सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदी संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
समितिका सभापति लक्ष्मणलाल कर्णले दुवै जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको जानकारी दिए।
२८ फागुन २०७७ मा न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा रिक्त दुई पदमा चुडाल र सुवेदीलाई नियुक्तिको सिफारिश गर्ने निर्णय गरेको थियो।
सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट परेपछि सुनुवाइ केही समय पर धकेलिएको थियो। गत ३० चैतमा सर्वोच्च अदालतले रिट खारेज गर्दै सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो।
आज सुनुवाइपछि समितिले ‘योग्यता, क्षमता र अनुभवको आधारमा उक्त पदका लागि योग्य देखिएको’ भन्दै दुवै जनालाई सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको हो।
समितिको आजको अनुमोदनपछि उनीहलाई अब राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नेछिन्।