पर्याप्त पानी नपर्दा विद्युत् उत्पादन घट्यो, माग थेग्न भारतको भर
अघिल्ला वर्षहरूमा चैत तेस्रो सातापछि हिउँ पग्लिएर खोलामा पानीको बहाव बढ्न शुरू गर्थ्याे, जसकारण जलविद्युत् आयोजनाहरूको बिजुली उत्पादनको क्षमता पनि बढ्थ्यो। विद्युत् उत्पादन बढेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत्काे माग र आपूर्तिको व्यवस्थापन मिलाउन सजिलो हुन्थ्यो।
यो वर्ष हिउँदभरि पानी नपर्दा र हिउँ पनि नपग्लिएकाले वैशाख शुरु हुँदासमेत खोलामा पानीको बहाव बढेको छैन। यसले गर्दा नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन घटेको छ। अधिकांश विद्युत्गृहहरूले जडित क्षमताको एकतिहाइभन्दा कम उत्पादन गरिरहेका छन्, कैयौं आयोजनाको विद्युत् उत्पादन असाध्यै न्यून बिन्दुमा आइपुगेको छ। यद्यपि, शुक्रबार मध्याह्न परेको पानीले केही राहत दिएको छ।
अहिले देशमा जलविद्युत् आयोजनाहरूको जडित क्षमता एक हजार ४१८ मेगावाट पुगेको छ। तर, तिनले चैतमा औसतमा ४६० मेगावाटजति मात्रै उत्पादन दिए। यो कुल उत्पादन क्षमताको एकतिहाइभन्दा कम हो।
प्राधिकरणको भार प्रेषण केन्द्रको बिहीबारको तथ्यांक अनुसार, १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाबाट औसतमा ४६ मेगावाट मात्रै उत्पादन भइरहेको छ। ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाबाट औसतमा १८.६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ। ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट २१.४ मेगावाट र ६९ मेगावाट क्षमताको मर्स्याङ्दीबाट २४.७ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ।
वर्षायाममा १६० मेगावाट विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा आउने काबेली करिडोरबाट अहिले २५ मेगावाटजति मात्रै विद्युत् आइरहेको प्राधिकरणको भार प्रेषण केन्द्रका एक अधिकारीले बताए। २२ मेगावाट क्षमताको माई जलविद्युत् आयोजनाले १ मेगावाटजति मात्रै उत्पादन गरिरहेको ती अधिकारीले बताए।
त्यसैगरी, अर्धजलाशययुक्त २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको उत्पादन क्षमता खस्किएर १० मेगावाटमा ओर्लिएको छ। ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाले ८/९ मेगावाट मात्रै उत्पादन गरिरहेको छ। २१ मेगावाट क्षमताको त्रिशूली र ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए को उत्पादन पनि क्रमशः १३ र २८ मेगावाटजतिमा सीमित छ।
प्राधिकरणको तथ्याङ्क अनुसार, चैतमा प्राधिकरणका नदी प्रवाहमा आधारित र अर्धजलाशययुक्त विद्युत्गृहबाट औसतमा २०० मेगावाटजति मात्रै विद्युत् उत्पादन भइरहेको छ। जलाशययुक्त कुलेखानीबाट औसतमा ६० मेगावाट उत्पादन भयो। जबकि, प्राधिकरणका आयोजनाहरूको कुल जडित क्षमता ४४६ मेगावाट हो। निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमता ७७२ मेगावाट पुगिसके पनि अहिले औसतमा तिनले २०० मेगावाट हाराहारीमा मात्रै उत्पादन गरिरहेको भार प्रेषण केन्द्रका ती अधिकारीले बताए। यो निजी क्षेत्रका जलविद्युत् आयोजनाको कुल जडित क्षमताको एकचौथाइ मात्रै हो।
विद्युत्को माग धान्न देशभित्रका आयोजनाहरूले नसकेपछि प्राधिकरण भारतबाट आयातीत विद्युत्मा भर पर्दै आएको छ। प्राधिकरणले अहिले भारतबाट औसत ७१० मेगावाट आयात गरिरहेको छ। यो हिउँदमा भारतबाट उच्चतम ७८० मेगावाटसम्म विद्युत् आयात गरिएको थियो।
अहिले देशमा जलविद्युत् आयोजनाहरूको जडित क्षमता एक हजार ४१८ मेगावाट पुगेको छ। तर, तिनले चैतमा औसतमा ४६० मेगावाटजति मात्रै उत्पादन दिए। यो कुल उत्पादन क्षमताको एकतिहाइभन्दा कम हो।
