बौद्धिक चोरी गरेर कहिलेसम्म विद्वान् कहलिने?
स्नातकोत्तर पढाइ पूरा गर्न लेख्नुपर्ने शोधपत्र तोडमोड गरी सार्ने वा अरूलाई लेखाउनेको जमात ठूलै छ। तिनै व्यक्ति विश्वविद्यालय वा अनुसन्धान संस्थाको नेतृत्वमा पुग्दा अनुसन्धान सदाचार पालन हुन कठिन हुन्छ। त्यसैले हाम्रा अनुसन्धान निकायमाथि अविश्वास बढ्दो छ।
प्रसंग १ः एकाबिहानै नयाँ नम्बरबाट फोन आयो। स्नातकमा सँगै पढेका मित्र रहेछन्। स्नातकोत्तरको शोधपत्र लेख्ने तयारी रहेछ। कुरा थाल्ने बित्तिकै भने, “तपाईंले थेसिस सकाउनुभएछ। मेरो पनि लेखिदिनुहुन्छ कि भनेर। झमेला गर्नुभन्दा पैसा दिएर काम सकाउन मन छ।”
प्रसंग २ः केही दिनअघि अर्का एक सहपाठीसँग पाटनमा भेट भयो। गफगाफका लागि कफीशप छिर्यौँ। उनी आफूले सजिलैसँग शोधपत्र लेखेको सुनाउँदै थिए। उनले कोही अग्रज ‘दाइ’सँग तिनले गरेको शोधपत्र मागेछन्। अनि तथ्याङ्क फरक बनाएर सारेछन्। स्नातकोत्तरको प्रमाणपत्र पाइहाले।
प्रसंग ३ः एक बिहान पत्रिकाका समाचारहरू पढ्दै थिएँ। एउटा शीर्षकमा आँखा पर्यो, ‘नास्टका वैज्ञानिकमाथि बौद्धिक चोरीको आरोप, कारबाही गर्न क्युटेकद्वारा पत्राचार।’’ त्यसको करीब १० दिनपछि ‘त्रिविका प्राध्यापक नै बौद्धिक चोरीमा’ भनेर अर्को समाचार आयो। समाचारमा ‘ती प्राध्यापकले फ्रान्सेली प्राध्यापकको अनुसन्धान चोरेर आफ्नो नामबाट भारतीय जर्नलमा प्रकाशित’ गरेको उल्लेख थियो।
जापानको क्युशु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) को पत्राचार सम्बन्धी प्रसंग त देशकै शिर झुकाउने खालको छ। क्यूटेकले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)लाई लेखेको पत्रमा नास्टका प्राविधिक अधिकृतले अनैतिक रूपमा अनुसन्धान सामग्री सारेर बौद्धिक चोरी गरेको गम्भीर आरोप लगाइएको छ। विज्ञानका अनुसन्धानमूलक लेख प्रकाशन गर्ने प्लेटफर्म ‘रिसर्च गेट’ मा राखिएको अनुसन्धान पत्रमाथि क्यूटेकले आपत्ति जनाएको थियो।
यी घटनाहरूबाट प्रष्ट हुन्छ कि हाम्रो उच्च शिक्षाको स्तर कहाँ छ? कस्ता जनशक्ति छन् र कस्ता उत्पादन भइरहेका छन्? यसलाई सुधार गर्ने धेरै उपाय छन्। सबैभन्दा पहिला, अनुसन्धान सदाचार सम्बन्धी क्षमता अभिवृद्धि तथा विकास गर्नुपर्छ। उच्च शिक्षा सम्बद्ध सम्पूर्ण जनशक्तिमा ‘अनुसन्धान सदाचार’ सम्बन्धी ज्ञान हुनैपर्छ।
के हो अनुसन्धान सदाचार ?
