बुझे ह्युमर, नबुझे ट्युमर
धरानको नाम लिने बित्तिकै यसलाई लाहुरेको शहर भन्छन्, मानिसहरू। अनि यसले ‘ट्यापेहरूको शहर’ भन्ने अगतिलो परिचय पनि बनाएको छ, यतातिर आएर। त्यसैगरी कोही कोही यसलाई सुकुमबासीको शहर पनि भन्ने गर्दछन्। अनि यसलाई फेशनको शहर मान्नेहरू पनि छन्। तर, यीबाहेक पनि धरानको चिनारीको छुट्टै एउटा पाटो पनि छ। त्यो पाटो हो– धरानेहरूको रेला गर्ने बानी वा अर्को शब्दमा भन्ने हो भने हँसीमजाक वा ख्यालठट्टा गर्ने रौसे बानी। यस अर्थमा धरानलाई ‘सेन्स अफ ह्युमर’ को शहर भने पनि हुन्छ।
परिचित, चिरपरिचित, अपरिचित र सम्भावित पाठकवृन्द ! म तपाईंहरूलाई फेरि एक पटक धरानको सयर गराउन चाहन्छु, जस्तो मैले यसअघि पनि धेरै पटक गराएको छु। धरान, जहाँ म हुर्कें, लडें, बढें, खेलें र जहाँका स्कूल, कलेजमा मैले पढें। यस पटक पनि पहिले जस्तै म कसैको आग्रहमा र कसैले सुझाएको विषयमा केही कथा कहानी सुनाउन लागेको छु, मूलतः धरानसित सम्बन्धित। यस सिलसिलामा म केही जोक पनि तपाईंहरूलाई सुनाउने जमर्को गर्नेछु।
धरानको नाम लिने बित्तिकै यसलाई लाहुरेको शहर भन्छन्, मानिसहरू। अनि यसले ‘ट्यापेहरूको शहर’ भन्ने अगतिलो परिचय पनि बनाएको छ, यतातिर आएर। त्यसैगरी कोही कोही यसलाई सुकुमबासीको शहर पनि भन्ने गर्दछन्। अनि यसलाई फेशनको शहर मान्नेहरू पनि छन्।
तर, यीबाहेक पनि धरानको चिनारीको छुट्टै एउटा पाटो पनि छ। त्यो पाटो हो– धरानेहरूको रेला गर्ने बानी वा अर्को शब्दमा भन्ने हो भने हँसीमजाक वा ख्यालठट्टा गर्ने रौसे बानी। यस अर्थमा धरानलाई ‘सेन्स अफ ह्युमर’ को शहर भने पनि हुन्छ। चारित्रिक विशेषता बन्न गएको यो ‘सेन्स अफ ह्युमर’ ले गर्दा नै धरानेहरूलाई अरू ठाउँका मानिसहरूबाट अलग्गै छुट्याउँछ। यो चारित्रिक विशेषता टाढाका बासिन्दाका कुरै छाडौं, छिमेकका धनकुटेली वा विराटनगरियाहरूमा समेत पाइन्न।
धरानमा रेला शब्द दार्जीलिङबाट आएको हो, या यसो भनौं दार्जीलिङेहरूले ल्याएका हुन्। घोपामा ब्रिटिश क्याम्प बन्ने काम के थालनी भयो, त्यससँगै आयोजनामा काम गर्नलाई विभिन्न पेशा लिएका मानिसहरू दार्जीलिङबाट आउन थाले। उनीहरूका साथमा आए उनीहरूको बोलीचाली, उनीहरूको रहनसहन, उनीहरूको चालढाल जो रैथाने धरानेहरूका लागि नौला थिए र केही हदमा अनुकरणीय पनि, खासगरी हाम्रो पुस्ताका लागि।
दार्जीलिङेहरू भाषा त नेपाली नै बोल्थे, तर फरक ढङ्गले। उनीहरूको लबज छुट्टै लाग्ने र उनीहरूको शब्दभण्डार पनि हाम्रोभन्दा अलग्गै भएजस्तो लाग्थ्यो। उनीहरूबाटै हामीले सिकेका अभिव्यक्तिका नयाँ पदावलीहरूमा एउटा रेला थियो र हामीले रेला गर्न जान्यौं। ‘हम जायेगा’ सित उनीहरूले नै हामीलाई चिनाए। ‘पिस’ भन्न र सुन्न उनीहरूबाटै सिक्यौं। साथीहरूलाई ‘सोम’ वा ‘पार्टनर’ वा त्यसको छोटकरीमा ‘पाट’ पनि हामीले भन्न थाल्यौं। विस्मय र आश्चर्य व्यक्त गर्न ‘आमा..मा...मा’ भनेर लेघ्रो तान्न लाग्यौं (अचेल त्यो ‘आम्बो’ भएको छ)।
हाम्रो पुस्ता भनेर म त्यस पुस्तालाई इङ्गित गरिरहेको छु जो सन् १९५०को आसपास जन्मेका थिए र सन् १९६० को दशाब्दको लगभग मध्यतिर एसएलसी दिने उमेरमा पुगेका थिए। त्यसैले यहाँ म त्यस समयको सन्दर्भ उप्काउँदा पूरै पुस्ताको सामूहिकता बुझाउने र प्रतिनिधित्व हुने गरी ‘हामी’ सर्वनामको उपयोग गर्नेछु, एकवचनको व्यक्तिपरक ‘म’ होइन।
