हिन्दू पितृसत्ताले थिचेको महिलाको हाँसो
हिन्दू वर्णवादी समाजमा पितृसत्ताले महिलाको आर्थिक स्रोत, व्यक्तिगत स्वतन्त्रता र यौनिकतामा कब्जा जमाएको छ। उनीहरूको हाँसो नियन्त्रित छ। हाँसो नै खुशीको मापक हो भने, नेपाली महिलाको ओठमा कति समय हाँसो झल्कन्छ? त्यो पनि बाध्ताको रुन्चे हाँसो मात्र नहोला र?
१५औं शताब्दीका प्रसिद्ध इटालियन चित्रकार लियोनार्दो दा भिन्चीले कोरेको अर्धमुस्कानसहितको मोनालिसाको तस्वीर संसारमै प्रख्यात छ। त्यो मुस्कानबारे हजारौं कविता लेखिएका होलान्।
भिन्चीले लगातार १७ वर्ष काम गरेको भनिएको उक्त चित्रमा मोनालिसाको प्रस्फुटन हुन नसकेको हाँसो देख्न सकिन्छ। उक्त हाँसोलाई तत्कालीन इटालियन पितृसत्तात्मक समाजको उच्च घरानियाँ उत्पीडनसँग जोडेर हेरिन्छ। तर, मोनालिसालाई धेरैले मन पराउनुको कारण ‘महिलाले खित्का नछाडी हाँसेकै राम्रो’ भन्ने उही पितृसत्तावाला सोचले काम गरेको त होइन? प्रश्न यहाँ पनि गर्न सकिन्छ।
समाजमा सबैभन्दा खुशी को होला? हाँसीखुशी हुन के–के आवश्यक हुन्छ? स्वाभाविक छ, खुशी हुन शरीर र मन स्वस्थ हुनुपर्छ। निरोगी शरीर तथा आर्थिक, सामाजिक रूपमा सक्षम, स्वतन्त्र र मर्यादित जीवन छ भने मात्र कोही हँसिलो हुनसक्छ। यी मापदण्ड अनुसार नेपालमा कति प्रतिशत मानिस हाँसीखुशी होलान्? अनि कति महिला खुशीको हाँसो हाँस्न सक्लान्?
नेपाली समाज आजपर्यन्त ‘आइमाई हाँस्यो कि नासियो’, ‘आइमाईले मुस्काउनु मात्र, खित्का छाडेर हाँसे त उत्ताउली भइन्छ’ भनेर सुनाइन्छ। हाम्रै पुस्ताले पनि यस्ता आक्षेप खेपेको छ। अझै महिला र केटीहरूले ठूलो स्वरमा हाँसे वरपरका भद्रभलाद्मी तरंगित हुन्छन्।
नेपालमा प्राचीन कालका धर्मग्रन्थ केलाएर हेर्दा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिएको भेट्टिन्छ। मनुस्मृतिमा महिलालाई ‘पतिको सेवामा मात्र सुख पाउँछे’ भनिएको छ। चाणक्य नीतिमा भनिएको छ, ‘चोखिन्न दानले नारी न तीर्थ उपवासले, पतिका पाउको पानी पिए पाप पखाल्दछे।’ शास्त्रहरूले महिलालाई पुरुषको सेवामा मात्र खुशी र सुखी अवधारणा थोपरेका छन्। र, त्यही अनुसार व्यवहार हुँदै आएको छ।
‘पोथी बास्नु हुँदैन, अशुभ हुन्छ’ भन्नु र ‘महिला हाँस्नु हुदैन’ भन्नु दुवै पितृसत्तात्मक दर्शनबाट निर्देशित अवधारणा हुन्। हाम्रा धर्मग्रन्थ र कतिपय साहित्यले महिलालाई मृदुभाषी, सुशील र सहनशील बन्न उर्दी गर्छ। एकथरीले नेपाली भाषा साहित्यका ‘ध्रुवतारा’ बनाएका भानुभक्त आचार्यको पालासम्ममा महिलालाई हेरिने दृष्टिकोण वधूशिक्षामा उल्लिखित एउटा श्लोकबाट थाहा पाउन सकिन्छ।
