मीनले खिचेका ‘मीन्दास’ हाँसो
तीन दशकयता देशी–विदेशी र सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्मका थरीथरीका हाँसोको पोट्रेट खिच्दै आएका फोटोपत्रकार मीनरत्न वज्राचार्यसँग यी तस्वीरका रोचक कथा छन्। पछिल्लो समय उनी यिनै हँसिला तस्वीरको पुस्तक निकाल्ने चाँजोपाँजोमा लागेका छन्।
प्रख्यात भूगोलविद् टोनी हागनलाई प्लेन चढाउन सन् १९९४ मा काठमाडौंका तत्कालीन मेयर पीएल सिंह त्रिभुवन विमानस्थल गएका थिए। उनको साथमा फोटोपत्रकार मीनरत्न वज्राचार्य पनि थिए। हागन चढ्ने प्लेनमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह पनि स्वीट्जरल्यान्ड जाँदै रहेछन्।
सानदार सुट र कालो चश्मा लगाएर प्लेन चढ्ने तर्खरमा रहेका ज्ञानेन्द्रसँग सिंह र हागनको जम्काभेट भयो। उनीहरू गफिन थाले। त्यही बेला कुनै प्रसंगमा ज्ञानेन्द्र मज्जाले हाँसेछन्। उनी हाँस्दै गरेको तस्वीर मीनले हत्त न पत्त आफ्नो क्यामरामा कैद गर्न भ्याए।
“उहाँ प्रायः गमक्क परेर मुस्कुराउनुहुन्छ,” मीन भन्छन्, “तर, त्यो दिन मज्जाले दाँत देखाएर हाँस्नुभएको थियो। त्यस्तो दुर्लभ हाँसो खिच्न पाउनु चानचुने कुरा थिएन।”
संयोग कस्तो भने, अर्को पटक त्यसैगरी मेयर सिंहसँगै विमानस्थल पुगेका बेला उनै ज्ञानेन्द्र कतैतिरबाट फर्किएका रहेछन्। हाँसोको तस्वीर झोलामै बोकेर हिँडेका मीनले ज्ञानेन्द्रलाई ‘योर हाइनेस, दिस इज फर यु’ भन्दै तस्वीर थमाए। आफ्नो तस्वीर हेरेर खुशी भएका ज्ञानेन्द्रले मीनलाई कुममा थपथपाए।
झन्डै तीन दशकअघि ज्ञानेन्द्रले दिएको प्रतिक्रिया मीनलाई अझै पनि प्रष्ट सम्झना छ। ज्ञानेन्द्रले तस्वीरको तारिफ गर्दै भनेका थिए, “वाउ ! ह्वाट अ नाइस मोमेन्ट यु ह्याभ क्याप्चर्ड, वेल डन।”
हिमाल खबरपत्रिकाको १०१ अंकमा ज्ञानेन्द्रको उक्त तस्वीर छापिएको मीन बताउँछन्। उनले आफ्ना फोटो प्रदर्शनीहरूमा पनि त्यस विशेष हाँसोलाई प्राथमिकतासाथ समेट्ने गरेका छन्।
लामो समय हिमालमा आबद्ध रहेका मीन खासगरी राजनीतिक फोटो पत्रकारिताका लागि चिनिन्छन्। तर, उनलाई पोट्रेट (मुहारचित्र) खिच्न उत्तिकै मनपर्छ। विगत २७ वर्षदेखि उनी मान्छेका हाँसोसहितका पोट्रेट खिच्दै आएका छन्। ती हाँसोहरू हिजोआज झोलामा बोकेर हिँड्छन्। फिका बैजनी रङको उनको झोलाभित्र पूर्वराजादेखि मन्त्री, नेता, कलाकार, डाक्टर, साहित्यकार, विदेशी उच्च पदाधिकारी, खेलाडी, संन्यासी र विभिन्न जात, समुदाय, लिंग, उमेरका सर्वसाधारणका हाँसोको तस्वीर–संग्रह रहने गरेको छ।