दार्जीलिङेहरू भाषा त नेपाली नै बोल्थे, तर फरक ढङ्गले। उनीहरूको लबज छुट्टै लाग्ने र उनीहरूको शब्दभण्डार पनि हाम्रोभन्दा अलग्गै भएजस्तो लाग्थ्यो। उनीहरूबाटै हामीले सिकेका अभिव्यक्तिका नयाँ पदावलीहरूमा एउटा रेला थियो र हामीले रेला गर्न जान्यौं। ‘हम जायेगा’ सित उनीहरूले नै हामीलाई चिनाए। ‘पिस’ भन्न र सुन्न उनीहरूबाटै सिक्यौं। साथीहरूलाई ‘सोम’ वा ‘पार्टनर’ वा त्यसको छोटकरीमा ‘पाट’ पनि हामीले भन्न थाल्यौं। विस्मय र आश्चर्य व्यक्त गर्न ‘आमा..मा...मा’ भनेर लेघ्रो तान्न लाग्यौं (अचेल त्यो ‘आम्बो’ भएको छ)।
यसो त उसबखतको धरान त्यति ग्वाँच वा गोक्ते (दार्जीलिङेहरूले बहुधा पाखे वा गँवारका लागि प्रयोग गर्ने विशेषण) थिएन। कंगोका लोकप्रिय नेता प्याट्रिस लुमुम्बाको षड्यन्त्र गरी हत्या हुँदा ‘प्याट्रिस लुमुम्बालाई चिठी’ भनेर कविता लेख्ने विश्वचेत भएका मानबहादुर शाक्यजस्ता जागरुक कविहरू थिए धरानमा। इन्कलाब जिन्दाबादको नारा घन्काउनमा त धरान दुई कदम अगाडि थियो।
स्कूल, हाइस्कूल, कलेज थिए। लाइब्रेरीहरू थिए। साहित्यिक गोष्ठी र ‘सांस्कृतिक कार्यक्रम’ र नाटकहरू प्रायः भइरहन्थे। सिनेमा हल थिए। कलकत्ता, बनारस, दार्जीलिङ, अलाहाबाद गई पढेर आउने ग्य्राजुएटहरू थिए। एक किसिमले धरानमा सबैथोक थिए जो एउटा प्रगतिउन्मुख नगरलाई चाहिन्छन्। जंगलको मुखमा बसेको नगर भए पनि यसले जंगलबाट धेरै परको यात्रा तय गरिसकेको थियो।
जे होस्, पिस भन्ने र रेला गर्ने तौरतरिका चाहिँ शुरूमा दार्जीलिङेहरूबाट धरानले टिपेकै मान्नुपर्छ र कालान्तरमा यसको आफ्नै ढप र ढाँचा पनि विकसित गर्यो धरानले।
हिजोआज जुन कुरालाई जोक भन्ने गरिन्छ, त्यसलाई धरानमा उबेला ‘पिस’ भन्थे। त्यस्तो पिस भन्ने व्यक्ति पिस मास्टर भनेर चिनिन्थ्यो। हाम्रै दाँवलका केही साथीहरू पनि पिस मास्टर भएर निस्किएका थिए। त्यस हुलमा जबर राई अरूभन्दा अगाडि थियो। भेट भयो कि खैनी च्यापेको उसको मुखबाट केही न केही पिस निस्किहाल्थ्यो र साथीभाइलाई हँसाइहाल्थ्यो।
अर्को थियो रमेश खनाल, जो हाइस्कूलदेखि कलेज पढ्दासम्मै मसँगै थियो। ऊ कहलिएको पिस मास्टर बनेको थियो उबेला। ऊ कसरी पिस मास्टर बन्न पुग्यो, त्यो त थाहा भएन। तर, ऊ साथीभाइमाझ पिस भन्न रुचाउँथ्यो र सबैलाई हसाउँथ्यो। यद्यपि ऊ बडी बिल्डर थियो र बडी बिल्डिङलाई उसले धरानमा फेशन नै बनाएको थियो। पाखुरा फुलाएर हिँड्ने अनुयायीहरूको आफ्नै जमात थियो उसको। रमेशले आफ्ना पिसहरूको एउटा संकलन नै छापेजस्तो लाग्छ मलाई। उसले ती पिसहरू कतैबाट बटुलबाटुल पारेको थियो वा आफैंले रचेको थियो, त्यो चाहिँ म भन्न सक्तिनँ, तर उसका कतिपय पिसहरू मलाई अझै याद छन्। सम्झनामा अझै बाँचेको उसको एउटा पिस यस्तो थियोः
एउटा आधुनिक बाबुले आफ्नी तरुनी छोरीलाई भन्छ– “छोरी, तिम्रो ब्वाइफ्रेन्ड उ तल सडकमा उभिइराखेको छ।”
छोरी बडो उत्साहित भएर सोध्छे– “बाबा, ऊ मेरो ब्वाइफ्रेन्ड हो भनेर कसरी चिन्नुभयो?”
बाबु चाहिँको उत्तर– “उसले मेरो ओभरकोट लगाइराखेको छ, किन नचिन्नु?”
