दोस्रो लहरको कहर
विगतका कमजोरीबाट पाठ नसिक्ने र कोरोनालाई बेसार-पानी, अदुवा र अम्बाको पातका भरमा छाडिदिने हो भने आउने नयाँ वर्ष हाम्रा लागि भयावह हुने पक्का छ।
ग्रेगोरियन क्यालेन्डरको नयाँ वर्ष २०२१ ले कुनै सकारात्मकता विना चार महीना काट्दै गर्दा विक्रमाब्दको नयाँ वर्ष २०७८ पनि दुरूह हुन सक्ने केही संकेत प्रष्ट हुन थालेको छ।
कुनै वर्ष पूर्णतया फलदायी हुने वा बर्बादीमा बित्ने अपेक्षा राखिनु युक्तिसंगत होइन। मानिसको जीवन झैं वर्ष पनि हर्ष र विस्मात अनि आरोह र अवरोहको गठजोड हो। तैपनि एउटा कठोर वर्ष पार गरेर अर्को वर्षको सँघारमा पुग्दा आउने दिन सुखमय हुनेछ भनेर अपेक्षा राख्नु जीवनप्रति आशावादी हुनु हो।
दक्षिणी छिमेकका घना आबादीयुक्त शहरहरूबाट गाँस र बास खोसिएपछि स्वदेश फर्किन चाहने नेपालीलाई न सीमामै रोक्न सम्भव छ, न निषेधको नीति अवलम्बन गरिनु मानवीय हुन्छ।
ग्रेगोरियन २०२० र विक्रमाब्द २०७७ दुबै वर्ष कोरोनाभाइरसद्वारा आक्रान्त रहे। कोरोना महाव्याधिको ताण्डव विकासशील भन्दा पनि विकसित देशमा बढी देखियो। यूरोपमा कोरोनाको उभार मत्थर हुन नसक्दा कतिपय देश र शहर अद्यावधि बन्दाबन्दीमा छन्। ‘न्यू भेरिएन्ट’ अर्थात् नयाँ स्वरूपका भाइरसले नयाँ खाले चुनौती थपिदिएपछि विश्वभरका आमनागरिक र सरकार जनस्वास्थ्य, जनजीविका र अर्थव्यवस्थालाई लिएर चिन्तित बनेका छन्। भाइरसविरुद्धको खोप प्रचलनमा आइसके पनि त्यो न सबैको पहुँचमा पुग्न सकेको छ, न खोप लगाएका कारण संक्रमण मुक्त हुन सकिन्छ भन्ने निश्चितता हुन सकेको छ।
हवाई सम्पर्कका कारण नेपाल यूरोप–अमेरिकादेखि टाढा नभएका कारण यूरोप र खासगरी बेलायतमा देखिएको ‘यूके भेरिएन्ट’ हामीकहाँ कुनै पनि समय देखापर्न सक्छ। यो नयाँ भेरिएन्ट परीक्षण गर्ने प्रविधि नहुँदा यो भाइरस नेपाल प्रवेश गरिसकेको हो वा होइन भन्ने कुरा अहिले अनुमानमै सीमित छ। तर पनि, प्रतिदिन संक्रमणको बढ्दो ग्राफले कुनै बेला विस्फोटको रूप नलेला भन्न सकिन्न।
तेस्रो मुलुकदेखि भित्रने सीमित आगन्तुकमाथि एउटा मापदण्ड अपनाएर निगरानी बढाउन सकिन्छ। तर, अहिलेको चुनौती यूरोप र अमेरिका भन्दा पनि छिमेकी भारत देखिएको छ। दक्षिणी छिमेकका घना आबादीयुक्त शहरहरूबाट गाँस र बास खोसिएपछि स्वदेश फर्किन चाहने नेपालीलाई न सीमामै रोक्न सम्भव छ, न निषेधको नीति अवलम्बन गरिनु मानवीय हुन्छ।
