हाँस्यो कि नास्यो !
आफ्नो विषयक्षेत्रमा अक्सर हल्का काम गर्ने बौद्धिक र नेताहरू अनुहारको मुद्रामा भने, गम्भीर देखिन मन पराउँछन्। हुनुपर्ने त ठीक उल्टो हो, मुद्दामा गम्भीर, मुद्रामा हँसमुख।
भारतका प्रसिद्ध कार्टूनिस्ट के. शंकर पिल्लईले सन् १९४९ मा एउटा कार्टून बनाए। जसमा तीन पात्र थिए– तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू, बीआर अम्बेडकर र शंखेकीरा। अम्बेडकर संविधानलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको शंखेकीरामा सवार थिए। नेहरू हातमा कोर्रा लिएर शंखेकीरा धपाउँदै थिए।
त्यो कार्टून कक्षा ११ को राजनीतिशास्त्रको पाठ्यपुस्तकमा राखिएको थियो। सन् २०१२ मा त्यही कार्टूनको विषयमा भारतको संसद्मा दलित सांसद र विपक्षी दलहरूले हंगामा खडा गरे। कार्टूनलाई दलित समुदायमाथिकै अपमानका रूपमा बुझियो।
११ मे २०१२ मा विपक्षी दलको अवरोधका कारण माथिल्लो र तल्लो दुवै सदन अवरुद्ध भयो। त्यस क्रममा बहुजन समाज पार्टीकी नेत्री मायावतीले कार्टूनबारे आपत्ति जनाइन्। उनको आशय थियो– कार्टूनले उनको पार्टीका आइकन नेता अम्बेडकरको अपमान गर्यो। कंग्रेसले पनि यो मौकाको उपयोग गर्यो। कंग्रेसकै पनि आइकन मानिने अम्बेडकरको अपमान भयो भनी मायावतीसँग लय मिलायो। विरोध चर्केपछि सरकारले त्यो कार्टून पाठ्यपुस्तकबाट हटायो।
त्यति गर्दा पनि मायावतीको पार्टीले चित्त बुझाएन। सबै कक्षाका पाठ्यपुस्तकको निरीक्षण गरियो। यस्तो कार्टून नबनोस् भनी सचेतना जारी गर्यो। यस सम्बन्धी विवाद देशव्यापी रूपमा फैलिंदै जाँदा कांग्रेस नेतृत्वको सरकारविरुद्ध नारा लाग्न थाल्यो। तत्कालीन शिक्षामन्त्रीको राजीनामा समेत मागियो।
सरकार र विपक्षीको त्यो खिचातानीको भारत र भारतबाहिरको संसारमा राम्रै चर्चा भयो। भारत हास्यव्यंग्य बुझ्ने र पचाउने पाचनशक्ति नभएको देश भनेर चिनियो।
विनोद मेहताले आत्मवृत्तान्त ‘लखनउ बाेई:अ मेमोयर’ मा यो कार्टूनको विषयमा गरिएको राजनीतिक खिचातानी र तनावको चर्चा गरेका छन्। उनका अनुसार, यो कार्टून पिल्लईको कार्टूनमध्ये औसत हो, विशेष राजनीतिक सन्देश नभएको। कार्टून चित्रको सीधा अर्थ हो, संविधानका पिता भनेर चिनिने अम्बेडकरलाई नेहरूले संविधान छिटो जारी गर भनेका छन्। उनले अम्बेडकर होइन, शंखेकीरा धपाएका छन्। यति कुरामा भएको राजनीतिक रुवाबासीले भारतमा लोकतन्त्र र हास्यव्यङ्ग्यको सहज सहयात्रा नभएको दृश्य देखाइदियो।
नेपाली समाज र राजनीति पनि यो मनोविज्ञानबाट पर छैन। अहिलेको राजनीतिमा हास्यव्यङ्ग्य 'कोमा'मा छ। व्यङ्ग्यको ठाँउ खिसीटिउरीले लिएको छ। प्रधानमन्त्री स्वयं हरदिन हल्काफुल्का शैलीमा ‘पर्फमेन्स’ दिइरहेछन्। आफ्ना विपक्षीलाई खिसी गर्दै भाइरल हुनु उनको सोख भएको छ। विपक्षी आक्रोशले आक्रान्त छ। बौद्धिक जमात बुद्धिमत्ताको अभिमान घाँटीमै झुन्ड्याएर हिँडेको जस्तो देखिन्छ। उनीहरूको हँसमुख मुद्रा र अभिव्यक्ति दिवास्वप्न नै हो।