लाइब्रेरी गइराख्ने हुनाले विशेषगरी हिन्दी पत्रिकाहरूमा प्रकाशित कार्टून शृंखला र चुट्किलाहरू हाम्रा पहुँचभित्र थिए। साप्ताहिक ‘धर्मयुग’मा छापिने व्यंग्य चित्रकार सुरतीको ढब्बुजी कार्टून हामीलाई औधी नै मन पर्थ्याे। तीन कोष्ठकमा छापिने ढब्बुजीका रंगीन कार्टून चित्र कथा खुबै रमाइला हुन्थे। सम्झनामा अझै ताजा छन् कैयन् ढब्बुजीका कार्टून कथा। एउटा नमूनाः
बिहे हुन लागेको एउटा तन्नेरीलाई ढब्बुजी भन्छन्– “बधाई छ नौजवान, आज तिम्रो जिन्दगीको सबैभन्दा खुशीको दिन हो?” बधाई पाएर तन्नेरी भन्छ– “ढब्बुजी, तपाईं मेरो जिन्दगीको सबैभन्दा खुशीको दिन आज हो भन्नुहुन्छ। मेरो बिहे त भोलि पो हुँदै छ।” ढब्बुजी भन्छन्– “यसैले त भनेको, आज तिम्रो सबैभन्दा खुशीको दिन हो भनेर !
ब्रिटिश लाइब्रेरीमा चाहिँ कार्टून र व्यंग्यचित्रमय ‘पञ्च’ र ‘म्याड’ जस्ता पत्रिका पनि हेर्न भ्याउँथ्यौं। यद्यपि कार्टूनहरू हेरेर रमाइलो मान्नुबाहेक ब्रिटिशहरूको ‘सेन्स अफ ह्युमर’ जताउने त्यहाँका लेखोटका सूक्ष्मता राम्ररी बुझ्ने सामर्थ्य हामीमा विकसित भइसकेको थिएन।
सिनेमाले पनि हुनुपर्छ, विनोदप्रियताको हाम्रो रुझानलाई मलजल गरेको। हेर्नलाई हामी हुरुक्क हुने हिन्दी फिल्महरूमा कमेडियनहरूको भूमिका निकै बलियो हुँदै गएको बेला थियो त्यो। उता, अंग्रेजी सिनेमाका चार्ली च्याप्लिन अनि लरेल एन्ड हार्डीजस्ता हस्तीहरूको दर्शन पनि यदाकदा पर्दामा गर्न पाइन्थ्यो।
पछाडि फर्केर हेर्दा, त्यो समय नै त्यस्तो थियो जस्तो लाग्छ, जसले हाम्रो पुस्तालाई यस्तो खालको साँचोमा ढालिदियो। हामीअघिको पुस्तामा त्यस्तो ह्युमरको बिउ उम्रनै पाएन कि जस्तो लाग्छ। फेरि धरानमा उबेला यस्ता यस्ता ‘क्यारेक्टरहरू’ थिए, जसबारे अनेक जोकहरू प्रचलित थिए, जो हाम्रो हास–परिहासका विषय हुन्थे। हाम्रा पिस मास्टरहरू तिनलाई सुनाई हिँड्थे। जोक नबनेको कुनै चल्तीको मान्छे नै पो थिएन कि जस्तो भान हुन्थ्यो।
यस्ता धेरै जोक बनेका दुई जना स्टार क्यारेक्टरहरूको यहाँ उल्लेख गर्नु सान्दर्भिक होला। त्यसमा सबैभन्दा पहिले नाम आउँछ, धरान पब्लिक हाइस्कूलका शिक्षक देवलाल सरको। रमेश खनालले नै देवलाल सरको विषयमा कैयन् पिस बनाएको थियो। संयोग, ऊ मजस्तै देवलाल सरको शिष्य त छँदै थियो, सरको छिमेकी पनि थियो। त्योबाहेक अरू चेलाहरूले पनि देवलाल सरबारे किस्सा कहानीहरू आआफ्ना हिसाबले लेखेका छन्। तिनमा कति मनगढन्ते थिए र कति वास्तविक, त्यो छुट्टै कुरा हो।
देवलाल सरको स्वभाव गम्भीरे थियो र झडंगे रिस भएको। उनको यही स्वभावले जन्माएको थियो उनीबारेका पिसहरू, उनी रमाइला वा रौसे भएर होइन। विद्यार्थीहरू उनीसित जति डराउँथे, त्यति नै उनको क्लासमा रमाउँथे पनि। सरलाई उत्तेजित पार्न नानाथरी प्रश्न गर्थे। उनका जवाफ पनि दोटुक हुन्थे। जस्तोः
सर, हलिउड भनेको के हो?