हाँस्नु छैन कदापि, नारीहरूले वेश्या हुन्या हाँस्दछन्
वेश्या लौ नहउन् तथापि घरको काम ती सबै नास्तछन्।
एक्लै हाँस्न हुँदैन कोही नभई अर्को सँगी भो जसै।
हाँस्तैमा दिन जान्छ एही रीतले सब् काम बित्छन् तसै।।१९।।
हाँस्नुलाई खुशीको मापन मान्ने हो भने यी कविताको भावले महिला खुशी हुन छुट पाएको धेरै समय नभएको प्रष्ट हुन्छ। तर, छुट पाएर पनि खुशी हुने अवस्था भने छैन। भानुभक्तजस्तै विचार लिएर पुरुष साहित्यकार, पुरुष नेता, पुरुष धर्माधिकारीहरूले नेतृत्व गर्दै समाज यहाँसम्म आइपुगेको छ।
नेपाली महिला कर्णालीको सुस्केराझैं भित्रभित्रै सुकसुकाउँदै हाँस्ने प्रयास गर्छन्। र, त्यो हाँसो वास्तविक अन्तर्यबाट आएको भन्दा पनि औपचारिकताका लागि प्रस्तुत हुन्छ। केहीलाई छाड्ने हो भने अधिकांश महिलाको जीवनमा आँसु धेरै र हाँसो कम हुन्छ।
नेपाली महिला कर्णालीको सुस्केराझैं भित्रभित्रै सुकसुकाउँदै हाँस्ने प्रयास गर्छन्। र, त्यो हाँसो वास्तविक अन्तर्यबाट आएको भन्दा पनि औपचारिकताका लागि प्रस्तुत हुन्छ। केहीलाई छाड्ने हो भने अधिकांश महिलाको जीवनमा आँसु धेरै र हाँसो कम हुन्छ।
भनिन्छ, खुशी नाप्न सकिँदैन। तर, डिप्रेसन, एन्जाइटी र स्ट्रेस चाहिँ कसरी नाप्ने त? अनुसन्धाताहरूले खुशी नाप्ने केही मापदण्ड बनाएका छन्। हर्मोन, न्यूरोट्रान्समिटर जस्ता तत्त्वहरूको उतारचढावको अध्ययनमार्फत खुशी नाप्न सकिन्छ। र, भनिरहन पर्दैन कि खुशीको उत्कृष्ट मापन हाँसो नै हो।
केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको नेपाल बहुसूचक २०७५ ∕ ७६ को प्रतिवदेन अनुसार महिलाको तुलनामा पुरुष खुशी छन्। १५–४९ वर्ष उमेर समूहका महिला ६२.४ प्रतिशत तथा पुरुष ६४.७ प्रतिशत खुशी छन्। १५–४९ वर्ष उमेरका महिला ४५.४ प्रतिशत तथा पुरुष ५२.५ प्रतिशत खुशी छन्। राष्ट्रिय तथ्यांक विभागले गरेको सर्वेक्षण अनुसार पनि नेपालमा महिलाभन्दा पुरुष खुशी देखिन्छन्।
कुनै पनि व्यक्तिको प्रत्यक्ष–अप्रत्यक्ष व्यवहारको अध्ययनबाट मानिसको खुशी तथा हास्यको लेखाजोखा गर्न सकिन्छ। व्यक्तिले बारम्बार प्रयोग गर्ने सकारात्मक र नकारात्मक भाषालाई ‘कोड’ गरेर ऊभित्रको खुशी या हास्यरसबारे अनुमान लगाउन सकिन्छ। तर, यो मापनलाई प्रमाणित नै भने गरिसकिएको छैन।