“किताब छाप्ने योजना हो, तर आर्थिक चाँजोपाँजो नमिलेर सकिरहेको छैन,” बाइन्डिङ गरिएको मोटो फोटो–फाइल झोलाबाट झिक्दै उनी कुरा खोल्छन्, “कहिले न कहिले त छाप्ने दिन आउला नि भनेर बोकेरै हिँड्छु। विद्यार्थी र भर्खरका भाइबहिनीहरूलाई आइडिया मिलोस् भनेर देखाउँछु पनि।”
मीनका अनुसार, नेपालीहरू स्वभावैले हँसिला हुन्छन् र बोलीपिच्छे एक–अर्कासँग मुस्कान साट्ने र अतिथिलाई मुस्कानले नै स्वागत गर्ने चलन भएकाले यहाँ जताततै हाँसो उपलब्ध छ। तर, त्यही हाँसो क्यामरामा कैद गर्न गाह्रो हुने उनी बताउँछन्।
हाँसोको मोमेन्ट (क्षण) तस्वीरमा समेटिएको हुनाले पुस्तकको नाम ‘मोमेन्टम’ राख्ने मीनको विचार छ। यसमा दुई सयभन्दा बढी मानिसका विभिन्न प्रकृतिका हाँसो देख्न पाइनेछ। हाँसोका अधिकांश तस्वीर नेपालभित्रै खिचेको उनले बताए।
“विदेशीहरू नेपालीजति जमेर, खुला दिलले हाँसेको पाइनँ,” मीन भन्छन्, “बरु नेपाल आएपछि यहाँको माहोलमा विदेशीहरू पनि दाँत देखाएर हाँस्छन्। हिलारी क्लिन्टन, जुन्को ताबेई, एडमन्ड हिलारी, बेनजिर भुट्टो, देव आनन्द जस्ता विदेशीहरू नेपाल आएका बेला मैले उहाँहरू दिल खोलेर हाँसेको तस्वीर खिच्न पाएँ।”
मीनका अनुसार, नेपालीहरू स्वभावैले हँसिला हुन्छन् र बोलीपिच्छे एक–अर्कासँग मुस्कान साट्ने र अतिथिलाई मुस्कानले नै स्वागत गर्ने चलन भएकाले यहाँ जताततै हाँसो उपलब्ध छ। तर, त्यही हाँसो क्यामरामा कैद गर्न गाह्रो हुने उनी बताउँछन्।
“अनुहारमा चमक आउन शुरू हुनासाथ चनाखो भएर तयारी अवस्थामा बस्नुपर्छ,” फोटो–खिच्ने कला उनी सुनाउँछन्, “हामीले तस्वीर खिच्न लागेको मान्छे कसरी हाँस्छ भन्ने जानिसकेर खिच्दा तस्वीर राम्रो बन्छ। कहिलेकाहीँ मान्छे हाँसिसक्दा पनि खिच्नै भ्याइँदैन। अर्को चोटि पर्खेर बस्नुपर्छ।”
हाँसो थरीथरीका
हाँसोका तस्वीर जम्मा पार्ने काममा लागिरहँदा मीनले यसका अनेक स्वरूप देख्न पाए। बालबालिकाको चञ्चल हाँसो, वृद्धवृद्धाको गदगद हाँसो, उच्च ओहदामा रहेकाहरूको गमक्क हाँसो, सेलिब्रिटीहरूको सजग हाँसो। कोही कन्जुस्याइँ गरेर थोरै हाँस्ने, कोही दिल खोलेर गलल हाँस्ने, कोही लजाएर मुसुक्क हाँस्ने, कोही अरूलाई उडाएर खितखित हाँस्ने, कोही आवाज ननिकालीकनै मरीमरी हाँस्ने, कोही टोलै थर्किनेगरी विस्फोटक तरिकाले हाँस्ने! माओवादी द्वन्द्वकालमा रुमालले नाक–मुख बेर्दा र अहिले कोरोनाकालमा मास्कले मुख छोप्नुपरेपछि मान्छेहरू आँखाले पनि हाँस्ने गरेको मीन बताउँछन्।