उत्तरः एकप्रकारको काठ हो, बस्।
‘सर, यसले मलाई तेरो बाउ भन्यो।’
उत्तरः तेरो बाजे भन्दे।
तर, कुनै कुराबाट सन्किए भने विद्यार्थीलाई बोलाएर भकुर्नु भकुर्थे। भकुर्ने उनको आफ्नै स्टाइल थियो। आफू कुर्सीमा बसेका हुन्थे र भकुराइका लागि छानिएको विद्यार्थीको मुन्टो आफ्नो काखमा जोताएर ढाडमा ढ्यामढ्याम मुट्ठी प्रहार गर्थे। बाँधिएको मुट्ठीको हत्केलातिरबाट हिर्काउने हुनाले दुखाइ कम, तर आवाज र प्रभाव भने ठूलो हुन्थ्यो। बदमासी गर्ने वा पाठ नबुझाउने विद्यार्थीले त्यो शारीरिक दण्डसजाय भोग्नुपर्थ्याे। देवलाल सरको त्यो मुष्ठीप्रहार नव्यहोरेका शायदै कोही विद्यार्थी थिए, धरान पब्लिक हाइस्कूलबाट एसएलसी पास गर्ने। पाठ धेरैजसो पुस्तकको कुनै अंश कण्ठाग्र सुनाउनुपर्ने हुन्थ्यो। आखिर घोकन्ते विद्याको जमाना थियो। तर, देवलाल सरको चित्त बुझाउन त्यति गाह्रो थिएन। पाठ पूरै अनुच्छेदको बुझाउनुपर्ने भए पनि शुरूको एउटा वाक्य ठीकसित भनिदिएपछि बाँकी पदावली देवलाल सर आफैंले पढिदिने।
देवलाल सरको गीत प्रस्तुति झन् विशेष ढंगको हुन्थ्यो। सुर, ताल र स्वरको कुनै सम्बन्ध गीतसित हुँदैनथ्यो। तर, स्कूलको कुनै विशेष भेलामा मूड भए गाउन भनेर आफैं अघि सर्ने। गीत के भन्नु, त्यो एक प्रकारको सप्रसंग व्याख्या हुन्थ्यो। जस्तो, ‘विश्वमा अग्लो हिमाल, काखमा हाम्रो नेपाल’ गीत सरको फेभरेट थियो र त्यसको पहिलो पंक्ति आफ्नै तालले गाएपछि त्यसको व्याख्या आउँथ्यो। सगरमाथाको नाम, उचाइ, भौगोलिक अवस्थितिदेखि लिएर तेन्जिङ शेर्पासम्मको उल्लेख गरेपछि बल्ल दोस्रो पंक्ति गाउँथे। एवं रितले प्रत्येक हरफको व्याख्या गर्दा एउटा गीत सिध्दिनलाई लाग्थ्यो, घटीमा १२–१५ मिनेट। अनि सर हिँड्ने सधैं पेट खराब भएर शौचालयतिर दौडेजसरी। यिनै आनिबानीले गर्दा जीवनकालमै एउटा आख्यान बन्न पुगे देवलाल सर।
धरानका अर्का रंगीन ‘क्यारेक्टर’ थिए, रामकृष्ण डेन्टिस्ट। सेतो हाफ प्यान्ट र आधा बाहुलाको सेतै कमीज अनि आँखामा कालो चश्मा चढाएर उनी बेलुकीपख निस्कन्थे, आफ्नो भटभटेमा धरान बजारको सयर गर्न। ‘बिएसए’ वा ‘ट्राइम्प’ यस्तै कुनै मोटरसाइकल थियो जसको आवाज टाढैबाट सुन्न सकिन्थ्यो। अघिल्तिर हावा छेल्ने भाइजर राखिएको हुन्थ्यो। उबेला मोटरसाइकल हुने र चढ्ने उनी धरानमा शायद एक्ला थिए। धेरै पछि हो, माधवराज जोशीले सानो पांग्राको स्कूटर ल्याएर चढेका।
कुनै ठूलो फूटबल म्याचको फाइनल रामकृष्ण डेन्टिस्टले दुवै टीमको ग्रूप फोटो नखिची शुरू हुँदैनथ्यो। लहरै उभिएर खेलाडीहरू फोटोका लागि तयार भइसकेपछि बल्ल यासिकाको बक्स क्यामेरा घिच्रोमा झुन्ड्याएर रामकृष्ण डेन्टिस्ट मैदानमा बिना हतारो आरामसित पदार्पण गर्थे, कुनै विशिष्ट अतिथिजस्तो। तर, उनले खिचेको फोटो पाउने कुरा त परै जाओस्, हेर्न पनि पाउन्नथे फोटो खिचाउने खेलाडीहरूले। मानिस भन्थे– उनको क्यामेरामा रील नै हुँदैनथ्यो रे। केवल शान देखाउन उनी तस्वीर लिन मैदानमा ओर्लन्थे।
मलाई लागेको थियो, हाम्रो पुस्ताको पलायनसँगै पिस भन्ने र रेला गर्ने चलन धरानबाट हरायो। तर, असलमा त्यो अटुट र अझै दह्रो रहेको कुरा १२–१३ वर्षअघि मैले अनुभूत गर्न पाएँ, धरान मंगलबारेका युवाहरूसित एक साँझ बिताउँदा। जसकुमार राई र मोजेज राईका ननस्टप पिस प्रस्तुतिले उत्पन्न गराएको हाँसोको फोहोराले पेट बाउँडिने अवस्थामा पुगेको थियो, मेरो र लेखिका मञ्जुश्रीको, जसको सम्मानमा मंगलबारेका भाइहरूले एउटा अन्तरंग भेलाको आयोजना गरेका थिए। मोजेज भाइ आफू बिल्कुल नहाँसी अरूलाई हुरुक्क पार्ने गुण भएका पिस मास्टर हुन्।
