कसरी बनाउने बच्चाले मन पराउने खाजा?
आजभोलि धेरैजसो बालबालिकाले विद्यालय जाँदा घरको खाजा लग्दैनन्, खान मन पराउँदैनन्, पत्रु खाना मात्रै खान रुचाउँछन्। थोरै समय र ध्यान दियौं भने उनीहरूको बानी बदल्न सकिन्छ।
सिन्धुपाल्चोक र काठमाडौंका झन्डै ५० वटा सरकारी विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीसँगको कुराकानीमा एउटा प्रश्न सोधेकी थिएँ, ‘स्कूल जाँदा घरको खाजा किन लग्नुहुन्न?’ उनीहरूको एउटै उत्तर थियो, ‘स्कूलमा घरको खाजा देखाउन लाज लाग्छ।’
विद्यार्थीको दिमागमा यस्तो विचार कसरी आयो? कतै तपाईं हामी पनि जिम्मेवार पो छौं कि! किनकि, प्रायः सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले जे खाना खाए पनि अभिभावकले वास्ता गर्दैनन्। गरीबी र अज्ञानताले गर्दा पनि यस्तो हुन्छ। तर, निजी विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकले भने ‘बच्चाले के खान्छ, कसरी स्वस्थ खाना दिने’ भन्ने विचार गर्छन्।
केही महीनाअघि सरकारले सरकारी विद्यालयमा दिवा खाजामा पत्रु खाना नदिने नियम ल्याएको छ। तर, कोरोनाभाइरसका कारण यो वर्ष पढाइ सञ्चालन भइरहेको छैन। बिदाले गर्दा धेरै विद्यालयले दिवा खाजा खुवाउन सकिराखेका छैनन्। जब विद्यालय खुल्छन्, अनि साँच्चिकै सरकारी निर्देशन अनुसार, बालबालिकालाई खाजाको व्यवस्था हुन्छ वा हुँदैन, अनुगमन त गर्नुपर्ने नै छ। त्यसअघि अलिकति खाजाबारे चर्चा गरौं।
स्थानीय र सामाजिक समस्याहरूले पनि विद्यालयको खाजामा प्रभाव परेको देखिन्छ। जस्तो, अहिले महामारीको बेला ‘स्वस्थकर खाना खाएर कोरोना रोगसँग लड्ने शक्ति बन्छ’ भन्ने प्रायः सबैले सुनेका छन्। यसले अब सरकारी विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकलाई पनि स्वस्थ खानेकुराको महत्त्वबारे धेरथोर चेतना आयो होला।
अब ‘बच्चाले घरको खाजा मन पराउँदैन’ भनेर पन्छिने होइन कि बच्चालाई स्वस्थ खाना, शारीरिक तन्दुरुस्ती, पढाइ, जीवनशैलीबारे बुझाउन आमाबुवाले विचार गर्नैपर्छ। त्यससँगै बालबालिकाको भोजनमा पत्रु खानाको सट्टा स्थानीय फलफूल र हरियो तरकारीहरूमा जोड दिनुपर्छ। यो सस्तो र सहज पनि हुन्छ।
अर्को बुझ्नैपर्ने कुरा, बालबालिकाको हड्डी मजबुत गर्न दूधबाट बनेका परिकार जस्तो दही, चीज, पनिर, लस्सी खुवाउनुपर्छ। विभिन्न किसिमका गेडागुडी खुवाउनुपर्छ।
अभिभावकले खाजामा पनि ध्यान पुर्याउनुपर्छ। जस्तो, राजमा, चना, भटमास आदिका विभिन्न परिकारका साथै विभिन्न अन्न मिसाएको पिठोले बनेको हलुवा, रोटी बनाउन सकिन्छ। कतिपय बच्चाले दाल मन पराउँदैनन्, तर, दाल पिसेर बनाएको पिठोको बारा खान्छन्। रोटी, हलुवा, सूप बनाएर बच्चा र वयस्क दुवैलाई काम लाग्छ।
अभिभावकले खाजामा पनि ध्यान पुर्याउनुपर्छ। जस्तो, राजमा, चना, भटमास आदिका विभिन्न परिकारका साथै विभिन्न अन्न मिसाएको पिठोले बनेको हलुवा, रोटी बनाउन सकिन्छ। कतिपय बच्चाले दाल मन पराउँदैनन्, तर, दाल पिसेर बनाएको पिठोको बारा खान्छन्।
बालबालिकालाई हरेक दिन एकै प्रकारको खानाको स्वाद मन पर्दैन। त्यसैले विभिन्न प्रकारका खानेकुरा बनाउनसके खुशी भएर खान्छन्। यो गर्न त्यति गाह्रो पनि छैन। जस्तै, गहुँको पिठोबाट कहिले रोटी, कहिले हलुवा बनाउन सकिन्छ। त्यस्तै, पिठोमा अन्डा र हरियो तरकारी मसिनो गरेर काटेर अम्लेट बनाउन सकिन्छ।
आटाबाट विभिन्न थरीका सूप बनाउन सकिन्छ। बालबालिकाको बढ्दो शरीरलाई प्रोटिन चाहिन्छ भन्ने प्रायः सबैलाई थाहा हुन्छ। यो सस्तोमै पाइन्छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ। त्यस्तो प्रोटिन भएको खानेकुरा अन्डा, चना, रोटीसँग वा चिउरा दिँदा कार्बोहाइड्रेट र प्रोटिनसँगै मिलाएर खाँदा शरीरमा पर्याप्त ऊर्जा पाइन्छ। स्थानीय रूपमा पाइने विभिन्न थरीका खानाले यसको पौष्टिकता बढाउँछ, पैसा पनि बच्छ।
प्याकेटको खाजालाई ‘नाइँ’ किन भन्ने?