विश्वविद्यालय अनुदान आयोगको ‘अनुसन्धान अनाचरण सम्बन्धी नीति–२०७४’ ले अनुसन्धान सदाचारलाई लामो व्याख्या गरेको छ। जसमा भनिएको छ, “वैज्ञानिक अनुसन्धानका लागि विश्वव्यापी प्राज्ञिक समुदायले स्वीकार गरेको इमानदारी, वस्तुनिष्ठ, अक्षुण्ण होशियारी, खुलापन, बौद्धिक सम्पत्तिप्रति सम्मान, जवाफदेही प्रकाशन, जवाफदेही प्रशिक्षण, सहकर्मीप्रति सम्मान, सामाजिक उत्तरदायित्व, अभेद भाव, सामर्थ्य, वैधता, जनावरको हेरचाह र अनुसन्धानमा संलग्न व्यक्तिको संरक्षण लगायतका नैतिक मापदण्डको पालना भन्ने बुझ्नुपर्छ।”
क्यूटेकले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)लाई लेखेको पत्रमा नास्टका प्राविधिक अधिकृतले अनैतिक रूपमा अनुसन्धान सामग्री सारेर बौद्धिक चोरी गरेको गम्भीर आरोप लगाइएको छ। विज्ञानका अनुसन्धानमूलक लेख प्रकाशन गर्ने प्लेटफर्म ‘रिसर्च गेट’ मा राखिएको अनुसन्धान पत्रमाथि क्यूटेकले आपत्ति जनाएको थियो।
अनुसन्धान सदाचारका दुई आयाम छन्। एउटा आयामले उच्च शिक्षा प्रदायक विश्वविद्यालय, संस्थान तथा अनुसन्धान केन्द्रमा पूरा गर्नुपर्ने सदाचारको प्रशासनिक प्रक्रियालाई जनाउँछ। यस्तो प्रक्रियाले अनुसन्धातालाई विश्वव्यापी प्राज्ञिक समुदायले स्वीकार गरेका नैतिक मापदण्डबारे बुझ्ने र त्यस सम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्रदान गर्छ।
अर्को आयामले अनुसन्धानको बेला अनुसन्धाताले भोगेका र अनुकरण गरेका स्थानीय मूल्यमान्यता, संस्कृतिलाई जनाउँछ। यो अनुसन्धाताको अनुभव सम्बद्ध आयाम पनि हो। यसले नैतिक मापदण्डहरूलाई महत्त्व दिन्छ। त्यस्तै, अनुसन्धानको क्षेत्र, परिवेश, समुदाय, संस्कृति, मूल्यमान्यता लगायत पक्षहरूमा अनुसन्धाताले कसरी अनुसन्धान सदाचार पालन गर्याे भन्ने देखाउँछ। एक सदाचारी अनुसन्धान सम्पन्न गर्न यी दुवै आयामहरूको उत्तिकै महत्त्व छ।
हाम्रो जस्तो सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक विविधता भएको देशमा अनुसन्धानका लागि सधैं सबै ठाउँ र परिवेशमा एकै खाले नैतिक मापदण्ड हुन्छ भन्न सकिँदैन। त्यसैकारण अनुसन्धान सदाचारको विश्वव्यापी नैतिक मापदण्डहरूलाई स्थानीयकरण गर्नुपर्छ। स्थानीय स्तरमा रहेका ज्ञान प्रदायक मूल्यमान्यताको सम्मान गर्दै अनुसन्धानद्वारा समाजको रूपान्तरण गर्न सक्ने जनशक्ति उत्पादन बौद्धिक चोरी रोक्ने प्रमुख उपाय हुनसक्छ।
अनुसन्धान सदाचार किन र कसरी?
अनुसन्धानको प्रक्रिया बाैद्धिक कर्म हो। त्यसैले लेखको शुरूमै प्रस्तुत गरिए जस्ता दृश्य यो क्षेत्रमा देखिनु राष्ट्रकै लागि लज्जाको विषय हुन्छ। विदेशका कतिपय विश्वविद्यालय र अनुसन्धान गर्ने संस्थाहरूले हाम्रा प्राध्यापकहरूमाथि समेत बौद्धिक चोरीबारे प्रश्न उठाएका छन्। यसको असर समग्र विश्वविद्यालय र त्यहाँको उत्पादनमा पर्छ।
त्यसैले त्यस्ता दृश्य कहिल्यै नभोग्ने, नसुन्ने र पढ्न नपर्ने परिस्थिति सिर्जना गर्न अनुसन्धान सदाचार चाहिन्छ। तर, बारम्बार अनुसन्धान र शोधपत्रमाथि उठ्ने प्रश्नहरूले हाम्रो उच्च शिक्षामा धमिरा लागेको सन्देश दिइरहेका छन्। त्यसैले अनुसन्धानको क्षेत्रमा आएका नयाँ जनशक्तिमाथि पनि स्वेदशी तथा विदेशी अनुसन्धान संस्थाहरूको विश्वास गुम्ने खतरा बढेको छ।