अहिलेको नेपाली राजनीतिमा हास्यव्यङ्ग्य 'कोमा'मा छ। व्यङ्ग्यको ठाँउ खिसीटिउरीले लिएको छ। प्रधानमन्त्री स्वयं हरदिन हल्काफुल्का शैलीमा ‘पर्फमेन्स’ दिइरहेछन्। आफ्ना विपक्षीलाई खिसी गर्दै भाइरल हुनु उनको सोख भएको छ। विपक्षी आक्रोशले आक्रान्त छ। बौद्धिक जमात बुद्धिमत्ताको अभिमान घाँटीमै झुन्ड्याएर हिँडेको जस्तो देखिन्छ।
हाँस्न नजानेका बौद्धिकहरू नेपाली नागरिकका हाँसोखुशीका लागि जुटिरहेको भ्रम दिन्छन्। आरोप–प्रत्यारोप, आक्रोश र वादविवादको कुहिरोमा व्यङ्ग्यको आभा हराएको छ। एउटा कार्टूनले गर्ने शक्तिशाली व्यङ्ग्यले सग्लो राजनीतिक दृश्य देखाइदिने तागत नेपालमा पनि जीर्ण हुँदै गएको छ। हाँसेपछि आफ्नो बौद्धिकता नै धरापमा पर्ला भन्ने डरमा बाँचिरहेको भयभीत बौद्धिक जमात नेपाली समाज र राजनीति सपार्न निधार खुम्च्याएरै लागिपरिरहेको भान हुन्छ। सामाजिक तथा राजनीतिक विषयमा विमर्श गरिने थलो मानिएको ट्वीटरमा ह्युमर (परिहास) खोज्न त दिउँसै लालटिन बालेर हिँड्नुपर्छ। नेपाली राजनीति र बौद्धिक जमातमा हास्यचेत खोज्नुभन्दा मरुभूमिमा पानी खोज्नु सजिलो होला।
हाँसो लक्जरी हो ?
आफ्नो पुस्तकमा ह्युमरबारे लेखेका विनोद मेहताले हिटलरको समयको जर्मनीको उदाहरण दिएका छन्। दुई यहूदी आफ्नो मृत्युको पालो कुरेर बसेका थिए। उनीहरूलाई गोली हानेर मारिँदै थियो। यत्तिकैमा झुन्ड्याउने आदेश आयो। दुईमध्ये एकले ठट्टा गरे, “यिनीहरूसँग गोली सकिएछ। कतिसम्म टाट भएका होलान् त!” मेहता अगाडि लेख्छन्, “उनीहरूले यसरी ठट्टा गरे, मानौं त्यो सुनेपछि भगवान्ले उनीहरूको मृत्यु माफ गरिदिनेछन्।”
अति कठिन परिस्थितिलाई पनि हाँसोले गति दिने गर्छ। हिटलरकै आतंकको समयमा यस्तो खालको ‘ग्यालोज ह्युमर’ (निराशाजनक स्थितिमा विडम्बनापूर्ण परिहास) को शुरूआत भएको मानिन्छ। यहुदीहरूले भोगेको आततायी समयका लागि परिहास ‘सर्भाइवल मेकानिज्म’ सरह बन्यो। कोभिड–१९ को अत्यन्त कठिन समयमा प्रकृति र मानव सम्बन्धको चर्चा भयो। परिहास मानिसको कठिन समयको कति नजिकको साथी हो, यो चर्चा हुनै बाँकी छ। परिहास र प्रकृति मान्छेको कठिन पलका लागि सबैभन्दा नजिकका साथी बन्न सक्छन्। साधारण समयमा पनि हाँसो र प्रकृतिको साथ मान्छेलाई सिर्जनशील र ऊर्जाशील बनाउने तत्त्व हुन्। सबैभन्दा कठिन समयका लागि त प्राणधमनी नै हुन्।