कतिपय अभिभावकले समय नभएर बालबालिकालाई बजारको ‘बिस्कुट वा चाउचाउ खान दिन्छौं’ भन्छन्। तर, बालबालिका कुपोषण भएर बिरामी भए त ‘समय छैन’ भन्न मिल्दैन नि! त्यसैले ‘समय छैन’ भन्ने अभिभावकले बिहान खाना पकाउँदा अलिकति बढी पकाएर त्यसैलाई खाजाका रूपमा प्रयोग गर्न सक्छन्। जस्तो, तरकारी बनाउँदा आलु बढी उसिनेर दिउँसो भातमा हालेर भुटेको भात (फ्राइड राइस) बनाउन सकिन्छ। उसिनेको आलुको अचार वा दही हालेर चुकौनी बनाउन सकिन्छ। उसिनेको आलु भुटेर चिउरासँग स्वस्थकर खाजा बनाउन गाह्रो छैन।
चना भिजाएर टुसा उमारेर उसिनेको आलु, भुजिया, कागतीको अमिलो हालेर ‘चना चटपट’ बनाउन सकिन्छ। यसरी बनाउँदा बच्चाको स्वास्थ्य र स्वाद दुवै मिल्छ।
चना चटपट भनेपछि भुतुक्क हुने बच्चालाई घरमै बनेको स्वस्थ चना चटपटे त दिन सकिन्छ। छुट्टीको दिन वा चाडपर्वको बेला कुनै खास परिकार सबैले मिलेर बनाउन सकिन्छ। त्यो सबै जनासँगै बसेर खाँदा रमाइलो हुन्छ, बालबालिकाले सिक्छन् पनि।
अहिले कोदो र फापरको मःम बनाउने चलन बढेको छ। घरपरिवारमा कसैले पकाउने, कसैले भाँडा सफा गर्ने, कसैले कुचो लगाउने, कसैले पुछ्ने गर्न सकिन्छ। एउटा त बालबालिकाले गर्न मिल्ने काम गर्न लगाउँदा सिक्छन्, अर्को एउटै मानिसलाई कामको बोझ हुँदैन।
त्यस्तै, घरमै पकाउँदा धेरै चिनी हालेको खानेकुरा केक आदि बहिष्कार गरेर स्वास्थ्यवर्द्धक रेसादार पदार्थ पाइने खानेकुरा तरकारी, दालको साथै कोदो र आटाको सेल, कोदोको हलुवा बनाउन सकिन्छ। यो पोषणतत्त्वले भरिपूर्ण र सस्तो पनि हुन्छ। केकजस्तो गुलियो खानेकुराले एकैछिनका लागि पेट भरिएको जस्तो भए पनि स्वस्थकर हुन्न भन्ने कुरा सबैले बुझेका छन्। तर, ‘बानी लागेको छ, त्यसैले दिन्छौं’ भन्नेहरूले पछि बालबालिका अत्यधिक मोटाए के गर्ने भनेर विचार गर्नैपर्छ।
बालबालिकालाई पिसाबको संक्रमण नहोस् भनेर समय-समयमा ‘झोल पदार्थ, पानी पिइरहनुपर्छ’ भनेर पनि सिकाउनुपर्छ। यसले शरीरमा पानीको आवश्यकतालाई पूरा गर्छ। थकाइ पनि कम लाग्छ। एकाग्रता कायम गर्छ। अझ कागती पानी पिउनुपर्छ, प्याकेटमा भएको जुस दिनु हुँदैन।
विद्यालयमा खाजा पठाउँदा पनि नरिवलको टुक्रा, घरमा बनाएको बेसन वा तिलको लड्डु, चना, रोटी आदि बनाउन सकिन्छ। त्यस्तै, विभिन्न किसिमका बियाँ (फर्सी, सूर्यमुखी), किसमिस, आलस, तिल आदि हालेर बनाएको खानेकुरा दिँदा स्वाद र स्वास्थ्य दुवै राम्रो हुन्छ।
बालबालिकालाई पिसाबको संक्रमण नहोस् भनेर समय–समयमा ‘झोल पदार्थ, पानी पिइरहनुपर्छ’ भनेर पनि सिकाउनुपर्छ। यसले शरीरमा पानीको आवश्यकतालाई पूरा गर्छ। थकाइ पनि कम लाग्छ। एकाग्रता कायम गर्छ। अझ कागती पानी पिउनुपर्छ, प्याकेटमा भएको जुस दिनु हुँदैन। पानी, लस्सी, मोही, काँक्रो आदिको साथै रसिलो फलफूल चपाएर खाँदा पनि शरीरमा पर्याप्त पानी पुग्छ।
छिटो र पेट भरिने खाजा