मीनको फोटो–फाइल पल्टाउँदै जाँदा यी सबै हाँसो पालैपालो देख्न सकिन्छ। तस्वीरका श्यामश्वेत प्रति समेटेर बनाइएको किताबको फाइल धेरै चोटि ओल्टाइ–पल्टाइ गरेर होला, कालो–मैलो भइसकेका छन्। तैपनि यसभित्रका तस्वीर हेर्दा जो कोही मुस्काउँछन्। “हाँसोको फोटोले मान्छेलाई हँसाइहाल्दो रहेछ,” उनी भन्छन्, “कोही–कोही मान्छे आफैं हाँसेको देखेर मरुन्जेल हाँस्छन्।”
आफ्नो हाँसो हेरेर आफैं दंग पर्नेमा डा. हर्क गुरुङलाई मीन बढी सम्झन्छन्। याक एन्ड यती होटलको एक कार्यक्रममा खित्का छोडेर हाँसिरहेका गुरुङको तस्वीर मीनले परैबाट खिचेका थिए। उक्त तस्वीर हिमालमा छापिएपछि गुरुङ आफू हाँसेको देखेर मक्ख परेका थिए। केही समयपछि गुरुङले आफूलाई भनेका कुरा मीन उनकै लवजमा सुनाउँछन्, “ओ मीन, मेरो त रुद्रघण्टी नै देखिने गरी फोटो खिचेछौ। गज्जब रैछ। त्यो फोटो पाऊँ न।”
गुरुङलाई एक प्रति तस्वीर बुझाएर अर्कोमा उनको हस्ताक्षर लिएर आफूले राखेको मीन बताउँछन्। उनको पुस्तकको पाण्डुलिपिमा समेटिएका ४०/५० वटा तस्वीर सम्बन्धित व्यक्तिकै हस्ताक्षरसहितका छन्। एउटामा त अमेरिकी नेता हिलारी क्लिन्टनको ‘गोल्डेन सिग्नेचर’ समेत छ। सन् १९९५ मा छोरी चेल्सीसँगै नेपाल आएकी क्लिन्टनको तस्वीर मीनले काठमाडौंस्थित अमेरिकी राजदूतको निवासमा खिचेका थिए। “मेरो फोटोमा उहाँको भव्य हाँसो छैन,” मीन भन्छन्, “मधुर मुस्कानजस्तो छ। तर, यसको रङ संयोजन राम्रो छ। उहाँको सुनौलो कपालसँग सुनौलो रङकै नेपाली खादाले आकर्षक देखाएको छ।”
उमेर, ओहदा, समारोहजस्ता तत्त्वले मान्छेको हाँसोमा प्रभाव पार्ने मीनले अनुभव गरेका छन्। उनका अनुसार, उच्च ओहदामा रहेका, कूटनीतिक क्षेत्र वा विशिष्ट पद धारण गर्नेहरू खुला दिलले हाँस्दैनन्। कलाकारहरू अरूले विचार गर्ने गरी मिलाई–मिलाई हाँस्ने र उमेर घर्किँदै गएकाहरू भने बेपर्वाह हाँस्ने गरेको मीनले पाएका छन्।
उमेर, ओहदा, समारोहजस्ता तत्त्वले मान्छेको हाँसोमा प्रभाव पार्ने मीनले अनुभव गरेका छन्। उनका अनुसार, उच्च ओहदामा रहेका, कूटनीतिक क्षेत्र वा विशिष्ट पद धारण गर्नेहरू खुला दिलले हाँस्दैनन्। कलाकारहरू अरूले विचार गर्ने गरी मिलाई–मिलाई हाँस्ने र उमेर घर्किँदै गएकाहरू भने बेपर्वाह हाँस्ने गरेको मीनले पाएका छन्।
कवि दुर्गालाल श्रेष्ठको तस्वीर देखाउँदै मीन भन्छन्, “हेर्नुस् त, उहाँको दाँतै छैन, तैपनि कति मजाले दंग परेर हाँस्नुभएको छ।” पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, गायक जनकवि केशरी धर्मराज थापा लगायतका तस्वीरमा भने मीनलाई प्राप्त हुने एउटै प्रतिक्रिया छ– ‘कस्तो कन्जुस हाँसो!’