पाकिस्तानले लामो समय सैनिक शासनको उकुसमुकुसमा बिताउँदा होस् वा भारतमा इन्दिरा गान्धीको संकटकालको समय गुजार्न, मानिसहरूले हाँसोको सहारा लिएको मेहताको ठम्याइ छ। इन्दिरा गान्धीको समयमा भारतका नागरिकले कसरी समयलाई गतिशील बनाइरहे, यसबारे धेरै पुस्तक लेखिएका छन्। तर, परिहासको सहारामा उनीहरूले समयलाई कसरी तागत भरे, यो कतै लेखिएको छैन। गान्धीपुत्र सञ्जय र उनका योजनाहरू नागरिकले ठट्टा गर्ने मुख्य कच्चा पदार्थ थिए। परिवार नियोजनको उनको योजना त टोलटोलमा मजाकको विषय थियो। मानिसहरू कानेखुशी गर्दै भन्थे, “आफ्नो गुप्तांग जोगाऊ है जोगाऊ!” साथीभाइबीच गरिने हल्का मजाक होस् वा उच्च स्तरको परिहास, मानिसको स्फूर्तिको कारक बन्छन्। व्यक्तिगत, सामाजिक, राजनीतिक सबै थलोमा परिहासले ऊर्जा प्रवाह गरिदिन्छ।
परिहास र प्रकृति मान्छेको कठिन पलका लागि सबैभन्दा नजिकका साथी बन्न सक्छन्। साधारण समयमा पनि हाँसो र प्रकृतिको साथ मान्छेलाई सिर्जनशील र ऊर्जाशील बनाउने तत्त्व हुन्। सबैभन्दा कठिन समयका लागि त प्राणधमनी नै हुन्।
नेपालमा पछिल्लो समय हास्यव्यङ्ग्यको शक्ति कमजोर भएको देखिन्छ। पञ्चायती शासनमा भने हास्यव्यङ्ग्य नै यस्तो विधा थियो, जो सरकारलाई खबरदारी गर्थ्यो र नागरिकलाई ऊर्जा भर्थ्यो। मह जोडीको प्रहसन ‘यमलोक’ मा तत्कालीन पञ्चायती सरकार र तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा व्यङ्ग्यको प्रमुख निशानामा थिए। यो प्रहसन राजा वीरेन्द्र, बीपी कोइराला, नातिकाजी, मनमोहन अधिकारी र सूर्यबहादुर थापा सँगै बसेर हेरेका थिए। सूर्यबहादुर थापासँँगको भेटमा मैले यो प्रसंग उठाएँ, उनलाई कस्तो लाग्यो होला त आफैंलाई त्यति साह्रो व्यङ्ग्य गरिएको प्रहसन हेर्दा? राति के सोच्दै निदाए होलान्? थापाको जवाफ यस्तो थियो, “मलाई रिस उठेन। रातभरि सोचेँ। विपक्षीले जस्तो सत्ता कमजोर देखाउने मात्र नियत यो प्रहसनको होइन। यी कलाकार हुन्, जनताका लागि बोलेका हुन्। यस्तो सोचाइ आइरह्यो। मैले आफ्नो सुधार्ने ठाउँ खोजिरहेँ।” रातको अधिकांश प्रहर उनले सोचेरै कटाएछन्।
व्यङ्ग्यलाई व्यक्तिगत प्रहार मान्ने लोकतान्त्रिक गणतान्त्रिक शासनमा थापाको त्यो आत्मबोधले अर्थ राख्छ नै। हरिवंश आचार्य पञ्चायत कालको राजनीतिक व्यङ्ग्य यसरी सम्झन्छन्, “त्यसबेलाका नेताहरूमा अहिलेकोमा भन्दा व्यङ्ग्य सहने शक्ति बढी थियो। अहिलेका नेताले फोन नै गरेर भन्छन्– तपाईंहरूले त्यसरी व्यङ्ग्य गरिदिनुभएन, हामीलाई असर हुन्छ।” आचार्यको यो भनाइले नेपाली लोकतन्त्रसँग पनि हास्यव्यङ्ग्यको यात्रा सुमधुर छैन भन्ने प्रष्ट पार्छ।
हाँस्ने खुबी नभएका होइनन् नेपाली। हाँसोलाई गहन विषयका रूपमा लिन नसक्नु सञ्चार, राजनीति, साहित्य र लेखनको समस्या हो। हाँसो ‘लक्जरी’ होइन, ‘लाइफलाइन’ हो, जसले गह्रुँगो लागेको समय कपासजस्तो बनिदिन्छ।
