फेरि बढ्यो बन्दाबन्दीमा रोकिएको भारतीय बजार जाने प्रवृत्ति
गत वर्ष कोरोनाभाइरस संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीका बेला रोकिएको किनमेलका लागि भारतीय बजार जाने प्रवृत्ति फेरि पूर्ववत् अवस्थामा फर्किएको छ।
वीरगन्ज नजिकैको नेपाल–भारत सीमानाकाबाट बिहान उज्यालो हुनासाथै मानिसहरू सीमावर्ती भारतीय बजार रक्सौलतिर गइरहेको दृश्य देखिन्छ। रक्सौलका किराना र लत्ताकपडा पसलमा ओहोरदोहोर र किनमेल दिनभरजसो चल्छ। एकाध घण्टा बजारमा बिताएपछि वीरगन्ज र आसपास क्षेत्रका बासिन्दा किनेका सरसामान बोकेर फर्किरहेको देखिन्छ।
भारतका विभिन्न क्षेत्रमा कोरोनाभाइरस संक्रमण महामारीको दोस्रो लहर विस्तार भइरहे पनि बजार भर्न सीमापारि जाने नेपालीको संख्या घटेको छैन। सीमा प्रशासनले नेपालबाट जाने यातायातलाई सिमानामै रोकिदिन्छ। तैपनि, सवारी साधन सीमावारि नै थन्क्याएर मालमत्ता किन्न नेपालीहरू भारतीय बजार पुग्ने गर्छन्। भारतमा कोरोनाभाइरसको जोखिम बढेपछि कतिपय नाकामा स्थानीय प्रशासनले अत्यावश्यक काममा बाहेक जान रोकेको छ, तर लुकिछिपी जानेको संख्या ठूलो हुन्छ। नेपाल–भारतका हरेक प्रमुख सीमानाकामा यसैगरी किनमेल गर्न नेपालीहरू आवतजावत गरिरहेका देखिन्छन्, पूर्वदेखि पश्चिमसम्मै। र, यो नयाँ कुरा नभई वर्षौंदेखि चल्दै आएको प्रवृत्ति हो। तर, एक वर्षअघि कोरोनाभाइरस संक्रमण महामारी शुरू भएपछि सीमानाका बन्द गरिँदा भने अवस्था फरक थियो।
सीमावारिको अस्थायी खुसी
भारतमा कोरोनाभाइरसको जोखिम बढेपछि कतिपय नाकामा स्थानीय प्रशासनले अत्यावश्यक काममा बाहेक जान रोकेको छ, तर लुकिछिपी जानेको संख्या ठूलो हुन्छ। नेपाल–भारतका हरेक प्रमुख सीमानाकामा यसैगरी किनमेल गर्न नेपालीहरू आवतजावत गरिरहेका देखिन्छन्, पूर्वदेखि पश्चिमसम्मै।
नेपालगन्जको धम्बोजीमा थोक किराना पसल चलाएर बसेका अब्दुल वाहिद मन्सुरीले गत वर्ष भारतसँगको सीमा बन्द गरिएपछि जस्तो व्यापारमा बढोत्तरी कहिल्यै अनुभव गरेनन्। उनका अनुसार, अरू बेला दिनभरिमा हुने कारोबार सीमा बन्द गरिएपछि तीन घण्टामै हुन्थ्यो। “अहो, त्यतिबेला त भ्याइनभ्याई नै हुन्थ्यो,” मन्सुरी भन्छन्, “एक महीनामै चार ट्रक बिस्कुट बेचेको थिएँ।” अहिले मन्सुरी त्यतिबेलाको व्यापार आधाभन्दा पनि थोरैमा खुम्चिएको बताउँछन्। पछिल्लो समय सीमा क्षेत्रका नेपाली बजारमा कारोबार निकै घटेको उनको भनाइ छ।
सीमा खुला भएपछि नेपालगन्ज नाकाबाट नेपालीहरू दालचामलदेखि लत्ताकपडासम्म किनमेल गर्न भारतीय सीमा बजार रुपैडिया जाने क्रम महामारीअघिकै अवस्थामा फर्किएको थियो। तर, ३ वैशाख शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय, बाँकेले किनमेलका लागि रुपैडिया जान रोक लगाएको छ। भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चम्किएपछि औषधि खरीद र उपचारका लागि बाहेक भारत जान निषेध गरिएको हो।
पूर्वी नेपालको विराटनगर क्षेत्रको बजारमा पनि व्यापार सुनसानप्रायः छ। विराट व्यापार संघका अध्यक्ष सुजन थापाका अनुसार, कोरोनाभाइरसको संक्रमण रोकथाम गर्न सीमा बन्द गरिएपछि स्थानीय बजारमा कारोबार दोब्बर बढेको थियो। अहिले पनि जोगबनी नाका खुलेको त छैन, तर थापाका अनुसार नाका छेउछाउबाट भारतीय बजारमा किनमेल गर्न जानेको लर्को हरेक दिन देखिन्छ।
