मेनुमा उपलब्ध हाँसोको डिजाइन
हाम्रो मानसिक स्वास्थ्यसँग हाँसोको प्रत्यक्ष सम्बन्ध छ। त्यसलाई बुझेर संसारभर हाँस्ने क्लबहरू खुलेका छन्। मानिससँग हाँस्दा सुन्दर देखिने प्राकृतिक गुण छ। हामी श्रृंगार गरेर हाँसोलाई आफूले चाहेजस्तो बनाउन सक्छौँ।
मन प्रसन्न भए अनुहारमा मुस्कान झल्कन्छ। अचम्मलाग्दा दृश्य र आवाजले पनि हसाउँछन्। मान्छे हाँस्ने अनेक कारण छन्। जस्तो, भुँडीमा काउकुती लगाउँदा आउने हाँसो, हास्य कलाकारहरूको प्रस्तुतिले निकाल्ने हाँसो, साना नानीहरूका उट्पट्याङ कार्य वा बोलीले दिने हाँसो आदि।
यसबाहेक अर्को हुन्छ, नक्कली हाँसो। मन खुशी वा प्रसन्न छैन, तर हाँस्नुपर्ने बाध्यता हुनसक्छ। प्रायः राजनीतिकर्मी, कलाकार, सेलिब्रिटीहरूलाई सामाजिक सञ्जाल र मिडियामा हाँसेको देखिनुपर्छ। कार्यक्रम प्रस्तोता, समाजका कहलाइएका अन्य व्यक्ति वा आतिथ्य व्यवसायमा संलग्नहरूले पनि मुस्कुराइरहनुपर्छ। इच्छा नभए पनि खिस्स हाँस्नैपर्छ। मुस्कानले संवादको लागि छिटो र सजिलो वातावरण बनाइदिन्छ।
कतिपय मानिसलाई तस्वीरहरूमा सधैं मुख बन्द गरेको देखिन्छ। उनीहरू प्रायः गम्भीर देखिन्छन्। मान्छे हाँस्न डराउनुमा मुख्यतः तीन वटा परिस्थिति हुन्छन्:
१. मनदेखि दुःखी, अप्रसन्न र अन्तरमुखी स्वभावका मानिस खुलेर हाँस्दैनन्।
२. हाँस्दा अनुहार नराम्रो देखिन्छ भन्ने ठान्ने वा दाँत राम्रो नभएकाहरू तस्वीर खिच्दा प्रायः हाँस्दैनन्।
३. मोडलहरूले तस्वीर खिच्दा निर्देशकले भने बमोजिम कि गम्भीर हुन्छन्, कि नक्कली हाँसो हाँस्छन्। उनीहरूको मुस्कानले पाठकको ध्यान अनुहारतर्फ जाने हुँदा विज्ञापन गरिएको वस्तु वा सेवा छायामा पर्छ। त्यसैले मोडलहरूको नहाँसेको अनुहार छापिन्छ।
हाँसो वा मुस्कानको वास्तविकता बुझ्न पश्चिमा होइन, पूर्वीय संस्कृति वा दर्शन बुझ्नुपर्छ। हाँसो र अनुहारको भावलाई भरतमुनि रचित नाट्यशास्त्रमा असाध्यै राम्रोसँग वर्णन गरिएको छ। त्यहाँ अनुहारको भाव र हाँसोको सम्बन्ध देखाइएको छ। हाँसोका विभिन्न प्रकार उल्लेख छ।
आधुनिक दन्त चिकित्सा विज्ञान पढेको म प्रख्यात ‘हलिउड स्माइल’ बाट प्रभावित थिएँ। सन् १९९९ मा मेरो अध्यक्षतामा हाँसोको सौन्दर्यसँग सम्बन्धित व्यावसायिक संगठन नेपाल एकेडेमी अफ एस्थेटिक डेन्टिस्ट्री (एनएसीएडी) को स्थापना भयो। त्यसपछि यो विषयमा स्वाध्ययन थालें।
