असारसम्ममा नेपालीको वार्षिक आय एक लाख १७ हजार ४५५ पुग्ने
केन्द्रीय तथ्यांक विभागले असार मसान्तसम्ममा नेपालीको औसत वार्षिक आय एक लाख १७ हजार ४५५ रुपैयाँ पुग्ने बताएको छ ।
चालु आर्थिक वर्ष २०७५\७६ मा नेपालीको औसत आय गतवर्षभन्दा रु. १३ हजार ३०३ बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार यस्तो अनुमान सार्वजनिक गरेको हो ।
चालू आर्थिक वर्षको ‘राष्ट्रिय लेखा तथ्यांक’ सार्वजनिक गर्दै विभागले आउँदो असार मसान्तसम्ममा नेपालीको औसत आय रु. एक लाख १७ हजार ४५५ पुग्ने बताएको छ ।
यो वर्ष ६.८१ प्रतिशतको आर्थिक वृद्धिसहित मुलुकको कूल गार्हस्थ उत्पादन रु. २९ खर्ब ३२ अर्ब ७४ करोड ४० लाख पुग्ने प्रारम्भिक अनुमानका आधारमा प्रतिव्यक्ति आम्दानी पनि बढ्ने बताइएको हो ।
प्रतिव्यक्ति आम्दानी भनेको हरेक व्यक्तिको कमाइ नभएर राष्ट्रिय उत्पादनलाई जनसंख्याले भाग गरेर निकालिएको अंक हो ।
सरकारले यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको थियो । त्यस्तै राष्ट्रिय योजना आयोगले आउँदो ५ वर्ष वार्षिक औसत ९.६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ ।
यो वर्ष एकदशक यताकै दोस्रो पटक कृषि तथा वनको वृद्धिदर ५ प्रतिशत नाघेको छ । मनसुनको समयमा अघिल्ला वर्षहरूमा जस्तो बाढीपहिरोको प्रकोप कम भएको र हिउँदे वर्षा पनि निरन्तर कायम रहेकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन वृद्धि पनि आकर्षक हुने विभागको अनुमान छ ।
हिउँदे वर्षाको अर्को फाइदा भने विद्युत्मा भएको छ । यो वर्ष विद्युत्, ग्यास र पानीको उत्पादन १२.४ प्रतिशत बढ्ने अनुमान छ, जुन सबैभन्दा उच्च दर हो ।
त्यस्तै घरजग्गा कारोबार पनि यो वर्ष फस्टाएको देखिएको छ । हिउँदे पानीले इँटाको उत्पादन घटेको विभागका अधिकारीहरूले बताएका छन् । यससँगै औद्योगिक उत्पादनको वृद्धिदर पनि गत आर्थिक वर्षको तुलनामा खुम्चिएर ६ प्रतिशतभन्दा तल झरेको छ ।
सरकारले उत्पादनमूलक उद्योगमा लगानी बढाउने र आन्तरिक उत्पादन उकास्ने भन्दै लगानी सम्मेलनदेखि नीतिगत सुधारसम्म प्रयास गरिरहँदा उत्पादनमूलक क्षेत्रको विस्तार कमजोर देखिएको हो ।
यसको साटो आयात र व्यापारिक गतिविधि भने मौलाएको छ । थोक तथा खुद्रा व्यापारको विस्तार यो वर्ष झण्डै ११ प्रतिशत बढेको छ । त्यसो त, अर्थतन्त्रमा व्यापारको हिस्सा अझ बढेर कूल गार्हस्थ उत्पादनमा १४.३७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो योगदान १३.९५ प्रतिशत थियो ।
व्यापारसँगै घरजग्गा तथा व्यावसायिक सेवा र निर्माण क्षेत्रको योगदान अर्थतन्त्रमा बढ्दो क्रममा छ भने कृषि तथा वन क्षेत्रको योगदान २७.५८ प्रतिशतबाट घटेर २६.५ प्रतिशतमा झरेको छ ।
यसले घरजग्गाको मूल्य र डेरा भाडा, व्यापार र निर्माण क्षेत्रमा नेपालीहरूले बढी पैसा खर्चन थालेको देखिन्छ । व्यापार बढ्नुको अर्थ हाम्रो सपिङमा हुने खर्च बढ्नु हो ।
८० लाखमा ९ लाख बेरोजगार
नेपालमा उपलब्ध श्रम शक्ति जम्मा ७९ लाख ९४ रहेको र त्यसमध्ये ९ लाख ८ हजार नेपाली अहिले पनि बेरोजगार रहेको विभागले नै गरेको अर्को एक अध्ययनले देखाएको छ । ‘तेस्रो श्रमशक्ति सर्वेक्षण’ले ७० लाख ८६ हजार नेपाली रोजगारीमा रहेको देखाएको छ ।
१५ वर्ष माथिका २ करोड ७ लाख ४४ हजारमध्ये ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४४० हजार महिलामात्रै रोजगारीमा रहेको देखाएको छ । काम गर्ने उमेर समूहका मध्ये पनि १ करोड २७ लाख ५० हजार नेपाली भने श्रमशक्ति बाहिर रहेको देखिएको छ ।
बेरोजगारी दर पनि पुरुषभन्दा महिला बढी देखिएको छ । पुरुषले भन्दा महिलाले ३० प्रतिशत कम तलब पाउने देखिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । त्यस्तै धेरै नेपाली (६२.२ प्रतिशत) मजदूरी लगायत अनौपचारिक क्षेत्रमा काम गरिरहेको सर्वेक्षणले देखाएको छ ।