त्यसैगरी, कुनै नृत्य संगीतको कार्यक्रममा मन परेको कलाकारलाई नगद पुरस्कार दिनु उनको अर्को शोख थियो। माइकमा घोषणा हुन्थ्यो– डेन्टिस्ट रामकृष्णले फलानालाई रू. १० पुरस्कार दिनुभयो । र, उनी स्टेजमा गएर आफ्नै हातले कलाकारलाई दिन्थे नगद पुरस्कार।
एक पटक त्यस्तो दश रुपैयाँको नगद पुरस्कार सबैले कान्छा भनेर चिन्ने यमकुमार राईले पाए, उनको नृत्यमा। यमकुमार कान्छाले नै बताए अनुसार १० रुपैयाँको नगद पुरस्कार थापेको भोलिपल्ट बिहानै रामकृष्ण डेन्टिस्टका अनुचर उनकहाँ आयो र भन्यो– “डाक्टर साबले भनेको हिजो उहाँले दिएको १० रुपैयाँ फर्काउनु रे।” यमकुमार कान्छाले “डाक्टर साबले मलाई इनाम दिएको कहाँ फर्काउँछु” भनेर फर्काउन मानेनन् र अनुचर खाली हात फर्क्याे। त्यसपछि अर्को कुनै दिन रामकृष्ण डेन्टिस्टले यमकुमारलाई बाटामा भेट्दा पैसा किन नफर्काएको भनी सोधे। यमकुमारले भने, “मलाई इनाम दिएको पैसा पनि म कहाँ फर्काउँछु त?” रामकृष्ण डेन्टिस्टको जवाफ यस्तो थियो, “कान्छा, अब म तँलाई कहिले पनि इनाम दिन्नँ।”
मलाई लागेको थियो, हाम्रो पुस्ताको पलायनसँगै पिस भन्ने र रेला गर्ने चलन धरानबाट हरायो। तर, असलमा त्यो अटुट र अझै दह्रो रहेको कुरा १२–१३ वर्षअघि मैले अनुभूत गर्न पाएँ, धरान मंगलबारेका युवाहरूसित एक साँझ बिताउँदा। जसकुमार राई र मोजेज राईका ननस्टप पिस प्रस्तुतिले उत्पन्न गराएको हाँसोको फोहोराले पेट बाउँडिने अवस्थामा पुगेको थियो, मेरो र लेखिका मञ्जुश्रीको, जसको सम्मानमा मंगलबारेका भाइहरूले एउटा अन्तरंग भेलाको आयोजना गरेका थिए। मोजेज भाइ आफू बिल्कुल नहाँसी अरूलाई हुरुक्क पार्ने गुण भएका पिस मास्टर हुन्।
पिस भन्नमा उत्तिकै माहिर जसकुमार केही सालदेखि अमेरिकामा छन्, तर फेसबूक र मेसेन्जरमा पिस पेल्न छाड्दैनन्। उता बसेर पनि उनी धराने ‘लिङ्गो’ वा बोलीहरूको संग्रह गरेर शब्दसूची तयार पार्दै छन्। ‘तोङ्ग्स’ र ‘बोङ्ग्स’ (धराने बोलीमा तोङ्बा र बंगुरको मासु) जस्ता शब्दहरू एकत्रित पारेर अरूको ‘गिदी ह्याप्स’ गर्ने प्रयास गर्दै छन्, जसले ‘पिस मेकिङ’ कार्यप्रति उनको अनुराग दर्शाउँछ। यी दुवै भाइका पिस प्रायशः जीवनका वास्तविक घटनामा आधारित लाग्दछन्। चरित्रहरू पनि बहुधा वरपरका चिनेजानेकै हुन्छन्– छिमेकका भाउजू, बडा, मामा, छ्यामा, काका, सोल्टी आदि। भएकै घटनालाई पनि हास्यरसको लेपन लगाएर प्रस्तुत गरिँदा चोटिला ‘अर्ग्यानिक’ जोकहरू बन्छन्। त्यस्तै अर्ग्यानिक जोकको एउटा नमूनाः
मंगलबारेका पाँच–छ जना तन्नेरीहरूको एक झुन्ड एक पटक दार्जीलिङ घुम्न भनेर गएछ। अरूभन्दा अलिक सिनियर देखिने एउटालाई चाहिँ झुन्डका सबैले ‘क्याप्टेन’ भन्दा रहेछन्। केही दिन घुमफिर गर्दागर्दै भएको चिनजानमा दार्जीलिङकी एउटी ठिटी क्याप्टेनसित पट्टिइछे। क्याप्टेनलाई पनि मन पर्यो। चट मंगनी, पट बिहा। साथीहरू जन्ती भइहाले, क्याप्टेनले त्यस ठिटीलाई सिन्दूरपोते गरेर दुलही बनाई ल्याएछ। नवदुलहीलाई ब्रिटिश गोर्खाको क्याप्टेनसित बिहे गरें भन्ने लागेको रहेछ। तर, एक महीना, दुई महीना गर्दै सात–आठ महीना बितिसक्दा पनि दुलहा पल्टन फर्कने कुरा गर्दैन। बिहान–बेलुकै फुटबल खेल्न जान्छ, साथीभाइसँग घुमी मात्र हिँड्छ। छुट्टी केवल ६ महीनाको हुन्छ भन्ने सुनेकी थिइन्। हदै भयो भनेर दुलहीले भनिछिन्ः “औ ! तिम्रो छुट्टी सकिएन? तिमी पल्टन जानु पर्दैन?”
क्याप्टेनले भनेछः “केको पल्टन? केको छुट्टी ?”
“अनि तिमी गोर्खा क्याप्टेन होइनौ ?”
“म त मंगलबारे फूटबल टीमको पो क्याप्टेन, कहाँको हुनु गोर्खा क्याप्टेन ?”
दुलही खङ्ग्रङङ् !
