'नेपालबाट चोरिएका मूर्ति कसरी फिर्ता ल्याउने भन्ने थाहा भएको छ'
पाटनको पटको टोलबाट चोरी भएको लक्ष्मीनारायणको मूर्तिलाई अमेरिकाको टेक्सास राज्यस्थित ‘डालस म्यूजियम अफ आर्ट’मा फेला पार्ने अनुसन्धाता हुन्– जोई लिन डेभिस। उनीसँग भिडिओ म्यागजिन ‘सग्लो समाज’का लागि कनकमणि दीक्षितले गरेको अन्तर्वार्ताको सम्पादित अंशः
लक्ष्मीनारायणको मूर्तिबारे कुरा गरौं, तपाईंले यो मूर्तिमाथि किन रुचि राख्नुभयो?
पाटन दरबार चोकमा रहेको काठमाडौं कन्टेम्पोररी आर्ट सेन्टरमा कला सम्बन्धी काम गर्ने क्रममा मैले लक्ष्मीनारायणको मूर्तिको चित्र बनाएकी हुँ। म दिनैपिच्छे पटको टोलको नारायण मन्दिर छेउबाट आउने-जाने गर्थें, जहाँबाट मूर्ति सन् १९८४ मा चोरी भएको थियो। मैले तपाईंसँग भेटेर यो मूर्तिबारे कुरा गरेकी थिएँ। त्यस भेटपछि मूर्तिको खोजी पनि गर्न थालेँ।
हामीलाई के थाहा थियो भने, त्यो मूर्ति सन् १९९९ मा न्यूयोर्कमा लिलाम गरेर बेचियो। त्यसपछि त्यो मूर्ति कहाँ लगियो भन्नेबारे कसैलाई केही थाहा थिएन। त्यो मूर्तिको चित्र बनाएको केही समयपछि मैले अचम्मलाग्दो गरी त्यो लक्ष्मीनारायण डालस म्यूजियममा रहेको पाएँ। यसबीचमा म आफूले बनाउने चित्रबारे अनुसन्धान गर्ने गर्थें। नेपालबाट चोरिएका मूर्तिबारे अनलाइन सर्च गर्थें।
मैले दुई खालका जानकारी तयार पारेकी थिएँ। पहिलो, नेपालबाट चोरिएका मूर्ति। दोस्रो, थाहा भएसम्म यी मूर्ति अहिले रहेको ठाउँ। गुगलमा खोजी गर्दै जाँदा मैले लक्ष्मीनारायणको मूर्तिको धमिलो फोटो देखें। मेरो मुटु काम्यो। मैले चित्र बनाएको मूर्ति हो भन्ने कुरा तुरुन्तै थाहा भइहाल्यो। किनभने, त्यो चित्र बनाउनका लागि मैले लिलाममा राखिँदाको त्यो मूर्तिको फोटो ध्यान दिएर हेरेकी थिएँ।
त्यो मूर्तिको फोटो त्यतिबेला डालसमा बसेका एक नेपालीले खिचेर आफ्नो ब्लगमा राखेका थिए। लक्ष्मीनारायणको मूर्ति पहिचान गरेपछि यो खबर मैले सबैभन्दा पहिले तपाईंं र डिना बाङ्देललाई बताएकी थिएँ।
यो २०१५ को कुरा हो। लगत्तै नेपालमा भुइँचालो गयो। हामीले अरू कुरामा ध्यान दिनुपर्यो। त्यसको केही समयपछि डिना बित्नुभयो। उहाँले यसबारे डालस म्यूजियमसँग कुरा गर्न पाउनुभयो कि भएन, थाहा भएन।
२०१७ मा मैले एउटा सम्मेलनमा भाग लिएँ। त्यसको विषय सांस्कृतिक सम्पदाको व्यापार थियो। त्यहाँ मैले लक्ष्मीनारायणको मूर्तिको उदाहरण दिएकी थिएँ। त्यस सम्मेलनमा मूर्ति चोरी सम्बन्धी विज्ञ एरिन थम्प्सनलाई भेटेकी थिएँ। उनले गहकिलोे लेख लेखेर त्यो मूर्ति राखेकोमा म्यूजियमको आलोचना गरिन्।
तपाईंंले इन्टरनेटमा खोजी गर्दा यो मूर्तिको धमिलो फोटो देख्नुभयो, तर पनि तपाईंंले यस मूर्तिको चित्र बनाएको हुनाले यो मूर्ति चिनिहाल्नुभयो। जोसुकैले भने यो मूर्ति चिन्न सक्दैनथे। यो संयोग थियो। त्यसको चित्र नबनाएको भए तपाईंंले पनि चिन्नुहुन्नथ्यो होला।
हो! आफूले चित्र बनाएको, चोरिएको मूर्तिको तस्वीर प्रदर्शनीमा राखिएको भेट्टाउनु असामान्य कुरा थियो। अर्को संयोग कस्तोे भने, मेरो परिवार डालस छेउमा बस्ने गर्छ र म पनि धेरै पटक त्यो मूर्ति भएको ठाउँ नजिकै पुगेकी थिएँ, तर लक्ष्मीनारायण त्यहाँ छ भन्ने मलाई थाहै भएन।
प्रोफेसर एरिन थम्प्सनको कुरा गरौं, जसको विद्वत्ताले चोरिएका मूर्ति पुरानै थलोमा फर्काउने अभियान चलायो। उहाँले तपाईंंसँग कुरा गर्नुभयो र लेख लेख्नुभयो र यो ट्वीटरमा पनि लेख्नुभयो। यसले गर्दा डालस म्यूजियम सशंकित भयो। अहिले लक्ष्मीनारायणको मूर्ति सम्बन्धी काम कहाँ पुगेको छ?