कृष्णप्रसाद भट्टराई, मंगलादेवी सिंह, सहाना प्रधान, पुष्पकमल दाहाल, केपी शर्मा ओली, गगन थापा, सीके लालहरूको बृहत् हाँसो मीनले खिच्न भ्याएका छन्। मनीषा कोइराला, राजेश हमाल, सबाना आजमी, सीके लाल, छायादेवी, उदितनारायण झा, केदारभक्त माथेमा, आनी छोइङ डोल्मा, डा. उपेन्द्र देवकोटाजस्ता परिचित व्यक्तिका भव्य हाँसो पनि उनले कैद गरेका छन्। तर, आफूले सर्वाधिक संगत गरेका गणेशमान सिंह भने मन्द हाँसेको बाहेक तस्वीर छैन उनीसँग। “उहाँ खुलेर हाँसिदिए हुन्थ्यो भन्ने लाग्थ्यो, तर त्यस्तो हाँसो समात्नै सकिनँ,” उनी चुकचुकाउँछन्।
ती यादगार हाँसो
आफू पनि हत्तपत्त निराश नहुने रमाइला मीन आफूलाई ‘मीन्दास’ (बिन्दासको अर्थमा) मान्छे ठान्छन्। दिल खोलेर हाँस्नेहरू उनलाई गज्जबका प्राणी लाग्छन्। यसरी हाँस्नेमा उनी राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाम लिन कदापि भुल्दैनन्। २०६९/७० सालतिरको जगदम्बाश्री सम्मान समारोहमा लेखक/अनुसन्धाता कमलमणि दीक्षितको ठट्टामा राष्ट्रकवि घिमिरे बेस्सरी हाँसेछन्। हाँसो खोजी गर्ने मीन त्यो मौका किन छोड्थे ! खिच्न भ्याइहाले।
त्यो तस्वीर धुलाएर घिमिरेलाई दिंदा पाएको प्रतिक्रिया सुनेर मीन गदगद भएका थिए। आफू हाँसेको तस्वीर हेर्दै घिमिरेले दिएको प्रतिक्रिया उनले घिमिरेकै लबजमा यसरी सुनाए, “म आफैंलाई पनि चिन्न गाह्रो भयो, म नै होइनजस्तो लाग्यो।” मीनलाई घिमिरे कतै छन्दमा त बोलिरहेका छैनन् भन्ने आभास भएको थियो रे।
जीवित देवी भनिने कुमारीहरूको समेत हाँस्दै गरेको तस्वीर खिच्न भ्याएका फोटो पत्रकार हुन्, मीन। ‘कुमारीले हाँस्नु उचित हुँदैन’ भन्ने आम भनाइ छ र बाहिर ल्याइएको बेला उनीहरू प्रायः गम्भीर मुद्रामा प्रकट हुन्छन्। तर, पूर्वकुमारी रश्मीला शाक्य लगायतको हाँसो उनीहरू पदमा छँदै खिच्न सफल भएका थिए मीन।
मीनका लागि अर्को स्मरणीय हाँसो हो, तिब्बती बौद्ध समुदायका धार्मिक नेता दलाई लामाको। सन् २००९ मा लामाको ७४औं जन्मोत्सवका बेला मीनलाई भारतको धर्मशाला जाने मौका मिलेछ। त्यहाँको पूजाआजाका गतिविधि खिच्न उनलाई लगिएको थियो। त्यही मौकामा लामा हाँसेको फोटो खिचिछाड्ने मीनको भित्री अठोट थियो। तसर्थ, उनी लामा कहिले हाँस्लान् र फ्याट्टै खिचूँला भनी ढुकेर बसेका थिए। “खासै हाँस्नुभएको थिएन,” उनी सम्झन्छन्, “एकचोटि उहाँसँग मेरो आँखा जुध्यो, त्यो बेला हल्का मुस्कुराउनुभयो, मैले ट्याक्कै खिचिहालेँ।”
