नयाँ वर्ष मनाउँदा भीडभाड नगर्न कांग्रेस सभापति देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिम रहेकाले भीडभाड नगरी नयाँ वर्ष मनाउन आग्रह गरेका छन्।
नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “कोभिड–१९ को प्रभार र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी अनिवार्य रूपमा मास्क, सेनिटाइजरको प्रयोग, भौतिक दूरी कायम गर्ने र भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेर लगायतका कार्यक्रम नगरी सुरक्षित रूपमा नयाँ वर्ष मनाउन सबैमा आग्रह गर्दछु।”
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकार असफल र नागरिकप्रति सर्वथा उदासीन रहेको आरोप लगाएका छन्। जनताले लक्डाउनको पालना गर्दै अत्यन्त संयम र एकताका साथ कोरोनासँग लडेको उनको विश्लेषण छ।