हाँसोको सवालमा संसारका दार्शनिकको फरक–फरक विचार छ। काल मार्क्स भने हाँसोलाई बुर्जुवाहरूको ‘लक्जरी’ हो भन्छन्। “एउटा मजदूर तब मात्र हाँस्न सक्छ, जब उसको पेट खानेकुरा र भोड्काले भरिएर टम्म हुन्छ।” तर, अर्काथरी विज्ञहरूको भनाइ छ– पूँजीवादी सुविधाहरूबाट विमुख समुदायमा हास्यचेत नदेख्नु विज्ञहरूको कमजोरी हो। हाँसो केवल हुनेखानेको पेवा होइन, हुँदा खाने मानिसहरूको गहना पनि हो। भौतिक विकासमा पछाडि परेको भनिएको नेपालजस्तो देशका यस्ता धेरै समुदाय छन्, जो आफ्नो हरकष्टमा हाँसेरै जिउँछन्।
राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपालीको हास्यचेत प्रचुर भएको मान्थे। घिमिरेसँग हास्यचेतबारे कुरा हुँदा भनेका थिए, “कस्तै मै हुँ भन्नेलाई गन्दै नगनी, आफूलाई रत्तीभर सानो नठानी, मपाईं देखाउनेलाई, तँलाई हरिलट्ठक भनेर हाँस्न सक्ने खुबी नेपालीको छ।” हाँस्ने खुबी नभएका होइनन् नेपाली। हाँसोलाई गहन विषयका रूपमा लिन नसक्नु सञ्चार, राजनीति, साहित्य र लेखनको समस्या हो। हाँसो ‘लक्जरी’ होइन, ‘लाइफलाइन’ हो, जसले गह्रुँगो लागेको समय कपासजस्तो बनिदिन्छ।
गम्भीर मुद्रामा कि मुद्दामा ?
सहाना प्रधान परराष्ट्रमन्त्री हुँदा अन्तर्वार्ता लिन गएको सम्झन्छु। विषय गम्भीर थियो, माहोल गम्भीर हुने नै भयो। एकछिनमा मैले भनेँ, “दिदी हाँसेर बाँच्नका लागि त यत्रो संघर्ष गरेको। किन हामी हाँस्न डराउँछौं?” सुनेपछि उहाँ खुलेरै हाँस्नुभयो। माहोल सहज र सरल बन्यो। बिदाको दिन उहाँको निवासमा हामीले घन्टौं रमाइलो समय बितायौं। विगतदेखि वर्तमानसम्मका राजनीतिक आन्दोलन र उतारचढावका कुरा गर्दा पनि समय नीरस बनेन।
कुन मानिस कति गम्भीर छ भनी थाहा पाउने माध्यम उसको अनुहारको मुद्रा होइन, उसले उठाउने मुद्दा र त्यसप्रति उसको लगनशीलता हो। देशको प्रमुख सञ्चारमाध्यममा काम गर्ने साथीले एकपटक भने, “के गर्ने, हाँसेर हिँड्न त मन लाग्छ नि, समाज नै त्यस्तै छ।” हाँस्नै डराउनुपर्ने कस्तो सामाजिक उकुसमुकुस! सार्वजनिक परिचय बोकेपछि अहोरात्र गम्भीर मात्र देखिनुपर्ने, यो कस्तो नियम हो ब्रह्माण्डको? हाम्रा युवा नेताहरू पनि जहिल्यै आक्रोश र आवेगमा देखिन्छन्। संसद्मा कुरा उठाउँदा आक्रोशित भइरहने गगन थापाको पनि प्रफुल्लित सार्वजनिक अवतार विरलै देखिन्छ। उनको जस्तो नीरस व्यक्तित्वले नयाँ पुस्तालाई खासै तान्दैन। उनी लगायत धेरै युवा नेताले पट्यारलाग्दो व्यक्तित्वमा परिवर्तन नल्याए नयाँ पुस्ताले अब अस्वीकार गरिदिन्छ, सुन्दैन।
कुन मानिस कति गम्भीर छ भनी थाहा पाउने माध्यम उसको अनुहारको मुद्रा होइन, उसले उठाउने मुद्दा र त्यसप्रति उसको लगनशीलता हो। देशको प्रमुख सञ्चारमाध्यममा काम गर्ने साथीले एकपटक भने, “के गर्ने, हाँसेर हिँड्न त मन लाग्छ नि, समाज नै त्यस्तै छ।” हाँस्नै डराउनुपर्ने कस्तो सामाजिक उकुसमुकुस!