हुन त बालबालिकालाई स्वस्थ खानेकुरा खानका लागि तयार पार्नु चुनौती नै हुन्छ। यो चुनौतीलाई कम गर्न सकिन्छ। सबैजना सँगै काम गरेर रमाइलो गर्ने र वनभोज जाँदा घरको खाना बनाउने बानी पार्न सकिन्छ। अन्डा, रोटी, तरकारी, चिउरा, फलफूल आदि घरबाट लगेर र तरकारी दालजस्ता खाना वनभोज भएका ठाउँमा गएर पकाए बालबालिकाले खाना बनाउन पनि सिक्छन्।
खाजा बनाउँदा फलफूल, केरा, दही, चिउरा, थोरै नुन हालेर भुटेको मकै, भटमास आदि पनि खान सकिन्छ। बिहान–बिहानै चना अन्डा, दाल खाए दिउँसोसम्म काम गर्न ऊर्जा दिन्छ। खाजामा सिमी, कलिलो हरियो मकै, उसिनेको अन्डा, रोटी पनि दिन सकिन्छ। सेतो पाउरोटीको सट्टा विभिन्न अन्न हालेको पाउरोटी राम्रो हुन्छ। हरियो तरकारी र दालहरू स्वादिष्ट र स्वास्थ्यवर्द्धक मात्रै हुँदैनन्, स्वस्थ मुटुका लागि आवश्यक पनि हुन्छन्। चना, बदाम आदि रेसादार पदार्थ खानु राम्रो हुन्छ।
पत्रु खाना किनेर खाएपछि बिस्तारै बालबालिकाको स्वास्थ्य बिग्रँदै जान्छ। लौहतत्त्व, क्याल्सियम र अन्य पोषण तत्त्वहरू भएको खानेकुराको अभावमा उनीहरूको शारीरिक तथा मानसिक वृद्धिमा नै असर पर्छ। प्याकेटमा बन्द भएको पत्रु खानेकुरा खाँदा किशोरीहरूको शरीरमा हर्मोनको गडबडी पनि हुनसक्छ। हर्मोनको गडबडी भएपछि प्रजनन स्वास्थ्यमा पनि समस्या पर्छ।
घरमा खाजा बनाउँदा बालबालिकालाई पनि भान्सामा काम गर्न लगाउनुपर्छ।यसरी घरमा सँगै काम गर्दा अभिभावकले ‘बालबालिबालाई दुःख हुन्छ’ भनेर सोच्नु नै हुँदैन। यो त उनीहरूका लागि ‘शिक्षा हो’ भनेर विचार गर्नुपर्छ।
घरमा खाजा बनाउँदा बालबालिकालाई पनि भान्सामा काम गर्न लगाउनुपर्छ। उनीहरूले पनि पौष्टिक खानाको महत्त्व बुझ्छन्, पकाउन सिक्छन्। आफैंले खाना पकाएको अनुभूति भएपछि उनीहरूको खानामा रुचि पनि बढ्छ। यो रुचिले जीवनभरका लागि ज्ञान दिन्छ।
विशेषगरी छोराहरूलाई यो ज्ञान चाहिन्छ। खाना पकाउन नजान्नेहरू कि त भोकै बस्नुपर्छ कि अरूको मुख ताक्नुपर्छ या होटलमा गएर खानुपर्छ। छोरीहरूलाई त अभिभावकले जबर्जस्ती नै सिकाउँछन्। अब छोराहरूलाई पनि सिकाउनुपर्छ।
यसरी घरमा सँगै काम गर्दा अभिभावकले ‘बालबालिकालाई दुःख हुन्छ’ भनेर सोच्नु नै हुँदैन। यो त उनीहरूका लागि ‘शिक्षा हो’ भनेर विचार गर्नुपर्छ। खाना वा खाजा बनाउने बेलामा छोराछोरीलाई पनि आफूसँगै भान्सामा सहयोग गर्न लगाउनुपर्छ। यसो गर्दा एक त उनीहरूलाई खानाप्रति चासो जाग्छ, अर्को सिन्धुपाल्चोक र काठमाडौंका सरकारी विद्यालयका विद्यार्थीले भनेझैं घरको खाजा देखाउन लाज लाग्न छोड्छ।
यदि कुनै बालबालिका घरमा बनेका स्वस्थकर खानेकुरा खान मान्दैनन् वा विद्यालयमा लैजान लाज लाग्छ भन्छन् भने यसमा आमाबुवाको पनि गल्ती हो। उनीहरूलाई नै परामर्श दिनुपर्छ। बच्चाको स्वास्थ्यको हेरविचार गर्न त्यत्तिकै जरुरी छ, जति ब्यांकमा पैसा जम्मा गरिदिनु।