यस विषयमा मैले अमेरिकी गुप्तचर संस्था एफबीआईका एक अधिकृतसँग मिलेर काम गर्ने अवसर पाएँ। अनुसन्धानका क्रममा मूर्तिबारे फेला परेका सबै सामग्री एफबीआईलाई दिएँ। म्यूजियम मूर्ति फर्काउन तयार नदेखिएपछि म्यूजियमविरुद्ध कडा मुद्दा तयार गर्न एफबीआई बाध्य भयो।
हो! आफूले चित्र बनाएको, चोरिएको मूर्तिको तस्वीर प्रदर्शनीमा राखिएको भेट्टाउनु असामान्य कुरा थियो। अर्को संयोग कस्तोे भने, मेरो परिवार डालस छेउमा बस्ने गर्छ र म पनि धेरै पटक त्यो मूर्ति भएको ठाउँ नजिकै पुगेकी थिएँ, तर लक्ष्मीनारायण त्यहाँ छ भन्ने मलाई थाहै भएन।
त्यसपछि मात्र म्यूजियम मूर्ति फर्काउन राजी भएको हो। एफबीआईले लक्ष्मीनारायणको मूर्ति जफत गरेर नेपाल फर्काउँदै छ। (डेभिसले भनेजस्तै पटको टोलको लक्ष्मीनारायणको मूर्ति एफबीआईले वासिङ्टन डिसीस्थित नेपाली दूतावासमा बुझायो र ३० चैत, २०७७ मा नेपाल फर्किएको छ।)
मूर्तिको खोजी गरिवरी राखिएको ठाउँ पत्ता लगाउनेदेखि सम्पूर्ण जानकारी एफबीआईलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद !
यो मूर्ति सम्बन्धी काममा संलग्न हुनपाउनु मेरो जीवनको सबैभन्दा ठूलो अवसर भएको छ। र, जुन दिन यो मूर्ति नेपाल फर्कन्छ, त्यो दिन मेरो जीवनको सबैभन्दा खुशीको दिन हुनेछ। यस कार्यमा धेरै व्यक्ति र संस्थाले महान् काम गर्नुभएको छ। नेपाल सरकारको पुरातत्त्व विभाग अनि नेपालमा रहनुभएका धेरैको योगदान छ।
मूर्ति फिर्ताका लागि आउँदा दिनमा हामीले के गर्नुपर्छ? समुद्रपारका म्यूजियमसामु हामीले अकाट्य प्रमाण पेश गर्यौं भने उनीहरू लज्जित हुन्छन् भन्ने त देखियो नै। मूर्तिलाई प्रदर्शनीबाट हटाउँछन् र अन्त्यमा मूर्ति फिर्ता गर्न सहमत हुन्छन्। मेरो कुरा सही हो ?
सोह्रै आना सही ! दुर्भाग्यवश, नेपालका धेरै मूर्ति संसारका विभिन्न कुनामा पुगेका छन्। ती मूर्ति चोरिएका हुन् भन्ने पनि थाहा छ। दुःखलाग्दो कुरा के छ भने, धेरैलाई गोदाममा थन्क्याइएको छ, ‘डिस्प्ले’ गरिएको हुँदैन। तिनलाई पत्ता लगाउनुपरेको छ। नेपाल त्यस्ता मूर्ति फिर्ता ल्याउन तयार छ, ती मूर्तिलाई नेपाली जनता र नेपाल सरकार हेरचाह गर्न इच्छुक छ, नेपाल फर्काउँदा ती मूर्तिलाई कुनै किसिमको खतरा छैन, म्यूजियमहरूले ती मूर्तिलाई स्वेच्छाले नेपाल फर्काएमा उनीहरूलाई तिनका नक्कल प्रति दिन सकिन्छ। मुख्य कुरा, ती चोरी भएको तथ्य र तिनको सांस्कृतिक महत्त्व सम्बन्धी जानकारी हामीले प्रष्टसँग पुर्याउनुपर्छ।
चोरीको खबर थाहा होला भनेर गोदाममा लुकाउनु पनि भएन, गोदाममा राखिएका मूर्तिको त मूल्य नै शून्य भयो नि। स्टोरमा रहँदा तिनको कत्ति पनि महत्त्व हुँदैन, तर नेपालमा तिनीहरूको सांस्कृतिक महत्त्व अथाह छ।
तपाईंंले बनाउनुभएका चित्रका विशेषताबारे कुरा गरौं। चित्रमा चोरी भएका मूर्तिलाई सुनौलो लेप दिनुभएको छ। परिवेश एकदमै ‘रियालिस्टिक’ रंग्याएर बीचमा चोरी भएका मूर्तिलाई किन सुनौलो रङ दिनुभएको होला ?