हाँस्नु भनेको हल्काफुल्का हुनु हो भन्ने संकुचित मान्यताका कारण हास्यचेत भएका केही नेताहरू पनि पीडित बनिदिन्छन्। किशुनजी (कृष्णप्रसाद भट्टराई) को हास्यविनोदी स्वभावलाई लिएर निकै आलोचना हुन्थ्यो। “हास्यचेत बिल्कुल शून्य भएका राजनेताहरूबाट उच्चकोटिको पोलिटिकल डेलिभरी खोज्नु नै मूर्खता हो,” विनोद मेहता परिहास सम्बन्धी आफ्नो निबन्धमा लेख्छन्, “यस्ता नीरस नेताहरूका लागि परिहास निरर्थक कुरा हो। उनीहरू जहिल्यै राजनीतिको दलदलमा भासिएका आत्मकेन्द्रित मानिसहरू हुन्।”
हृदय प्रफुल्लित भएर वरिपरिको माहोल हाँसोले उज्यालो बनाउन सक्ने मानिसहरू ऊर्जाशील र बढी सिर्जनशील हुन्छन्। मानव जीवनले पाएको सर्वोत्तम उपहार हो, हाँसो। हाँस्न र हँसाउन डराउनैपर्दैन। अवसर, सम्पत्ति, पद र प्रतिष्ठाका भारले किचिएका मानिसहरू नै हाँसोसँग भागिरहेका देखिन्छन्।
भारतीयहरूले ‘ऊ कस्तो फन्नी (रमाइलो) छ’ भन्दैनन्, ‘त्यो मानिस कस्तो हल्का मिजासमा कुरा गर्छ’ भन्छन्। ठीक यही हालत नेपाली समाजको पनि छ। किशुनजीको हँसीमजाक गर्दै गहन कुरा बोल्ने बानी यही मानसिकताको आक्रमणमा बेलाबेला परिरह्यो। नेपालका किशुनजीजस्तै भारतमा अटलबिहारी वाजपेयी हास्यचेत भएका नेता थिए। उनी व्यङ्ग्य गर्न सक्थे, आफूमाथिको मजाक पचाउन पनि। अहिलेको जस्तो खुला समाजमा परिहास भएको नेता नदेखिनु पट्यारलाग्दो कुरा हो।
हाँस्न सक्नु र हँसाउन जान्नु हल्का कुरा हो त? यसबारे अन्तोन चेखवको विचार छ, “संसारको कुनै पनि मूर्खले विरहका बारेमा लेख्न सक्छ। कमेडीका लागि विशिष्ट दिमाग चाहिन्छ। कसैलाई हँसाउन सक्नु मजाक होइन।” नेपालमा बौद्धिक जगत् र राजनीतिजस्तै दुःखी अर्को क्षेत्र हो, लेखन। साहित्य होस्, गैरसाहित्य होस् वा अखबारी लेखन, यी सबैमा हाँसो खोज्नु बेकारमा मूर्ख हुनु मात्र हो। नेपाली साहित्यमा हास्य विधाको कुरा गर्दा भैरव अर्याललाई सम्झने गरिन्छ। उनले हास्य विधामै लेखे। तर, मूलधारका भनिने साहित्यमा हास्यचेत शून्य देखिन्छ। एकथरी लेखन कुनै निश्चित मुद्दाको सपाट वकालत, कुनै कुप्रथाको आक्रोशपूर्ण विरोध र विद्रोहमा अल्झेको छ। अर्कोथरी, पीडा र प्रणयको ‘ककटेल’ नशामा मदहोस छ। लेखनमा परिहास ‘कुन चराको नाम हो’ कै अवस्थामा छ। बौद्धिक र लेखक परिचय बोकेका मानिसहरूको धीर गम्भीर सार्वजनिक उपस्थिति र व्यक्तित्व ‘हाँस्यो कि नास्यो’ को अवस्थामा छ।
भाषामा हास्यचेतको भूमिका कस्तो होला ? साहित्यकार सत्यमोहन जोशीले कुराकानीको दौरान भनेका थिए, “ह्युमरले भाषालाई स्वादिलो बनाइदिन्छ। यसले भाषाको सौन्दर्य बढाएर समृद्ध बनाइदिन्छ।” लेखनमा मात्र होइन, हास्यचेतले हरपेशाको सौन्दर्य र तागत बढाइदिन्छ। 'माइक्रोसफ्टदेखि बाहुन डाँडासम्म' पुस्तकका लेखक जोन उडको त मूल मन्त्र नै थियो– “हाँसोले अफिसका भित्ता ठोक्काउने मानिसहरू मेरो परियोजनामा काम गर्न पहिलो योग्य उम्मेदवार हुनेछन्।”
