कोरोना संक्रमण: २४ घण्टामा १०१५ संक्रमित थपिए, आठ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा कोभिड-१९ का एक हजार १५ जना संक्रमित भेटिएका छन्।
५ हजार ७८३ जनाको पीसीआर परीक्षण गरिँदा ६०२ जना पुरुष र ४१३ जना महिलामा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितमध्ये ३० देखि ३९ वर्षका सबैभन्दा धेरै २६६ जना छन् भने, त्यसपछि २० देखि २९ वर्षका २२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, नौ वर्षसम्मका २१ जना बालबालिका संक्रमित भएका छन्।
बितेको २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट आठ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३०८३ पुगेको छ।
मन्त्रालयका अनुसार, आइतबार २६२ जना संक्रमणमुक्त भएका छन्।
आइतबार थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार २९० पुगेको छ। संक्रमणको दोस्रो लहर शुरू हुनुअघि देशभर सक्रिय संक्रमितको संख्या एक हजारभन्दा तल थियो।
हालसम्म देशमा २ लाख ८४ हजार ६७३ जना संक्रमित भइसकेका छन् भने, तीमध्ये २ लाख ७५ हजार ३०० जना संक्रमणमुक्त भइसकेका छन्।