हाँसो र अनुहारको सौन्दर्यका विषयमा हुने अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सन् २००२ बाट भाग लिन थालें। त्यसबखत मैले दन्त सौन्दर्य विधामा दिन सकिने नयाँ विषय खोज्न आवश्यक ठानेँ। दक्षिण कोरियामा सन् २००२ मा सम्पन्न ‘अन्तर्राष्ट्रिय दन्त सौन्दर्य सम्मेलन’ मा गहकिलो कार्यपत्र प्रस्तुत गर्ने चाहनाले मेरो जीवनमा नयाँ मोड ल्यायो। मौका पाउनासाथ पूर्वीय संस्कृतिलाई अगाडि सारेर हाँसोको व्याख्या गर्न थालेँ। उक्त सम्मेलनमा नितान्त नयाँ विषय अर्थात् ‘वैदिक ज्ञानमा आधारित हाँसोको नयाँ वर्गीकरण’ प्रवेश गराउन सफल भएँ।
त्यतिबेला म के कुरामा विश्वस्त थिएँ भने, मैले हलिउड स्माइल अवधारणाको पछि लागेर कुनै कार्यपत्र प्रस्तुत गरें भने, हाम्रो संगठन त्यो विशाल अन्तर्राष्ट्रिय जमातमा हराउँथ्यो। त्यसैले हाम्रो संस्कृति र वैदिक ज्ञानमा रहेको हाँसो हलिउडवालाभन्दा धेरै माथि र परिष्कृत छ भनी चुनौती दिएँ। धेरै दिग्गज चिकित्सक तथा शैक्षिक क्षेत्रका विज्ञमाझ दिएको ३० मिनेटको मेरो प्रस्तुतिले निकै वाहवाही कमायो।
हलिउड स्माइल अवधारणा अनुसार हाँस्दा धेरै दाँत देखिनुपर्छ। दाँत सेता र सोझा हुनुपर्छ। हलिउड अवधारणा सन् १९७०–८० देखि शुरू भएको मानिन्छ। तर, मेरो प्रस्तुतिले त्यो अवधारणा पूर्वीय दर्शनमा आधारित रहेको प्रमाणित गर्न सफल भयो। त्यसकारण उक्त अवधारणा करीब ५० वर्षअघि नभएर हजारौँ वर्षअघि बनाइएको स्पष्ट हुन्छ।
पूर्वी दर्शन अनुसार बत्तीस लक्षणबारे वर्णन गर्दा ‘राम्रो दाँत’ उल्लेख गरिन्छ। यसले नै हाम्रो हाँसो दर्शन पौराणिक कालसँग सम्बन्धित रहेको थाहा हुन्छ।
यता, आधुनिक विज्ञानले गरेको हाँसोको वर्गीकरण पनि आधुनिक छैन। चिकित्सक वा अरू कसैलाई मनमा लागेको भरमा वर्गीकरण गरिएको छ। उनीहरूले ‘वाइड स्माइल’, ‘फुल स्माइल’, ‘स्पाेर्टी स्माइल’, ‘साेफिस्टिकेटेड स्माइल’ र ‘सेक्सी स्माइल’ जस्ता नाम दिएका छन्।
हाँसोमा मानिसको मन र शरीरको सम्बन्ध व्यक्त हुन्छ। दन्त सौन्दर्य विधामा हाँसोको वर्गीकरण राम्ररी बुझेर मात्र उपचार शुरू गर्नुपर्छ। वर्गीकरणको वर्ग नमिल्दा उपचारमा निखार आउँदैन। केवल सूत्र लागू गरी सबै हाँसोलाई एउटैमा ढाल्ने प्रचलन पश्चिमा दन्त सौन्दर्यमा देखिन्थ्यो।
हामीले दन्त सौन्दर्य क्षेत्रमा विश्वलाई तीन अवधारणा र उपचार विधि दिएका छौं :
(क) हाँसोको वैदिक वर्गीकरण
(ख) दन्त सौन्दर्यको उपचार गर्दा स्वस्थ तन्तुहरूलाई कम क्षति पुग्नुपर्छ भन्ने ‘मिनिमल्ली इन्भेसिभ कस्मेटिक डेन्टिस्ट्री’ अवधारणा र उपचार विधि।
(ग) सबै व्यक्तिको हाँसोमा उपचारको आवश्यकता पर्दैन। अनुहारमा शृंगार गरेर छिटोछरितो, राम्रो र आकर्षक देखाए जस्तै दन्त सौन्दर्यमार्फत छिटो, छरितो र कर्म खर्चमा मुस्कानको श्रृंगार (स्माइल मेकअप) गर्न सकिन्छ।
कसरी हुन्छ, हाँसोको शृंगार?