नेपालमा बौद्धिक जगत् र राजनीति जस्तै दुःखी अर्को क्षेत्र हो, लेखन। एकथरी लेखन कुनै निश्चित मुद्दाको सपाट वकालत, कुनै कुप्रथाको आक्रोशपूर्ण विरोध र विद्रोहमा अल्झेको छ। अर्कोथरी, पीडा र प्रणयको ‘ककटेल’ नशामा मदहोस छ। बौद्धिक र लेखक परिचय बोकेका मानिसहरूको धीर गम्भीर सार्वजनिक उपस्थिति र व्यक्तित्व ‘हाँस्यो कि नास्यो’ को अवस्थामा छ।
हृदय प्रफुल्लित भएर वरिपरिको माहोल हाँसोले उज्यालो बनाउन सक्ने मानिसहरू ऊर्जाशील र बढी सिर्जनशील हुन्छन्। मानव जीवनले पाएको सर्वोत्तम उपहार हो, हाँसो। हाँस्न र हँसाउन डराउनैपर्दैन। अवसर, सम्पत्ति, पद र प्रतिष्ठाका भारले किचिएका मानिसहरू नै हाँसोसँग भागिरहेका देखिन्छन्। आफ्नो विषयवस्तुमा अक्सर हल्का काम गर्ने बौद्धिक र नेताहरू अनुहारको मुद्रामा भने, गम्भीर देखिन मन पराउँछन्। हुनुपर्ने त ठीक उल्टो हो, मुद्दामा गम्भीर, मुद्रामा हँसमुख।
नापनक्साभित्र हाँसो
‘हाँस्न्याहरू वेश्या हुन्छन्’ भनेर साहित्य लेखिने हाम्रो समाजमा महिलाहरूको सबैभन्दा हुर्मत लिइएको पक्ष नै हाँसो हो। कति हाँस्ने, कसरी हाँस्ने, यो स्केल मापन गर्ने सामाजिक नीति र मापदण्ड छ। परिवार र समाजमा त दिल खोलेर हाँस्ने महिला उत्ताउली हुन्छे नै, साहित्य र सिनेमाको कथाको पात्रको हाँसो समेत कथाकारको साँचोमा हुन्छ। पीडित, विद्रोही वा मुसुक्क मात्र हाँस्ने मायालु, महिला पात्रलाई कस्तो भूमिकामा उभ्याउने लेखकले तय गर्छन्।
साहित्य र सिनेमा लेखनको बागडोर महिलाको वर्चस्वमा आइसकेको छैन। हाँसो हल्का कुरा हो भन्ने जड मान्यता पुरुषमा जस्तै महिला लेखकहरूमा पनि छ। पितृसत्ताका अनेकौं नियमलाई चुनौती दिएर पनि सार्वजनिक परिचय बनाएका महिलाहरूले परिहासलाई आत्मसात् गरेको देखिँदैन। कहीँकतै सार्वजनिक उपस्थितिमा परिहाससहित पेश हुने महिला खोज्नु मुश्किल छ। बहसका सार्वजनिक थलो सामाजिक सञ्जालमा महिला लेखकहरूको आक्रोश र विद्रोहको सुनामीमा हाँसो हराएको छ। ‘ह्युमरस’ देखियो भने आफूले वकालत गर्ने मुद्दामा कमजोर देखिनसक्छ भन्ने भ्रम महिला लेखकहरूमा, धीर–गम्भीर पुरुषमा जत्तिकै छ।
सिनेमामा पनि महिला हास्य कलाकारलाई हाँसोको पात्र वा सहायक भूमिकामा उभ्याइने गरेको छ। महिला हास्य कलाकारको संख्या र उनीहरूको प्रभावशाली भूमिका दुवैमा नेपाली सिने क्षेत्र पछाडि परेको छ। पछिल्लो दशकमा भने नेपाली सिनेमाको मूलधारमा हास्य विधा भित्रियो। अधिकांश हास्य कलाकारको नेतृत्व लिँदै कलाकार तथा निर्देशक दीपाश्री निरौलाले सिने उद्योगलाई एकपछि अर्को सफल सिनेमा दिइन्। अपहेलित हास्य विधामा बनेका सिनेमा व्यावसायिक रूपमै सफल भए। दीपाश्री हास्य विधा र कलाकारलाई सिनेमाको मूल प्रवाहमा ल्याउन सफल निर्देशक हुन्।
