प्रधानमन्त्रीको गल्तीको सजाय मुख्यमन्त्रीलाई दिनु गलत : गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्रीको गल्तीको सजाय मुख्यमन्त्रीलाई दिन खोज्नु गलत भएको बताएका छन्।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरूले बिहीबार आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गुरुङले भने, “प्रधानमन्त्रीले गरेको गल्तीमा मुख्यमन्त्रीले सजाय व्यहोर्नुपर्छ भन्नु न्यायको हिसाबले अत्यन्त गलत हो।”
अविश्वासको प्रस्ताव दर्ता गरेका नेताहरूलाई संघको सरकार हटाउन समेत उनले चुनौती दिए। उनले भने, “सक्छौ भने संघकै सरकार हटाउन बल गर, प्रदेश सरकार किन हटाउनुपर्यो?”
मुख्यमन्त्री गुरुङले मन नपरी–नपरी पनि कुनै न कुनै गुटमा आबद्ध हुनुपरेको बताए। उनले भने, “साथीहरूले केपी ओलीको प्यानलको मान्छे भन्ने तर्क पनि गर्छन्, कुनै न कुनै प्यानलमा हामी आबद्ध छौं, नेताहरूसँग आबद्ध छौं, मन परे पनि नपरे पनि नेतालाई मान्नैपरेको छ।”
‘काठमाडौंमा रिसाएको बिरालोले पोखरामा खाँबो चिथोर्यो’
मुख्यमन्त्री गुरुङले विपक्षी सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको रिस आफूमाथि पोखेको आरोप लगाए। “काठमाडौंमा रिस उठेको बिरोलोले पोखरामा खाँबो चिथोर्छ भन्छ नि, यो अविश्वासको प्रस्ताव पनि त्यस्तै हो,” गुरुङले भने, “केपी ओलीसँगको रिस ममाथि पोखेर राजनीति बलियो हुन्छ? गणतन्त्र बलियो हुन्छ?” विश्वासको मतका लागि काठमाडौं गएर कांग्रेस, माओवादी र जसपाका केन्द्रीय नेताहरूसँग छलफल गर्ने उनले बताए।
तीन दलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सूचना पाएपछि मुख्यमुन्त्री गुरुङले बुधबार प्रदेश सभा अधिवेशन अन्त्य गर्न सिफारिश गरेका थिए। अविश्वासको प्रस्ताव दर्ता गरेका सांसदहरूले विशेष अधिवेशनका लागि प्रदेश प्रमुख अमिक शेरचनलाई समावेदन बुझाएका छन्। २५ प्रतिशत सांसदहरूले समावेदन दिएपछि विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ।