हाँसोको समाजशास्त्र : के हाँसो रमाइलो कुरा मात्र हो?
कुनै पनि समाजको मूल्याङ्कन त्यो समाज कस्ता कुरामा हाँस्छ भन्ने कुराका आधारमा सबभन्दा राम्ररी गर्न सकिन्छ।
मान्छेलाई रमाइलो गर्न मनपर्छ। रमाइलो भएपछि हाँसिन्छ पनि। तर के, हाँसो रमाइलो कुरा मात्र हो त?
मलाई त त्यस्तो लाग्दैन। मलाई हाँसो मृदुलभन्दा धेरै बढी कुटिल र कठोर लाग्छ।
“मुस्कुराउँदा मुटु दुख्ने बस्यो मेरो बानी
नहाँसेको हैन सखी मैले जानीजानी”
यो माधव घिमिरेको गीतको अंश हो।
“तुम इतना जो मुस्कुरा रहे हो
क्या गम है जिसको छुपा रहे हो”
यो कैफी आजमीको शेर हो।
“ईश्वर एउटा हास्य कलाकार हो, जो हाँस्न साह्रै डराउने दर्शकका सामु कलाकारिता देखाइरहेको छ।”
यो भोल्तेयरको सूक्ति हो।
“म देशको दुर्दशाको कुरा गर्छु, मान्छे हाँस्छन्। मेरै कुरामा हाँसेका हुन्, तर मलाई चाहिँ तिनीहरू हाँसेको देखेर क्वाँक्वाँ रुन मन लाग्छ यार! नेता भ्रष्ट भए, जनता लाउके भए भनेको सुन्दा, मरुन्जेल गाली खाँदा सद्दे मान्छे हाँस्छ कि रुन्छ?”
यो चट्याङ मास्टरको कथन हो।
हास्यरसभन्दा पर
‘खलनायक हाँसो’ नाटक र फिल्मले स्थापना गरेको एउटा यस्तो विधा हो, जसबाट हास्यरस होइन, रौद्र रस बर्सिन्छ। हामीलाई स्कूलमा पढाउने एकजना शिक्षक हुनुहुन्थ्यो, जसको एउटा खास किसिमको मुस्कान भयानक रसमा आप्लावित हुन्थ्यो।
हामीलाई सावधान गराउनुपर्दा हजुरआमा भन्नुहुन्थ्यो, “मान्छे हाँस्लान् है बाबु!”
हँसिला, फरासिला र राम्रो हास्यचेत भएका व्यक्तिहरूले मात्र होइन, जोकर, तुक्के, ढँटुवारे र विदूषकहरूले ढाँटेर पनि हँसाइरहेका हुन्छन्। अनि हामी प्रतिक्रियावश, खिसिक्क, मुसुक्क, किच्च, खितखिताएर, मन खोलेर वा ‘आन्द्रा चुँडिनेगरी’ सम्मका अनेक डिग्रीमा हाँस्छौं। अनि म कसरी हाँसोलाई हाँसीहाँसी ग्रहण गर्न सक्छु र?
मान्छेका प्रतिक्रिया र भावनालाई भाषाले भन्दा धेरै अघिदेखि अभिव्यक्त गरिरहेकाले हुनुपर्छ, हाँसोमा अभिव्यञ्जनाको क्षमता शब्दसित तुलनीय नभए पनि ज्यादै बढी छ। अंग्रेजी थेसरसमा हाँसोका समानार्थी शब्दहरू बग्रेल्ती पाइन्छन्। नेपालीमा पनि हाँसोका शारीरिक/भौतिक प्रकारदेखि आशय-अभिप्राय: बताउनेसम्म अनेकौं शब्द र पद छन्। हामी काउकुती लागेरदेखि चित्त बुझेरसम्म अनेक किसिमले हाँस्छौं।
कतिपय अवस्थामा जिल्लिँदा वा लजाउँदा पनि हाँस्ने बाहेक उपाय हुँदैन। अर्कालाई उडाउँदा, दिल्लगी गर्दा, व्यङ्ग्य गर्दा वा रेला-ठट्टा गर्दा पनि प्रायः मान्छे हाँसेकै हुन्छन्। हँसिला, फरासिला र राम्रो हास्यचेत भएका व्यक्तिहरूले मात्र होइन, जोकर, तुक्के, ढँटुवारे र विदूषकहरूले ढाँटेर पनि हँसाइरहेका हुन्छन्। अनि हामी प्रतिक्रियावश, खिसिक्क, मुसुक्क, किच्च, खितखिताएर, मन खोलेर वा ‘आन्द्रा चुँडिनेगरी’ सम्मका अनेक डिग्रीमा हाँस्छौं।
अनि म कसरी हाँसोलाई हाँसीहाँसी ग्रहण गर्न सक्छु र?