अहिले भारतमा डढेलोसरि फैलँदै गरेको कोरोनाभाइरस संक्रमण छिमेकी नेपालका निम्ति सम्भावित खतराको घण्टी हो। भारतका केही शहर पुनः बन्दाबन्दीमा प्रवेश गरेका छन्। दैनिक करिब डेढ लाखको हाराहारीमा पुगेको संक्रमण र करिब–करिब हजार छुँदै गरेको मृत्युदरका कारण आउने दिन भारतका निम्ति थप कठिन हुने पक्का छ। तर, छिमेककै घरमा आगो लागिरहँदा त्यो आगो हामीतिर पनि सल्किन सक्ने सम्भावनाका कारण अविलम्ब तयारी थाल्ने भन्दा पनि अहिले हामी मस्त निद्रामा छौं।
पहाडको त कुरै छाडौं, कोरोनाको ‘हटस्पट’ बनिसकेको वीरगञ्जमा समेत मास्क लगाउने न्यून देखिन्थे। सार्वजनिक स्थल, यातायात, भोजनालय आदिमा उस्तै घुइँचो देखिन्थ्यो। यस्तो लाग्थ्यो, उनीहरूले कोरोनालाई परास्त गरिसकेका छन्।
गत साता यो स्तम्भकारलाई नुवाकोट र तनहुँ हुँदै बारा र पर्सासम्मको भ्रमणको संयोग जुर्यो। पहाड हुन् वा तराई, सबै ठाउँबीचको एउटा समानता के थियो भने, मानिसहरू कोरोनाभाइरस कुनै पनि बेला फैलन सक्छ भन्ने कुराप्रति किञ्चित् पनि चिन्तित देखिँदैनथे। हात धुने वा सेनिटाइजर लगाउने बानी कोरोना संक्रमण ओरालो लागेसँगै मानिसहरूले छाडिसकेका रहेछन्।
पहाडको त कुरै छाडौं, कोरोनाको ‘हटस्पट’ बनिसकेको वीरगञ्जमा समेत मास्क लगाउने न्यून देखिन्थे। सार्वजनिक स्थल, यातायात, भोजनालय आदिमा उस्तै घुइँचो देखिन्थ्यो। यस्तो लाग्थ्यो, उनीहरूले कोरोनालाई परास्त गरिसकेका छन्।
भारतसँगको सीमामा पनि कुनै सतर्कता अपनाएको देखिएन। केही मुख्य प्रवेशबिन्दुमा हेल्थ डेस्क राखिए पनि त्यहाँ तत्कालै परीक्षण गर्ने र नतीजा नआउन्जेल आइसोलेसनमा राखिने व्यवस्था गरिएको छैन। अनुहार हेरेर र सामान्य तापक्रम मात्र नापेर प्रवेश दिइएका कारण भोलि तिनै व्यक्तिहरू संक्रमणका वाहक हुन सक्ने आशंका व्याप्त भएको छ।
सीमामा हामी विगतकै गल्ती दोहोर्याइरहेका छौं। द्रुत परीक्षणका प्रविधि उपलब्ध भइसकेको अवस्थामा मुख्य नाकामा स्थानीय अस्पतालसँगको समन्वयमा परीक्षण सञ्चालन गर्नु कुनै असम्भव काम होइन। त्यसैगरी परीक्षणको नतीजा नआउन्जेल आइसोलेसनको व्यवस्था गर्नु उतिसाह्रो कठिन पनि होइन। बरु नाकामा परीक्षण नहुँदा यता सम्भावित संक्रमितको निर्बाध प्रवेश भइरहेको छ भने उता नाकामा चेकजाँचको त्रासका कारण कतिपय खुला सीमा हुँदै स्वदेश प्रवेश गरिरहेका छन्।
ठीक एक वर्षअघि कोरोनाभाइरस हाम्रा निम्ति जिज्ञासा वा कौतूहलको विषय थियो। संक्रमणसँग कसरी जुध्ने भन्नेबारे विश्वका विकसित राष्ट्रहरू समेत अन्योलमा रहेका बेला हामीसँग कुनै अचुक उपाय रहने कुरै भएन। त्यसबीच विश्वमा असल र खराब दुबै थरी अभ्यास गरिए। सौम्य, दूरदर्शी र जनताप्रति उत्तरदायी शासक र सरकार बन्दाबन्दी, परीक्षण र आइसोलेसनको उपाय एकसाथ अवलम्बन गर्दै संक्रमणको फैलावट रोक्न सफल देखिए।