दन्त सौन्दर्यको उपचारमा लामो समय र महँगो खर्च लाग्छ। त्यसैले हाम्रो समूहले सन् २०१२ देखि नेपालमा नयाँ अवधारणा र उपचार विधिबाट यो सेवा प्रदान गर्न थाल्यो। यसको कारण थियो, मिस नेपालका विजेताहरू मिस वर्ल्ड, मिस युनिभर्स, मिस अर्थजस्ता अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन जाँदा छोटो समयमा नै उपचार गर्नु। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा छानिएकाहरूको दन्त सौन्दर्यको आवश्यक उपचार हाम्रो समूहले १५ वर्षदेखि निःशुल्क गरिरहेको छ।
यस्ता प्रतियोगितामा विजयी भएकाहरूको उपचार गर्ने क्रममा थाहा भयो कि अधिकांशले आफ्नो मुख र दाँतको स्वास्थ्यलाई खासै ध्यान दिँदैनन्। सौन्दर्यमा चाहना राख्ने र प्रतियोगितामा भाग लिनहरू त मुखको सौन्दर्यमा ध्यान दिँदैनन् भने, आमनागरिकबाट झनै अपेक्षा गर्न सकिँदैन। त्यसैले हामीले नयाँ कामको अवधारणा विकास गर्यौँ, ‘हाँसोको सुगन्ध उपचार’ अर्थात् ‘स्माइल अरोमा थेरापी।’
हाम्रो देशमा विभिन्न जाति र फरक वर्णका मानिस छन्। उनीहरूलाई दन्त सौन्दर्यको एउटै सूत्र र ढाँचा लगाएर उपचार गर्न मिल्दैन। छुट्टाछुट्टै शैली दिन सक्नुपर्छ। त्यसकारण हामीले उपचारको ‘फरक शैली’बारे अध्ययन थाल्यौं र ‘स्माइल मेनु’ बनाउन सफल भयौं।
हाम्रो देशमा विभिन्न जाति र फरक वर्णका मानिस छन्। उनीहरूलाई दन्त सौन्दर्यको एउटै सूत्र र ढाँचा लगाएर उपचार गर्न मिल्दैन। छुट्टाछुट्टै शैली दिन सक्नुपर्छ। त्यसकारण हामीले उपचारको ‘फरक शैली’ बारे अध्ययन थाल्यौं र ‘स्माइल मेनु’ बनाउन सफल भयौं।
जसरी कुनै पनि रेस्टुरेन्टमा गएर खानाको मेनु हेरेर मगाउन सकिन्छ, त्यसैगरी हाँसोको शृंगार गर्दा ग्राहकले आफूलाई मन परेको ‘स्माइल स्टाइल’ छान्न सक्छ। यसले हाँसोको उपचार गर्ने दन्त चिकित्सकलाई ग्राहकको इच्छा बुझ्न सजिलो पनि हुन्छ।
कुनै पनि हाँसोको उपचार वा शृंगार गर्दा चिकित्सकले अपनाउनुपर्ने प्रक्रियालाई ‘स्माइल डिजाइन’मा उल्लेख गरिएको छ। सर्वप्रथम ग्राहकको मनोविज्ञानको अध्ययन गरी उसको दन्त सौन्दर्यप्रतिको सोचाइ र ज्ञान बुझ्नुपर्छ। त्यसपछि उसको व्यक्तित्व र इच्छा बुझ्नुपर्छ। चपाउने, निल्ने, बोल्ने जस्ता कार्यमा कुनै कठिनाइ छ कि जाँच गर्नुपर्छ। अनि स्वास्थ्यको पूर्ण जानकारी लिनुपर्छ। त्यसपछि मात्र दन्त सौन्दर्यबारे अध्ययन गरेर समस्याको सूची तयार गरिन्छ। सौन्दर्य उपचारमा तीन तहलाई ध्यान दिनुपर्छ :