साहित्य र सिनेमा लेखनको बागडोर महिलाको वर्चस्वमा आइसकेको छैन। हाँसो हल्का कुरा हो भन्ने जड मान्यता पुरुषमा जस्तै महिला लेखकहरूमा पनि छ। पितृसत्ताका अनेकौं नियमलाई चुनौती दिएर पनि सार्वजनिक परिचय बनाएका महिलाहरूले परिहासलाई आत्मसात् गरेको देखिँदैन।
समय फेरिएको छ। अहिले सञ्चारको जगत् फैलिएको छ। हास्यचेतसहितको फरासिला–हँसिला महिलाहरू विभिन्न वैकल्पिक माध्यमबाट उदाउँदै छन्। यूट्यूबबाट उदाएकी रुप्सी बस्नेतको 'सटल कमेडी' युवा पुस्तामाझ निकै लोकप्रिय छ। उनले बनाउने छोटा भिडिओहरूले नेपाली मध्यमवर्गीय समाजको ऐना देखाइदिन्छन्। आजको पुस्ता पनि मुख बंग्याउने, अरूलाई होच्याउने खालको हास्यव्यङ्ग्यमा रमाइरहेको देखिन्छ। निकै कम हास्य प्रस्तुतिमा मात्र समाजको तन्तु केलाइएको देखिन्छ। हँसाउनु र होच्याउनुको भेद अझै प्रष्ट भइसकेको देखिँदैन। सिर्जनात्मक र सामाजिक परिवेशसहितको मिहीन हास्य कला निकै कम मानिसमा पाइन्छ।
मध्यम वर्गका पारिवारिक, सामाजिक परिवेश यूट्यूबका कथामा उन्ने रुप्सी हास्य कलाकार होइनन्, हास्यचेत भएकी सचेत युवा यूट्यूबर हुन्। हँसाउनका लागि हास्य कलाकार नै हुनपर्दैन, ह्युमरको सेन्स भए पुग्छ। आधुनिकता र परम्पराबीच नेपाली मध्यम वर्ग कसरी जुधिरहेछ, महिलाहरू कति उत्साह र अलमलमा छन्, यस्ता कुरा रुप्सीको भिडिओमा देख्न पाइन्छ। फेसबूकमा राम्ररी घुलमिल भएकी आमाले कसरी छोरीको जासूसी गर्छिन्, उनी रमाइलोसँग देखाइदिन्छिन्। नयाँ पुस्ताको चालचलन र फेशनमा कसरी पाको पुस्ता प्रतिक्रिया गर्छ, यी सबै उनको प्रस्तुतिमा देख्न पाइन्छ। दैनिक व्यवहारमा हुने, खासै याद नगरिने कुरा उनको प्रस्तुुतिका विषय बन्छन्। औसत कमाइ हुने परिवारका छोराछोरी बिदामा मामाघर जाने कुरा होस् वा पकेट टाट भएका तन्नेरीहरूको डेटिङ–सेटिङको लफडा, जीवन्त गरी देखाइदिने गर्छिन् उनी।
बदलिएको प्रविधि र महिलाहरूको खुलेको व्यक्तित्व टिकटकले समेटेको छ। चूलोचौकोमै कैदी बनेका महिलाहरू पनि समय चोरेर टिकटकमा रमाएको देखिन्छ। वैदेशिक रोजगारीको सास्तीबाट पनि समय निकालेर मानिसहरू टिकटकमा रमाएको देखिन्छ। प्रविधिले सजिलो पारिदिएको छ। अरूको प्रहसन हेरेर मन बहलाउनुपर्ने मानिसहरू अब आफैं मन लागेको भिडिओ बनाएर रमाउन पाएका छन्।
गजधुम्म परेर सधैं अरूका क्रियाकलाप मापन गरिरहने मानिस दुःखी आत्मा हुन्। यस्ता नैतिकताका पुजारीहरूले लगाइदिएको व्यक्तित्वको लक्ष्मणरेखाभित्र बस्न अबका महिलालाई खाँचो छैन। हिजो कति हाँस्ने कुलीन, कति हाँसे वेश्या भनेर समाजले जुन मानक बनाएको थियो, त्यो मानक चिर्न नारा मात्र काफी हुँदैन।