त्यस विपरीत उरन्ठेउला र सनकी शासकले कोरोनालाई सामान्य रुघाखोकी आँक्दै आफ्ना नागरिकलाई मृत्युको मुखतिर धकले। विश्वका राम्रा र नराम्रा दुबै खाले अभ्यास हाम्रा निम्ति सिक्ने मौका भइदियो। विडम्बना चाहिँ, हामीले ती अभ्यासबाट सिक्ने जमर्को गरेनौं।
भारतमा ‘युके भेरिएन्ट’ समेत फैलिइरहेको भन्ने वैज्ञानिकको दाबीले यस्तै खाले भाइरस नेपाल प्रवेश गरे के हाम्रो मौजुदा स्वास्थ्य पूर्वाधारले थाम्न सक्ला? त्यो बेला के क्वारेन्टिन, के अस्पताल र अर्थतन्त्र तहसनहस हुनेछन्। राजनीति र नेतृत्वकर्ताको व्यस्तता सत्तामा टिक्ने र शक्ति हत्याउनेमै भइरहेको बेला कोरोनाको दोस्रो लहरबाट पार पाउन हामीले चर्को मूल्य चुकाउनुपर्नेछ।
विश्व परिदृश्यमा नेपाल कोरोनाबाट कम आक्रान्त पक्कै हो। तर, हामी कुनै पनि अर्थमा कोरोना अभेद्य होइनौं। कोरोनाभाइरस रूप फेर्दै एकपछि अर्को रूपमा आइरहँदा एक प्रकारको भाइरसबाट कम प्रभावित हामी अर्को थरीबाट पनि सुरक्षित हुनेछौं भन्ने सोच्नु मूर्खता बाहेक केही होइन।
उदाहरण भारत नै छ। हाम्रो जस्तै आनुवंशिक संरचना, खानपान र हावापानी भएको भारतमा अहिले कोरोनाभाइरसको दोस्रो लहर मडारिइरहेको छ। त्यो कुनै दिन हामीकहाँ नआउला भन्न सकिँदैन। फेरि पौराणिक कथाका दैत्य झैं यो भाइरस झन्झन् बलशाली र मायावी हुँदै छ।
भारतमा ‘युके भेरिएन्ट’ समेत फैलिइरहेको भन्ने वैज्ञानिकको दाबीले यस्तै खाले भाइरस नेपाल प्रवेश गरे (वा गरिसकेको भए) के हाम्रो मौजुदा स्वास्थ्य पूर्वाधारले थाम्न सक्ला? त्यो बेला के क्वारेन्टिन, के अस्पताल हाम्रा सबै प्रणाली र अर्थतन्त्र तहसनहस हुनेछन्। राजनीति र नेतृत्वकर्ताको व्यस्तता सत्तामा टिक्ने र शक्ति हत्याउनेमै भइरहेको बेला कोरोनाको दोस्रो लहरबाट पार पाउन हामीले चर्को मूल्य चुकाउनुपर्नेछ।
अहिले कोरोनाभाइरससँगै पर्यावरणीय चुनौती पनि थपिएको छ। कोरोना मूलतः श्वासप्रश्वाससँग जोडिएको कारण पनि अचानक बढेको वायु प्रदूषणले रोगको जोखिम झनै बढाएको छ। यस पटक मुख्य राजमार्ग, पहाडी लोकमार्ग र हुलाकी सडक भएर यात्रा गर्दै गर्दा मन बिथोलेको अर्को दृश्य थियो, वनमा लागेको (खासमा लगाइएको) डढेलो। समयमै पानी पर्न नसक्दा डढेलो फैलिएसँगै देशभर वायु प्रदूषणमा बढोत्तरी भइरहेको छ। मानव विकास र भ्रष्टाचारको सूचकांकमा अघि रहेका हामी केही समययता विश्व प्रदूषणको चार्टको ‘टप १०’ मा समेत पर्दै आएका छौं।
विगतका कमजोरीबाट पाठ नसिक्ने र कोरोनालाई बेसार–पानी, अदुवा र अम्बाको पातका भरमा छाडिदिने हो भने आउने दिन हाम्रा लागि भयावह हुने पक्का छ। नयाँ वर्षको सँघारमा हामीसामु थपिएका नयाँ चुनौतीको सामना दृढ इच्छाशक्ति र ऐक्यबद्धताबाट मात्र सम्भव छ।