(१) झलक्क हेर्दा देखिने दन्त सौन्दर्यलाई ‘म्याक्रो एस्थेटिक’ भनिन्छ। यसमा हाँसो र अनुहारको तारतम्यलाई महत्त्व दिन्छौं। पाँच फिट दूरीबाट कसैलाई हेर्दा देखिने हाँसोको सौन्दर्य जाँच्छौं।
(२) २–३ फिटको दूरीबाट हेर्दा हामी दाँत र ओठको सम्बन्धलाई ध्यान दिन्छौं। यसलाई ‘मिडी एस्थेटिक’ भनिन्छ।
(३) हातमा ऐना लिएर आफ्नो मुस्कान वा हाँसो हेर्ने दूरी १८ इन्चको हुन्छ। यसरी नजिकबाट नियाल्दा देखिने दाँतको सौन्दर्यलाई ‘माइक्रो एस्थेटिक’ भनिन्छ।
आधुनिक दन्त चिकित्सामा दाँत, गिजा, ओठ र अनुहार कस्तो हुनुपर्छ भनी बनाइएका सूत्र गन्ने हो भने ५०औं छन्। तर, ती सम्पूर्ण सूत्रलाई उपचारमा समावेश गर्नु आवश्यक हुँदैन। समय बढी लाग्ने, दाँत र गिजालाई अनावश्यक रूपमा चलाउनुपर्ने, स्वस्थ तन्तुको क्षति बढ्ने र उपचार खर्च बढी लाग्ने हुन्छ। त्यसैले गणितीय सूत्र लगाएर बनाएको हाँसो नक्कली देखिन सक्छ। वैदिक अवधारणा अनुसार हामीले केवल पाँच बुँदालाई मात्र उपचार विधिमा राखेका छौँ :
(१) हाँसो राम्रो देखिन तीन कुरा आवश्यक हुन्छ। दाँत सोझो र मिलेर बसेको हुनुपर्छ, जसलाई एलाइनमेन्ट (ए) भनिन्छ। त्यसपछि दाँतको चमक अर्थात् ब्राइटनेस (बी) हेर्नुपर्छ, जसमा दाँतको रंगलाई व्यक्तिको आँखा र छालाको रंग तथा वास्तविक उमेर समूहसँग मेल गराउन सक्नुपर्छ। तेस्रो चाहिँ दाँतको बनोट अर्थात कन्टोर (सी) हो। दाँत टुक्रिएको, खिइएको, भाँचिएको, अति ठूलो वा सानो आदि नभई सर्लक्क परेको हुनुपर्छ। दाँतको बनोटले पनि अनुहारको बनोट निर्धारण हुन्छ। यी तीन बुँदा ए–बी–सीले सौन्दर्यमा ठूलो असर पर्छ।
(२) हाँसोले व्यक्तित्वलाई निखार्न सहयोग पुगोस् भनी हाँसोको शृंगारमा विशेष शैली दिन सक्नुपर्छ।
(३) हाँसोको शृंगारको अन्तिम तह भनेको मुख, मुस्कान र मनको समन्वयकारी गुणस्तर हो। यसलाई स्वच्छ श्वासबाट मापन गरिन्छ, त्यसैले हाँसोमा सुगन्ध चाहिन्छ। यसलाई हामीले ‘स्माइल अरोमा’ भनेका छौँ। माथि उल्लेख गरिएका ए–बी–सी, शैली र अरोमालाई आधार मानी स्वस्थ तन्तुको अत्यन्तै न्यून क्षतिमा छिटो र छरितो तरिकाबाट हाँसोको उपचार गर्ने विधिलाई ‘स्माइल मेकअप’ नामकरण गरी नेपाली बजारमा प्रवेश गरायौं।
किन भएन, व्यापक अभ्यास ?
