श्रीलंकामा शंकास्पद आक्रमणकारीसहित १५ जना मारिए
सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा श्रीलंकामा १५ जना मारिएका छन् ।
सुरक्षा अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राति भएको सुरक्षा कारबाहीमा परी मारिनेमा छजना बालबालिका र तीनजना महिलासमेत रहेका छन् ।
शंकास्पद व्यक्तिहरू लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरूले घेरा हालेर आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ।
देशको पूर्वी ठाउँ काल्मुनाईमा भएको भिडन्तमा परी मृत्यु हुनेमा जियादी पनि रहेका छन् । उनीहरूले आत्मघाती विस्फोट गराएका प्रहरीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
घटनास्थलबाट प्रहरीले शनिबार विहानै शव उठाएको छ । उनीहरूले खोजी अभियान पनि जारी राखेका छन् ।
झण्डै २५० भन्दा बढीको मृत्यु हुनेगरी केही दिन अगाडि तीन चर्च र तीन होटलमा भएको हमलामा आफ्नो संलग्नता रहेको भन्दै इस्लामिक स्टेट्स (आईएस) लडाकूले जिम्मेवारी लिएपछि उनीहरूविरुद्ध सरकारी सुरक्षाकर्मीले खोजी तथा कारबाही अभियान तीव्र पारेका छन् ।
श्रीलंकाको प्रहरी र सेनाले संयुक्तरूपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आइएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
सुरक्षा कारबाहीका क्रममा अहिलेसम्म सुरक्षाकर्मीतर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीले दाबी गरेको छ ।
घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरू नै दोषी रहेको भन्दै उनीहरूलाई बर्खास्त गरिएको छ ।