एक तथ्यांक अनुसार अहिले पनि ६६ प्रतिशत महिलाले घरभित्र हिंसा व्यहोर्छन्। प्रत्येक दिन सात जना महिला र किशोरी बलात्कारजन्य हिंसाबाट पीडित छन्। यसबाट सहजै अनुमान गर्नसक्छौँ कि महिला हाँस्न सकेका छन् कि छैनन्।
केही साताअघि ‘विश्व खुशी प्रतिवेदन–२०२१’ ले प्रकाशित गरेको एउटा तथ्यांकले नेपालीलाई छक्क बनाइदियो। अनेक राजनीतिक तरङ्ग, कोभिड महामारी र निरन्तर खस्कँदो आर्थिक अवस्थामा पनि नेपाली ‘दक्षिण एसियाकै खुशी’मा दरिए। फिनल्यान्ड चाहिँ विश्वमै खुशी जनता भएको देश भएछ। अध्ययनहरूले विवाहित व्यक्ति अविवाहितभन्दा बढी खुशी हुने पनि देखायो।
केही अध्ययनले देखाए अनुसार, लैङ्गिक सवाल उठ्न थालेपछि र व्यवहारमा समानताका लक्षण देखिन थालेदेखि महिलामा पनि खुशीको मात्रा बढेको छ। तर, नेपालजस्तो अल्प विकसित र जब्बर महिलाद्वेषी धर्म, संस्कृति र पितृसत्तात्मक पारिवारिक संरचना भएको समाजमा महिला कति खुशी होलान् भन्ने अध्ययनकै विषय हो।
प्राचीन हिन्दू धर्म र संस्कृति अनुसार सञ्चालित समाजमा महिलाको विषयमा सोच्न, लेख्न र पढाउन थालिएको लामो समय भएको छैन। महिलाले निर्बाध घुमफिर गर्न त अझै पाएका छैनन्। महिलाको आकृति मनमा ल्याउने बित्तिकै नम्र, मृदुभाषी, आज्ञाकारी, पतिपरायण, नियम पालकका रूपमा आइहाल्छ।
खुशी हुनु भनेको व्यक्तिले स्वतन्त्र महसूस गर्नु हो। हलुको भएर उडेको जस्तो अनुभूति गर्नु हो। सम्पूर्ण बोझ वा दुःखबाट छुटकारा पाएको महसूस गर्नु हो। खुशी भएको देखाउने माध्यम हाँसो हो।
एक तथ्यांक अनुसार अहिले पनि ६६ प्रतिशत महिलाले घरभित्र हिंसा व्यहोर्छन्। प्रत्येक दिन सात जना महिला र किशोरी बलात्कारजन्य हिंसाबाट पीडित छन्। यसबाट सहजै अनुमान गर्नसक्छौँ कि महिला हाँस्न सकेका छन् कि छैनन्।
शरीरमा प्राकृतिक रूपमा हुने हर्मोन परिवर्तन र प्रजनन दायित्वलाई त महिलाले स्वीकार गर्नैपर्छ। तर, समाजमा गर्बिलो र शक्तिशाली भएर जिउन आइपर्ने दुःखका 'सगरमाथा' र अप्ठ्याराहरूले भने हामीलाई दोधारमा पार्छ, महिलाहरू साँच्चिकै हाँसिरहेछन् कि रोइरहेछन् !
थप सामग्री :
बुझे ह्युमर, नबुझे ट्युमर
के हाँसोले स्वस्थ राख्छ?
रेमिटेन्सले दिएको हाँसो
मेनुमा उपलब्ध हाँसोको डिजाइन
खुशीको स्रोतबारे के भन्छ बौद्ध दर्शन?
‘सजिलो छैन हँसाउन’
हाँस्यो कि नास्यो!
हाँसो : अर्को ‘नेपाली ब्रान्ड’
महिलालाई हाँस्न मात्र होइन, हँसाउन पनि गाह्रो!
नेपालीमा हास्यचेत कति?
मीनले खिचेका ‘मीन्दास’ हाँसो
किन नियन्त्रित छ महिला हाँसो?
हाँसोको समाजशास्त्र : के हाँसो रमाइलो कुरा मात्र हो?