विराटनगर भन्सारदेखि एक किलोमिटर उत्तरपश्चिमस्थित विराटनगर जुटमिलको दक्षिण गेट हुँदै एक मिनेटमा सयभन्दा बढी मानिस नेपाल–भारत ओहोरदोहोर गर्ने गर्छन्। “जोगबनीमा किनमेल गर्न जाने नेपालीले मात्रै दैनिक रू. ३ करोड खर्च गर्ने हाम्रो अनुमान छ,” थापा भन्छन्, “स्थानीयबासी किनमेलका लागि फेरि पारि नै जान थालेपछि यताका व्यापारी हात बाँधेर बस्नुपरेको छ।”
सीमावर्ती क्षेत्रका पानीट्यांकी, जोगबनी, रक्सौल, सुनौली, रुपैडिया, बनबासा लगायत भारतीय बजार नेपाली ग्राहककै कारण टिकेको व्यापारीहरू बताउँछन्। नेपालगन्ज चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका महासचिव चिरञ्जीवी ओलीका अनुसार, सीमापारिका भारतीय बजारमा नेपाली उपभोक्ताले दैनिक करोडौं खर्च गर्दै आएका छन्। “सीमावर्ती क्षेत्रका भारतीय बजारको मुख्य उपभोक्ता नै नेपाली ग्राहकहरू हुन्,” ओली भन्छन्, “साँझ–बिहान खाने दालचामलदेखि कपडासम्म किन्न भारतीय बजार पुग्छन्।”
सीमावर्ती क्षेत्रका पानीट्यांकी, जोगबनी, रक्सौल, सुनौली, रुपैडिया, बनबासा लगायत भारतीय बजार नेपाली ग्राहककै कारण टिकेको व्यापारीहरू बताउँछन्। नेपालगन्ज चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका महासचिव चिरञ्जीवी ओलीका अनुसार, सीमापारिका भारतीय बजारमा नेपाली उपभोक्ताले दैनिक करोडौं खर्च गर्दै आएका छन्।
सीमा बन्द हुँदाको मुख्य लाभ स्थानीय बजार चलायमान मात्रै थिएन, स्वदेशी सामग्रीकै कारोबार हुने गरेको नेपालगन्जका व्यवसायी मन्सुरी बताउँछन्। उनका अनुसार, त्यति बेला किरानाका अधिकांश स्वदेशी वस्तु नै बिक्री–वितरण हुन्थे। तर, नाका खुलेर बिस्तारै किनमेल गर्न भारतीय बजारमा जाने क्रम बढेसँगै भारतबाट लुकिछिपी सामान ल्याएर स्थानीय बजारमा बिक्री गर्ने प्रवृत्ति बढेको उनी बताउँछन्। यसले स्थानीय उद्योगका उत्पादनको बजार खोसेको छ। नेपालगन्ज चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका महासचिव ओली भन्छन्, “नेपालीहरू भारतीय बजारमा किनमेल गर्न जानु मुख्य समस्या होइन, भारतीय बजारमा गएर कर नतिरी पोका–पोका सामान ल्याएर स्थानीय बजारमा बिक्री गर्दा चाहिँ स्वदेशी उद्यमीहरूलाई मार परेको छ।”
‘उल्ट्याउन असम्भव’
नेपाल–भारत सीमाक्षेत्रका बजार र गाउँमा बस्ने नेपालीहरू किनमेलका लागि भारतीय बजार जानुको मुख्य कारण सीमापारिको बजारको सुलभता हो। वीरगन्जमा बसोबास गर्ने अर्थ–राजनीतिक विश्लेषक चन्द्रकिशोर सीमाक्षेत्रका नागरिकलाई भारतीय बजारको निर्भरता स्वाभाविक रहेको तर्क गर्छन्। “मूल्यमा हुने अन्तरका कारण भारतीय बजारमा सस्तोमा पाइने सामग्री किनेर घर चलाउनुपर्ने सीमाक्षेत्रका नागरिकको बाध्यता हो, खासगरी किराना र कपडा किन्न भारततिर नगई सुखै छैन,” उनी भन्छन्।
वीरगन्ज चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल पनि घरको सामान्य किनमेल गर्न पनि भारतीय बजार पुग्नु स्थानीय नागरिकका लागि आवश्यकता नै भएको बताउँछन्। “यो खासगरी व्यावहारिक समस्या हो, यसमा सीमाको वा अरू राजनीतिक कुरा आउँदैन,” अग्रवाल भन्छन्।