‘ग्रीन–आइड अफगान गर्ल’ बाट प्रभावित
सन् १९८५ मा नेशनल जियोग्राफिक म्यागेजिनको आवरण पृष्ठमा स्टिभ मेकरीले खिचेको हरियो आँखा भएकी अफगान बालिकाको तस्वीर छापिएको थियो। पाकिस्तानको नसिर बाग शरणार्थी शिविरमा खिचिएको अफगान बालिका सर्वत गुलाको उक्त तस्वीरलाई बीसौं शताब्दीकै उत्कृष्ट पोट्रेट मानिन्छ। करीब तीन दशकअघि सोही पोट्रेट देखेपछि मीनलाई पनि मान्छेका मुहार खिच्ने प्रेरणा मिलेको थियो।
“स्टिभका पोट्रेटहरूमा मान्छेका आँखाको भाव देखिन्छ,” मीन भन्छन्, “अफगान गर्लको फोटोमा स्टिभले तिनको आँखाबाटै युद्धको दर्दनाक स्थिति देखाएका छन्। मैले दुःखको सट्टा हाँसो देखाउँदा हेर्नेलाई पनि आनन्दै होला भन्ने सोचेर यो कन्सेप्टमा फोटो खिच्न थालेको थिएँ।”
विगत २७ वर्षदेखि मान्छेका हाँसोसहितका पोट्रेट खिच्दै आएका मीन ती हाँसोहरू हिजोआज झोलामा बोकेर हिँड्छन्। किताब छाप्ने योजना भए पनि आर्थिक चाँजोपाँजो नमिलेर नसकेको उनी बताउँछन्।
सन् १९९१ मा मीनले आफ्नी मावली हजुरआमा देखामाया शाक्यको हँसिलो अनुहार खिचेका थिए। उनको चाउरी परेको मुहार हाँस्दा थप मुजा परेको देखिन्छ, जसलाई मीन नेपालको नक्सा वा पहाडका गह्राहरूको संज्ञा दिन्छन्।
हजुरआमाको काखमा हुर्किएका मीनले उनको तस्वीरलाई आफ्नो पुस्तकको आवरणमा हिलारी क्लिन्टनकै छेउमा राख्नेगरी खाका डिजाइन गरेका छन्। हजारौं तस्वीरबाट उत्कृष्ट छानेर संग्रहित गर्ने काम डिजाइनर सानुबाबु तामाङले गरेका हुन्।
हाँसो खिच्ने मीन एक्ला पात्र होइनन्। यो थिममा धेरैले फोटो खिचेर मनग्गे प्रदर्शनीहरू पनि गरिसकेका छन्। तर, मीनको विशेषता, उनले आममान्छेदेखि विशिष्ट र विश्वविख्यात पात्रका समेत हाँसो संकलन गर्न पाएका छन्।
मीनका अनुसार, मान्छे ट्वाल्ल परेको, धुम्म परेको, रिसाएको वा उग्र भएको तस्वीर खिच्न अलि सहज छ। किनभने त्यो भावमा मान्छे लामो समय रहन सक्छ। तर, हाँसो छोटो हुन्छ। यसका लागि पात्रलाई बुझ्न, उसको सराहना गर्न, ऊसँग आत्मीयता बढाउन र विशेषतः धैर्य गर्न आवश्यक हुन्छ। “क्यामेरातिर ध्यानाकर्षण हुनासाथ मान्छेको हाँसोमा परिवर्तन आइहाल्छ, त्यसैले यसबारे पनि हामी सचेत हुनुपर्छ,” मीन भन्छन्।