइरहेको भिडिओ म्यागजिन 'सग्लो समाज'को १६औं अंक ‘नेपाली क्रिकेट : टेस्टतर्फकाे यात्रा'मा आधारित सामग्री।)