दन्त सौन्दर्य विज्ञान वा सेवामा कुनै नयाँ उपचार अवधारणा र विधिलाई अन्तर्राष्ट्रिय बजारमा लानुभन्दा पहिला अन्तर्राष्ट्रिय दन्त सौन्दर्यको वैज्ञानिक सम्मेलनमा प्रस्तुत गर्ने सोच आयो। जसका लागि हामीले नेपालमा अभ्यास गरेका केसलाई आधार बनाएर पत्राचार गर्यौँ। अनि हाम्रो ‘स्माइल मेकअप’ अवधारणा र विधिलाई वैज्ञानिक सम्मेलनमा प्रस्तुत गर्ने अनुमति भयो। सन् २०१४ मा जापानमा भएको ‘विश्व दन्त सौन्दर्य सम्मेलन’मा मलाई विशेष वक्ताका रूपमा आमन्त्रण गरियो। मेरो अवधारणालाई सम्मेलनभर उच्च महत्त्वका साथ स्थान प्राप्त भयो।
यसरी अन्तर्राष्ट्रिय रूपमै चिनिइसकेको स्माइल मेकअप नेपालमा किन उति सुनिँदैन भन्ने जिज्ञासा हुनसक्छ। हामीले जानेरै यसलाई प्रचारमा ल्याएका छैनौं। किनकि, हाम्रो कार्यविधिलाई सिपालु र दयालु चिकित्सकहरूको आवश्यकता पर्छ। मनपरीतन्त्रबाट उपचार गर्न पाइन्न। यसको कार्यविधि सीप र व्यावसायिक नैतिकतासँग जोडिएको छ। त्यसैले बजारीकरणमा ढिलो भएको छ।
हामी ‘स्माइल मेकअप’लाई नेपाली ब्रान्डका रूपमा अन्तर्राष्ट्रिय बजारमा लाँदै छौं। तर, कोभिड महामारीले हाम्रो योजनामा ठूलो धक्का पुगेको छ। हामीले महामारीअघि गरेका हजारौं ‘स्माइल मेकअप’ केसहरूको फाइलबाट केही यहाँ प्रस्तुत गरिएका छन्।
केस नं. १, २, ३
मिस नेपाल प्रतियोगितामा विजयी भएर अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन जानुपूर्व तीनै जना युवतीहरूको हाँसोको स्माइल मेकअप गरिएको थियो। मेकअप गर्नुअघि र गरेपछिको हाँसोको तस्वीरमा आएको निखारपन प्रष्ट देख्न सकिन्छ।
केस नं. ४
स्माइल मेकअप केवल महिलाका लागि मात्र होइन। हामीले एक कर्पोरेट कम्पनीका उच्च पदस्थ व्यक्तिको पनि स्माइल मेकअप गरेका थियौँ। हरपल हाँसेर बोल्ने र आफ्नो व्यक्तित्वमा हाँसोले पर्ने असर राम्ररी बुझेका यी युवा हामीसँग सल्लाह लिन आएका थिए। नकाटीकनै आफ्ना पहेँला, खप्टिएका र टुटेका दाँतको शृंगार गरिदिन उनले अनुरोध गरे। हामीले स्माइल मेकअपको ए–बी–सी अवधारणा अनुसार शृंगार गरिदियौं। आफ्नो सुधारिएको हाँसो देखेर उनी निकै खुशी भए।
केस नं. ५
उनी अहिले ‘इभेन्ट म्यानेजमेन्ट’ क्षेत्रमा काम गर्छिन्। आफ्नो नराम्रो हाँसोको कारण हाँस्दा हातले मुख छेक्ने र लजाउने खालकी थिइन्। हाँसोको उपचारपछि उनमा आत्मविश्वास बढेको छ। उनको ‘फेसबूक वाल’मा हेर्ने हो भने प्रत्येक फोटोहरूमा विश्वासिलो हाँसो देख्न पाइन्छ।
केस नं. ६
उनी कुनै मोडलिङ वा ग्ल्यामर क्षेत्रकी युवती होइनन्। बरु 'प्लस टु' पढ्दै गरेकी साधारण विद्यार्थी हुन्। तर, यिनलाई देखिने ठाउँमा नै खप्टिएका दाँतले साह्रै चिन्तित बनाएको थियो। धेरै क्लिनिकहरू धाउँदा कतै दाँत काटेर खोल लगाउने उपचार सुझाएका थिए। कतै त दाँतै झिकेर तल र माथि तारले बाँध्ने उपाय बताएका थिए। उनको एक जना नातेदारले पहिलै स्माइल मेकअप गराइसकेका थिए। तिनकै सुझाव अनुसार उनी हामीकहाँ आइन्। हाम्रो मेनुबाट आफूलाई मन परेको स्माइल छानिन्। हामीले ए–बी–सी अवधारणाबाट उपचार गरी छोटो समयका लागि तारले बाँधेर गिजाको पनि थोरै प्लास्टिक सर्जरी गरी हाँसोका सौन्दर्य थपिदियौँ।