घर, टोल, छरछिमेक, मेला र पर्वमा रमाउनुपर्ने मानिस संसारभर छरिएर एक्लैएक्लै भएका छन्। आदर्श जीवन त हाँसिरहेको आँगन, फूलबारी र खेतबारी हुन्। तर, बेखुश भएर एक्लो महसूस गर्नुभन्दा बुद्धि पुर्याएर प्रविधिको प्रयोग गरी रमाउन सके पनि निराशाको घेराबाट मानिस मुक्त हुनसक्छ। टिकटकमै कति महिलाहरूले भनेका पनि हुन्छन्, “यो टिकटक नभएको भए म आत्महत्या गर्थें होला।” बन्दाबन्दीको समयमा झन्डै डिप्रेसनमा पुगेकी मेरी छिमेकीको अनुभव पनि यस्तै थियो। प्रविधि आगोजस्तै हो, डढेलो लाउने वा खाना पकाउने प्रयोगकर्ताले विवेक पुर्याउनु भने पर्छ।
यूट्यूबमा आफ्नो उचाइ हासिल गर्दै गएकी रुप्सीलाई पनि एक्कासि आएको टिकटकको बाढीले अप्ठेरोमा पारिदियो। मौलिक र सिर्जनात्मक उनको यूट्यूब प्रस्तुति पनि टिकटकको क्षणिक रमाइलोमा सीमित हुँदै गएको छ। बदलिरहने प्रविधिका कारण मानिसको सिर्जनाको दिशा पनि प्रभावित भइरहेकै हुन्छ। उनीजस्ता सिर्जनात्मक मानिसहरूले टिकटकलाई सहायक माध्यमका रूपमा मात्र प्रयोग गर्नु जाती हुन्छ।
प्रविधिका फाइदा–बेफाइदाको तर्क आफ्नो ठाउँमा छ, महिलाहरूले युगौंदेखि बन्देज गरिएको आफ्नो अनौपचारिक र रमाइलो व्यक्तित्व भने, टिकटकमै भए पनि देखाइरहेका छन्। ‘हामी त्यति मात्र होइनौं, जति तिमीहरू चाहन्छौ’, उनीहरूको फरासिलो र रमाइलो जीवनको पाटोले यसै भनिरहेझैं लाग्छ। निश्चित ढर्रामा जीवन बाँच्नुपर्ने मूल्य र मान्यताको मानक रमाइलो गरेरै भत्काइरहेका छन्। खुशी हुन र रमाउन पाउनु पनि महिलाको हक हो। उनीहरू केवल अरूको रमाइलोका लागि वा रमाइलो व्यवस्थापनका लागि यो धर्तीमा आएका होइनन्।
गजधुम्म परेर सधैं अरूका क्रियाकलाप मापन गरिरहने मानिस 'दुःखी आत्मा' हुन्। यस्ता नैतिकताका पुजारीहरूले लगाइदिएको व्यक्तित्वको लक्ष्मणरेखाभित्र बस्न अबका महिलालाई खाँचो छैन। हिजो कति हाँस्ने कुलीन, कति हाँसे वेश्या भनेर समाजले जुन मानक बनाएको थियो, त्यो मानक चिर्न नारा मात्र काफी हुँदैन। रुप्सी बस्नेतजस्ता फरासिला युवाहरूको कलाकारिता पनि चाहिन्छ। विद्रोही अनुहार मात्र होइन, निर्भय भएर हाँसिरहेको अनुहार पनि चाहिन्छ।
हाँसो केवल हाँसो होइन, यो विद्रोहको भाषा पनि हो। आत्मविश्वासको प्रकट रूप, आभायुक्त सौन्दर्य हो हाँसो, हास्न्याहरू वेश्या हुँदैनन्।
थप सामग्री :
के हाँसोले स्वस्थ राख्छ?
रेमिटेन्सले दिएको हाँसो
मेनुमा उपलब्ध हाँसोको डिजाइन
हिन्दू पितृसत्ताले थिचेको महिलाको हाँसो
खुशीको स्रोतबारे के भन्छ बौद्ध दर्शन?
‘सजिलो छैन हँसाउन’
हाँसो : अर्को ‘नेपाली ब्रान्ड’
महिलालाई हाँस्न मात्र होइन, हँसाउन पनि गाह्रो!
नेपालीमा हास्यचेत कति?
मीनले खिचेका ‘मीन्दास’ हाँसो
किन नियन्त्रित छ महिला हाँसो?
हाँसोको समाजशास्त्र : के हाँसो रमाइलो कुरा मात्र हो?
बुझे ह्युमर, नबुझे ट्युमर