मलाई हाँस्न मन नपर्ने होइन। तर, हाँसोका कुटिलता र कठोरताहरूसित डर लाग्छ।
हाँसोको बजार
संसारभर नै हाँसोको बजार ठूलो छ। र, हास्यको आवरणमा धेरै रस र भावहरू सम्प्रेषण गर्न सक्ने भएकाले नै यसको बजार यति ठूलो भएको हो। यो बजारको मुख्य मन्डी सिनेमा र टेलिभिजन हुँदै इन्टरनेटसम्मको श्रव्यदृश्य माध्यम नै हो र इन्टरनेटको विस्तारसितै यो अझ फस्टाउँदै र मौलाउँदै गएको छ। भारतका प्रसिद्ध हास्य कलाकार कपिल शर्माले आफ्नो टेलिभिजन कार्यक्रमबाट गरेको कमाइबाट नै गत वर्ष रू.१५ करोड (भारू) कर तिरेको बताइन्छ। नेपालमा पनि पछिल्लो समय अरू विधाका कलाकारले भन्दा हास्य कलाकारले बढी पैसा कमाउँछन् भन्ने विश्वास गरिन्छ।
टेलिभिजनले आफ्ना दर्शकलाई हँसाउनका लागि प्रयोग गरेका उपायहरू सबै अस्वाभाविक हुन्छन्। टेलिभिजन कमेडीको मुख्य सिद्धान्त हो, म फटाफट हिँड्नसक्छु, मैले अर्काको अस्वाभाविक हिँडाइमा हाँसे हुन्छ; म स्पष्ट बोल्नसक्छु, मैले अर्काको अस्वाभाविक बोलीमा रमाए हुन्छ।
तर, दुर्भाग्यवश यो बजारमा बेचिने ‘हास्यरस’ साह्रै चोखो भने देखिँदैन।
टेलिभिजनले आफ्ना दर्शकलाई हँसाउनका लागि प्रयोग गरेका उपायहरू सबै अस्वाभाविक हुन्छन्। टेलिभिजन कमेडीको मुख्य सिद्धान्त हो, म फटाफट हिँड्नसक्छु, मैले अर्काको अस्वाभाविक हिँडाइमा हाँसे हुन्छ; म स्पष्ट बोल्नसक्छु, मैले अर्काको अस्वाभाविक बोलीमा रमाए हुन्छ; म आफूलाई राम्रो ठान्छु, मैले आफूलाई मन नपर्ने मुखाकृति हेरेर हाँसे हुन्छ। अनौठा थेगोहरू, अप्ठ्यारामा परेका सम्बन्धहरू, जिल्लिएका मान्छे आदि हाम्रो हास्यकारिताका अरू विषय हुन्।
समुदाय विशेषलाई होच्याउने वा उडाउने जोक संसारभर चल्तीमा छन्। सरदारजीकाे ठट्टा भारतमा मात्र नभएर दक्षिण एसियाकै हाँस्ने विषय भएको छ। हाम्रो हास्यबजारमा जात र लिङ्गमा आधारित ठट्टा, चुट्किला र उखानतुक्का धेरै बिक्छन्। त्यसरी नै कुनै न कुनै प्रकारले ठट्टामा उडाइने महिलाहरू नै हुन्। अर्कालाई त उडाए उडाए, आफ्नी आमा, श्रीमती र छोरीलाई उडाएका जोक सुनेर वा भनेर मान्छे कसरी हाँस्न सक्छन्, म बुझ्दिनँ।
आफूभन्दा कमजोरलाई जबर्जस्ती कुतकुती लाएर, जिस्क्याएर, सताएर, उडाएर, छेड हानेर, दोष लगाएर, कुरा बुझेन वा नबुझिनेगरी बोल्यो भनेर, घोचपेच गरेर, होच्याएर वा टुप्याएर मरीमरी हाँस्ने समाज राम्रो होइन।
त्यसैले मलाई हास्य कार्यक्रमहरू हेर्दा हाँसोभन्दा धेरै बढी रिस उठ्छ। म टेलिभिजन हेरेर हाँस्न पटक्कै सक्दिनँ। मलाई चुट्किलाहरू सुनेर हाँस्न साह्रै गाह्रो लाग्छ। कहिलेकाहीँ हाँसिहालेँ भने पनि अधिकांश अवस्थामा भित्र कतै चस्स बिझाएजस्तो हुन्छ। त्यसैले म प्रायः हास्य कार्यक्रमहरू हेर्दिनँ। चुट्किला नै सुन्दिनँ त नभनूँ, तर अधिकांश अवस्थामा चुट्किला सुनेर पनि रमाउन सक्दिनँ।
मलाई, तपाईँलाई वा हामीजस्ता धेरैलाई चल्तीका हास्यशैली र हास्य कलाकार मन नपरे पनि त्यस्ता कार्यक्रमको एकछत्र राज चलेको चल्यै छ। हाँसोका कठोरता र कुटिलताका बारेमा धेरै कुरा जान्दाजान्दै पनि त्यस्तै अनुपयुक्त सामग्रीले समेत कहिलेकाहीँ हामीलाई हँसाउँछन् (र विवेक प्रयोग गरेर नहाँस्न कर लाग्छ)। किनभने मान्छेलाई हाँस्न मनपर्छ। हाँसो मीठो नमीठो जस्तो भए पनि हाँसेर कोही पनि अघाउँदैन।
मलाई लाग्छ, कुनै पनि समाजको मूल्याङ्कन त्यो समाज कस्ता कुरामा हाँस्छ भन्ने कुराका आधारमा सबभन्दा राम्ररी गर्न सकिन्छ। आफूभन्दा कमजोरलाई जबर्जस्ती कुतकुती लाएर, जिस्क्याएर, सताएर, उडाएर, छेड हानेर, दोष लगाएर, कुरा बुझेन वा नबुझिनेगरी बोल्यो भनेर, घोचपेच गरेर, होच्याएर वा टुप्याएर मरीमरी हाँस्ने समाज राम्रो होइन। यस्ता हास्यले मलाई त चसक्क घोच्छन् र मलाई लाग्छ, तपाईँलाई पनि घोच्नुपर्छ।