विद्युत्को माग धान्न देशभित्रका आयोजनाहरूले नसकेपछि प्राधिकरण भारतबाट आयातीत विद्युत्मा भर पर्दै आएको छ। प्राधिकरणले अहिले भारतबाट औसत ७१० मेगावाट आयात गरिरहेको छ। यो हिउँदमा भारतबाट उच्चतम ७८० मेगावाटसम्म विद्युत् आयात गरिएको थियो। गत हिउँदमा विद्युत् प्रणालीमा उच्चतम माग एक हजार ४६३ मेगावाट, औसत माग एक हजार १५० मेगावाट पुगेको छ।
अहिले विद्युत्को माग अनुसारको आपूर्ति गर्न भारतको भर पर्नुपरे पनि जेठपछि भने देशभित्रै छेलोखेलो विद्युत् उत्पादन हुनथाल्छ। किनभने, आगामी वर्षायामअघि नै देशको अहिलेसम्मकै ठूलो माथिल्लो तामाकोशी (४५६ मेगावाट)बाट विद्युत् उत्पादन शुरू हुनेछ। वर्षायाममा विद्युत् आयोजनाहरूले क्षमताको पूर्ण उत्पादन गर्न सक्छन्, जुन मागको तुलनामा धेरै हुनजान्छ। माग नबढ्ने, तर विद्युत् उत्पादन अहिले भइरहेको तुलनामा झन्डै आधा थपिने भएपछि वर्षायाममा ७०० मेगावाट हाराहारीमा विद्युत् बढी हुने अनुमान छ।
बिजुली हिउँदमा अभाव हुने र वर्षामा खेर जाने नियति नेपालले लामो समय भोग्नुपर्ने निश्चितप्रायः छ।
हिउँदे वर्षा नहुँदा समस्या
नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू वर्षाको भेलमा आधारित भएकाले हिउँदमा तिनको उत्पादन यसै पनि खस्किन्छ। तर, यो वर्ष हिउँदे वर्षामा आएको कमी र खडेरीले त्यस्ता आयोजनाहरूको उत्पादन झनै घटाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, यस वर्ष हिउँदमा जम्मा १५.४ मिलिमिटर मात्रै वर्षा भएको छ, जुन हिउँदमा हुने औसत वर्षाको एकचौथाइ मात्रै हो। नेपालमा हिउँदमा औसतमा ६०.९ मिलिमिटर वर्षा हुने गरेको थियो। २०७६ को हिउँदमा त २३२.३ मिलिमिटरसम्म वर्षा भएको थियो।
हिउँदे वर्षा नहुँदा खासगरी ५ मेगावाटभन्दा कम विद्युत् उत्पादन गर्ने आयोजनाहरूलाई मार परेको साना जलविद्युत् आयोजनालाई प्रतिनिधित्व गर्ने रुग्ण जलविद्युत् आयोजना संघर्ष समितिका अध्यक्ष सूर्यप्रसाद अधिकारी बताउँछन्।
प्रि–मनसुन शुरू भएपछि पनि छिटपुटबाहेक पानी परेको छैन। शुक्रबार मध्याह्न भने केही स्थानमा असिनापानी पर्याे। १ मार्चदेखि मे अन्तिमसम्म (१७ फागुन–१७ जेठ) को अवधिलाई प्रि–मनसुन अवधि मानिन्छ। मार्च शुरूदेखि २ वैशाखसम्ममा जम्मा १९.९ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ। यो प्रि–मनसुन अवधिको कुल औसत वर्षाको करीब ८.८ प्रतिशत मात्रै हो। प्रि–मनसुन अवधिमा औसतमा २२६ मिलिमिटर वर्षा हुन्छ।
हिउँदे वर्षा नहुँदा खासगरी ५ मेगावाटभन्दा कम विद्युत् उत्पादन गर्ने आयोजनाहरूलाई मार परेको साना जलविद्युत् आयोजनालाई प्रतिनिधित्व गर्ने रुग्ण जलविद्युत् आयोजना संघर्ष समितिका अध्यक्ष सूर्यप्रसाद अधिकारी बताउँछन्। “यसअघिका हिउँदहरूमा जडित क्षमताको औसतमा १६–१८ प्रतिशत उत्पादन गर्ने साना जलविद्युत् आयोजनाहरूले यो वर्ष जडित क्षमताको १० प्रतिशतभन्दा कम मात्रै उत्पादन गरिरहेका छन्,” अधिकारीले भने, “हिउँदमा पानी नपरेका कारण खोलामा पानी सुक्दा जलविद्युत् आयोजनाहरूलाई गहिरो असर परेको छ।”
हरेक वर्ष खोलामा पानी सुक्दै गएका कारण साना जलविद्युत् आयोजनाहरू समस्यामा पर्दै आएको लगानीकर्ताहरूले बताउने गरेका छन्। अहिले ९३ वटा साना जलविद्युत् आयोजनामध्ये १० मेगावाटभन्दा कम क्षमताका ३६ वटा परियोजना गहिरो वित्तीय अप्ठ्यारोमा परेको अधिकारी बताउँछन्। “यसमध्ये पनि ४५ मेगावाट क्षमताका ८ वटा परियोजना त चरम संकटमा छन्,” उनले भने, “खोलामा पानीको एउटा प्रवृत्तिलाई हेरेर यी आयोजनाहरू डिजाइन भएका हुन्छन्, खोलामा पानी नै सुकेपछि लगानीकर्ताहरूलाई मर्का परेको छ।”