हाँसो : अर्को ‘नेपाली ब्रान्ड’
पर्यटन क्षेत्रमा नेपाली हाँसो एउटा शक्तिशाली ब्रान्ड नै बनिसकेको छ। तर, हामीले यसको प्रवर्द्धन गर्न सकेका छैनौं।
सन् २०१७ मार्चतिर। दिगो पर्यटनबारे अध्ययन गर्न जापानी अनुसन्धानकर्ता र विद्यार्थीको एउटा टोली सोलुखुम्बु आएको थियो। टोलीमा एकजना भरिया खटिए– सोलुखुम्बुकै उमेश राई। खासै पढेका पनि होइनन्। तर, त्यसपछि ती जापानीको सम्पर्कमा जति जापानी आए, सबैले उमेशकै कुरा गरे। उमेश नै चाहिन्छ भन्न थाले।
हामीलाई पनि आश्चर्य लाग्यो। किन त सबैलाई उमेश नै चाहिन्छ भनेर सोध्यौं पनि। तर, कारण खास थिएन। ‘ऊ जतिबेला पनि हाँसिरहन्छ, रमाइलो छ,’ जापानीहरू भन्थे। त्यतिबेला मात्र मैले बुझें, हाम्रो हाँसो त शक्ति पनि रहेछ।
मान्छे आफ्ना सारा झन्झटबाट बाहिर निस्केर आनन्द लिन चाहिरहेको हुन्छ। त्यस्तो बेला उसको चाहना सकेसम्म रमाइला, हँसिला मानिससँग भेट होस् र आफूमा सकारात्मक ऊर्जा सञ्चार होस् भन्ने हुँदो रहेछ। विश्वमा नेपालीहरू यस्तै मान्छेमा पर्छन्, यो धेरै विदेशीले धेरैपटक भनेको र लेखेको कुरा पनि हो।
त्यो नेपाली नै हो जसले भुइँचालोले घर भत्किएर आफ्नै खानेबस्नेको टुंगो नहुँदा विदेशीहरूलाई ‘ल तिमीहरूलाई म भात पकाएर खुवाउँछु’ भन्नसक्छ। हामी अतिथिलाई आफ्ना समस्या देखाउँदैनौं। ‘अतिथि देवो भवः’ त हाम्रो संस्कार नै हो। त्यसले पनि हुनसक्छ, विदेशीले देख्दा नेपालीहरू सधैं हँसिला र खुशी देखिन्छन्। र, यसैबाट पर्यटक प्रभावित हुन्छन्।
हुनत यसबारे विस्तृत अध्ययन नै आवश्यक होला, तर मलाई लाग्छ, अधिकांश नेपाली ठूलो आकांक्षा राख्दैनन्। चिन्तामा बस्दैनन्। भोलि होइन, आजमा रमाउँछन्। सायद, जो मान्छे आजमा बाँच्छ, ऊ सधैं खुशी हुन्छ।
विदेशीलाई नेपाल आउन मन पर्ने प्राकृतिक सौन्दर्यका साथै सांस्कृतिक विविधता पनि हो। तर, यति हुँदाहुँदै पनि यदि नेपाली नम्र हुँदैनथे, राम्रो व्यवहार गर्दैनथे भने आउने मान्छे कमै हुन्थे। हाँसेर दिँदा मकैका ठेट्ना र अमिलो मोही पनि मीठो हुन्छ नि!
दिनभर भारी बोकेका नेपाली साँझ हाँसीखुशीका साथ रमाइरहेको देखेर विदेशीहरू छक्क पर्दछन्। यस्तो कसरी सम्भव हुन्छ भन्ने उनीहरूलाई लाग्छ। विदेशीहरू काममा मात्र केन्द्रित हुन्छन्। कामका बेला अरूसँग सरोकार राख्दैनन्। त्यसकारण पनि उनीहरू पर्याप्त हाँस्न र खुशी हुन सक्दैनन् कि जस्तो लाग्छ।
पर्यटन व्यवसायमा त अझ हाँसो, मुस्कान एकदमै महत्त्वपूर्ण छ। हामीले अतिथि सत्कारमा सिकाउने नै यही हो। कम्तीमा पनि हाँस्न सिक, भन्ने कुरा सिकाउँछौं। रिसै उठ्यो भने पनि हाँसेरै सम्मान दिएर कुरा गर भन्छौं। हाँस्ने त बनावटी पनि हुन्छ, तर नेपालीहरू मनैदेखि हाँस्छन्। कुनै तालिम पाएर हाँसेका होइनन्।
नेपालीहरू हाँस्छन् भन्ने कुरा त धेरैलाई थाहा छ। तर, हाम्रो हाँसोको ‘ब्रान्डिङ’ हुनसकेको छैन। नेपाल पर्यटन बोर्डले हाँसोलाई पनि नेपालको ब्रान्ड बनाउन केही प्रयत्न त गरेको छ, तर योजनाबद्ध काम गर्न सकेको छैन। मलाई लाग्छ, नेपाली हाँसोको यस्तो ब्रान्डिङले पर्यटन व्यवसायमा ठूलो मद्दत गर्छ। नेपालीहरू सकारात्मक, सहनशील छन् भन्ने कुरा पनि विश्वमाझ पुग्छ।
(रेग्मी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन्।)