यो त भयो, भएकै कुराको वर्णन। रमाइलो त भाइहरूले किस्साको बीट मार्दा पो हुन्छ त। उनीहरू भन्छन्ः “अनि क्या त ! त्यो फलाना दाजुले त्यसरी त भाउजूलाई ल्याएको। त्यो भाउजूले अझै पनि भनिबस्छ त, तिमारको दाजुले मलाई झुक्याएर ल्याएको भनेर। ”
भवानी बराल यतातिर आएर धरानका नामी पिस मास्टर बनेका छन्। पेशाले पत्रकार भवानी गम्भीर विषयमा कलम चलाउँछन्, जस्तो मुलुकको संघीय संरचना कस्तो हुनुपर्छ वा लिम्बूवान राज्य किन हुनुपर्छ आदि आदि, तर व्यक्तिगत तवरमा पिसका चल्तापुर्जा पुलिन्दा हुन्। उनको जिब्रो समय र परिस्थिति अनुसारको पिस ओकल्न जतिखेर पनि तम्तयार रहन्छ। यिनको जोकका मुख्य पात्र प्रायः तुम्बाहाम्फे थरको कुनै व्यक्ति हुने गर्छ। सुन्नेहरूलाई त्यसले गर्दा जोकमा विश्वसनीयताको पुट मिल्छ।
भवानीको तुम्बाहाम्फे शृंखला जोकको एउटा नमूनाः
धरान–बिराटनगर चल्ने बस इटहरीमा केही बेर रोकिन्थ्यो र त्यतिबेला यात्रुहरू सीट रोक्का राखिराख्न त्यसमा केही सामान छाडेर बाहिर निस्कन्थे। एक जनाले आफू बसिराखेको सीटमा रुमाल राखेर बाहिर शौचादिका लागि गयो। फर्केर आउँदा त रुमाल राखेको सीटमा तुम्बाहाम्फेजीलाई बसिराखेको पायो। उसले त्यो सीट आफ्नो भएको दाबी गर्यो। तुम्बाहाम्फेजीले सीट तिम्रो हो भन्ने के प्रमाण छ भने। यात्रुले भन्यो– मैले यहाँ मेरो रुमाल राखेको थिएँ। त्यसमा तुम्बाहाम्फेजीको प्रतिवाद यस्तो थियोः
“ए, तिमीले सिंहदरबारमा गएर प्रधानमन्त्रीको कुर्सीमा रुमाल राख्छौ रे, रुमाल राख्दैमा प्रधानमन्त्रीको कुर्सी तिम्रो हुन्छ?”
जोकहरू प्रायः अरूप्रति आरोपित हुने गर्छन् र त्यसो गर्नु सजिलो पनि हुन्छ। तर, आफैंप्रति आरोपित जोक कसैले सुनाउँछ भने, त्यो चाहिँ निकै साहसिलो काम मान्नुपर्छ, जस्तो, प्रख्यात भारतीय लेखक खुशवन्त सिंहले गर्ने गर्थे। उनी मौका पाउनासाथ आफ्ना लेखोटमा जोक छिराइहाल्थे र उनको जोक संग्रहको किताबै निस्किएको थियो। तर, उनका जोकका विषय र पात्र मूलतः पगरीधारी सरदारजी हुन्थे, जुन समुदायको सदस्य उनी आफैं थिए। उहिले उनले सम्पादन गर्ने ‘दि इलुस्ट्रटेड विक्ली अफ इन्डिया’ मा उनले छापेको एउटा जोक यहाँ उल्लेख गरिहालौं।
दुई जना शान्ता सिंह र बन्ता सिंह नामका सरदारजी अस्ट्रेलियाको कुनै शहरमा बस्थे। उनीहरू साथी थिए र बेलाबखत भेट्थे। एक दिन शान्ता सिंह बन्ता सिंहलाई भेट्न आउँछ, एकदम चमचम चम्किने नयाँ क्याडिल्याक कारमा। बन्ता सिंह तीन छक्क! हिजोअस्तिसम्म रोजगारीको खोजीमा थियो शान्ता सिंह। “कसरी पाइस् यार, यस्तो दामी कार?” बन्ता सिंहले सोध्छ। शान्ता सिंह साथीलाई बताउँछ, उसले कसरी कार पायो, भन्छ, “म कामको खोजीमा हिँड्दै थिएँ, एउटी सुन्दरी तरुनी मेमले गाडी रोकेर मलाई गाडीमा बसाइन्। तिनले मलाई लामो ड्राइभमा लगिन्। शहरबाट टाढा पुगेपछि जंगलबीच एकान्त ठाउँमा लगेर गाडी रोकिन्। अनि गाडीबाट बाहिर निस्केर आफ्नो वस्त्र एक एक गरेर खोल्दै भनिन्– यङ्ग म्यान ! मेरो जवानी, यो कार सबै तिमीलाई सुम्पन्छु। जे लिन मन लाग्छ लेऊ, तिम्रै हो।
...अनि मैले यो कार रोजें र लिएँ। ”
यस कुरामा म रमेश खनाललाई पनि क्याबात भन्छु । उसको साहस र निष्पक्षताका लागि, जसले उसैबेला अहिलेको सन्दर्भमा ‘पोलिटिकल्ली इन्करेक्ट’ जोक सुनाई हिँड्थ्यो, जो उसको आफ्नै समुदायप्रति आरोपित वा लक्षित थियो। कुनै बसबाट लिम्बू, नेवार र बाहुन कसरी ओर्लन्छन्? रमेशको जोक अनुसार उनीहरू यसरी ओर्लन्छन्ः