केस नं. ७
उनी मानवअधिकारको क्षेत्रमा काम गर्थिन्। देश विदेश जानुपर्ने र अन्तर्राष्ट्रिय साथीभाइसँग संगत गर्नुपर्ने हुँदा यिनी आफ्नो व्यक्तित्व र हाँसोमा निकै ख्याल राख्थिन्। त्यसैले २७–२८ वर्षको उमेरमै आफ्नो हाँसो बूढो देखिएकोमा चिन्तित थिइन्। हामीले उनको हाँसोको उपचार पूर्वको डिजाइन गर्यौँ। जसलाई स्माइल मेकअपमा ‘क्विक स्माइल डिजाइन’ भनिन्छ। खिइएको, पहेँलो भएको अनि आकार नमिलेको दाँत भएकाको हाँसो बूढो देखिन्छ। यो केसमा हामीले बी र सी मात्र गर्यौं। दाँत सोझै भएकाले ए गर्नुपरेन। यो उपचारपछि उमेरमा पनि करीब १० वर्षको फरकजस्तो देखिन्छ।
उनको गजबको शर्त थियो, कुनै पनि हालतामा दाँतको इनामेल काट्न वा ड्रिल नगरीकनै मोडलको जस्तो दाँत बनाइदिनुपर्ने। कसैले पनि यस किसिमले उपचार गर्न नमानेपछि फेसबूकमार्फत मलाई सम्पर्क गरिन्। आफ्ना अहिलेसम्मका सम्पूर्ण रेकर्ड पठाइन् र उपचार गर्न भारतबाट नेपाल आइन्।
केस नं. ८
उनी भारतीय दन्त चिकित्सक, मोडेल र टेली सिरियल कलाकार हुन्। उनले सन् २०१३ ताका दिल्लीमा दन्त सौन्दर्यबारे मेरो लेक्चर सुनेकी रहिछिन्। यिनको दाँत छोटो, खिइएको, पहेँलो र अति पातलो थियो। आफ्नो हाँसो राम्रो नलागेर सकेसम्म कम हाँस्थिन्।
तर, कलाकारिता र मोडलिङ गर्दा हाँस्नैपर्ने भएकाले उपचारका लागि भारतका विभिन्न शहर चहार्दै मुम्बईसम्म पुगिन्। उनको गजबको शर्त थियो, कुनै पनि हालतमा दाँतको इनामेल काट्न वा ड्रिल नगरीकनै मोडलको जस्तो दाँत बनाइदिनुपर्ने। कसैले पनि यस किसिमले उपचार गर्न नमानेपछि फेसबूकमार्फत मलाई सम्पर्क गरिन्। आफ्ना अहिलेसम्मका सम्पूर्ण रेकर्ड पठाइन् र उपचार गर्न नेपाल आइन्।
लामो छलफल र धेरै थरीका क्विक स्माइल डिजाइनपछि उनी मैले दिएको डिजाइनमा राजी भइन्। मैले दाँत ड्रिल नगरी वा नकाटी राम्रो पार्ने विश्वास दिलाएँ। उपचारपूर्व नै उनको सम्भावित हाँसो देखाएँ। उनी अहिले हाम्रो स्माइल मेकअपको ‘ब्रान्ड एम्बासडर’ पनि हुन्।
दन्त सौन्दर्यको नाउँमा आवश्यकताभन्दा बढी उपचार गर्ने चलन संसारभरि छ। ग्राहकलाई अनावश्यक र बढी उपचार थोपरी भावनात्मक रूपमा मन जित्न अनेक उपाय गरिन्छ।
कतिपय चिकित्सकले ख्यातिप्राप्त अन्य चिकित्सकले गरेका उपचारको नतीजा देखाएर ग्राहकलाई झूटो आश्वासन दिन्छन्। त्यसैले दन्त सौन्दर्य उपचार गराउनुभन्दा पहिला, चिकित्सक स्वयंले पहिला गरिसकेका सफल उपचारको प्रमाण माग्न हिचकिचाउनु हुँदैन। उपचार गर्ने चिकित्सक वा उसको समूह सिपालु छ र दन्त सौन्दर्य विज्ञानको मर्मलाई व्यावसायिक रूपमा पालना गर्छ भन्ने पूर्ण विश्वास भएपछि उपचार समय, खर्च र उपचारमा हुने स्वस्थ तन्तुको क्षतिको पूर्ण जानकारी लिनुपर्छ। अनि मात्र हाँसोको शृंगारबाट प्रसन्न हुने अवसर प्राप्त हुन्छ।