भारतीय बजारमा अधिकांश दैनिक उपभोग्य सामग्री सस्ता छन्। सवा अर्बभन्दा धेरै जनसंख्या भएको भारतका उद्योगहरूले ठूलो संख्यालाई लक्षित गरी उत्पादन गर्ने वस्तुको लागत दर कम हुने कारण बजारमा सस्तोमा उपलब्ध हुनसक्छ। उदाहरणका लागि सीमापारिका भारतीय बजारमा अहिले चिनी प्रतिकिलो रू.६३ को हाराहारीमा पाइन्छ। जब कि, नेपालमा चिनीको मूल्य प्रतिकिलो रू.८४ को हाराहारी पर्छ। चामल, आँटासहितका अधिकांश खाद्यवस्तु तथा घरायसी सामग्रीको मूल्यमा यस्तै मूल्यान्तर हुने गर्छ। अर्कातिर, भारतीय बजारमा वस्तुपिच्छे फरक मूल्य अभिवृद्धि दर (भ्याट) छ, जसले गर्दा कैयौं सामानको मूल्य नेपालमा भन्दा सस्तो पर्ने नेपालगन्ज चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका महासचिव ओली बताउँछन्। नेपालमा भने एकल १३ प्रतिशतको मूल्य अभिवृद्धि कर प्रणाली छ।
नेपाल–भारत सीमाक्षेत्रका बजार र गाउँमा बस्ने नेपालीहरू किनमेलका लागि भारतीय बजार जानुको मुख्य कारण सीमापारिको बजारको सुलभता हो। वीरगन्जमा बसोबास गर्ने अर्थ–राजनीतिक विश्लेषक चन्द्रकिशोर सीमाक्षेत्रका नागरिकलाई भारतीय बजारको निर्भरता स्वाभाविक रहेको तर्क गर्छन्।
नेपालमा भारतीय बजारका तुलनामा सामान महँगो हुनुको मुख्य कारण नेपालको महँगो भन्सार महशुललाई मानिन्छ। भारतबाट आयात हुने वस्तुमा नेपालमा न्यूनतम ५ प्रतिशतदेखि २०० प्रतिशतभन्दा बढीसम्म विभिन्न शुल्क र महशुल लाग्छ। जसले वस्तुको मूल्य महँगो बनाइदिन्छ। भारतमा उत्पादित कपडा नेपाली बजारमा भन्दा निकै सस्तोमा सीमापारिका बजारमा उपलब्ध हुन्छ। नेपालगन्जको नन्कुराम होलिराम थोक कपडा पसलका सञ्चालक नन्दलाल बयस एउटै सामान्य खालको सारी वा कुर्ता सीमापारिको बजारमा रु. ५/६ सय सस्तो पर्ने बताउँछन्। “खासगरी सारी, धोती, कुर्ता लगायत सामान भारततिरै सस्तो पर्ने भएकाले नेपालबाट कपडा किन्नुपर्दा भारतीय बजार जान्छन्,” बयसले भने।
व्यवसायीहरूले लामो समयदेखि नेपाल–भारत खुला सीमा व्यवस्थापनको माग गर्दै आएका छन्। विराट व्यापार संघका अध्यक्ष थापा खुला सीमालाई व्यवस्थापन गरेर किनमेल गर्न भारत जाने प्रवृत्ति रोक्न सके स्वदेशी उद्योग–व्यवसायले ठूलो लाभ पाउने बताउँछन्। “यसो गर्न सके अनौपचारिक रूपमा भारत जाने रकम मात्रै रोकिँदैन, सरकारको राजस्व आम्दानी पनि बढ्छ,” उनले भने। नेपालगन्ज चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका महासचिव ओली नेपाल र भारतका नागरिकबीच सांस्कृतिक, सामाजिक अन्तर्क्रिया र सम्बन्ध भएकाले किनमेल गर्न जानै बन्द गर्न असम्भव भए पनि अवैध आयात भने रोक्न सकिने बताउँछन्। “भारतीय बजार जानेको दैनिक अभिलेख राखेर निश्चित पटकभन्दा छिर्न नदिने व्यवस्था मात्रै लागू गरे पनि अवैध रूपमा पोकामा सामान ल्याउने प्रवृत्ति रोकिन्छ,” ओली भन्छन्।
तर, अर्थ–राजनीतिक विश्लेषक चन्द्रकिशोर सीमाक्षेत्रका नागरिकको सांस्कृतिक, सामाजिक, राजनीतिक अन्तर्क्रियालाई बिर्सिएर सरकारले जबर्जस्ती गर्न नमिल्ने बताउँछन्। “सीमाक्षेत्रका बासिन्दालाई भारतीय बजारमा नपुगी बिहान–बेलुकीको छाक टर्दैन, त्यसैले यसलाई बन्द गर्ने त सम्भावनै रहँदैन,” उनी भन्छन्।