एउटा लिम्बू सीटबाट जुरुक्क उठ्छ र दायाँबायाँ कतै नेहरी बसबाट फुत्त निस्कन्छ। एउटा नेवार सीटबाट उठेपछि आफ्नो कुनै सामान छुट्यो कि भनी खाली सीटमा फर्केर हेर्छ। एउटा बाहुन सीटबाट उठेपछि कसैले सामान छाड्यो कि भनी वरपर हेर्छ।
एक जना खनालको आफ्नै जात समुदायलाई पेच पर्ने यस्तो जोक सुनेर हामीलाई उबेला केही फरक पर्दैनथ्यो। अचेल पर्छ कि, थाहा छैन।
जोक सुन्नु र सुनाउनुको मजा त्यतिखेर आउँछ, जतिखेर वक्ता र श्रोताबीच बुझाइमा तादात्म्य हुन्छ। सुन्नेमा आवश्यक ग्रहणशीलता भएन भने, त्यो बालुवामा पानी खन्याएजस्तो हुन्छ। कसैले जोकलाई अभिधा अर्थमा या ठाडो गरी लिइदियो भने, जोक भन्ने आफैं जोकर हुन्छ। यस्तै एउटा घटना स्वर्गीय अम्बर गुरुङले यस पंक्तिकारलाई सुनाउनुभएको थियो।
गम्भीरे थियो अल्पभाषी अम्बर गुरुङको स्वभाव। तर, कसरी हो र कुन मूडमा आएर हो, उहाँले एकपटक रेडियो नेपालमा सहकर्मीहरूमाझ एउटा जोक सुनाउनुभएछ। त्यो यस्तो रहेछः
एक जना मानिसको बानी सधैं सुत्नुअघि चुरोट खाएर चुरोटको ठुटालाई झ्यालबाट स्वाट्ट बाहिर फ्याँक्ने र आफू ओछ्यानमा जम्प गरेर ढ्याम्म सुत्ने रहेछ। रोज ऊ यही गर्दो रहेछ। एक रात भने उसले चुरोटको ठुटालाई ओछ्यानमा फालेछ र आफू चाहिँ झ्यालबाहिर जम्प गरेछ।
त्यो जोक सुनेर त्यहाँ भएका कोही हाँसेनन्, अपितु एक जनाले गम्भीर हुँदै भनेछन्, “साँच्चै अम्बरजी, मलाई पनि एकपटक त्यस्तै भएर झ्यालबाट फाल हालूँ जस्तो लागेको थियो।”
जोक भन्नु र त्यसको गुदी कुरा सुन्नेले नबुझिदिनु जस्तो ‘रड्डी’ केही हुँदैन। बडो खल्लो र बेस्वाद हुन्छ, जोक भन्नु निरर्थक हुन जान्छ। यस्तो अवस्थामा जोक भन्ने मान्छे आफैं जोकर बन्न पुग्छ। तर, जसमा ‘सेन्स अफ ह्युमर’ या हास्यचेतको अभाव हुन्छ, त्यसमा त्यो चेत रोप्न सकिन्न। ऊ सदा ‘ट्युबलाइट’ नै रहिरहन्छ। ह्युमरले प्रत्युत्पन्न मतिको पनि माग गर्दछ। त्यसलाई दर्शाउने केही उदाहरणहरू हेरौंः
१) रोनाल्ड रेगन अमेरिकाको राष्ट्रपति हुँदा एक पटक उनको हत्या प्रयास भएको थियो र उनको शरीरमा गोली लागेको थियो। गोली निकाल्न अप्रेसन कक्षमा लैजाँदै गर्दा विनोदप्रियताका लागि चिनिएका रोनाल्ड रेगनले आफ्नी पत्नी न्यान्सीलाई स्ट्रेचरबाटै भनेका थिएः “सरी हनी, मैले गोली छल्न बिर्सें।”
स्मरणीय के छ भने, रोनाल्ड रेगन एकताका हलिउडका काउब्वाई फिल्महरूमा खेल्ने अभिनेता थिए र उनी ठट्यौले मिजासका लागि चिनिन्थे।
२) मेरा अमेरिकी मित्र रोन स्मिथले मलाई सानफ्रान्सिस्कोबाट गाडीमा दुई घण्टा लाग्ने मोन्तेरे बे एरिया घुमाउन लैजाँदा बाटामा पर्ने अरू प्रसिद्ध स्थलहरू पनि देखाउँदै लगे। त्यसक्रममा सडकहरूको एउटा जङ्क्सनमा उनले बाटो बिराए। गाडीको म्याप हेर्दाहेर्दै पनि उनी अलमलिएका थिए। यस्तोमा पछिल्लो सीटमा बसिरहेकी उनकी पत्नी जुडीले भनिन्ः “प्रिय, तिमीलाई थाहा छ, तिमी कहाँ गइरहेछौ?” बाटो पहिल्याउन नसकेकोमा केही लज्जित रोनको जवाफ यस्तो थियोः “मलाई थाहा छ प्रिय, म कहाँ गइरहेछु भन्ने। तर, मलाई थाहा छैन, म कहाँ छु।”
(नं १ र २ को प्रसंगलाई अंग्रेजीमै सुन्न पाए झनै स्वाद आउने थियो l)
३) क्यान्सर रोगले च्यापेकाले इतिहासकार डा. कुमार प्रधानलाई बागडोगराबाट विमानमा उपचारका लागि दिल्ली लगिँदै गर्दा उनले आफ्नो परिवारलाई यसो भनेका थिए रेः “म ठूलै मान्छे भएँ कि क्या हो? तिमीहरूले मलाई दिल्ली लैजाँदै छौ। म कतै चीफ मिनिस्टर त भइनँ?”