मेरा कलाको लक्ष्य नै नेपालबाट चोरी भएका मूर्तिबारे जनचेतना जगाउनु हो, खासगरी सांस्कृतिक सम्पदा र यसबारे भएका अनुसन्धानबारे जानकारी दिनु। अर्को लक्ष्य भनेको, मूर्तिको प्रसंग पुनःस्थापित गर्नु हो। पश्चिमा दर्शक संग्रहालय जाँदा उनीहरूलाई ती मूर्तिका सन्दर्भमा केही पनि थाहा हुँदैन। ती मूर्ति सफा, चिरिच्याट्ट पारिएका हुन्छन्। मूर्तिका छेउमा भगवान्काे नाम, मूर्ति बनेको अन्दाजी समय र मूर्ति नेपालबाट ल्याइएको कुरा मात्र लेखिएका हुन्छन्। दर्शकले ती मूर्ति जहाँ थिए त्यहाँ ती पुजिँदैनथे, तिनको सांस्कृतिक महत्त्व छैन भन्ने ठान्छन्, जुन सरासर गलत त हो नि!
मैले ती देवदेवी जुन सुन्दर ठाउँमा थिए, त्यही वातावरणमाझ देखाउन खोजेकी हुँ। मूर्तिलाई अक्षता, फूलपाती, अबीर र तेल चढाइएको कुरा देखाउन खोजेकी हुँ। मैले ती मूर्ति वरपर घुम्ने कुकुर समेत देखाउन खोजेकी हुँ। पुज्ने भक्तजन र चोरी हुनुअघि ती मूर्ति कस्तो परिवेशमा रहेका थिए भन्ने देखाउन खोजेकी हुँ।
सुनौलो लेप लगाउनुका केही कारण छन्। सुनौला रङमा राख्दा ती मूर्ति आफ्ना थानबाट झिकिएको प्रष्ट देखिन्छ। उदाहरणका लागि, फर्पिङको सरस्वतीको मूर्तिको टाउकोलाई सुनौलो रङ लगाएकी छु। त्यो मूर्ति जसले चोरेका हुन्, उनीहरूले सरस्वतीको पूरै शरीर उखेल्न सकेनन्। त्यो मूर्ति ठूलो थियो, त्यसैले उनीहरूले टाउको काटे र त्यसलाई अमेरिका पुर्याए। यो मूर्ति १९९० को दशकमा नेपाल फर्काइयो।
दोस्रो, सुन भनेको वस्तु हो। पवित्र मूर्तिलाई कसरी उपभोग्य वस्तु बनाइएको कुरा पनि मैले देखाउन खोजेकी हुँ। सुन पवित्र कुराको संकेत पनि हो। सुनले धन पनि बुझाउँछ। व्यापारका लागि त्यसको उपयोग हुन्छ। धार्मिक, आध्यात्मिक र सांस्कृतिक सम्पदाका रूपमा मूर्तिको महत्त्व छ। बेचिएर अर्को देशका म्यूजियममा पुग्दा पनि तिनको महत्त्व छ।
पवित्र मूर्तिलाई कसरी उपभोग्य वस्तु बनाइएको कुरा पनि मैले देखाउन खोजेकी हुँ। सुन पवित्र कुराको संकेत पनि हो। सुनले धन पनि बुझाउँछ। व्यापारका लागि त्यसको उपयोग हुन्छ। धार्मिक, आध्यात्मिक र सांस्कृतिक सम्पदाका रूपमा मूर्तिको महत्त्व छ। बेचिएर अर्को देशका म्यूजियममा पुग्दा पनि तिनको महत्त्व छ।
देवदेवीका मूर्ति र कलाका वस्तुमा अन्तर छ। चोरी गरेर मूर्ति वस्तु बनाइएपछि भगवान्काे मूर्ति ‘कला’ बन्दछ। यी चोरिएका कला होइनन्, चोरिएका मूर्ति हुन्। अझ भन्ने हो भने त चोरिएका भगवान् हुन्, मानिसले पुज्ने भगवान्!
