भारतमा एकै दिन थपिए २ लाख ३३ हजार संक्रमित
भारतमा तीन दिनदेखि लगातार दुई लाखभन्दा बढी संक्रमित थपिँदै आएका छन्। पछिल्लो २४ घन्टामा २ लाख ३३ हजार ९४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अहिलेसम्मकै सबैभन्दा बढी हो। यसअघि बिहीबार २ लाख १६ हजार ८५० संक्रमित थपिएका थिए। त्यस्तै, बुधबार २ लाख ३८ संक्रमित थपिएका थिए।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या १६ लाख ७९ हजार १२१ रहेको छ।
त्यस्तै, कोरोनाबाट पछिल्लो २४ घन्टामा १ हजार ३३८ जनाको ज्यान गएको छ। एकै दिन ज्यान जानेको संख्या पनि अहिलेसम्मकै बढी हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७५ हजार ६७३ पुगेको छ।
भारतमा उपचाररत संक्रमितमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ। कोरोनाको दोस्रो लहरमा गम्भीर बिरामीको संख्या बढ्दै गएको जनाएको छ।
भारतमा महाराष्ट्रपछि कोरोनाको उच्च संक्रमण उत्तर प्रदेशमा देखिएको छ। कुम्भ मेलामा फैलिएको संक्रमणका कारण उत्तर प्रदेश यसको केन्द्रबिन्दु बनिरहेको भारतीय महामारीविज्ञहरूले बताएका छन्।
उत्तर प्रदेशसँगै दिल्ली, गुजरात, मध्यप्रदेश, छत्तिसगढ, केरला, पन्जाब, हरियाणा र राजस्थानमा संक्रमण बढेको छ। नेपालसँग जोडिएका उत्तर प्रदेशसँगै बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा पनि कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेको छ।