(यो कुरा पंक्तिकारले डा. कुमार प्रधानकी छोरीबाट थाहा पाएको)
४) साप्ताहिक ‘समीक्षा’को सम्पादक हुँदा मदनमणि दीक्षितले राजा महेन्द्रसित राजदरबारमा भेट पाउने भए। उबेला मेटल डिटेक्टरको चलन आएको थिएन र भेट्न बोलाइएको व्यक्तिको खानतलासी लिने कुरा पनि आएन। बैठक कोठाबाट उनलाई राजा महेन्द्रको कार्यकक्षमा लिएर जाने राजदरबारका उच्चपदस्थ अधिकारीले मदनमणि मास्टरसाहेबलाई हलुका ढंगले सोधेछन्ः “दीक्षितजी, हतियार त बोक्नुभएको छैन नि?”
मास्टरसाहेबले गम्भीर भएर भनेछन्, “बोकेको छु।”
सिँढी चढ्दाचढ्दै टक्क अडिएर ती अधिकारीले विस्मयपूर्वक मास्टरसाहेबलाई हेरेछन्। तिनको चिन्ता बुझेर मास्टरसाहेबले कमीजको बायाँ खल्तीमा भिरेको कलम देखाउँदै भनेछन्ः “यी यही हो मेरो हतियार।”
(यो प्रसंग यस पंक्तिकारलाई एक उच्चपदस्थ प्रहरी अधिकृतले झन्डै चार दशकअघि सुनाएका थिए, मास्टरसाहेबले होइन।)
५) राजा वीरेन्द्रसित तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको एक पटकको दर्शनभेटमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र पनि उपस्थित थिए। राजतन्त्र उन्मूलन गरिने चर्चा चलेबाट केही क्रूद्ध ज्ञानेन्द्रले त्यस मौकामा भट्टराईलाई आक्रामक पाराले सोधेछन्ः “के हो प्रधानमन्त्रीजी, के अब हामीले भूतपूर्व अधिराजकुमार हुनुपर्ने ?”
भट्टराईले तत्काल फ्याट्ट भनेछन्ः “सरकार त भूतपूर्व महाराजाधिराज नै होइबक्सन्छ नि !”
जवाफ सुनेर राजा वीरेन्द्र मरीमरी हाँसेछन्। ज्ञानेन्द्रले रातो मुख लाए। कुरा त्यहीँ सेलायो, अगाडि बढेन।
(यो कुरा पंक्तिकारले दरबार नजिकका एक राजनीतिक व्यक्तिको मुखबाट सुनेको)
माथि उल्लिखित प्रसंगमा अन्तरनिहित व्यञ्जना र प्रत्युत्पन्न मतिको अभिव्यञ्जनाबाट देख्न सकिन्छ, ह्युमर कति सूक्ष्म, तीक्ष्ण, स्वतस्फूर्त र शालीन हुनसक्छ। कठिन र जटिल परिस्थितिमा पनि कसरी मानिसको हास्यचेत प्रकट हुन्छ। त्यसलाई आत्मसात् गर्ने खुला मन चाहिन्छ। जोक उच्छृंखल, घटिया र सस्तो हुनपर्छ भन्ने छैन।
तर, त्यस्तो अभिव्यञ्जनालाई सुन्नेले त्यही अर्थमा बुझे भने त रमाइलो हुन्छ, त्यो ह्युमर हुन्छ, त्यसले हाँसोको फोहोरा छुटाउँछ। तर, सुन्नेले अर्को अर्थमा बुझिदियो या सुन्ने मान्छे बोधो छ भने, जोकले झोक उठाइदिनसक्छ। रेला गर्ने आफैं फेला पर्नसक्छ। कसैको अबुझपनले जिन्दगीभरिको दुश्मनी पैदा गरिदिनसक्छ। कता कता मलाई लाग्छ, मेरो वाग्विलासकाे बानी र चञ्चल जिह्वाका कारण मैले पनि फ्वाँक्कैमा मानिसहरूलाई चिढ्याएको छु।
पाठकवृन्द, आजको यस सयरलाई यहीँ टुंग्याउने अनुमति माग्छु। जाँदाजाँदै एउटा हिदायत पनि दिन चाहन्छु। जोक गर्ने या ठट्टा गर्ने वा आफ्नो सेन्स अफ ह्युमर व्यक्त गर्दाखेरि केही सावधानी अपनाउनु जरुरी छ। ग्रहणकर्ता र माहोल कस्तो छ, त्यो याद गर्नुहोस्। नत्र ख्यालख्यालमा झ्याल पर्न सक्छ। बुझ्नेलाई कुरा गहिरो, नबुझ्नेलाई घरछेउमा पहिरो भनेजस्तो हुन्छ। अर्थात्, बुझे ह्युमर, नबुझे ट्युमर हुनसक्छ।
थप सामग्री :
के हाँसोले स्वस्थ राख्छ?
रेमिटेन्सले दिएको हाँसो
मेनुमा उपलब्ध हाँसोको डिजाइन
हिन्दू पितृसत्ताले थिचेको महिलाको हाँसो
खुशीको स्रोतबारे के भन्छ बौद्ध दर्शन?
‘सजिलो छैन हँसाउन’
हाँस्यो कि नास्यो!
हाँसो : अर्को ‘नेपाली ब्रान्ड’
महिलालाई हाँस्न मात्र होइन, हँसाउन पनि गाह्रो!
नेपालीमा हास्यचेत कति?
मीनले खिचेका ‘मीन्दास’ हाँसो
किन नियन्त्रित छ महिला हाँसो?
हाँसोको समाजशास्त्र : के हाँसो रमाइलो कुरा मात्र हो?