मेरो विचार र भावना पनि त्यही हो।
कुराकानीको अन्त्यमा, पटको टोलको लक्ष्मीनारायणतिरै फर्कौं। लैनसिंह बाङ्देल र अरूले खिचेका लक्ष्मीनारायणका फोटोमा मूर्तिमा अबीर दलिएको देखिन्छ। त्यो अलि फोहोर जस्तो देखिन्छ, तर लिलाम गर्ने संस्थाले राखेको तस्वीरमा मूर्ति कालो चम्किलो र परिष्कृत देखिन्छ। तपाईंंलाई दुईमध्ये कुन महत्त्वपूर्ण लाग्छ ?
हो, आफ्ना पवित्र थानमा, मन्दिरमा मानिसले यी मूर्तिको पूजा गर्छन्, त्यसलाई छुन्छन्, भगवान् पुज्छन्। मलाई लाग्छ, सुन्दर ढंगले कुँदिएको यो कालो ढुंगाले मन्दिरको आफ्नो मौलिक परिवेशमा अर्कै रूप धारण गरेको थियो। यो मूर्ति जात्रापर्व र संस्कृतिको अभिन्न अंग थियो। यसको इतिहास थियो।
चोरिएका यी मूर्ति नेपालका जीवन्त संस्कृतिका अभिन्न अंग थिए भन्ने हामीलाई थाहा छ। मूर्ति बजारमा बिक्री हुने पनि भएकाले यिनको चोरी भएको हो। त्यसैले, यिनलाई बजारमा बिक्री नहुने बनाउन, चोरी हुन नदिन के गर्नुपर्ला?
यस मामलामा नागरिकले कुनै पनि हिसाबले आफूलाई दोषी ठान्नु हुँदैन। यो समस्या नेपाल र नेपालीले सिर्जना गरेका होइनन्, विदेशीहरूले गरेका हुन्। समुद्रपार तिनको बजार भाउ थियो। यी मूर्ति उनीहरूका थानमा सयौं वर्षसम्म सुरक्षित थिए, विदेशी आए र तिनलाई आफ्ना बनाउन चाहे। यिनलाई बजारमा बिक्री नहुने बनाउने उपाय भनेको सांस्कृतिक सम्पदाको तस्करीबारे अनि नेपालमा ती मूर्तिको महत्त्वबारे चेतना जगाउनु हो।
चोरिएका मूर्ति कसरी फिर्ता ल्याउने भन्ने कुरा हामीलाई थाहा भएको छ। लक्ष्मीनारायणको मूर्ति फिर्ता हुनु र अरू केही मूर्ति यसअघि फिर्ता हुनुलाई कामको शुरूआतका रूपमा बुझ्नुपर्दछ। गर्नु भने धेरै नै छ।
केही मूर्तिहरू मात्र प्रदर्शनीमा राखिएका छन्, पश्चिमा संग्रहालयमा। मूर्ति चोरेर ल्याइएको रहेछ भनेर थाहा पाएपछि मूर्तिलाई गोदाममा लुकाउने गरिन्छ। हामीले यस विषयमा अझै धेरै अनुसन्धान र काम गर्न बाँकी छ।
हो, धेरै काम गर्न बाँकी छ। तर, मलाई लाग्दछ, बाटो भने बनेको छ। चोरिएका मूर्ति कसरी फिर्ता ल्याउने भन्ने कुरा हामीलाई थाहा भएको छ। लक्ष्मीनारायणको मूर्ति फिर्ता हुनु र अरू केही मूर्ति यसअघि फिर्ता हुनुलाई कामको शुरूआतका रूपमा बुझ्नुपर्दछ। गर्नु भने धेरै नै छ।
क्यालिफोर्नियाकी, हाल भने स्वीडेन बसिरहनुभएकी तपाईंको मन भने चित्र बनाउनुभएका देवदेवीका साथमा नेपालमै छ भन्ने हामीलाई थाहा छ। डालस म्यूजियममा भएको लक्ष्मीनारायणको मूर्ति चिन्नका लागि अनि त्यसलाई आफ्नो थानमा फर्काउन गर्नुभएको योगदानका लागि धन्यवाद।
धन्यवाद। म यस्ता काम निरन्तर गरिरहनेछु।
(हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम सरोकार च्यानल १३० बाट हरेक हप्ता सोमबार राति ८ः३० बजे प्रसारण भइरहेको भिडिओ म्यागजिन ‘सग्लो समाज’को १२ माघ, २०७७ मा प्रसारित पाँचौं अंक ‘चोरिएका देवदेवी’मा आधारित सामग्री।)