भारतीय ऊर्जा बजारमा विद्युत् प्राधिकरणलाई पहुँच, अब हिउँदमा विद्युत् अभाव नहुने
नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत् खरीद गरी आयात गर्न स्वीकृति पाएको छ। भारतको ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् खरीद गरी नेपाल आयात गर्न सक्ने गरी स्वीकृति प्रदान गरेकाे बुधबार जानकारी दिएको हो।
भारतीय विद्युत् बजारमा उपलब्ध भएको यो पहुँचले अब नेपालको हिउँदे यामको विद्युत् अभावलाई व्यवस्थापन गर्न सजिलो बनाउनेछ। अर्कातिर, भारतीय विद्युत् बजारमा नेपालमा उत्पादित विद्युत् निर्यातका लागि पनि सजिलो हुनेछ।
यो अनुमतिसँगै प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य भएको र यो नेपालको ऊर्जा विकासका लागि एउटा महत्त्वपूर्ण कोशेढुंगा भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। “कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकता अनुसार विद्युत् खरीद गरी आयात गर्न सकिने भएकाले दुई मुलुकबीचको विद्युत् व्यापारका लागि यसको ऐतिहासिक महत्त्व छ,” शाक्यले भने।
उनका अनुसार, ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले अब भारत हुँदै बाङ्लादेशसम्मको विद्युत् व्यापारका लागि अर्को ढाेका समेत खुला भएको छ। नेपालले आगामी वर्षायामदेखि बढी भएको विद्युत् भारतको खुला बजारमा बिक्रीका लागि पहल गर्दै आएको छ।
यसअघि नै प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत् बिक्रीको स्वीकृतिका लागि भारतसँग प्रस्ताव पठाइसकेको छ। पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी र ४५ मेगावाटको भोटेकोशी आयोजनाको विद्युत् वर्षाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरिएको कार्यकारी निर्देशक शाक्यले बताए। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सकिएर यही महीनाको अन्तिमदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन शुरू हुने प्राधिकरणकाे आकलन छ।
भारतीय ऊर्जा बजारमा विद्युत् खरीद र बिक्रीका लागि प्रस्ताव गरेकामध्ये खरीदको स्वीकृति पाएको र बिक्रीका लागि भारतीय पक्षले थप आवश्यक कागजात मागेको शाक्यले जानकारी दिए। आगामी वर्षायामअघि नै भारतले अनुमति दिने र विद्युत् बिक्री शुरू हुने प्राधिकरणको अपेक्षा छ।
प्राधिकरणले अहिलेसम्म एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन), पावर ट्रेड कम्पनी (पीटीसी) तथा बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरक कम्पनीहरूसँग विद्युत् खरीद गर्दै आएको छ। त्यसरी द्विपक्षीय समझदारीका आधारमा खरीद गरिएको विद्युत्भन्दा बढी विद्युत् माग भएका बेला व्यवस्थापन गर्न नसक्दा कतिपय स्थानमा लोडसेडिङ हुँदै आएको थियो। अब भारतीय बजारमा सोझै पहुँच हुने भएकाले नेपालले हिउँदमा भारतीय बजारबाट आवश्यक परिणाममा विद्युत् आयात गर्न पाउनेछ।
यही व्यवस्था अनुसार, प्राधिकरणले तत्काल ३० मेगावाट विद्युत् खरीदको प्रक्रिया अघि बढाइसकेको छ। “भारतीय ऊर्जा बजारबाट विद्युत् खरीद गर्न स्वीकृति पाएकाले तत्काल करीब ३० मेगावाट खरीदको प्रक्रिया अगाडि बढाएका छौं,” श्याक्यले भने।
सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन उल्लेख्य मात्रामा घटेकाले अहिले विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा चाप परिरहेको छ। यद्यपि, आगामी जेठ महीनापछि भने खोलामा पानीको बहाव बढ्ने भएकाले आन्तरिक मागलाई देशभित्रैको उत्पादनले थेग्नेछ।
यस वर्ष पानी पनि नपरेको, हिउँ पनि नपग्लिएकाले वैशाख शुरू हुँदा समेत खोलामा पानीको बहाव बढ्न सकेको छैन। यसले गर्दा नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूबाट विद्युत् उत्पादन घटेको छ।
विद्युत्काे माग बढेको, तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको कार्यकारी निर्देशक शाक्यले बताए। विगत वर्षहरूमा चैतको अन्तिमबाट खोलामा पानीको बहाव वृद्धि भई विद्युत् उत्पादन बढ्ने गरेको थियो। तर, यो वर्ष पानी नबढ्दा प्राधिकरणको स्वामित्वमा रहेका १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ७९ मेगावाटको मर्स्याङ्दी लगायतका विद्युत्गृहहरूको उत्पादन क्षमताको तुलनामा थोरै मात्र उत्पादन भइरहेको छ।
प्राधिकरणको तथ्याङ्क अनुसार, चैतमा प्राधिकरणका आरओआर र अर्धजलाशययुक्त विद्युत्गृहबाट औसतमा २०० मेगावाट, जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रका विद्युत्गृहहरूबाट २०० मेगावाट विद्युत् उत्पादन भएको छ भने भारतबाट ७१० मेगावाट आयात गरिएको छ। प्रणालीमा विद्युत्को उच्चतम माग १ हजार ४६३ मेगावाट, औसत माग १ हजार १५० मेगावाट पुगेको छ।
यो माग पूर्ति गर्न प्राधिकरणका विद्युत्गृहहरूबाट अधिकतम ३४० मेगावाट, कुलेखानीबाट १०३ मेगावाट, निजी क्षेत्रका विद्युत्गृहहरूबाट २०० मेगावाट र भारतबाट अधिकतम ७८० मेगावाट आयात गरिएको छ।
प्राधिकरणका अनुसार, धनुषाको ढल्केबर पूर्वतर्फ विद्युत् आपूर्तिका लागि समस्या छैन। ढल्केबरभन्दा पश्चिम बाँकेको कोहलपुरसम्म विद्युत् माग अधिक रहेको, तर प्रसारण तथा वितरण पूर्वाधार पनि पर्याप्त नरहेकाले आपूर्तिमा समस्या छ। ढल्केबरबाट रौतहटको चन्द्रनिगाहापुरसम्म रहेको १३२ केभी प्रसारण लाइनमार्फत करीब २०० मेगावाट मात्रै विद्युत् प्रवाह हुनसक्छ।
प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ। प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरीद बिक्री (पीपीए) सम्झौता भएको छ। पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ।
वैशाखको अन्तिमबाट ४५६ मेगावाटको माथिल्लो तामाकोशीको एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन शुरू हुने भएकाले माग र आपूर्तिको व्यवस्थापन गर्न केही सजिलो हुने प्राधिकरणको अनुमान छ।