‘फ्लोर क्रस’ गरेका चार सांसदलाई कारबाहीको सिफारिश
नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिएका चार सांसदलाई कारबाही गर्न सिफारिश गरेको छ।
प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिश गरिएको एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।
“पार्टीको ह्विप उल्लंघन गरेकै क्षणदेखि उहाँहरू चारै जना नैतिक रूपमा एमाले रहनुभएन,” नेता कँडेलले हिमालखबरसँग भने, “तर औपचारिक कारबाहीका लागि पार्टी अध्यक्षकहाँ सिफारिश गरिसकेका छौं।”
गत फागुनमा बसेको एमाले केन्द्रीय समिति बैठकले कारबाहीको अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको थियो।
एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षका सांसदहरूले फ्लोर क्रस गरेपछि कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगिएको छ। ३९ सदस्यीय प्रदेश सभामा शाहीको पक्षमा २२ मत परेको थियो। जब कि त्यहाँ शाहीको पार्टी माओवादी केन्द्रको १२ र उसलाई समर्थन गरेको नेपाली कांग्रेसको जम्मा ६ भोट छ। जम्मा एक सिट भएको राप्रपाले शाहीको पक्षमा भोट दिएको थिएन।