कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमालेका ४ सांसदले गरे फ्लोर क्रस
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्। आज प्रदेश सभामा विश्वासको मतका लागि उनले गरेको प्रस्तावको पक्षमा २२ मत पर्यो भने विपक्षमा १५ मत पर्यो।
३९ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २० मत पर्याप्त थियाे। माओवादी केन्द्रका १२ र नेपाली कांग्रेसका ६ जनाले मुख्यमन्त्रीको प्रस्तावका पक्षमा मत दिएका थिए भने ४ जना एमाले सांसदले पनि मुख्यमन्त्रीको पक्षमा मत दिए।
शाही ३ फागुन २०७४ मा नेकपा एमालेको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एमाले र माओवादी केन्द्रको एकीकरणपछि नेकपा बनेपछि शाही सुविधाजनक बहुमतमा थिए। तर, २३ फागुन २०७७ मा सर्वोच्च अदालतको आदेशले पूर्ववत् अवस्थामा दुई पार्टी ब्युँतिएपछि एमालेले शाहीलाई दिएको समर्थन ५ चैतमा फिर्ता लिएको थियो।
सत्तारुढ दलले समर्थन फिर्ता लिएको एक महीनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुरूप शाहीले प्रदेश सभासमक्ष विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।