माओवादी नेताहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुँदा पनि देश चल्छः ज्ञवाली
नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेकपा (माओवादी केन्द्र) नभए पनि देश चल्ने अभिव्यक्ति दिएका छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा बालुवाटारमा शनिबार आयोजित बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले यस्तो अभिव्यक्ति दिएका हुन्। माओवादी केन्द्रका नेताहरूलाई बैठकबारे जानकारी नै भएन रे नि भन्ने प्रश्नमा ज्ञवालीको जवाफ थियो, “प्रचण्डजीलाई कार्यक्रममा हुँदाहुँदै फोन आयो भनेर हिजो तपाईंहरूले नै लेख्नुभएको होइन?”
सर्वदलीय बैठकबारे माओवादीलाई बकाइदा जानकारी पुगेको उनको भनाइ थियाे। “माओवादीले बैठकबारे जानकारी नै भएन भन्ने किसिमको गैरजिम्मेवार कुरा गर्न मिल्दैन,” प्रवक्ता ज्ञवालीले भने, “उहाँहरूले थाहा पाउनुपर्छ, माओवादी नभए पनि देश चाहिँ चल्छ।”
प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेता सहभागी भएनन्। त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पनि अनुपस्थित रहे।
सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जसपाका अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी भएका छन्।