आखिर कहिलेसम्म ठगेरै अनुसन्धानकर्मी भइरहने? कहिलेसम्म अनुसन्धान अनाचरण गरेर विद्वान् कहलिरहने? यी प्रश्नको उत्तर खोज्नेहरूले अनुसन्धान सदाचारको महत्त्व बुझ्नसक्छन्। अनुसन्धान सदाचारले अनुसन्धातालाई केही महत्त्वपूर्ण विषयवस्तुहरूमा सजग रहन मद्दत गर्छ।
आखिर कहिलेसम्म ठगेरै अनुसन्धानकर्मी भइरहने? कहिलेसम्म अनुसन्धान अनाचरण गरेर विद्वान् कहलिरहने? यी प्रश्नको उत्तर खोज्नेहरूले अनुसन्धान सदाचारको महत्त्व बुझ्नसक्छन्। अनुसन्धान सदाचारले अनुसन्धातालाई केही महत्त्वपूर्ण विषयवस्तुहरूमा सजग रहन मद्दत गर्छ।
उदाहरणका लागि, झुटा विवरणहरू आफ्नो अनुसन्धानमा समावेश नगर्न, अनुसन्धानको वास्तविक परिणामलाई तोडमरोड नगर्न, बौद्धिक चोरी नगर्न र सम्पूर्ण बौद्धिक सम्पत्तिप्रति सम्मान गर्न सिकाउँछ। अनुसन्धानमा संलग्न व्यक्ति, प्राणी, मूल्यमान्यता, संस्कृति र सम्पत्तिहरूमा कुनै किसिमको हानिनोक्सानी नपुर्याउन सजग बनाउँछ। त्यस्तै, कुनै पनि किसिमको हानिकारक क्रियाकलाप नगर्न र अनुसन्धान सम्बद्ध सांस्कृतिक संवेदनशीलताको उच्च सम्मान गर्न सिकाउँछ। त्यसकारण अनुसन्धानको महत्त्व झनै बढ्छ।
अनुसन्धान तथा नवप्रवर्तनलाई उच्च शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्दै लैजाने र अनुसन्धानका प्राप्तिहरूलाई व्यावहारिक रूपमा प्रयोग गर्दै लगिने अत्यन्त महत्त्वपूर्ण व्यवस्था ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ ले गरेको छ। त्यसकारण उच्च शिक्षा व्यवस्थामा अनुसन्धान सदाचार एक मेरुदण्ड हो।
अनुसन्धान सदाचारका लागि दुई वटा महत्त्वपूर्ण उपाय हामीसँग उपलब्ध छन्। पहिलो, राष्ट्रिय शिक्षा नीति–२०७६ ले निर्दिष्ट गरे बमोजिम राष्ट्रिय शैक्षिक अनुसन्धान परिषद्को गठन गर्ने। त्यसले उच्च शिक्षा प्रदायक विश्वविद्यालय तथा संस्थानहरूबाट सम्पादन हुने अनुसन्धानको प्रभावकारी नियमन तथा अनुसन्धानका उपलब्धिहरूको उचित प्रयोग गर्ने नीतिगत व्यवस्था र त्यसको कार्यान्वयन गर्ने– गराउने। नियमनका लागि परिषद् अन्तर्गत अनुसन्धान सदाचार नियमन समिति बनाउने।
दोस्रो, विश्वविद्यालय अनुदान आयोग अन्तर्गत रही उच्च शिक्षा प्रदायक विश्वविद्यालय तथा संस्थानहरूले अनुसन्धान सदाचार तथा अखण्डता सम्बन्धी छुट्टै नीति, नियम तथा निर्देशिकाहरू बनाउने। त्यसको उपयुक्त कार्यान्वयन गर्न–गराउन संकायगत तथा आंगिक क्याम्पसगत अनुसन्धान सदाचार समिति गठन गर्ने। उक्त समितिका पदाधिकारी र अन्य सरोकारवालाहरूलाई अनुसन्धान सदाचारका दुवै आयामहरूमा क्षमता अभिवृद्धि गराउँदै लैजाने। यो समितिले सम्पूर्ण नव अनुसन्धाताहरूको अनुसन्धान सदाचार सम्बन्धी क्षमता विकासका लागि तहगत र संकायगत छोटो समयमा अनिवार्य पूरा गर्नुपर्ने तालिमको निर्माण गरी लागू गराउनुपर्छ।
नव अनुसन्धाताले अनुसन्धान सदाचार बुझेर यो क्षेत्रमा प्रवेश गर्दा भविष्यमा पनि उसले सदाचारी प्रक्रिया उल्लंघन गर्दैन। तर, ‘चोर बाटो’ हुँदै माथिल्लाे तहसम्म पुगेको व्यक्तिले विश्वविद्यालय, अनुसन्धान संस्था र देशले नै लज्जाबोध हुने गरी बौद्धिक चोरीमा संलग्न हुने खतरा रहिरहन्छ।
(लेखक काठमाडौँ विश्वविद्यालयमा ‘अनुसन्धान सदाचार’ सम्बन्धी अध्येता हुन् ।)