दोस्रो चरणको कोभिड–१९ खोप लगाउन कहिले–कहाँ जाने?
सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप लगाउने केन्द्र र मिति सार्वजनिक गरेको छ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले ७ देखि ११ वैशाखसम्म दोस्रो चरणको खोप लगाउने केन्द्रको सूची प्रकाशित गरेको छ।
१४ माघदेखि १० फागुनका बीचमा खोपको पहिलो मात्रा लगाएका पत्रकार, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, कूटनीतिज्ञ तथा कूटनीतिक नियोगका कर्मचारीलाई दोस्रो चरणको खोप दिन लागिएको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए।
१४, १५, १६, १७ र २३ माघमा पहिलो मात्रा लगाएकाहरूलाई ७ वैशाखमा खोप दिइने खड्काले बताए। उनका अनुसार १८, १९, २०, २१ र २७ माघमा पहिलो खोप लगाउनेहरू ८ वैशाखमा खोप केन्द्र जानुपर्नेछ।
त्यस्तै, २२, २३, २४ , २८ माघ र २ फागुनमा खोप लगाउनेहरूलाई ९ वैशाखमा दोस्रो चरणको खोप दिइने मन्त्रालयले जनाएको छ। २९ माघ, ३, ४, ५ र ६ फागुनमा खोप पाउनेहरू १० वैशाख र ३० माघ, ७, ८, ९ र १० फागुनमा खोप पाउनेहरू ११ वैशाखमा खोपकेन्द्रमा पुग्नुपर्नेछ।
विहान १० बजेदेखि ४ बजेभित्र खोप लगाइसक्नुपर्ने खड्काले बताए।